Comments Add Comment

यस्तो छ ‘रेशम फिलिली'(समिक्षा)

binay and menuka
‘पारी त्यो डाँडा’ माथि बोलको गीत यूट्युबमा भाइरल बनेपछि नेपालमा मात्र होइन, विदेशमा पनि चलचित्र ‘रेशम फिलिली’माथि आशा एकाएक उम्लिएको थियो । गीत नै यती राम्रो छ, यसको दृश्य कस्तो होला, चलचित्र कस्तो होला, वैशाख ११ यसकारण प्रतिक्षामा रहन पुग्यो ।

यही प्रतिक्षाको घडीलाई समाप्त गर्दै आज शुक्रबारबाट देशभर यो चलचित्र प्रदर्शनमा आएको छ । कमै मात्र चलचित्र दर्शकका लागि यसरी प्रतिक्षित बन्छन्, जसले दर्शकलाई हलसम्म जान वाध्य बनाउँछन् । आखिर, सर्वाधिक चर्चा बटुलेको बर्षकै सर्वाधिक प्रतिक्षित चलचित्र कस्तो बनेको छ त, आउनुहोस् एकैछिन चर्चा गरौं ।

कथावस्तु

गाउँबाट आमाको सपना र बहिनी सुन्तलीको बिहे धुमधामसँग गराइदिने चाहना बोकेर कतार उड्न काठमाण्डौ आएको एक यूवा विनय श्रेष्ठ (रेशम) । तर, दलालले ठगिदिएपछि उसको जीवनमा पनि अन्धकारको बादल मडारिन्छ । जाने र खाने बाटो केही हुँदैन ।

यसैविच दलालले उनीहरुलाई जंगलमा लगेर छाडिदिन्छन् । जंगलमा नै भेट हुन्छ एक पात्र, कामेश्वर चौरासिया (हरिनारयण मण्डल) । उसैको साथमा दिनचर्या गुजार्नका लागि विभिन्न खालका उपाय अपनाउँछ रेशम । हरिनारायणको सपना छ, चलचित्रमा खेल्ने । उसैको सपनाको पछि लाग्दा लाग्दै रेशम शिशिर वाङ्देल (दोर्जे डन )को फेला पर्छ ।

उसको लगाएको काम विगारेपछि तिनुपर्ने २५ लाखले फेरि रेशम र हरिनारायणलाई सताउँछ । यसैले उनीहरु चलचित्रको काम गर्न लागिपर्छन् । चलचित्रमा एक सुपरस्टार छन्, कर्मा (ब्रायन) । जो बलेबाट ब्रायन बन्दै चलचित्रमा हिट भएको हुन्छ । त्यही ब्रायनलाई फसाएर चलचित्र बनाउन हरिनारयण र रेशमले भेट्छन्, अरुण रेग्मी (खरानी प्रसाद) । चलचित्रको कथावस्तु यही नै हो । कथावस्तुबाट दर्शकले ठूलो अपेक्षा नगर्दा पनि हुन्छ ।

सबल पक्ष

चलचित्रलाई विभिन्न खालका परिभाषा दिइन्छ । चलचित्र शिक्षाका लागि कि मनोरञ्जनका लागि । चलचित्र ‘रेशम फिलिली’ मनोरञ्जन दिने एउटा राम्रो खुराक हो । चलचित्रमा कथावस्तु केही पनि छैन । यसअघि पनि यस्ता कथावस्तुमा चलचित्र नबनेका होइनन् ।

तर, पनि अरु भन्दा धेरै नै विशेष छ, ‘रेशम फिलिली’ । चलचित्रको सवैभन्दा सबल पक्ष यसको संवाद हो । कमेडी मन पराउने दर्शकका लागि यो चलचित्र उत्कृष्ट खुराक हो । यसको अर्को सबल पक्ष यसको अडियो गीत हो । जसले दर्शकलाई मन्त्रमुग्ध बनाएको छ । यसका संगीतकार कालिप्रसाद बाँस्कोटा नदेखिएका नायक हुन्, चलचित्रका लागि ।

चलचित्रको मुख्य कथा थुप्रै नेपालीले भोगेको पीडा हो । बाबु आमाको सपना पुरा गर्न विदेश हिडेका र दलालका कारण फसेका नेपालीको संख्या पनि कम छैन । जसका कारण दर्शकले रेशम पात्र भित्र आफूलाई नै देख्न सक्छन् ।

निर्देशक प्रणव जोशीले चलचित्रको सुरुवातमा नै ‘झुटो कथामा आधारित’ लेखिदिएर आफूले जे गल्ती गर्दा नि छुट छ भनेर बठ्याई गरिदिएका छन् । चलचित्रमा ड्रोनको प्रयोग सुखद छ, तर प्रयोग फितलो छ । चलचित्रमा रेशमका केही संवाद र दृश्यले दर्शकलाई भावूक बनाउँछ । कमेडीमा रमाइरहेका दर्शक एकाएक एकहोरो हुन्छन् र  टोलाउँछन् ।

कमजोर पक्ष

चलचित्रलाई मनोरञ्जनको साधन मात्र होइन भन्ने हो भने, यसका कमजोर पक्ष थुप्रै छन् । चलचित्रमा कथाको अभाव छ । थुप्रै क्यामेरा प्रयोग गर्दा कतिपय दृश्य फितलो छन् । चलचित्रको अर्को कमजोर पक्ष यसको सम्पादन हो ।

चलचित्रको चर्चित गीत ‘पारी त्यो डाँडामाथि’ खुबै चर्चित छ । यो गीतकै कारण हलसम्म पुग्ने दर्शकलाई भने यसको दृश्यले निराश बनाउँछ । युट्यूबमा भेटिएका थुप्रै दृश्य भन्दा चलचित्रका लागि बनाइएको मुख्य दृश्य फितलो र कमजोर छ ।

चलचित्र भित्र केही यस्ता दृश्य छन्, जुन दृश्यलाई नराखिदिएको भए के हुन्थ्यो भन्ने लाग्छ । अनावश्यक दृश्य केही धेरै हुँदा दर्शकलाई केही ठाउँमा बोर लाग्न सक्छ । चलचित्र एउटै पात्रमा अडिएको छ । कामेश्वर चौरासियालाई हटाएर हेर्ने हो भने, ‘रेशम फिलिली’ खोक्रो छ । यसैले, निर्देशक प्रणव जोशीले कुनै न कुनै तबरले उनलाई पर्दामा सुरुवातदेखि अन्त्यसम्म अटाएका छन् ।

चलचित्रको चर्चित गीत ‘पारी त्यो डाँडामाथि’ खुबै चर्चित छ । यो गीतकै कारण हलसम्म पुग्ने दर्शकलाई भने यसको दृश्यले निराश बनाउँछ । युट्यूबमा भेटिएका थुप्रै दृश्य भन्दा चलचित्रका लागि बनाइएको मुख्य दृश्य फितलो र कमजोर छ ।

चलचित्रमा जर्क दृश्यहरु पनि प्रशस्त भेटिन्छन् । चलचित्रका कतिपय शब्दहरु सामान्य नेपाली नागरिक अझ विशेषगरी महिला दर्शकलाई पच्दैन । यसैले, यो चलचित्र सिंगल भन्दा पनि मल्टिप्लेक्समा बढी चल्न सक्छ ।

चलचित्रको दोश्रो भागमा देखाइएको नेपाली चलचित्रको भित्री कुरा र चलचित्र बनाउने कथावस्तु आवश्यक थिएन । चलचित्रकर्मीका लागि यो कथा रोचक भएपनि दर्शकका लागि खासै रुचीकर नहुन पनि सक्छ । चलचित्र बनाउने बिषयमा मोडिएपछि ‘रेशम फिलिली’ चिप्लिएको छ ।

चलचित्रकै बारेमा रेशमले दिएको लामो भाषण पनि दर्शकलाई नपच्न सक्छ, चलचित्रकर्मीलाई रमाइलो लाग्न सक्छ । चलचित्र गन्तव्यबिहिन छ । यसैले, निर्देशकले चलचित्रलाई कहाँ पुर्‍याउने भन्दा पनि कसरी लामो बनाउने भन्ने बारेमा सोचेका छन् ।

कतिपय प्लटहरु अनावश्यक भएर पनि थोपारिएको छ । प्रहरीले निर्माता बन्नका लागि अगाडि सरेका दलाललाई समातेपछि पैसा बाड्ने भन्दै भेला भएका चलचित्रका मुख्य पात्रहरुको दृश्य सडक नाटक जस्तो छ ।

कलाकारको अभिनय

चलचित्रमा एक मात्र कलाकार छन्, कामेश्वर चौरासिया । सुरुदेखि अन्त्यसम्म उनले गरेको बेजोड र जिवन्त अभिनयले दर्शकलाई दिक्क लाग्न दिँदैन । पर्दाबाट जब उनी हटे, अल्छी लाग्न सक्छ । एउटा कलाकारको आडमा चलचित्रले थुप्रै ठाउँमा ताली पाउनु उसको सफलता हो ।kameswor

चलचित्रको शीर्ष भूमिकामा देखिएका मुख्य कलाकार विनय श्रेष्ठ सामान्य छन् । चलचित्र भित्र नायक बनेका कर्मामा त्यस्तो फरकपन भेटिँदैन । नायिका मेनुका प्रधानले दिइएको भूमिका गरेकी छिन् । तर, कामेश्वरको अगाडि सबैजना ओझेलिएका छन् ।

के चलचित्र हेर्दा हुन्छ ?

तपाई चलचित्र मनोरञ्जनका लागि हो र यसबाट कुनै प्रकारको शिक्षा लिने होइन भन्ने मान्नुहुन्छ भने यो चलचित्र हेर्नुहोस् ।

तर, चलचित्र पनि वास्तविक जिवनसँग केही न केही तबरले मेल खानुपर्छ भन्ने ठान्नुहुन्छ भने एक पटक हेर्नु अगाडि सोच्दा राम्रो हुन्छ । उडन्ते गफ, जसरी भएपनि हसाँउने खालका संवादकै आँडमा ‘रेशम फिलिली’ कुदेको छ ।

चलचित्रले सुरुवाती व्यापार आक्रामक गर्नेमा कुनै शंका छैन । यसपछि, यसलाई दर्शकले नै चलाउने हुन् । ‘रेशम फिलिली’ लामो समयसम्म कुद्यो भने अनौठो नमान्दा हुन्छ । तर, चलचित्र हेर्न जानु अघि ठूलो आशा नलिनुहोला, तपाइले सोचेजस्तै पाउनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment