Comments Add Comment

पाँच बर्षमा मेगा बैंक टप टेनमा पर्छ : रविना देशराज श्रेष्ठ, नि. प्रमुख कार्यकारी अधिकृत

rabina-deshraj-shresthaजुनबेला मेगा बैंकको स्थापना भयो, त्यो समय बैंकिङ क्षेत्र लगानी योग्य पुँजी (तरलता) को चरम मारमा परेको थियो । यस्तो अवस्थामा स्थापना भएर पनि मेगा बैंकले उल्लेख्य सफलता हासिल गरेको छ ।

बिहीबारदेखि मेगा बैंक छैठाैं वर्षमा प्रवेस गरेको छ । हलोदेखि हाइड्रोसम्म लगानी गर्ने नारा रहेको यस बैंकले हालसम्म १ अर्ब रूपैयाँ हलो अर्थात कृषि क्षेत्रमा लगानी गरेको छ । किसानसम्म वित्तीय स्रोत पुर्याउने कार्य अझ सशक्तरूपमा अघि बढाउने बैंकको लक्ष्य छ ।

सूचना प्रविधिको प्रयोगगरी शाखारहित बैंकिङ सेवा विस्तारमा बैंकले जोड दिएको छ । बैंकका वितेका पाँच वर्षका उपलब्धि र अागामी बर्षका लक्ष्यका बारेमा बैंककी निमित्त प्रमुख कार्यकारी अधिकृत  रविना देशराज श्रेष्ठसँग अनलाइनखबरले  गरेको कुराकानीः

मेगा बैंक स्थापना भएको पाँच वर्ष परा भएको छ, यस अवधिमा बैंकले के कस्ता उपलब्धि हासिल गर्‍यो ?

स्थापनाको पहिलो वर्ष त इजाजत लिनु र कर्मचारी छनोट गर्नु नै हाम्रो चुनौति थियो । तर, हामी समयमै इजाजतपत्र ल्याउन सफल भयौं र  दक्ष जनशक्ति छनोट गर्न सफल भयौं । आज बैंकमा ३ सय बढी कर्मचारी छन् । दक्ष र व्यावसायिक कर्मचारीका कारण बैंकले छोटो समयमै उल्लेख्य सफलता हासिल गरेको छ । हामीसँगै खुलेका बैंकहरुको तुलनामा हाम्रो बैंकको ब्राण्डिङ निकै बलियो छ । वित्तीय सुचकांकहरु पनि राम्रैै छन् ।

बैंकमा १२ सय १९ जना प्रवर्द्धक सेयरधनी छन् । सेयरधनी, सञ्चालक र व्यवस्थापनबीच एकले अर्कालाई राम्रोसँग बुझ्न सफल भएका छौं । पाँच वर्षको अवधि बैंकको प्रारम्भिक अवस्था हो । यस अवधिमा हामीले धेरै कुराहरु सिक्यौं । जसले आगामी दिनमा अझ राम्रो परिणाम ल्याउन मद्दत गर्छ ।

स्थापना हुँदा लिइएका लक्ष्य पूरा भए त ?

 निश्चय पनि हामीले जे टार्गेट गरेका थियौं, त्यो पुरा गरेका छौं । मेगा बैंक सुरु हुँदा र त्यसपछि नेपाली बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजी (तरलता) लगायतका विभिन्न समस्या देखिए । यस्तो अवस्थामा पनि हामीले हाम्रा लक्ष्यहरु पूरा गरेका छौं । मेगा बैंकले वाणिज्य बैंकहरुलाई गाउँमा पुर्‍यायो । ग्रामीण क्षेत्रसम्म आर्थिक स्वतन्त्रता भएन भने व्यक्ति र देश कसैको पनि विकास हुँदैन । त्यसैले मेगा बैंकले आफूसँग उपलब्ध स्रोेत किसानसम्म परिचालन गरेको छ ।

सेयरधनीलाई लाभांंस अलि कम भएन र ?

ठूला र पुराना बैंकको तुलनामा कम देखिएपनि हामीसँगै खुलेका बैंकहरुको तुलनामा मेगा बैंकका सेयरधनीले राम्रै लाभांस पाएका छन् ।  त्यसैले त हाम्रो सेयर मुल्य पनि पाँच वर्षमै राम्रो छ नि । मलाई लाग्दैन कि हामीले लगानीकर्तालाई कम प्रतिफल दिएका छौं ।

बैंकका सेयरधनीले कहिलेदेखि नियमितरुपमा दोहोरो अंकको प्रतिफल पाउँछन् त ?

निकट भविश्यमै सेयरधनीलाई आकर्षक प्रतिफल दिने हाम्रो प्रयास निरन्तर जारी छ । अहिले हामी ग्रोथ र एक्सपान्सनको चरणमा छौं ।

यतिधेरै प्रवर्द्धकहरुलाई मिलाएर अघि बढ्न कठीन भएन ?

प्रवर्द्धकहरुको व्यवस्थापनमा हाम्रो सीइओ धेरै अगाडि हुनुहुन्छ । उहाँले इन्टरनेट चलाउने प्रवर्द्धकहरुसँग समय समयमा इमलेमार्फत सूचना आदान प्रदान र छलफल गरिरहनुहुन्छ । यसले पनि हामीलाई धेरै सजिलो बनाएको छ । हामी जहाँ गए पनि बैंकका प्रवर्द्धकसँग भेट हुन्छ । उहाँहरुले बैंकका बारेमा सोध्नुहुन्छ, हामी बताउँछौं । यसले पनि एकापसको सम्बन्ध अत्यन्तै बलियो बनाएको छ ।

एकपटक म निजी भ्रमणमा अफ्रिका गएको थिएँ । निजी भ्रमणमा विदेश जाँदा प्राय म नेपालीहरुसँग भेट्दिँन तर अफ्रिकामा मेगा बैंकका धेरै प्रवर्द्धकहरुसँग भेटेर गफ भयो । जसले मलाई थप उत्साहित र जिम्मेवार बनायो । धेरै सेयरधनी भएका कारण कहिल्यै पनि बैंकमा समस्या भएको जस्तो फिलिङ नै भएको छैन । बरु दायित्व बढी भएको फिल हुन्छ ।

बैंकको नारा नै ‘हलोदेखि हाइड्रो’सम्म छ, हालसम्म बैंकले कृषि क्षेत्रमा कति लगानी गरेको छ ?

हालसम्म बैंकले कृषि क्षेत्रमा १ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेको छ । सामान्य बाख्रापालनदेखि लिएर कृषि फार्मसम्म हामीले लगानी गरेका छौं । कृषि क्षेत्रमा प्रवाहित कर्जाले हामीलाई थप उत्साहित बनाएको छ । हाइड्रोमा पनि हामीले उल्लेख्य लगानी गर्ने प्रतिवद्धता गरिसकेका छौं ।

हामी वित्तीय एक्सपोर्ट वा वित्तीय सेवा दिन बसेको हो भने त हामीले गरिब किसानलाई पनि उद्यमी बनाउन सक्छौं । विदेशमा यस्ता थुप्रै उदाहारण छन् । हामी बैंकरले अब कर्पोरेट विजनेसमात्रै खोजेर हुँदैन ।  ग्रामीण र कृषि क्षेत्रमा लगानी गरी उद्यमशील बनाउनै पर्छ । अनिमात्र मुलुक सम्वृद्ध हुन्छ ।

बैंकले स्थापनादेखि हालसम्मको पाँच वर्षमा गरेको प्रगति सन्तोषजनक छ भन्नुभयो । अबको पाँच वर्षमा बैंकलाई कस्तो बनाउने योजना छ ?

हामी अहिले आगामी पाँच वर्षमा बैंकलाई कस्तो बनाउने भनेर रणनीति तयार गरिरहेका छौं । त्यसैले धेरै कुरा त मैले अहिले नै भन्न नमिल्ला । अहिले विभिन्न सूचकांकमा विभिन्न स्थानमा छौं । समग्रमा मेगा बैंक ३० बैंकमध्ये २०औं स्थानमा छ । आगामी पाँच वर्षमा टप टेन बैंकका रुपमा स्थापित गर्न हाम्रो लक्ष्य हुनेछ । ब्राञ्चलेस बैंकिङमा हामी धेरै अगाडि बढेका हुनेछौं ।

सूचना प्रविधिको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै बैंकले के कस्ता योजनाहरु सञ्चालन गरिरहेको छ ?

मोवाइल बैंकिङ, ट्याब बैंकिङ, ब्राञ्चलेस बैंकिङमार्फत वित्तीय सेवा विस्तारमा हामी निकै अगाडि छौं । हालैमात्र बैंकले ट्याब बैंकिङ सुरु गरेको छ ।  ४७ वटा एजेन्टले ट्यावलेटमार्फत नै निक्षेप संकलन र कर्जा प्रवाह गर्न थालिसकेका छन् । नेपालमा पहिलोपटक हामीले ट्याब बैंकिङ सुरु गरेका हौं ।

भूकम्पले बैंकलाई कस्तो असर गर्‍यो ?

भौतिक क्षतिको कुरा गर्दा सिन्धुपाल्चोकको चौतारा, रसुवाको स्याफ्रुबेसी र धादिङमा शाखा रहेको भवन ध्वस्त भए । तर, कुनै पनि मानवीय क्षति भने भएन । हाम्रा ग्राहकहरुलाई असर गरेको छ । तयसले बैंकलाई पनि असर गर्छ । अर्थतन्त्रमा असर परेको छ, त्यसको असर बैंकले पनि ब्यहोर्नुपर्छ । तर, समस्याभित्र अबसर खोज्ने हाम्रो बानी छ ।

भूकम्प प्रभावित जिल्लाहरुमा कसरी वित्तीय पहुँच पुर्‍याउँदै हुनुहुन्छ ?

वेल भिजन लगायतका केही कम्पनीसँगको सहकार्यमा भूकम्प प्रभावित एवं ग्रामिण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने सम्झौता गरिसकेका छौं । हामीले पहिलेदेखि नै गाउँ केन्द्रित बैैंकिङलाई जोड दिइरहेका हौं । भूकम्पपछि अझ त्यसको आबश्यक महसुस भएको छ । भूकम्प प्रभावित गाउँमा बैंकिङ सेवा पुर्‍याउन हामीले अधिकतम जोड गर्ने छौं ।

बैंकको वित्तीय अवस्था कस्तो छ ?

गत अार्थिक वर्षको असारमसान्तसम्ममा बैंकले २० अर्ब १३ करोड रूपैयाँ निक्षेप संकलन गरी १८ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकको नाफा पनि सन्तोषजनकरूपमै बढेको छ । केही दिनमै अपरिस्कृत वित्तीय विवरण सार्वजानिक गर्दैछाैं । हालसम्म बैंका २८ शाखा र ३१ एटीएम छन् । ४७ एजेन्टमार्फत शाखारहित बैंकिंग सेवा प्रदान गरिरहेका छाैं । बैंकमा ८ हजार ५ सय २३ जना सर्वसाधारणको निक्षेप छ भने ११ सय ९० जनाले बैंकबाट ऋण लिएका छन् ।

मेगा बैंकले यो बर्ष के-के नयाँ प्रोडक्टहरु ल्याउँदै छ ?

सायद यस वर्ष हामी धेरै शाखाहरु खोल्छौं । केही समयभित्रै हामीले भिसा डेविट कार्ड र क्रेडिटकार्ड पनि लन्च गर्दै छौं । थुप्रै नयाँ सेवाहरु पाइपलाइनमा छन् । ग्राहकको बदलिँदो चाहना र आबश्यकतालाई ध्यान दिँदै नयाँ-नयाँ सेवाहरु ल्याउने छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment