Comments Add Comment

बाबुरामको दाबी : साउन मसान्तमै सीमांकनसहितको संविधान आउने आधार तयार भइसक्यो

१८ साउन, काठमाडौं । साउन मसान्तमा संविधान नआउने र सीमांकनको विवादले गर्दा संविधान अन्योलमा परेको आशंका भइरहेका बेला संवाद समितिका सभापति बाबुराम भट्टराईले भने गलत हल्ला चलाइएको बताएका छन् ।
Baburam-Bhattrai
संवैधानिक राजनीतिक संवाद समितिका सभापति तथा शीर्ष नेता सम्मिलित विशेष समितिका संयोजकसमेत रहेका डा. भट्टराईले साउन मसान्तमै सीमांकन सहितको संविधान ल्याउने आधार तयार भइसकेको दाबी गरेका छन् ।

भट्टराईलाई उधृत गर्दै उनका स्वकीय सचिव विश्वदीप पाण्डेले भने, ‘बाहिर हल्ला चलेजस्तो केही पनि भएको छैन, भित्र शीर्ष नेताहरुको छलफल एकदमै सकारात्मक छ । सबै मुख्य दलहरुको सहमतिमा श्रावण मसान्तभित्रै सीमांकनसहितको संविधान जारी हुने आधार तयार भइसकेको छ ।’

सभापति भट्टराईले नेपाली जनताले संविधानको प्रारम्भिक मस्यौदामा दिएका सुझावहरुलाई समेत अधिकतम समेटेर संविधान जारी हुने बताएका छन् ।

सम्वाद समितिले आइतबार संविधानसभालाई प्रतिवेदन बुझाउनुपर्नेमा बैठक अनिश्चितकालका लागि स्थगित भएकाले साउन मसान्तभित्र संविधान नआउने आशंका गर्न थालिएपछि डा. भट्टराईले यस्तो स्पष्टीकरण दिएका हुन् ।

शीर्षनेताहरुले सीमांकन सहितको संविधान ल्याउन तयारीस्वरुप सम्वाद समितिको बैठक स्थगन गरिएको बताइएको छ । तर, यसमा कांग्रेसले सत्ता लम्ब्याउने खेल खेलेको हुन सक्ने एमाले नेताहरुले आशंका गरेका छन् । एमाले भने सीमांकनको कुरा गरेर संविधान निर्माणमा ढिलाइ गर्न नहुने पक्षमा उभिँदै आएको छ ।

शीर्ष नेताहरुको छलफलमा एमाओवादी, फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसका नेताहरु सीमांकनसहितको संविधान जारी गर्नुपर्ने पक्षमा उभिएका छन् । तर, शीर्ष नेताहरु  सहमतिमा पुग्न नसकेपछि आइतबार सम्वाद समिति निश्कर्षमा पुग्न सकेको थिएन । संवाद समितिको बैठक स्थगित भएपछि साउनमा संविधान नआउने आशंका गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment