Comments Add Comment

०४५ सालको नाकाबन्दीमा मधेसमा के–के भयो ?

-सूर्यबहादुर सेन ओली

वि.सं. ०४५ चैत्र ३ गते भारतले नेपालसँगको व्यापार तथा पारवहन सन्धिको म्याद समाप्त भएपछि पुनः सन्धि गरेन । म्याद थपेन । भारतबाट नेपाल आउने मालसामान बन्द गरी आर्थिक नाकाबन्दीको धम्की दियो भन्ने कुरा थाहा पाएँ । ६ वटै जिल्ला विशेष गरी तराईका जिल्ला प्रशासनलाई पूर्ण सतर्क गराउने र पञ्चहरूलाई जागरुक राख्ने कार्य सुरु गरेँ । साँझ आपूर्ति राज्यमन्त्री आउनुभयो । मालसामानको अभाव हुन नदिने व्यवस्था गर्न सल्लाह दिनुभयो ।

Suba Sen४ गते शुक्रबार बिहान अञ्चल सुरक्षा समितिको बैठक बसालेँ । भारतबाट नेपालमाथि लगाइएको आर्थिक नाकाबन्दीबारे जानकारी गराउँदै भारतीय पक्षबाट हाम्रो देशमा अभाव र असन्तुष्टि गराउने र जनता भड्काउनेजस्ता क्रियाकलाप हुन नदिने, सतर्क हुने, सर्वसाधारण जनतालाई सम्झाउने-बुझाउने, प्रशासन यन्त्रलाई जागरुक र सतर्क गराउने, पञ्च नेता समाजसेवीहरूलाई आफ्नो देशको अडानप्रति जानकार बनाउने, वास्तवमा ‘आफ्नो खुट्टामा आफै उभिने खालको मानसिकता तयार पार्दै जाने । समाजमा घटाउने अपराधजन्य क्रियाकलापलाई नियन्त्रण राख्ने, कुनै पनि चीजको अभाव हुने ठाउँमा अभाव हुन नदिने र नहुने ठाउँमा पनि अभाव हुन नदिने गरी समानको समानुपातिक विरतण व्यवस्था मिलाउने । जिल्ला-जिल्लाको समन्वय गरी राख्ने, सूचना जानकारीहरू आदानप्रदान गर्दै जानेव्यवस्था गर्ने निर्णयहरू भए ।

१० बजे सबै जिल्ला प्रशासन, प्रहरी, जनसम्पर्क कार्यालय, शाहीसेना, आदिलाई निर्णयबमोजिम चनाखो भई कार्य गर्न निर्देशन पठाएँ । तीन बजे लाहान गई सिराहाका प्रमुख जिल्ला अधिकारी शारदाप्रसाद दाहाल, प्रहरी नायव उपरीक्षक केशव बरालहरूलाई बोलाई भेटी उपर्युक्त बमोजिम गर्न अर्‍हाएँ ।

६ गते दुर्इ बजे गृह राज्यमन्त्री निरञ्जन थापा, भन्सार महानिर्देशक, मोहनदेव पन्त आउनुभयो । उहाँहरूले पनि भारतीय नाकाबन्दीबाट हामी नझुक्ने, मालसामानको, अभाव हुन नदिन समयमै व्यवस्था गरी बस्ने निर्णय दिनुभयो । ७, ८, ९ गते प्रशासनिक यन्त्र, पञ्च, जनप्रतिनिधि, समाजसेवी र व्यापकरूपमा सर्वसाधारण जनतालाई वस्तुस्थिति अवगत गराउने र सतर्क राख्नेतर्फ कुराकानी र सम्पर्कहरू गर्दै रहेँ ।

चैत्र १० गते बिहीबार नेपाल भारत दुर्इ देशबीचको व्यापार तथा पारबहन सन्धिको म्याद समाप्त भयो । भारतले नयाँ सन्धि गरेन । भारतबाट नेपाल आउने मालसामान रोकी दिन केन्द्र सरकारले राज्य सरकार र नाका नाका भन्सारहरूमा लेखेको पत्रहरू प्राप्त भएको कुरा जानकारी हुन आयो ।

भोलिपल्ट ११ गते २ बजे सिराहा र सप्तरीका नाकाबाट नेपाल आउने मालसामानहरू रोकिदियो । बन्देज लगायो । आजै साँझदेखि बजारमा कालोबजारी नाफाखोरीहरूले जनतामाथि डकैती गर्न सामानहरू लुकाउन थाले । साँझसम्म राजधानीबाट आउने सूचना खबर आदिबाट राष्ट्रविरोधी तत्त्वहरू, समुह र व्यक्तिहरू नाकाबन्दीको समर्थनमा नेपाली जनतालाई भड्काउन सक्रिय भएको कुरा जानकारीमा आयो । तर, सर्वसाधारणले नाकाबन्दी किफायत, हिफाजत गर्न थाले । र देश विकास गर्न नेपालीलाई बाध्य पार्ने दबाबको रूपमा पछि गएर ‘वरदान’ हुने कुरा महशुस गरेर विचलित नहुने दृढता प्रकट गर्दै रहे । जसबाट म प्रेरित हुँदै सगरमाथाका जनतालाई कुनै पनि हालतमा अभाव, असुरक्षा र अव्यवस्थाबाट पीडित हुन दिने छैन भन्ने प्रतिज्ञा गरी समाज सेवीहरूलाई प्रोत्साहन गर्दै उनीहरूका साथमा रहन थालें ।

जिल्लाहरूका विभिन्न गाउँ पञ्चायतको भ्रमण र जनसम्पर्क बढाएँ । नेपाली ग्राहकहरूमा आधारित भारतीय छिमेकी जिल्लाहरूका बजार व्यवसायीहरूसँग सहयोग आदानप्रदान गर्न इच्छुक सहयोगी माथवर मानिसहरूसँग पनि सम्पर्क राख्ने रखाउने कामहरू विभिन्न निकाय, कर्मचारी र सीमावर्ती क्षेत्रका पञ्च प्रतिनिधिहरू, प्रभावशाली व्यक्तिहरूको माध्यमबाट गराउँदै गएँ र भारतीय सरकारले नाकाबन्दी गरेपछि स्थानीय स्तरमा आयात निर्यात मन्द गतिमै भएपनि यथावत् नै रहृयो ।

भोलिपल्ट बजारियाहरू तथा जनता भड्काउन खोज्ने नेताहरूलाई बोलाई स्थिति अवगत गराउँदै ‘यहाँ जनता पनि छन्’ भन्ने सम्झाउँदै खुला व्यापार गर्न सम्झाएँ । प्र.जि.अ., प्रहरीलाई माग बढिरहेको सामानहरूमा कोटा व्यवस्था गरी बिक्री विरतण गराउन निर्देशन जारी गरेँ । १४ गते सिराहा जिल्लासभामा पञ्चनेताहरूलाई यिनै कुराहरूबारे सम्झाइबुझाइ गरेँ ।

चैत्र १५ गते साँझ स्थितिको समीक्षा गरेँ । भारतले नेपाललाई नियन्त्रणमा राख्न आर्थिक नाकाबन्दी गरेको बुझेँ । अराष्ट्रिय तत्त्व, भारतीय एजेण्ट, दोधारे नीतिवाला शक्ति, पञ्चायत विरोधी नेपाली र नेपालमा आफ्नो धर्म प्रचार गर्न चाहने पश्चिमाहरू यसबेला नेपाली जनता भड्काउने प्रयासमा लागेका र चारैतिरबाट षड्यन्त्रणात्मक आक्रमण भइरहेको बुझेँ ।

असुविधाको स्थिति समाप्त नभएसम्म सप्तरीबासीले शुक्रबार र आइतबार नुन नखाने प्रतिज्ञा गर्दछौँ भन्ने प्रस्ताव पारित गर्‍यो । साँझ पाँच बजे थाहा भयो-सिराहामा पनि त्यस्तै प्रस्ताव पारित भएछ ।

यस्तो बेलामा देश-राष्ट्रलाई परिआउँदा देश र राष्ट्रप्रति गर्नुपर्ने आफ्नो कर्तव्य अरू बढी सतर्क, सजग र सचेत भएर अरू सक्रिय र दृढताका साथ पालन गर्न कम्मर कसेँ । १२ बजेसम्ममा पञ्च, कर्मचारी र समाजसेवीलाई यिनै दृष्टिकोणले सञ्चालन गर्न कार्यक्रम बनाएँ । भोलिपल्ट बिहानैदेखि यी कार्यक्रमअनुसार चल्न ६ वटै प्र.जि.अहरू, प्रहरीहरूलाई फोन र आ.वा. मार्फत् निर्देशन दिएँ ।

चैत्र १७ गते सप्तरी जिल्ला सभाले ‘भारतबाट नेपालमा आउने सामान रोकी आर्थिक नाकाबन्दी गरी हामी नेपालीहरूलाई असुविधामा पारेकोले व्यापार तथा पारवहन सम्बन्धी सन्धि छुट्टाछुट्टै हुनुपर्छ । भारतीय नाकाबन्दी हट्नुपर्छ भन्ने आग्रह गर्दछौँ’ भन्ने प्रस्ताव पारित गर्‍यो । यस सभामा पूर्व मन्त्री डा. नागेश्वरप्रसाद सिंहलगायत धेरै वक्ताले काठमाडौंबाट प्रकाशित हुने विमर्श साप्ताहिक, देशान्तर साप्ताहिक, नेपाल टाइम्स दैनिक जस्ता पत्रपत्रिकाहरूले नेपालको हित विपरीत कुराहरू लेखी भारतलाई चिढाउने निहुँ दिँदै भारतलाई नाकाबन्दी अरू चर्काउन उक्साउने अर्थात् दुर्इ देशका बीचको सम्बन्ध विगार्नेतर्फ जानकारी गराउने खालका समाचार, टिप्पणीहरू प्रकाशित हुने गरेकोमा खेद प्रकट गर्दै आलोचना गरे ।

साथै, कमसेकम पनि यस अञ्चलमा त्यस्तो समाचार लेख, टिप्पणीहरू भएमा पत्रपत्रिकाहरूलाई प्रतिबन्ध लगाउन प्रशासनलाई आग्रह गरे । दुर्इ देशको सम्बन्धमा तीक्तता नबढोस् भन्ने उद्देश्यले साँझदेखि त्यस्ता अवाञ्छित विषय लेखिएका पत्रपत्रिकाहरू जाँची मात्र बजारमा छाड्ने आदेश गरेँ ।

साँझ ५ बजेतिर त्यो सभाले ‘भारतले नेपाल आउने सामान रोकी हामी नेपालीलाई असुविधाको स्थिति सिर्जना गरेको छ । नेपाल-भारतबीच व्यापार र पारवहन सम्बन्धी छुट्टाछुट्टै सन्धि हुनुपर्दछ भन्ने आग्रह गर्दछौँ र उपर्युक्त बमोजिमको असुविधा चाँडै समाप्त होस् भन्ने चाहन्छौँ । साथै, सो असुविधाको स्थिति समाप्त नभएसम्म सप्तरीबासीले शुक्रबार र आइतबार नुन नखाने प्रतिज्ञा गर्दछौँ भन्ने प्रस्ताव पारित गर्‍यो । साँझ पाँच बजे थाहा भयो-सिराहामा पनि चलिरहेको जिल्ला सभाले आजै २ बजे त्यस्तै प्रस्ताव पारित गरेछ ।

यी यस्ता विचारहरूबाट, जनसम्पर्कबाट थाहा हुन्थ्यो-नाकाबन्दीबाट नेता तथा जनता दुवै विचलित थिएनन् र असुविधाको स्थिति सामना गर्दै सामनाका लागि मानसिकरूपमा तयार हुँदै विकल्पका उपायहरूको खोजितिर सोँच्दै थिए । भोलिपल्ट १८ गते सिराहा जिल्ला सभामा आमन्त्रित थिएँ, गएँ । पञ्चहरूसँग भेटघाट र उनीहरूका विचार बुझ्न पाएँ । भारतीय नाकाबन्दीको विरोधमा उनीहरूको मनोबल उच्च रहेको पाएँ ।

भारतीयहरूको अर्घेल्याइलाई साथ दिने व्यक्ति सिराहा/सप्तरी जिल्लामा पनि होलान् । तापनि, देशमाथि भारतीय षडयन्त्रको भर्त्सना गर्न थाले । तर, मा.गजेन्द्रनारायण सिंह, पूर्व रा.पं.स. देबेन्द्र झा, मा. रा.पं.स. विश्वेश्वर मरबैता आदिहरूले भने बाहिर चुपचाप बसे, भित्र नेपाली जनता भड्काउने क्रियाकलाप गरिरहेका छन् भन्ने सुन्नमा आयो । तापनि,  त्यसलाई महत्त्व नदिने नीति लिई देखेको नदेख्यै गरेँ । उनीहरूको प्रभाव जनतामा बढ्न नदिने सन्दर्भमा उनीहरूकै आफन्त सिंह, झा र यादवहरूलाई अगाडि सारिदिएँ । उनीहरू प्रभावहीन पर्दै गए । भारतीय नाकाबन्दी जनताले बुझ्दै गए ।

वास्तवमा भारतको आर्थिक नाकाबन्दी नेपालको इतिहासमा कहिल्यै नभएको दादागिरी थियो । यसको चाप र मारबाट सर्वसाधारण जनतामा आत्मबल नगिरोस्, अन्याय अत्याचार नपरोस् भन्ने हेतुले बढी जनसम्पर्कमा रहेँ । पञ्चहरू, प्र.जि.अहरूलाई त्यस्तै गर्न प्रोत्साहित र निर्देशन गर्दै गएँ । साथै जनसम्पर्कमा बढीरहन, जिल्ला भ्रमणहरू गरिरहन, सामाजिक न्यायका लागि जनताको ठाडो उजुरीहरू सुन्ने र मेलमिलाप-मिलापत्र गराई शान्ति कायम राख्न, हारजीतको स्थिति खडा हुन नदिन बडो सतर्क भएर जनताका माझमा रहन, जनताको मायालु र विश्वासी बनेर काम गर्न प्र.जि.अ.हरूलाई विशेष सतर्क राख्ने कामहरू गर्दै रहेँ ।

चैत्र २३ गते प.नि.जा.बु.स.ले खटाएका पूर्वमन्त्री रमानन्द यादव र मङ्गलप्रसाद गुप्ता आउनुभयो । ११ बजेदेखि जिल्ला पञ्चायतमा भारतीय नाकाबन्दीबारे यहाँका पञ्च, वर्गीय सङ्गठनका पदाधिकारी तथा कार्यकर्ता, गन्यमान्य व्यक्तित्व, बजारिया साहू महाजनहरूसँग भेटघाट छलफल गर्नु, गराउनुभयो । ‘भारतले नेपालको सुरक्षा, परराष्ट्र र जलस्रोत आफ्नो अधीनमा लिन चाहन्छ, व्यापार र पारवहनका सन्धि अलग अलगबाट एउटै पार्न खोज्छ । नेपालले ती कुरा स्वीकार नगरी आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्न खोजेकाले सबैभन्दा शत्रुलाई गरिने आर्थिक नाकाबन्दी गरेको छ । हामीले आफूले बुझेर सर्वसाधारणलाई बुझाएर यस नाकाबन्दीको सामना गर्नुपर्दछ ।

श्री ५ को सरकारले तेश्रो मुलुकबाट ल्याएर पनि नुन र पेट्रोलियम पदार्थ पुर्‍याउनेछ । कपडा उत्पादनजस्ता देशभित्र उत्पादन गर्न कपास खेतीजस्ता कार्यक्रमलाई सरकारले सहयोग दिन्छ । सामान्य व्यक्ति र ठाउँलाई हामी सबैले प्रोत्साहन गर्दै जानुपर्दछ’ भन्ने निस्कर्षमा यो भेटघाट पुग्यो ।

भोलिपल्ट चैत्र २४ गते यादवको सो टोली सिराहा गयो । त्यहाँ पनि सप्तरीमा जस्तै पञ्च, बजारिया, व्यवसायीहरूसँग छलफल भएछ । भारतीय नाकाबन्दीबाट उत्पन्न स्थितिको मुकाविला गर्न सर्रवसाधारण जनतालाई जानकार गराउने भन्ने निष्कर्षमा पुगेछ ।

चैत्र २५ गते दक्षिणी सीमावर्ती क्षेत्रको निरीक्षण र अध्ययन भ्रमणमा हिँडेँ । नर्घो, फकिरा हुँदै १०.३० बजे बननीया गा.पं.मा गएँ । प्राथमिक विद्यालय प्राङ्गणमा उपस्थित जनसमुहलाई नेपाल भारतबीच व्यापार तथा पारवहन सन्धिको अनुपस्थितिमा कुनै अवाञ्छित तत्त्वले जनता भड्काउन नपाउन् भन्ने कुरा सम्झाइबुझाई गरेँ । यहाँ असाध्य ठूलो गुटबन्दी रहेछ । प्रधान र उपप्रधानका बीचमा, राजपुत र ब्राहृमणका बीचमा । त्यसैले उपप्रधानपञ्च पक्षका जनतालाई उहाँकै घर प्राङ्गणमा गई सम्झाएँ । साथै, प्रधानपञ्चका मानिसलाई उहाँकै घर प्राङ्गणमा अनि दुवैथरिका पञ्चहरूमा मेलमिलापका लागि पनि प्रयास गरेँ ।

१२ बजे नर्घो फर्केँ । यहाँ ठूलो पञ्च समाजसेवी कार्यकर्ता र सर्वसाधारणको जनसमुह जम्मा भएको रहेछ । सम्बेाधनमा – ‘जनप्रतिनिधि पञ्चहरू विकासका लागि कृष्ण, अर्जुन बन्नुपर्छ । नेपाल भारतका बीच व्यापार तथा पारवहन सन्धि गराउन श्री ५ को सरकारले प्रयास गरिरहेको छ । भारतीय आर्थिक नाकाबन्दीमा नआत्तिऊँ, यस बेलामा नेपाल आफ्नो अस्तित्वमा उभिनुपर्दछ । राष्ट्रिय अस्तित्व, राष्ट्रिय स्वतन्त्रता र सार्वभौमसत्ताको संरक्षणको लागि सबै उभिनुपर्दछ । सबैले सबै ठाउँबाट मालसामानको अभाव हुन नदिएर धैर्य रही सरकारलाई साथ दिऊँ’ भनेँ ।

४ बजे खड्गपुर पुगेँ । गुञ्जेश्वरी यादवका आगनमा उपस्थित यहाँका निवासी जनसमुहलाई भारतीय आर्थिक नाकाबन्दीबारे सम्झार्इ बुझाई गरेँ । ६ बजे देउरीसीमा क्षेत्र पुगेँ । यहाँको भन्सार प्रहरी चौकी हेरी ‘स्थानीय जनस्तरमा हुने व्यापार व्यवसायलाई प्रोत्साहन दिँदै मट्टीतेल, पेट्रोल, डिजेल, नुन, तेल, लत्ता-कपडा सीमापारिका भन्सार, प्रहरी र व्यापारीहरूमा राम्रो सम्पर्क राखी ल्याउने र यहाँबाट भारत जाने काठबाहेक अरू बाँस, घाँस, खाद्यान्न आदि सामान नरोकी जान दिने निर्देशन दिएँ ।

यस्तैमा लौकिही बजारमा भारतबाट बजार गरी फर्केका नेपालीलाई भेटें । ‘२ लिटर मट्टितेल र २ के.जी. नुनसम्म ल्याउँदा पनि भारतीय प्रहरीले खोसेर ल्याउन दिएन । एकछिन प्रहरीमा लगी थुनी छोडिदियो । घुमीघुमी नेपाल भारतको सारा सीमानामा हतियारधारी सी.आर.पी.ले निरीक्षण गरिराखेको छ’ भने उनीहरूले । यो सुनी हेरी भारतीय सीमा क्षेत्रका प्रहरी र माथवर प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बनाई राख्ने विचार बनाई राति ९.३५ बजे राजबिराज फर्केँ ।

धनगढीका लक्ष्मण दास ससुराली भारत लदनियाबाट नेपाल घर फर्किँदा थानेदारले तीन किलोजति खुर्सानी खोसी लिएछ । उनले जीवनभरि खुर्सानी नखाने र आर्थिक नाकाबन्दीको सामना गर्ने प्रतिज्ञा गरेछन् । उनलाई ‘धन्यवाद’ दिँदै खुर्सानी आफ्नो जग्गामा खेती गरी आफै उब्जाई खाने सल्लाह दिएँ ।

चैत्र २७ गते सप्तरीको दक्षिण पूर्वी सीमातिर लागेँ । १ बजे हनुमान नगरबाट पसेँ । यहाँबाट रामपुर मल्हनीया-तिलाठी र कुनैाली, लालापट्टि सखडा सीमानामा पर्ने गाउँ गोबिन्दपुर गएँ । यहाँ जनसम्पर्क र वस्तुस्थिति अध्ययन गरी साँझ सीमापारी भारतीय गाउँमा गएँ । यहाँका प्रतिष्ठित राजपुतहरूलाई भेटेँ । नेपाल भारतको बीचमा व्यापार तथा पारवहन सन्धि एकदिन हुने नै हुँदा नेपालबाट भारत आउने सामान मैले नरोक्ने र भारतबाट नेपाल जाने तेल, नुन, लत्ताकपडा भारतबाट नरोक्ने परिस्थिति सिर्जना गरी सहयोग गर्नेबारे कुराकानी गरेँ । उनीहरूको आश्वासन लिएर ९ बजे राजविराज फर्केँ ।

अध्ययनबाट नेपालमाथि भारतीय आर्थिक नाकाबन्दी चर्को  रूपमा लागू गरिरहेको कुरा बुझिन आयो । साँझ यो कुरा श्री ५ का प्रमुख सचिवालय र गृह मन्त्रालयमा जानकारी दिई भोलिदेखि सिराहाको सीमाक्षेत्रको भ्रमण गर्ने कार्यक्रम बनाएँ ।

चैत्र २८ गते बिहानै राजविराजबाट एस.पी. रामबहादुर थापालाई लिई ७ बजे हिँडी सिराहा पुगेर प्र.जि.अ. र डी.एस.पी.लाई पनि साथमा लिई १० बजे सिराहा जिल्ला इनरुवा गा.पं.मा पुगेँ । ठाँडी बजार, प्रहरी गस्ती चौकी, भन्सार कार्यालयहरूको निरीक्षण गरेँ । यहाँ बजारिया, साहू महाजन, पञ्च, समाजसेवी, बुद्धिजिवीहरूसँग भेटघाट गरेँ । व्यापार तथा पारवहन सन्धिको अभावमा नआत्तिने, किनकि नेपाल आफ्नो अस्तित्वको लागि उभिरहेको छ, सरकारलाई साथदिऊँ ।

जहाँसम्म नेपालमा सरसामानको अभाव हुने कुरा छ, तपार्इं हामी सबैले आफ्नो-आफ्नो सम्पर्क सम्बन्धको उपयोग गरौँ । हामीकहाँबाट काठबाहेक अरू जान दिऊँ, भारतबाट आउने लत्ताकपडा, नुन तेल, मट्टितेल, डिजेल, पेट्रोल, आदि ल्याउने र सामानको अभाव हुन नपाउने व्यवस्था गरौँ’ भनेँ । प्रहरी एस.पी.,डी.एस.पी.बाट सीमा पारिका प्रहरीसँग सम्पर्क राखी स्थानीयस्तरमा राम्रो व्यवहार राख्ने व्यवस्था मिलाउनुभयो । त्यस्तै भन्सारले सीमापारि भन्सारसँग ।

यसपछि क्रमशः कचनारी, बरियारपट्टी औरही,- लगदीगोठ, लगदीगदियानी पुगेँ । यहाँका बासिन्दासँग भेटघाट जनसम्पर्क गरी त्यस्तै काम कुराहरू गरी भारतीय नाकाबन्दी हिम्मतका साथ सामना गर्न सम्झाएँ । उनीहरूबाट भएका छलफल र कुराकानी सुनेँ । आत्मबल भरेँ ।

कचनारीमा धनगढीका लक्ष्मण दास ससुराली भारत लदनियामा गएका रहेछन् । हिँजो घर नेपाल फर्किँदा लदनीयाका थानेदारले पक्री, पिटी, कुटी ससुरालीले दिई पठाएको तीन किलोजति खुर्सानी खोसी लिएछ । यो पिटाइ, खोसाइबाट उनले जीवनभरि खुर्सानी नखाने र आर्थिक नाकाबन्दीको सामाना गर्ने प्रतिज्ञा गरेछन् । यो सुनेर उनलाई ‘धन्यवाद’ दिँदै खुर्सानी आफ्नो जग्गामा खेती गरी आफै उब्जाई खाने सल्लाह दिएँ । उनले त्यसै गर्ने प्रतिज्ञा गरे ।

२०४६ वैशाख २ गते साँझ भारतीय टेलिभिजनले ‘हिँजो श्री ५ बाट नयाँ वर्षको शुभकामना व्यक्त गर्दा ‘नेपाल भारतबीच व्यापार पारवहन सन्धिबारे केही कुरा नबोलेकाले समस्या समाधान गर्न नेपाल इच्छुक छैन’ भन्यो । यस विषयमा ४ गते बिहानैदेखि पञ्च बुद्धिजीवी, समाजसेवी, सर्वसाधारण जनतासँगका सम्पर्कमा नेपाल-भारत सम्बन्ध र भारतीय आर्थिक नाकाबन्दीबारे सम्पूर्ण जनतालाई जे भइरहेको छ, सो सबै जानकारी दिने काम गर्न उनीहरूलाई स्पष्ट पार्ने काम गरेँ । जि.पं.सभापति र प्र.जि.अ.लाई पनि त्यसै गर्न आग्रह र निर्देशन गरेँ ।

वैशाख ९ गते आज भारतबाट चोरीबाटो भएर पनि कुनै मालसामान आएन, शून्य रहृयो । सी.आर.पी.ले सीमाभरि गस्ती गरी पूर्णरूपमा रोक्ने काम गर्‍यो । नेपालबाट जाने सामान पनि पूर्णरूपमा रोकी दिन प्रहरीलाई निर्देशन गरेँ । सीमा पारिका भारतीय बजारका ठूला व्यापारी र माथवर मानिससँग ‘भारतबाट सामान पठाउनुस्, हामी पनि नेपालबाट यहाँ आउने सामान रोक्दैनौँ’ भनी भित्री सञ्च कुरा मिलाउन भोलि बिहानै सीमापारि त्यतापट्ट सम्पर्क हुने मानिस समावेश गरी तीनवटा टोली खटाएँ ।

वैशाख १७, २०४६, ४.१५ बजे प्रा.डा. परमेश्वर यादव, प्रा. नारायण यादवहरू आउनुभयो । देशको परिस्थिति भारतीय नाकाबन्दीबारे छलफल भयो । भारतले नेपाल विरुद्ध चलाएको आर्थिक नाकाबन्दी, भारतीय सञ्चार माध्यमबाट भइरहेको नेपाल विरुद्धका क्रियाकलाप, सीमा क्षेत्रमा भारतीय सी.आर.पी.बाट भइरहेको नेपाली नागरिकलाई लुट्ने, पिट्ने आदिबारे सर्वसाधारण जनतालाई वास्तविक कुरा जानकारी गराउनुपर्ने, उनीहरूमा राष्ट्रिय नीति र अवस्थाबारे जागरूक बनाउनुपर्ने, राष्ट्रको स्वत्वको लागि खडा हुनुपरे हुनेजस्ता कुराहरूमा जनतालाई तयार राख्नुपर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने कुराहरू भए । त्यस्ता कार्यक्रम उहाँहरूले स्कूल, कलेज, विद्यार्थी र गाउँ-गाउँ टोल-टोलमा पुराउने, अवगत गराउने कुरा गर्नुभयो । त्यस्तो राष्ट्रवादी कार्यलाई मैले प्रशंसा र प्रोत्साहन गरेँ ।

वैशाख २३ गते २ बजे कञ्चनपुर खुला बजारक्षेत्रमा भएको पञ्च भेलामा आमन्त्रित भई गएँ । भेलामा भारतीय आर्थिक नाकाबन्दीबाट सर्वसाधारण जनतालाई नुन, मट्टितेल स-साना मोटा कपडा, मरमसला, औषधिसमेतको अभाव हुन गई परेको समस्याबारे कुरा उठे । गत तीन दिनदेखि एलर्जीले गर्दा रुघाखोकी भई घाँटी बसेको थियो र बोल्न सक्ने अवस्था थिएन । तैपनि जनतालाई सम्झाउने तर्फ जि.पं. सभापतिलाई लिखित टिपोट दिई उहाँमार्फत् ‘कमजोर राष्ट्र हुनाले आत्म समर्पण गर्ने कि, मित्र देश भारतबाट मित्रदेश नेपालको हैसियतले मित्रवत् व्यवहार पाउने, यही कुराको विश्लेषण गरी भारतबाट मित्रवत् व्यवहारस्वरुप भारतले नेपाललाई व्यापार तथा पारवहन सन्धि अलगअलग गरी नाकाबन्दी हटाई, बेरोक्टोक रूपमा नेपालसँग आयात निर्यात व्यवस्था गर्नुपर्दछ । मलाई लाग्छ – मित्र देश भारतले त्यसै गर्नेछ । सो गरेसम्म अभाव र असुविधाबाट विचलित नभई किफायती बनेर विकल्पको खोजी गर्दै जानुपर्दछ र यस्ता कुरामा फेरिफेरि पनि यस्तो अवस्था आउन सक्ने हुनाले आत्मनिर्भर हुनेतर्फ लाग्नुपर्दछ’ भन्ने आग्रह गरेँ ।

भारतीय नाकाबन्दीबाट नेपालीलाई पर्न गएको असुविधाबाट नेपालीले चेत्ने, आफ्नो लागि आफै काम गर्ने, आफ्नो खुट्टामा उभिने कुरा सिक्नेछौँ भन्ने लाग्यो । राष्ट्रभक्तिमा अरू तेज र दृढता थपिएको अनुभव गरेँ

२७ गते साँझ सिराहा र सप्तरीका जिल्ला पञ्चायत सभापतिहरू, रा.पं.स.हरू र म भएर बस्यौँ । वर्तमान परिप्रेक्ष्यबारे छलफल गर्‍यौँ । नेपालमाथि भारतीयआर्थिक नाकाबन्दीका सम्बन्धमा जनतालाई सम्झाइ रहनुपर्ने, वस्तुस्थितिको जानकारी दिइरहनुपर्ने कुराको निष्कर्षमा पुग्यौँ । पञ्च, समाजसेवी, कर्मचारीहरू सबैको प्रयासबाट भारतले नाकाबन्दी गरे पनि सप्तरी सिराहा र भारतका सीमावर्ती व्यवसायिक शहर बजारहरूमा खुला, गोप्य र व्यक्तिगतसमेत प्रकारका व्यापार चलिरहे । जनतालाई अभावको महशुस गर्नुपरेन साथै, अञ्चलाधीशबाट सीमापारि गनिएका नेता, समाजसेवी, व्यापारीहरूसँग समन्वय र समझदारी गरी उनीहरूले मट्टतिेल, डिजेल, पेट्रोल पठाइदिने काम गरिरहेको कुरा नाकाबन्दीलाई आफैमा जवाफ हो भन्ने कुरामा पनि मतैक्यता भयो ।

भोलिपल्ट २८ गते नेपाल भारतबीच सन्धि सम्झौता गर्न नाकाबन्दी हटाउन भारतीय प्रधानमन्त्री राजीव गान्धीलाई प्रभाव पार्न डा. जगन्नाथ मिश्रलाईलगाउनका लागि उहाँसँग कुरा गर्न कुनौली वा सखडा भगवतीकहाँ आउने कार्यक्रम मिलाउन मनमोहन झालाई पठाएँ ।

‘साथीहरू शुभ चिन्तकहरूसँग भेटघाट गरौँ,’ भनी काठमाडौं आएको बेला जेष्ठ ३ गते ६ वै बजे निस्केँ । नयाँ बानेश्वर चोकमा टेक्सी टेम्पोका लागि पर्खेँ । पाइनँ । पुरानो बानेश्वर चोकमा गएर पर्खेँ । पाइनँ । गौशाला चोकमा गएँ । पाइनँ । चाबेल चोकमा गएँ । एउटा पनि टेक्सी, टेम्पो पाइनँ । ६ बजेदेखि १०.३० बजेसम्म सवारी साधन पर्खी बस्दा पनि केही पाउन सकिनँ । ११.३० बजे घर फर्केँ । यसबाट दुःख लागेन । ‘भारतीय नाकाबन्दीबाट नेपालीलाई पर्न गएको असुविधाबाट नेपालीले चेत्ने, आफ्नो लागि आफै काम गर्ने, आफ्नो खुट्टामा उभिने कुरा सिक्नेछौँ’ भन्ने लाग्यो । राष्ट्रभक्तिमा अरू तेज र दृढता थपिएको अनुभव गरेँ ।

जेष्ठ २३ गते ११ बजे सिराहा र सप्तरीका प्रमुख जिल्ला अधिकारीहरू, प्रहरी अधिकृतहरू, अञ्चल सुरक्षा समितिका पदाधिकारीहरूको संयुक्त बैठक बसालेँ । वर्तमान स्थिति, सर सामानको मौज्दात र प्राप्तिबारे छलफल गरी सर्वसाधारण जनतालाई दैनिक उपभोग्य बस्तुहरूको अभाव हुन नदिने, आवश्यकतानुसार र समानुपातिक हिसाबले मिलाउने कालोबजारी जम्माखोरी हुन गर्न नपाउने र भाउ वृद्धि नियन्त्रण गर्ने, मट्टितेल पेट्रोल डिजेल वितरणलाई व्यवस्थित पार्ने, कृषिका लागि, पम्पिङ्ग सेटजस्ता साधनहरूको क्षमता हेरी कोटा गरी वितरण गर्ने, उदयपुर, सोलु, ओखलङ्गा, खोटाङका लागि चाहिने मट्टितेल सिराहाका प्रमुख जिल्ला अधिकारीले पठाउने व्यवस्था मिलाउने, काठमाडौंमा पठाउने डिजेल, पेट्रोल सिराहाले र त्रिशुली विद्युत योजनाको लागि सप्तरी जिल्लाले जुटाउन सके जतिको आधारमा पठाई सहयोग पनि गर्ने, अञ्चलाधीश तथा सुरक्षा समितिका पदाधिकारीले यी कामहरूमा पूरा रेखरेख र सहयोग पुराउने निर्णय भयो । साँझै, सोही बमोजिम सम्पर्क राखी कोशी, गृह मन्त्रालय काठमाडौं र मर्स्याङ्दी जल विद्युत योजनालाई पनि जानकारी दिने काम गरेँ ।

आषाढ ४ गते पेट्रोलियम पदार्थको व्यवस्था र वितरण शैलीको अध्ययन गर्न गृह मन्त्रालयबाट उप सचिव पुरूषोत्तम ढकालजी आउनुभयो । उहाँलाई सबै कुरा बताएँ । मेरा कुरा सुनेर वितरण व्यवस्था पनि रहेको काठमाडौंमा बढीभन्दा बढी पेट्रोलियम पदार्थ र केही धरानमा पनि पठाइदिन आग्रह गर्नुभयो । सप्तरी, सिराहा र सीमाक्षेत्र पनि हेरी दुर्इ दिनपछि फर्कनुभयो ।

आषाढ १६ गते शुक्रबार ५ बजे सिराहा माडर गई ‘सत्य नारायण मरबैतालाई भेटेँ । भारतीय सीमावर्ती बजार क्षेत्रमा आफ्नो सम्पर्क र प्रभावको उपयोग गरी भारतले हाम्रो देशमा नाकाबन्दी गरेको कारण नेपाली जनतामा भारतप्रति राम्रो प्रभाव नरहेको कुरा गर्ने, गराउने र राजनीतिक पार्टीका नेताहरूलाई यस विषयमा अवगत गराउँदै जाने, दुर्इ देशका बीच सीमा पारि र वारि हुने व्यापारमा अबरोध खडा गर्ने विषयमा कुरा मिलाउनुपर्‍यो’ भनेँ । उहाँको जवाफ र तत्परता त राम्रै लाग्यो । तर उहाँका छोरा, विश्वेश्वर मरबैता छिटो बढेकोले होला ! महत्वाकाङ्क्षा बढी बढेको रहेछ । लम्बा चौँडा र ठूला कुरा गर्नुभयो ।

भारतीय सञ्चार माध्यमले नेपालको बदख्वाइँ गरिरहेपछि  सगरमाथा अञ्चलबाट पनि एउटा अंग्रेजीमा, एउटा मैथिलीमा र एउटा नेपालीमा दैनिक तर दिन फरक पारी राष्ट्रको मुखपत्रको रूपमा समाचार पत्र प्रकाशित गर्नुपर्‍यो

श्रावण १८ गते ११ बजे अञ्चलाधीश कार्यालयले आपूर्ति व्यवस्थाबारे बैठक बसाल्यो । तीन महिनाका लागि सिराहा जिल्लावासीलाई डिजेल ४४००० लिटर, मट्टितेल १ लाख लिटर, पेट्रोल १५००० लिटर र सप्तरी जिल्लावासीलाई डिजेल १,१४,००० लिटर, मट्टितेल १,२०,००० लिटर र पेट्रोल २०,००० लिटर, उदयपुर जिल्लाको लागि डिजेल १२०० लिटर, मट्टितेल २६,००० लिटर, पेट्रोल ५०० लिटर, ओखलढुङ्गा, खोटाङ र सोलु तीन जिल्लाका लागि मट्टितेल ७४,००० लिटर दिने । सबै जिल्लाहरूले यस केाटाभित्र रही खर्च गर्ने । यसै कोटालाई ध्यानमा राखेर नेपाल आयल निगमले यस अञ्चललाई पेट्रोलियम पदार्थ उपलब्ध गराउने निर्णय गरी सम्बन्धीतलाई निर्देशन र अनुरोध गर्ने काम भयो । भाद्र ३ गते बिहान नेताहरू र पत्रकारहरूसँग भेटघाट छलफल गरी बसेँ ।

भारतीय नाकाबन्दीप्रति उहाँहरूको चासो हौसलाजन्य रहृयो । भारतीय सञ्चार माध्यमले नेपालको बदख्वाइँ गरिरहेको छ । के गर्ने-प्रश्नको समाधानमा सगरमाथा अञ्चलबाट पनि एउटा अंग्रेजीमा, एउटा मैथिलीमा, एउटा नेपालीमा दैनिक तर दिन फरक पारी राष्ट्रको मुखपत्रको रूपमा समाचार पत्र प्रकाशित गर्नुपर्‍यो । जसबाट भारतीय पत्रपत्रिका सञ्चारका माध्यमबाट अनावश्यक र झुट लाञ्छना लगाउँदा खण्डन गर्ने र हाम्रा कुरा भारतीय जनतालाई अनुभव गराउने काममा मद्दत मिल्छ’ भन्ने सल्लाह भयो । उहाँहरूले कार्यक्रम बनाई अगाडि बढ्ने विचार व्यक्त गरी जानुभयो ।

कार्तिक १८ गते स. मन्त्री धर्मदत्त उपाध्यायको अध्यक्षतामा विराटनगरमा बस्ने आपूर्ति व्यवस्था समितिको बैठकमा भाग लिन गएँ । १ बजेदेखि ६ बजेसम्म मेची, कोशी, सगरमाथा अञ्चलमा भारतीय नाकाबन्दीबाट पर्न गएको बाधा र अभावबारे छलफल भयो । सगरमाथा अञ्चलका लागि श्री ५ को सरकारले कोटा छुट्टाई दिँदा नुन, तेल, पेट्रोलियम पदार्थ, चिनी, र मोटा कपडा आदि जनसंख्याको आधारमा दिनुपर्ने कुरा श्री ५ को सरकारमा सुझाव पेश गर्ने निर्णय राति ८ बजे फर्केँ ।

माघ २९ गते २ बजे सप्तरी राजविराजमा ५० हज्जार जति पञ्च, कार्यकर्ता, समाजसेवी, सर्वसाधारणको पञ्चर्‍याली तथा आन्दोलनकारीको प्रतिवादी जुलुस निस्क्यो । बजार परिक्रमा गरेर ४ बजे राज रंगशालामा आमसभामा परिणत भयो । विभिन्न वक्ता तथा वरिष्ठ पञ्च नेताहरूले उपस्थित जनसमुहलाई ‘भारतीय आर्थिक नाकाबन्दीले हामीलाई मितव्ययी र आत्मनिर्भर बनाउनेतिर लाग्न बाध्य पार्दैछ । यो बुझेर अगाडिका दिनमा सुरक्षित रहने तरिकातिर लागौँ’ भनी आहृवान गरेँ ।

अन्तमा सभालाई सम्बोधन गर्दै जि.पं. सभापति शत्रुघनप्रसाद सिंह यादवले ‘भारतीय आर्थिक नाकाबन्दीबाट हामीले पाठ सिक्नुपर्दछ कि अहिले नाकाबन्दी लाउने भारतले यस्ता नाकाबन्दी फेरिफेरि पनि लगाउन सक्छ । तसर्थ, आफूलाई चाहिने लुगा कपडा, नून तेल, आदि आफूले उत्पादन गर्नुपर्दछ । भारतले मट्टितेल दिएन भने हामी अण्डीको तेल बालौँला तर दबाउन खोज्ने भारतसँग घुँडा चाहिँ कदापि टेक्ने छैनौँ । यस्तो अवस्थालाई सम्झेर अण्डीको तेल बनाउँदै जानेछौँ । यसो गरे मात्र आत्मनिर्भर होइन्छ र कसैसँग डराउनु, तर्सिनु पर्दैन’ भन्नुभयो ।

पछिका दिनहरूमा उपस्थित जन समुदायमा सभापतिको आत्मबलशाली भाषणले स्वावलम्बन तिर उत्साह सिर्जना गर्नमा मद्दत पुराएको कुरा सुन्न बुझ्नमा आयो । केन्द्रले दिएको कोटामा स्थानीयस्तरबाट थप व्यवस्था गरी सर्वसाधारणको आवश्यकता पूरा गर्नु स्थानीय सरकारी निकायको लागि चुनौतीको विषय थियो । त्यसमा खटिरहनुपर्थ्यो  । रातदिन, सीमाक्षेत्र धाउनुपर्थ्यो । यस्तैसँग चलिचलाई राख्नुपर्दथ्यो- समाज र राष्ट्रिय समाज सेवालाई । त्यस्तै आन्दोलनकारी नेता कार्यकर्ताहरू मट्टीतेल, पेट्रोल, डिजेल माग्न आउँथे, दिइन्थ्यो पनि, लगेर काम चलाउँथे । तर, भारतीय नाकाबन्दीले नेपाली जनतालाई दुःख भयो भन्नेसम्म उनीहरूका मुखबाट निस्कन्नथ्यो । अर्थात् भारतीय नाकाबन्दी पञ्चायती व्यवस्थाको विरोधका लागि, उनीहरूका लागि प्राथमिकताको विषय थियो भन्ने देखिन्थ्यो ।

सभालाई सम्बोधन गर्दै जिल्ला पञ्चायत सभापति शत्रुघनप्रसाद सिंह यादवले भारतले मट्टीतेल दिएन भने हामी अण्डीको तेल बालौँला तर दबाउन खोज्ने भारतसँग घुँडा चाहिँ कदापि टेक्ने छैनौँ । यसो गरे मात्र आत्मनिर्भर होइन्छ भन्नुभयो

फागुन २ गते ११.३० बजे सप्तरीको पश्चिम दक्षिण भाग पातोमा पुगेँ । यहाँ प्रहरीलाई, १ बजे मौवाहामा र ३ बजे बेल्हीमा सर्वसाधारण जनतालाई भेटेँ । उनीहरूलाई नाकाबन्दीबाट विचलित नहुन, मट्टितेल, डिजेलको आवश्यकता पूरा गर्न बोेदे वर्षाहरूमा डिपो राख्ने व्यवस्था भएको छ, त्यहाँबाट लिन र भारतीयसीमा क्षेत्रका बजारियासँग हाम्रो देशबाट जाने बाँस, खर, खाद्यान्नजस्ता सामानको नून, तेल, लत्ताकपडामा भुक्तानी लिने व्यवस्था मिलाउन सरसल्लाह दिएँ । भोलिपल्टदेखि भारतीय व्यापारीहरू नेपालभित्र आई मालसामान साटासाट (बार्टर व्यवस्था) गर्न थाले ।

नूनतेल, लत्ताकपडाहरू आफै पठाउन र नेपालबाट विभिन्न सामानहरू लैजान थाले । यस्तो शैली निकै प्रभावकारी भयो । यसरी सगरमाथाको जनजीवनलाई भारतीय नाकाबन्दीले खल्बल्याउन सकेको थिएन । भारतले नेपाल राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा स्वतन्त्ररूपमा उभिएको र स्वतन्त्ररूपमा आफ्नो नीति निर्धारण गरेको रूचाउँदैनथ्यो । सुरक्षा, उद्योग, व्यापार, जलशक्तिको उपयोग र अन्तरर्राष्ट्रिय मामलाका क्षेत्रमा भारतले नेपाललाई आफ्नो अधीन-शासनमा सञ्चालन गर्न चाहन्थ्यो । यो उद्देश्य पूरा गर्न समयसमयमा कलकत्ता बन्दरगाहदेखि रक्सौल जोगवनीसम्म, नूनदेखि हातहतियारसम्म र पियनदेखि सचिवसम्मलाई अधिनमा राखी सञ्चालन गर्ने, निहूँ खोज्ने, कुरा गर्ने खत थाप्ने क्रियाकलापहरू गर्दै आएको थियो ।

भूपरिवेष्ठित राष्ट्रका हैसियतले नेपालले अन्तराष्ट्रिय कानून अनुसार पनि पाउनुपर्ने व्यापार तथा पारवहन सुविधा सम्बन्धी छुट्टाछुट्टै सन्धि हुँदैन एउटै सन्धि गर्नुपर्छ, नेपालले चीनबाट हातहतियार किनी लिएको कुरा भारतीय सुरक्षाका लागि उचित भएन, नेपालले भारतीय कामदारलाई श्रमका लागि अनुमति लिने व्यवस्था लागु गर्नुहुँदैन, भारतीय शिक्षकलाई स्थायी गर्नुपर्छ आदि कुरा उठाई व्यापार तथा पारवहन सन्धिको म्याद समाप्त भएको मितिले नेपालमाथि आर्थिक नाकाबन्दी गरेको थियो ।

भारतले सोचेको थियो- ‘नेपालले यस आर्थिक नाकाबन्दीबाट १ हप्तामै घुँडा टेक्नेछ’ तर नेपालले घुँडा टेकेन । वरू नेपाली जनताको आत्मबलका साथ भारतबाट लगाइएको त्यो नाकाबन्दीको मुकाविला गर्दै आत्मनिर्भतातिर अगाडि बढ्यो ।

सानो र छोटो शब्दमा व्यक्त गर्दा भारतले नेपाललाई आफ्नो निर्णयमा-अधीनमा सञ्चालन गर्न चाहन्थ्यो । नेपालले आफ्नो निर्णय आफै गर्न र आफै उभिन चाहन्थ्यो । अर्थात् भारतले अप्रत्यक्षरूपमा स्वतन्त्र अस्तित्वमाथि आफ्नो प्रभुत्व थोपर्न चाहन्थ्यो । नेपालले आफ्नो अस्तित्वप्रति आफै निर्णय गर्न चाहन्थ्यो । यसबाट नेपालले भारतीय आर्थिक नाकाबन्दीका कठिन दिनहरूको मुकाबिला दुःख खपेर गर्दै थियो भने, त्यो भारतसँग नेपालको अस्तित्वको लडाइँ थियो । भारतजस्तो एउटा छिमेकी मित्रको लागि रगत पसिना मात्र होइन दिनप्रतिदिन संर्घष गर्दै जिउज्यान गुमाइरहेका नेपालीहरू’ जसले अहिले राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा नेपाल राष्ट्रको धेरै पक्षतिर उपलब्धि हासिल गरिरहेका छन् । अर्थात् त्यस नाकाबन्दीले निम्नलिखित पक्षमा उपलब्धी हासिल गरायो :-

प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठलाई ‘हजुर नै दिल्ली गई भारतीय प्रधानमन्त्री राजीव गान्धीसँग वार्ता गरी नाकाबन्दी तोड्नु पर्‍यो’ भन्ने आग्रह गरेँ । तर उहाँ त्यसो गरी भारतसँग सम्बन्ध सुधार्नेतिर भन्दा सिंगापुरबाट प्लेनमा पेट्रोलियम पदार्थ बोकाई ल्याई बाँड्नेतिर लाग्नुभयो

(१) नेपाली जनतामा आत्म निर्भरताका लागि राष्ट्रिय स्वावलम्बनतिर सोँचाइ बढ्दै थियो र आफ्नो लागि आवश्यक र सम्भव उत्पादन आफै गर्नुपर्दछ भन्ने भावनाले (राजादेखि रङ्कसम्म) काम गर्न थालेको थियो ।

(२) राष्ट्रियता र राष्ट्रिय एकताको पक्षमा नेपाली जनता बढी जागरूक हुँदै आएका थिए ।

(३) अन्तराष्ट्रिय क्षेत्रमा नेपाललाई विश्व जनमत एवं संघ संस्थाहरूले आर्थिक नाकाबन्दीका विरुद्ध आत्मसम्मान र आत्मनिर्णयमा लागि (स्वाभिमानको लडाइँ) लडिरहेको कुरालाई सकारात्मक र उच्च सम्मानका साथ हेरिरहेका थिए ।

(४) सातै दिनमा घुँडा टेकाउँछु भनी लागू गरेको नाकाबन्दीलाई नेपालले घुँडा नटेकेपछि भारतीय सरकार र नेताहरू असफल हुन गई कुरासम्म राख्न (फेस सेभिङ) तिर लागेका थिए । यो सबबाट स्पष्ट भयो- नेपाली जनतामाथि लगाइएको आर्थिक नाकाबन्दी भारतीय कृतघ्नता र दादागिरी थियो । यसलाई विश्वले बुझेको थियो र भारतले नेपालको विषयमा विश्वको सामु बोल्ने बाटो गुमाएको थियो ।

यसो भए पनि यत्तिमा दङ्ग पर्नुपर्ने कुरा थिएन किनकि, भारत एउटा छिमेकी देश भएको र प्रकृतिले न बढी टाढिन हुने, न बढी नजिकिन हुने देश, मित्रताकै माध्यमबाट पसी नेपाली रस-सस चुसिलिने मित्र भएकोले परिपक्वता, कुटनीतिक, स्तरीय व्यवहार, सशक्त सम्पर्क र प्रभावको माध्यमबाट उचित समयमा नै बुद्धि पुर्‍याई नेपालका समस्या भारतलाई अवगत गराउने, बुझाउने र भारतका समस्या सुन्ने, बुझ्ने अनि दुबै देशका समस्या बराबार लाभहानीका स्तरमा समाधान गर्ने गरी नाकाबन्दीको स्थिति सिर्जना हुनै नदिने गर्नुपर्थ्यो । त्यो भएन, बुद्धि पुगेन । नाकाबन्दी लागू भइसकेपछि बल्ल पूरै राष्ट्रले थाह पायो । यसबेला यो लेखकले पटक पटक गरेर राजदरबार, सिंहदरबार तथा प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठमा तीनवटा प्रस्ताव पेश गर्‍यो-

(१) दक्षिण एशियाका देशहरूको र्सार्क संस्थाका क्रियाकलापमा श्री ५ वीरेन्द्र प्रभावशाली हुँदै गएको र भारतीय प्रधानमन्त्री राजीव गान्धीको दादागिरीमा चेकको स्थिति सिर्जना हुँदै गएको स्थितिलाई भारतीयले हाम्रा राजा र राजीव गान्धीका बीचको व्यक्तित्वको प्रतिद्वन्द्विताको रूपमा लिए । नेपाललाई टाङमुनि छिराई पैताला चटाउने, (षड्यन्त्र त सधैँ गर्थे) यो प्रतिद्वन्द्विता थपिएपछि नेपाली निरीह मित्र जनताप्रति दादागिरीको चरम रुप प्रदर्शनका रुपमा आर्थिक नाकाबन्दी लागू गरेको देखेर ‘श्री ५ कुनै तेस्रो देशको भ्रमणमा दिल्लीको बाटो सवारी भई राजीव गान्धीसँग कुराकानी गर्ने, अहिले बाहिर सवारी हुने अवस्था छैन भने राजीव गान्धीलाई नेपाल भ्रमणको निम्ता दिई ऊनीसँग श्री ५ ले काठमाडौंमै कुराकानी गरेमा समझदारी कायम हुन सक्छ र नाकाबन्दी खुल्न सक्छ ।’ तर,यसो केही भएन ।

(२) व्यापार तथा पारवहनका सन्धिहरूको म्याद सकिएपछि भारतले नाकाबन्दी लगाएकोले ती सन्धिहरू अलग अलग नगरी एउटै गर्ने भनी नेपालको आयात-निर्यातलाई नियन्त्रित रूपमा मात्र चल्न दिने भारतीय नियतसँग छलफल गर्न नेपाली टोलीको नेतृत्व गरी भरखर गदापच्चिसे नाघेका वाणिज्य राज्य मन्त्री शरदसिंह भण्डारी दिल्ली जाने र भारतीय टोलीको नेतृत्व इन्दिरा गान्धीका पालाका परराष्ट्र मन्त्री तत्कालीन वाणिज्य मन्त्री दिनेशसिंहले गर्ने हुँदा दिल्लीमा दुर्इ देशका टोलीको बैठक हुँदा नेपाली टोलीले लेखी लगेको कागज प्रस्तावहरू वितरण गर्ने, भारतीय टोलीले सो पत्र पढी टोली नेता दिनेशसिंहले जवाफ दिएपछि उनको अनुभवी तथा खारिएको आफ्ना देशको स्वार्थका लागि तपस्याले उठेको व्यक्तित्वको अगाडि नेपाली राज्यमन्त्रीरुपी अनाडी व्यक्तिबाट छलफल, वहश गर्न नसक्ने र भारतीय मन्त्री सिंह उनका टोलीलाई नेपालको समस्या अवगत गराउन पनि नसक्ने भई ‘हामी काठमाडौं फर्की तपाईंका कुरा श्री ५ र प्रधानमन्त्रीलाई अवगत गराउँछौँ, अर्को बैठक काठमाडौंमा बसौँ भन्ने प्रस्ताव राखी पत्रकारलाई ‘बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो ।

अर्को बैठक काठमाडौंमा बस्ने’ भन्ने कुरा दिई फर्कने योग्यता प्रदर्शन गरेकोेले अनुभव व्यक्तित्व निर्माण नै नभएका व्यक्तिलाई अगाडि सारी काम गराउने शैलीले गर्दा नेपाल र नेपाली पछि परे, सताइएको हुँदा प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठलाई ‘हजुर नै दिल्ली गई भारतीय प्रधानमन्त्री राजीव गान्धीसँग कुराकानी गरी वा उनलाई काठमाडौं बोलाई वार्ता गरी नाकाबन्दी तोड्नु पर्‍यो’ भन्ने आग्रह गरेँ । तर उहाँ त्यसो गरी भारतसँग सम्बन्ध सुधार्नेतिर भन्दा सिंगापुरबाट प्लेनमा पेट्रोलियम पदार्थ बोकाई ल्याई बाँड्नेतिर लाग्नुभयो । साथै उहाँ विदेशतिर जाने, घुम्ने, लविङ्ग गर्ने, नेपालको छवि उठाउनेतिर लाग्नु भएन । (हुन त, यस्तो काम सबै श्री ५ वीरेन्द्रबाटै हुन्थ्यो) यसबाट उहाँ नेपालको पिँढी प्रधानमन्त्री देखिनुहुन्थ्यो ।

राजा वीरेन्द्रको आड, निर्देशन र व्याकिङ्गमा सिंगापुरबाट तेल झिकाई बाँडेकोले राष्ट्रवादी प्रधानमन्त्री त हुनुभयो तर उहाँको भारतसँगको काटोछिँदोले नाकाबन्दीलाई अरू कस्यो । त्यो कसाइलाई फुकाउन सो कुरा पेश गरेको थिएँ । तर, उहाँबाट त्यसो केही भएन ।

(३) प्रधानमन्त्रीबाट पनि समाधान नभएपछि पुनः उहाँलाई अर्को सुझाव पेश गरेँ- ‘नेपालमा दुर्इ जना मान्छे यस्ता छन् जसलाई भारतीय नेता र त्यहाँको प्रशासन यन्त्रले हेप्न सक्दैन । उहाँहरूलाई दिल्ली पठाई भारतीय प्रधानमन्त्री र नेताहरूसँग कुराकानी गर्न लगाई भारतसँग समझदारी स्थापना, सम्बन्ध सुधार, नाकाबन्दीको अन्त गर्ने र व्यापार तथा पारवहन सन्धि गर्ने गराउने कार्यका लागि वातावरण तयार पार्न लगाउने काम गर्दा राम्रो हुने लाग्छ । मेरो स्तरबाट सम्भव भएसम्म विहारी नेताहरू र उनीहरूको माध्यमबाट केन्द्रमा समेत सम्पर्क, कुरा, बहश गर्दैछु’ भनेँ । उहाँले सोध्नुभयो- ‘त्यस्ता मान्छे को छन् ?’

मैले भनेँ -‘प्रथम व्यक्तित्व पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइराला, विराटनगर हुनुहुन्छ । दोस्रो व्यक्तित्व वेदानन्द झा, सिराहा हुनुहुन्छ ।’

उहाँले हेरौं भन्नुभयो । त्यसको चार पाँच दिनपछि डा. जोगेन्द्र झाको नेतृत्वमा अरु कुनैलाई पठाइयो । उनीहरू दिल्ली गए, घुमे, फिरे, आफ्ना पुराना मित्रहरूलाई भेटे, रमाइलो गरे । समस्या समाधान गराउनेतर्फ भन्दा ‘यही बेला, यही सन्दर्भमा नेपाललाई घुँडा टेकाउनु पर्छ त्यसको लागि केही समयलाई नाकाबन्दी अरु चर्काएर लानुपर्छ’ भन्ने सल्लाह दिएर फर्के भन्ने सुन्नमा आयो ।

मैले दुर्इ जना मान्छेलाई दिल्ली पठाई समझदारी स्थापना गराउने काम गर्दा राम्रो हुन्छ भनें । उहाँले सोध्नुभयो, ‘त्यस्ता मान्छे को छन् ?’ मैले भनेँ, ‘प्रथम व्यक्तित्व पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र दोस्रो व्यक्तित्व वेदानन्द झा ।’

डा. जोगेन्द्र झाले राजविराज आएको बेला यो लेखकसँग ‘म समेतलाई श्री ५ को सरकारले दिल्ली पठायो । फर्केर आएपछि कहिले आयौ – के गरेर आयौ – श्री ५ को सरकारले के गर्नुपर्ने देखियो – आदि केही सोध्ने, खोज्ने, बुझ्ने गरेन । वास्तै गर्नुपर्ने थिएन भने दिल्ली किन पठाउनु -‘ भनेका थिए ।

स्व. श्री ५ महेन्द्रलाई पनि यस्ता समस्याहरू परेका थिए- जवाहरलाल नेहरू, इन्दिरा गान्धी जस्ता विश्वले मानेका भारतीय प्रधानमन्त्रीहरूको पालामा कहिले एक-दुर्इ दिने कहिले दुर्इ-चार दिन भारतबाट जोगबनी, रक्सौलहरू बन्द हुन्थे । मट्टितेल, नून आदि सामानहरू नआएर काठमाडौं भ्यालीमा अभाव हुनजान्थ्यो ।

यस्तोमा श्री ५ महेन्द्रले भारतमा स्तरीय व्यक्तित्वहरू तथा सम्पर्क पठाई, राजनीतिक दल, त्यहाँका नेताहरूसँग सम्पर्क र लविङ्ग गरी संसदमै पनि नेपालको पक्षमा आवाज उठ्ने र प्रतिकार हुने कार्यहरू पनि गरी/गराईबक्सन्थ्यो र वातावरणले भारतीय सरकार तथा नेताहरूलाई नेपालप्रति मित्रताको व्यवहार गर्न प्रभाव पार्थ्यो  । २०१८/०२० सालतिर भारतीय प्रधानमन्त्री नेहरूको विशेष प्रतिनिधिका रुपमा रेलवे मन्त्री लालबहादुर शास्त्री नेपाल आई दुई देशका बीचका समस्यामा समझदारी स्थापित गरेर गएका थिए । यसबाट स्व. राजा महेन्द्रको कुटनीतिक शैली प्रभावकारी, परिपक्व, दूरदर्शितापूर्ण थियो । जसबाट नेपाली जनता मौसूफप्रति बढी भन्दा बढी भर पर्दै मौसूफलाई साथ दिँदै आएका थिए ।

अहिले पनि श्री ५ वीरेन्द्र सरल, सज्जन, नेपाल र नेपालीलाई माया गर्ने राजा होइबक्सन्छ र नेपाली जनताले महेन्द्रको अर्को रुप देख्न चाहन्छ तर, महेन्द्रको शैली वीरेन्द्रले अपनाईबक्सेन । समस्या आउनुभन्दा अगाडि नै समस्या आउन नदिने र आइहालेपछि पनि समाधान गर्नमा अफ्ठारै नपरेसम्म कुनै प्रयास नगर्ने, इश्वरको हातमा, इश्वरको कृपामा सुम्पने जस्तो गरी आफ्नै बाटो चलिरहने प्रवृत्तिले गर्दा भारतले २०४६ साल (राजनीतिक प्रकरणमा उल्लेख भए बमोजिम) पुष ५ गतेदेखि फागुन ६ गतेसम्म आन्दोलनको वातावरण तयार पारी फागुन ७ गतेबाट निर्दलीय पञ्चायती व्यवस्थाको विरोधमा आन्दोलन शुरू गराई अगाडि बढायो ।

नेपाली दल, नेताहरूबाटै पञ्चायती व्यवस्था फाल्ने राजालाई प्रभावहीन पार्ने काम गरेर नेपाली राजा, राजसंस्था, प्रधानमन्त्री मरिचमानमाथिको इगो शान्त गर्‍यो भने २०४६ सालका आन्दोलनकारी दल/नेताहरूले त्यस आन्दोलनमा पाएको सहयोगरुपी ऋण तिर्दै गए । देशको प्राकृतिक सम्पदाहरू बाढी, बाँधहरू, सीमा अतिक्रमणका पीडाहरू सहेर, नेपालका वीर छोराछोरीको सैनिक सेवा समेत हरेक प्रकारका श्रम तथा सेवाहरू बुझाउँदै गएर पनि त्यो ऋण जति तिरे पनि कहिल्यै तिरिनसकिने गरी नेपाल र नेपाली समाजको टाउकोमा थुपारिएको छ (दल/नेताहरू ध्रुत हुनाले, उनीहरूलाई भारतीय सहयोग मिलिरहने हुनाले ती नेता भन्नु नै नेपाल र नेपाली जनसमाज, जनसमाज भन्नु नै तिनीहरू र तिनीहरूको सम्पत्ति नै नेपाल र नेपाली, उनीहरूको मनमोजनेपाली जनतामाथिको स्थिति स्थापित भएको छ । उनीहरू मनअनुसार वचन, कर्मले नेपाल र नेपालीको उपयोग, उपभोग, शोषण, दमन, बिक्रीवितरण सब हुने गरेको छ । तैपनि, यिनीहरूले भारतीय ऋण जीवनभरि पनि तिरिसक्ने देखिदैनन् किनकि, ऋणमुक्त हुने स्थिति आउने हो भने भारतले अझ ठूलो सहयोगरुपी ऋण लिनुपर्ने स्थिति खडा गरिदिन सक्ने अवस्था सधैँ राखिरहन्छ ।’)

यसबेला, आन्दोलनकारी नेताहरूसँग मेरो भनाई जहाँतहीँ यसरी रहृयो- ‘निर्दलीय व्यवस्थाको सट्टा बहुदलीय व्यवस्था स्थापना हुनु राजनीतिक विकास हो । तर,अहिले नेपाल भारतसँग आफ्नो अस्तित्वको लडाइँ लडिरहेको छ । यस बेला त, सो अस्तित्वको लडाइँमा निर्दल, बहुदलवादी, आन्दोलनकारी, नकारी सबै एक भएर अस्तित्वको लडाइँलाई पार लगाउनुपर्छ । भारतसँग मित्रतापूर्ण व्यवहार लिनु, दिनुपर्छ । यो भएपछि मात्र श्री ५ को नेतृत्वमा सञ्चालित निर्दलीय पञ्चायती व्यवस्थाको विरोधमा आन्दोलन गर्नु उपयुक्त हुन्छ । उहाहरणका लािग अध्ययन गर्‍यो भने पनि देखिन्छ –

चीनमा माओत्सेतुङ्गले जापानी आक्रमणबाट चीनको रक्षा गर्न च्याङ्काइसेक्लाई सहयोग पुर्‍याएका थिए र जापानबाट चीन सुरक्षित भएपछि च्याङ्काइसेक्को विरुद्धमा क्रान्ति गरी जनगणतन्त्रवादी चीनको स्थापना गरेका थिए । त्यस्तै भारतमा पनि महात्मा गान्धीले द्वितीय विश्वयुद्धमा ब्रिटीश सरकारलाई साथ दिएका थिए । विश्वयुद्धको समाप्तीपछि पुनः ब्रिटीशराज बिरुद्धमा आन्दोलन चर्काई भारतीय स्वतन्त्रता प्राप्त गरेका थिए । यो तरिकाले जाँदा राष्ट्रवादिता हुन्छ । नजाँदा राष्ट्रद्रोही हुन्छ । सही पहिचान हुन सक्तैन तर यस्ता मेरा भावनालाई कसले सुन्ने हेर्ने ?

भारतीय नेताहरू चन्द्रशेखर, सुब्रहृण्यम् स्वामी, सुरजीत सिंहहरूलाई ल्याई पौष ५ गते गणेशमानका घरबाट आन्दोलनको घोषणा गरे-नेपाली राजालाई तर्साए । पञ्चायत व्यवस्थालाई थर्काए । आन्दोलन अगाडि बढ्यो । आन्दोलन अगाडि बढेपछि भारतीय आर्थिक नाकाबन्दी गौण भएर गयो । नेपालले आफ्नै शैलीमा नेपाली जनता र आन्दोलनकारीसमेतको लागि आपूर्ति व्यवस्था मिलाउँदै आएको कुरा भारत र आन्दोलनकारीले महत्त्व दिएनन् । राजनीतिक लडाइँले नाकाबन्दी रूपी भारतीय हस्तक्षेप र दमनको इतिहासलाई ढाक छोप गर्‍यो ।

आखिर चैत्र २६ गते बहुदलीय व्यवस्था बहाल भएपछि कृष्णप्रसाद भट्टराई अन्तरिम कालको प्रधानमन्त्री भए । भारत भ्रमणमा गएपछि १९९० जुन १० को सन्धि गरी भारतको अगाडि आत्मसमर्पण गरे, घुँडा टेके । नेपालमाथिको भारतीय बदनियतपूर्ण षड्यन्त्र आर्थिक नाकाबन्दीको अन्त भयो । यस नाकाबन्दीबाट नेपालीहरूमा जागृत हुँदै विकसित हुँदै आएको सम्मान र स्वावलम्बलनतर्फको मानसिकताले यस पटक पनि दमनमा परेर कुण्ठित हुनुपर्‍यो ।

यदि नेपालीले उन्नति गर्ने नै हो भने, मानसिक, शारीरिक दुवै माध्यमबाट काम गर्नुपर्दछ । राष्ट्रका श्रमिक बन्नुपर्छ । नेपाली र भारतीयहरूका बीच एक देशबाट अर्को देशमा जान आउन राहादानी व्यवस्था लागु गर्नुपर्दछ ।

भारतीय आर्थिक नाकाबन्दीबाट सुरूमा नेपालीलाई दुःख भयो । अभावको स्थिति सिर्जना भयो । केही दिन जनतालाई सन्तुलित रूपमा खर्च गर्न आवश्यकतापर्नेभन्दा कम सरसामानको उपभोग गर्नुपर्‍यो । भारतीय सीमा क्षेत्रमा गई खरिद-बिक्री गर्ने नेपालीलाई भारतीय सी.आर.पी.का जवानहरू, गुण्डा केटाहरू, नेपालप्रति दुर्भावना राख्ने व्यक्तिहरू, भारतीय सरकारका एजेण्टहरू, कर्मचारीहरू, कांग्रेस पार्टी कार्यकर्ताले लुट्नेपिट्ने गरी दुःख दिए । यस्ता कुराहरू भोग्दै जाँदा बिस्तारै ‘नेपाली जनतामा परचक्रीसँग धेरै भर पर्न नहुने रहेछ !’ भन्ने चेतना आउन थाल्यो । आत्मनिर्भरताका लागि आफूलाई आवश्यक पर्ने सरसामान आफै उत्पादन गर्ने, कम खर्च गर्ने, वास्तवमा किफायती तरिकाले खर्च गर्ने शैलीहरू सोँच्न र अवलम्बन गर्न थाले ।

उदाहरणका लागि पातोमा सप्तरी जिल्ला पञ्चायतका सभापति शत्रुघ्न प्रसाद सिंह यादवले भन्नुभयो -‘भारतले मट्टतिेल नदिएर के हुन्छ – परम्परागतरूपमा बाल्दै आएको अण्डीको तेल बालौँला !!’भन्दै बारीका ढिकढिकमा अण्डीका गाछी (रूख) लगाउन जनतालाई आहृवान गर्नुभयो । जनताले हराउँदै गएको कपडा बुन्ने सीप पुनः सम्झिन, सिक्न, सिकाउन थाले । सुरू गर्न थाले । बिस्तारै नाकाबन्दी बानी पर्न थाल्यो । पर निर्भरता कम गर्ने भावनाको विकास हुन थाल्यो । वास्तवमा दुःख नपरी मानिसले चेत्दो रहेनछ भन्ने कुरा स्पष्ट देखिन थाल्यो । उता नेपालीहरूमा भर पर्ने, नेपाली ग्राहकबाट चल्ने भारतीय बजारहरू सुके । यी बजारहरू सम्बन्धित भारतीय नेता कार्यकर्ता र बजारीया साहू महाजनहरू नेपालमाथि लगाइएको नाकाबन्दीबाट बढी असन्तुष्ट हुँदै गए ।

अर्थात्, नेपालीलाई सताउन भारत सरकारले नेपालमाथि लगाएको नाकाबन्दी सीमा क्षेत्रका वासिन्दा, उद्योगपति, व्यापारी र राजनीतिलाई पनि सुखद भएन । सामाजिक सम्पर्कको स्तरद्वारा नेपालबाट भारततिर निकासी हुने खाद्यान्न, बाँस, काठ, जडीबुटी, खर आदि रोकिदिएको हुनाले सीमावर्ती क्षेत्रका जनता, भारतीय तस्करहरू पनि भारतको नाकाबन्दीप्रति सन्तुष्ट भएनन् । ६।७ महिनापछि ‘नेपालीमा आफूलाई आवश्यक पर्ने सरसामान आफै उत्पादन गर्नुपर्छ । परनिर्भरताले यस्तै धोका दिन्छ ।’ भन्ने चेतनाको विकास भयो ।

नेपालीमा काम गर्ने बानी बस्न र बढ्न गयो । सीमावर्ती क्षेत्रका भारतीय व्यापारी, उद्योगपति र तस्करहरूमा आफै, आफ्नै भारतीय सरकारप्रति असन्तुष्टि बढ्दै गयो । यसो भएपछि नेपाल र भारतीय सीमावर्ती क्षेत्रका स्थानीय वासिन्दाका स्तरमा सरसामान साटासाट गरेर पनि व्यवहार चल्दै गयो ।

यसरी नेपालमाथि भएको नाकाबन्दीबाट नेपालीले आत्मनिर्भर हुन आफै काम गर्नुपर्छ भन्ने करको रूपमा लिए । यसबाट थाहा लाग्यो -‘यदि नेपालीले देश (राष्ट्रोत्थान) उन्नति गर्ने नै हो भने, मानसिक, शारीरिक दुवै माध्यमबाट काम गर्नुपर्दछ । नेपालीहरू राष्ट्रका श्रमिक बन्नुपर्छ । नेपाली र भारतीयहरूका बीच एक देशबाट अर्को देशमा जान आउन राहादानी व्यवस्था लागु गर्नुपर्दछ । तब मात्र, नेपालको विकास हुन्छ । नत्र भारत ब्लटिङ्ग पेपर हो । सानो देश नेपाललाई शोषिरहनेछ, शोषिदिनेछ !’

२०४६ सालको आन्दोलनका कारण चैत्र २६ गते साँझको श्री ५ को घोषणाद्वारा बहुदलीय व्यवस्थाको स्थापना भयो । यही घोषणाद्वारा पञ्चायत व्यवस्थाको अन्त पनि भयो । भारतीय इगो शान्त भयो ।

(तत्कालीन सगरमाथा अञ्चलका पूर्वअञ्चलाधीश ओलीद्वारा लिखित आत्मकथा मेरा कथाहरूको कथाबाट साभार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment