Comments Add Comment

सुशीले,रामशरणे भन्दै हजुरबा हजुरआमाको सत्तोसराप !

senior citizens (4)

चिरञ्जीवी पौडेल
१५ साउन, काठमाडौं । मीनभवनमा अचेल ट्रली बसहरु चल्दैनन्, तर वृद्ध र जीर्ण कार्यालयको अस्थिपञ्जर भने बाँकी नै छ । सोही कार्यालयको प्राङ्गणमा तीन वर्षदेखि लगातार हजुरबा-हजुरआमाहरुले आन्दोलन गरिरहेका छन् । आन्दोलन गर्दागर्दै १०/१२ जनाको निधन भइसकेको छ ।

सरकारले वृद्धभत्ता बढाएर मासिक १ हजार रुपैयाँ पुर्‍याए पनि ज्येष्ठ नागरिकहरुले पाँच हजार बनाउनुपर्ने माग गरिरहेका छन् । तीन वर्षदेखि यही मागलाई लिएर बिहान भात-सात खाएपछि मीनभवनमा जम्मा हुनु, सरकारलाई धारेहात लाएर गाली गर्नु, अनि लुरुलुरु घर फर्किनु । मानौं, यसैगरी चलिरहेको छ ज्येष्ठ नागरिकको दिनचर्या ।

बिहीबार दिउँसो ११ बजेतिर अनलाइनखबरकर्मी त्यहाँ पुग्दा त्रिपालमुनि करिब २०-२५ जना बृद्धवृद्धा थिए । वृद्ध र वृद्धाहरु लगभग उत्तिकै संख्यामा थिए । समुहमा सबैभन्दा तन्नेरी देखिने एक भलादमी माइक समाएर एकसुरले बोलिरहेका थिए । भाषण साह्रै पट्यारिलो त होइन, तर वृद्धबृद्धाहरु उति चाख लिइरहेका थिएनन् । यतिकैमा हजुरबा हजुरआमाले पालैपालो भाषण गर्ने क्रममा प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री डा. रामशरण महत र समाज कल्याणमन्त्री निलम केसीलाई एकलखे लगाएरै तथानाम गाली गरे ।

धर्नास्थलमा कोही हजुरआमाहरु कोही बत्ति कात्दै थिए, कोही उँघिरहेका थिए, कोही नङ काट्दै थिए । हजुरबाहरु ‘नोस्टाल्जिया’मा हराएको प्रेमीझैं मानौं अनन्तकालदेखि झोक्राइरहेका थिए ।

senior citizens (2)

निलम लिची बाँडेर मन्त्री काकी…..

खैर, अघिल्तिर सञ्चारकर्मी देखेपछि वक्ता उत्साहित भए । र, आफ्नो भाषणलाई लम्ब्याउन यथासम्भव कोशिष गरे । सुन्नुस, सुन्ने धैर्यता राख्नुस् ! किन होहल्ला ? उनले मन्तव्य अगाडि बढाए –

‘छोरो जन्मिनेबित्तिकै मेरो राजा भन्छन्, नाम राख्छन् धनपति । तर, नाम राख्दैमा त्यो धनी हुँदैन । राजा भन्दैमा राजा हुँदैन । चोरैचोर भएको समाजमा, ठगैठग भएको समाजमा सुकिला लुगा लगाउदैमा कोही साधु हुँदैन । सुटबुट टाई लगाएर हिँड्दैमा कसैले सलाम गर्दैनन् ।’

पत्रकारको क्यामेरा आफूतिर सोझिएपछि उनले भाषणलाई हल्का ‘मोडिफाई’ गरे- ‘हाम्रो आवाजलाई मिडियाले देशका कुना-कुनामा मात्र होइन, संसारभरि पुर्‍याइदिनु भएको छ । माओवादीका लडाकुसित हामी लड्न सक्छम् ? एमालेका युथफोर्ससँग भिड्न सक्छम् ? माओवादीका वाइसेलसँग कुस्ति खेल्न सक्छम् ? सक्दैनम् । सक्दैनम् भने हामी के गर्न सक्छम् त ? हामी उम्लो (औंलो) ठडाउन सक्छम् । पत्रकारहरुलाई जानकारी गराइदिन्छम् । पत्रकारले तिनीहरुलाई नंग्याइदिन्छन् । अस्ति ५ गते (कुन ५ गते के भएको थियो थाहा भएन) जसरी कांग्रेस नांगियो, त्यसैगरी अपराधीलाई नंग्याउँदै लैजान्छम् …

‘त्यसैले आदरणीय बाआमा… छोराको नाम धनपति राख्दैमा उ धनी हुँदैन । माया गरेर राजा भन्दैमा उ राजा बन्दैन ।’

भिडियो हेर्नुस्-

एकाएक भाषण टुंग्याउन लागेको भ्रम उत्पन्न भयो । अनि, भ्रम निवारण गर्दै उनी अर्को सन्दर्भमा प्रवेश गरे । प्रसङ्ग थियो, समाजकल्याण मन्त्री निलम केसीको ।

‘निलम केसी लिच्ची बाँडेर मन्त्री भा’की । हँसिया हतौडाको झण्डा बोकेर लिच्ची बाँड्दै हिँड्थिन् । ज्येष्ठ नागरिकको पीडा के हो (उनलाई) थाहा छैन । सर्वहाराकी छोरी हुन्थिन् भने, श्रमजीवीकी श्रीमती हुन्थिन् भने थाहा हून्थ्यो । तर, सामन्तीकी श्रीमती, शोषककी छोरी, उनलाई पीडा भन्ने केको नाम हो, थाहा छैन ।’

उनले ज्येष्ठ नागरिकको आन्दोलनमा अब ठूलो आँधिबेरी आउने उदघोष गरे । ‘हाम्रो समर्थनमा अब ठूलो समूह सहभागी हुनेवाला छ । केही दिनभित्रै यो (कम्पाउण्ड) भरि मान्छे टनाटन हुन्छन् । एक दिन होइन, हरेक दिन । त्यो समुहले हामीलाई निरन्तर साथ दिन्छ । मसित कुरा भइरहेको छ ।’

‘अरुलाई पनि बोल्ने मौका दिनुस् न,’ वरिपरि जम्मा भएकामध्ये एकजनाले वक्ताको कानैमा गएर भने ।

‘त, आदरणीय बाआमा, मेरो स्वास्थ्य पनि त्यति राम्रो नभएका कारणले आफ्नो भाषणलाई छोट्याउन गइरहेको छु ।’

त्यसपछि पनि करिब ७ मिनेट बोलेर उनले भाषण टुंग्याएर अरुलाई बोल्न पालो दिए । उनी थिए ज्येष्ठ नागरिक संघर्ष समितिका अध्यक्ष पराजुली सर । (बृद्धबृद्धाहरु उनलाई पराजुली सर भनेर बोलाउँछन् । )

‘बाहुन कुन हो, सार्की कुन हो, एउटै भइयो’

senior citizens (11)

‘अब ढीला नगरी बोलाउन जाँदैछु, आमाहरुलाई । त आउँदै हुनुहुन्छ धनमाया कार्की । जोडदार तालीले स्वागत गरौं,’ पराजुली सरले डाकेपछि ७०-७५ वर्षकी देखिने जीर्ण शरीर भएकी हजुरआमाले माइक समातिन् ।

पङ्तीकारलाई लाग्दै थियो, ‘अलि बोल्न सक्नेलाई माइक दिएको भए हुन्थ्यो नि ।’

तर, यो सोचाइ गलत रहेछ, धनमाया आमाले ‘विष्फोटक’ भाषण ठोकिन् । कम्युनिष्ट पार्टीबाट बाहिरिएको नेताले माउपार्टीलाई गाली गरेभन्दा चर्को भाषामा सत्तोसराप गरिन् प्रधानमन्त्री सुशील कोइरालालाई । यद्यपि आवाज प्रष्ट नभएकाले बोलेको धेरै बुझिएन । जति बुझियो, साह्रै कडा थियो ।

माइक समातेर दुईपटक हेलो… हेलो… भनेपछि उनी एकैचोटि बम्किन थालिन्, ‘यो सुशीले कोइरालो भन्ने सरकार कि ललकार हो ? हाम्रो आन्दोलन गरेको तीन वर्ष भो, कानमा केजाति हालेर बसेको छ ।’ वृद्धवृद्धाले पटट ताली पिटे । उनको भाषणका केही असम्पादित अंश यस्ता थिए –

‘…त्यसो भएकाले ठूलो आन्दोलन भइसको । सरकारले सुनेन । हामीलाई तामा तुलसी लिएर भोट दिनुस् जे माग्नुहुन्छ दिन्छौं भनेका थिए । होला भनेर भोट दियौं । मुन्त्रि भए । सबै राम्रो भयो । जब हाम्रो सरकार आयो, सुशीले कोइरालो भन्ने छ नी, गिरिजाप्रसाद कोइरालाको ठाउँमा आउँछ कि भनेर आशा गरेम् । सबै तातोपानी … ‘

‘…छोरा न छोरीको, फेद न टुप्पोको केको धर्म हुन्थ्यो ? माया पर गाको छैन । आफ्नो माया अन्त सरे पो अरुमाथि दया आउँछ । दया गरेन …’

…हाम्रो सम्वोधन गर्छ कि भनेको त जम्मा पाँच सय ! थुक्क बरु त्यही खाओस् ! त्यसैलाई टीको लाएर दिन्छौं

‘… हाम्रो माग गरेको पूरा होस् । पहिले पाँच सय खायौं । अहिले पाँच हजारको माग हो । हामीले ३ वर्ष लागेपछि ५ हजारको माग गराको छ । त्यसो भएकाले हामीले कष्ट खायौं । पुलिस आयो, रंगबिरंग गरे । हामी न्याममा (नियम) बस्छम् । अपराधीको न्याम छैन…’

‘… सुशीले कोइरालोले भोलि छोड्नै पर्छ । मान्दैन भने, त्यो भन्दा विद्वान राख्ने शक्ति हाम्रो छ …’
‘…हाम्रो हिन्दू धर्म छोड्दैनम् । महेन्द्र राजाको पालामा जे मानेको छ, त्यही मान्छम् । यो गाईजात्रामा हामी बस्दैनौं । बेइज्यतीहरुले बुढी पनि भनेका छैनन्, छोरी पनि भनेका छैनन्, नाबालक पनि भनेका छैनन् । बाहुन कुन हो, सार्की कुन हो, एउटै भइयो । यो (अ) धर्ममा हामी बस्दैनम्…’

‘… हाम्रो धर्म हामी छोड्दैनम् । जे (गर्दै आएको) छ, त्यही गर्छम् । जे बाबुआमाले बारेको छ त्यही बार्छम् । तिथि गर्छम्, सराद्दे गर्छम् । देउता मान्छम् । हामी यो धर्म छोड्दै छोड्दैनम् ।’

‘… सुशीलेले हामीलाई हेला गरो, हामी पनि तेल्लाई हेला गर्छम् । निकाला गर्छम् । यहाँ किन कराए बुढाबुढी भनेर सुशीले कोइरालो आउँछ ? गाईभैंसी हेर्ने गोठालो राष्ट्रपति भएर आएको छ । बुढाबुढीको बिचार गर्दैन । भन्देखिन्, हाम्रो राजा हाम्रो देश होस् । हाम्रो नेपाल हाम्रो होस् । हिन्दू धर्म हामी छोड्दैनम्…’

धनमाया आमैले बेस्सरी ताली खाइन् । उनको भाषणले पराजुली सरलाई चनाखो तुल्याएको थियो । उनले माइक समातेर सम्झाइन् ।

‘मेरा आदरणीय बाआमा, एउटा कुरामा आपत्ति जनाउँछु । जातीयताको कुरा नगर्नुस् । जातीयताको कुरा, धर्मको कुरा र राजनीतिको कुरा गरेर हामी भेदभाव गर्दैनौं । धनपति नाम राख्दैमा धनपति हुँदैन । तल्लो जात हो भने पनि राम्रो काम गर्छ भने सम्मान गर्नुपर्छ । तपाईं आफ्नो धर्म मान्न स्वतन्त्र हुनुहुन्छ ।’

पाँचसय थप्देको ? थुक्क ! टीको लगाएर फिर्ता गर्छौं !

senior citizens (9)

धनमायाले अर्का वक्तालाई बोलाइन्, ‘अब ढीला नगरी म बोलाउँछु यसोदा ढकाल आमालाई । जोडदार तालीले स्वागत गरौं ।’

यसोदा आमा हेर्दै शालीन र बौद्धिक देखिन्थिन् । उमेर उस्तै देखिए पनि धनमायाभन्दा भिन्न थियो उनको व्यक्तित्व । उनीबाट तार्किक कुराहरु आउने अपेक्षा थियो । तर, फेरि पङ्तीकार गलत सावित भयो ।

‘गुरु ब्रम्हा गुरु विष्णु …’ को श्लोक वाचन गर्दै यसोदा ढकालले आफ्नो सम्बोधन सुरु गरिन् । सुरुमा सुस्तरी बोलेकी ढकाल बिस्तारै उग्र बन्दै गइन् र अन्ततः धनमायालाई पनि उछिनिन् । उनको भाषणका केही झलकः

‘…यो कांग्रेस ७ सालदेखि भोग्दै ल्याको हो । कानमा समाएर घर्तीको सुंगुर घिस्याएर लगेर खायो । यो कांग्रेस अपराधी हो…’

‘महतो (अर्थमन्त्री डा. रामशरण महत) को के गरी सुद्दी पलाउँथ्यो ? महत पनि कांग्रेस नै हो । किन सुशीलेलाई भन्नु ? डाडु पन्यू महतोको हातमा छ । सुशीलेले के गर्छ बरा ! महतोले पो बोल्नुपर्छ । डाडूपन्यू लिएर बसेकाले हामीलाई पस्केर भात दिँदैन । उ आफू मात्रै खाउँ, लाउँ मोजमस्ती गरौं भन्छ । हामीलाई केही दिइरछ तेल्ले ..?’

‘…तीन वर्षको इतिहास हाम्रो । विश्वभरिको इतिहास छ यो ठाउँमा । हाम्रो पवित्र भूमि हो । यहीँ मरिसके १०-१२ जना । शहिद भइसके । हामी पनि कैले मर्छौं ठेगान छैन…’

‘…कति दिन (आन्दोलनमा) आइहने ? दिनदिनै गाडीमा आउने पैसा कल्ले दिन्छ ? बल्लबल्ल पाँच सय (थपेको छ) । थुक्क ! टीको लगाएर तेसैलाई दिन्छौं । हाम्रो सामुन्ने आओस् । त्यसको खुबी छ भने हाम्रो सामुन्ने आएर यसपालि यति दिन सकेँ, भूईंचालाले यत्रो घाटा भो, अहिलेलाई यति भो है बाआमा भनेको भए हुँदैनथो ? उहाँबाट भाषण गरो ..!’

‘…हाम्रो सम्वोधन गर्छ कि भनेको त जम्मा पाँच सय ! थुक्क बरु त्यही खाओस ! त्यसैलाई टीको लाएर दिन्छौं । घाँटीदेखि उँभो मुसलमान छ, उँधो हिन्दूजस्तो छ । के हो जात हामीलाई थाहा छैन । हामी त सुद्ध नेपाली, गोर्खा आमाका छोराछोरी । हामी गोर्खाली । के सोचिरछ तेल्ले ? हामीलाई रातदिन रुवाएर हाम्रो रगत, पसिना खाएर बसिरछ ।’

‘…हामीले हाम्रो हक खोजेको हो । (देशको ढुकुटी) त्यसका बाउको बिर्ता होइन । त्यसकी स्वास्नीको बिर्ता पनि होइन । कति आश गर्नु ? तीन वर्ष भो । कोटेश्वरबाट यहाँ आउँदा पुलिसको बुट खायौं । यहाँ बम पनि राखिए । पुलिसले बन्दूक पनि तेस्र्याए । यति गर्दा पनि प्राण गएको छैन । हामीले मट्टीतेल डिजल खन्याएर मर्छौंं भन्दा पनि जे भका प्रशासन आएर दिएनन् ।’

‘…सानाको छ यो महत ? यसकै हो काम, के सुशीलेलाई लाउनु ? यसका हातमा छ डाडू पन्यू । सुशीले… सुशीले… के यत्राको सुशीले ? यसकहाँ छ सम्पत्ति जति । सुशीलेलाई केही छैन दोष । उसले (महतले) दिउँ भनेर खरर बोलेको भए कसले के भन्थ्यो । त्यो बेला केही भन्न कसैको हक थियो ? थिएन…’

‘छोरा जन्मोस् सुरवीर जन्मोस् भनेजस्तो एउटा बहादुर जन्मेको होला है, यसको कुर्सीमा बस्न । अति गर्नु, अतिचार नगर्नु । हामी पनि गोर्खाली हौं । जय नेपाल !

माइक दिएर उनी धनमायाकै छेउमा गएर बसिन् । दुई वृद्धाहरुबीच त्यहीँ कलह सुरु भयो । कोइरालो दोषी कि महतो भन्नेमा बाझाबाझ गर्न थालेपछि पराजुली सरले हस्तक्षेप गरे । ‘तपाईंहरु हल्ला गर्ने हो भने म जाउँ ?’ सरले घुक्र्याएपछि हजुरआमाहरु चुप लाग्नुभयो ।
पाँच हजार मागिछम् !

त्यसपछि बोल्ने पालो आयो सीतामाता आचार्यको ।

senior citizens (14)

‘पराजुली सर नमस्कार, बाआमा, पहरी भाइहरु । यहाँ मान्ने गुन्ने, मिडिङ (मिडियाका) भाइहरु । म सीतामाता, ५ नम्बर वडा सिरुटार मेरो घर । पाँच हजार माग मागिछम् हाम्ले । त्यो माग पूरा गर्दे हुन्थ्यो । धर्ना बसेको तीन वर्ष भइसको । अहिलेसम्म केही भको छैन, हामी साह्रै दुखी छम् ।’

‘(एक्कासी जोशमा आउँदै) संविधान, संविधान, संविधान… केको संविधान ? केको (नयाँ) नेपाल ? नयाँ नेपाल चलाउँछु म भनेर कुर्सी लिनुभ’को छ । अहिलेसम्म नयाँ नेपाल चलाएर के भाको छ ? न महंगी सस्तो छ, न सुविधा छ ।’

‘उसका पनि जन्म दिने बाआमा होलान् । यी बाआमा पनि मेरै हुन्, एकचोटि हेर्न जाम् उहाँहरुको माग पूरा गर्दिम् र पाँच हजार दिम् भन्ने छैन ? पाँचहजारले नि पुग्दैन हाम्लाई यसको भनाइ अनुसारले । जेष्ठ नागरिक (आन्दोलन) कदापी छोड्दैनम् । उसले चलाउन सक्दैन भने सुम्पोस् हामीलाई ।

‘र म सिरुटार सीता माता ५ नम्बर वडाको नमस्कार भन्दै विदा लिन्छु…’

घडीले एक बजाएपछि कार्यक्रम औपचारिक समापन भयो ।

‘भोलि बिदा छैन है, आउनुपर्छ,’ पराजुली सरले सबैलाई निर्देशन दिए । तर, वृद्धवृद्धाहरु चाहिँ बिदाको माग गरिरहेका थिए । ‘यत्रो गुरु पुणिर्माको दिन सरखारले सबैलाई बिदा देको छ, आउँदैनौं हामी ।’ एक वृद्धा भन्दै थिइन् । तर, पराजुली सर गलेनन् । ‘सरकारी अड्डा हो र सार्वजनिक विदा पाउनलाई ?’ सर कड्किएपछि चुपचाप लाग्दै वृद्धवृद्धाहरु बाटो लागे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment