Comments Add Comment

वृद्धा जर्मनले भनिन् – बर्लिनको पर्खाल ढल्यो, मनको पर्खाल ढलेन

शशी पौडेल, जर्मनी

आज ३ अक्टोबर । आजकै दिन सन् १९९० मा पूर्व जर्मनी र पश्चिम जर्मनीबीच एकता भएको हो । जर्मनीमा गत सातादेखि एकताको २५ सौं बर्षका पर्वहरु आयोजना भइरहेका छन् । यस क्रममा विभिन्न सञ्चार माध्यमले आ-आफ्नो ढंगले कार्यक्रमहरु देखाइरहेका छन् । मलाई भने धनाढ्यहरु र सरकारी मिडियायन्त्र एवं एक पक्षको मात्रै कुरा सुन्न मन लागेन ।Map-of-Germany

के २५ वर्षअघि भन्दा अहिले पूर्बी जर्मनीमा बसोबास गरिरहेका सर्वसाधारण जनताको राजनीतिक चिन्तन वा सामाजिक अवस्थामा भिन्नता आएको छ ? वा अहिले यो २५ बर्षे सिल्भर जुब्लीका बेलामा उनीहरुमा कस्ता सामाजिक प्रश्नहरु पलाएका छन् ? यो कुरा बुझ्ने हेतुले म त्यसबेलाको पूर्वी जर्मनी क्षेत्रमा पर्ने स्थानहरुमा घुम्न निस्कें ।

त्यतिबेला बर्लिनको पर्खाल उभिएको ठाँउमा पुगेर पूर्वतिर पर्ने बसोबास भएको ठाउँका सर्वसाधारण जनताको प्रतिक्रृया बुझ्दा, ६२ बर्षीय अलेक्सान्द्रा भन्छिन्- ‘हामीलाई कम्युनिष्ट सरकारको विरोधमा उक्साएर कम्युनिष्ट सरकार ढलाउने योजना थियो त्यतिबेला । किनभने पूर्बी जर्मनीको सरकार र पूर्वी जर्मनी रहेसम्म सोभियत संघ ढलाउन सम्भव थिएन । शीतयुद्ध अन्त्य गर्ने यो एउटा महत्वपूर्ण रणनीति थियो पुँजीवादीहरुको । तर, उनीहरु यो काममा मात्र सफल भएनन् कि यो रणनीति पूरा गर्न उनीहरुले जर्मनी एकता गराउनुपर्ने भयो । यसैले त्यतिबेलाका जर्मन चान्सलर हेल्मुट कोलले ३/४ वर्षभित्रै पूर्वी जर्मनीलाई पनि पश्चिम जर्मनी जतिकै विकासको गतिमा लैजाने बचन दिएका थिए । तर, त्यो उनको झूठो आश्वासन थियो भन्ने हामी त्यतिबेलाका युवाहरुले बुझ्न सकेनौं ।’

यो कुराकानी लगत्तै मैले एकजना बर्लिनको पश्चिमतिरका एक बेकरीका मालिक ६७ वर्षीय बिल्हेल्मसँग अहिले जर्मनीमा सरकारी पक्षले २५ वर्षे एकताको पर्व मनाइरहँदा तपाईहरु सर्वसाधारण जनतामा भने त्यति उत्साह देखिँदैन नि भनेर सोधें । उनले प्रतिप्रश्न गरे ‘के तपाइलाई लागिरहेको छ कि हामी एउटैकोटिका जनता हौं ? ती पूर्बेलीहरु अहिलेसम्म पनि मेरो पसलमा पाउरोटी किन्दैनन् । किनभने मेरो यो पसल मेरा बाबाले १९६२ मा शुरु गरेका हुन् र मेरो पसललाई यी पूर्वेलीहरुले पश्चिमा पुँजीपतिको पसल भन्ठान्छन् । उनीहरु यति पनि बुझ्दैनन् कि एउटा गरीब मजदुर चाहे धनी मुलुकको होस्, चाहे गरीब मुलुकको होस्, गरीब गरीब नै हो ।’

म अक्टोबर १ का दिन पूर्वी जर्मनीको एक बहुचर्चित विश्व विद्यालय रहेको शहर यना पुगें र त्यहाँ पनि मैले त्यही प्रश्न राखें, अहिले जर्मनीमा सरकारी पक्षले २५ बर्षे एकताको पर्व मनाइरहँदा तपाईहरु सर्बसाधारण जनतामा भने त्यति उत्साह देखिँदैन नि ?

Jumpingयना विश्वविद्यालयकी राजनीतिशास्त्रकी छात्रा २५ वर्षीया मानुयलाले भनिन्- ‘म त्यही वर्ष जन्मेकी हुँ, जुन वर्ष दुई जर्मनीवीच एकता भएको थियो । मैले तपाइलाई पहिले यहाँ कस्तो थियो भन्ने मेरो आफ्नो अनुभव भन्न सक्तिँन । तर, मैले पढेको र सुनेका आधारमा के मात्र भन्न सक्छु भने जर्मनी एकता हुनुअघि सर्वप्रथम दुई कुरामा ध्यान पुर्‍याउनुपथ्र्यो, त्यो भएन । ती दुई कुराहरु के हुन् भने सर्वप्रथम दुबै पक्षवीच एकअर्कामा विश्वास र दोस्रो एकअर्काको मूल्य र मान्यताप्रति आदरभाव । तर, दुर्भाग्य, ती दुबै कुराहरु अहिलेसम्म पनि हुन सकिरहेका छैनन् । पश्चिम जर्मनीका अधबैंसेहरुले अहिले २५ बर्ष हुँदासम्म पनि पूर्वेली भनेर हेला गर्न छोडेका छैनन् । पूर्वेलीहरुले पनि तिमी पश्चिमाहरु मानवताभन्दा पनि पैसाको पछि हिँड्छौ भनेर आरोप लगाउन छाडेका छैनन् ।’

यस्तै मैले यनामै पैदल हिँडिरहेकी एक वृद्धा क्रामरसँग त्यही माथिको प्रश्न दोहोर्‍याएँ, उनले भनिन्- हामी जनतामा खुसी मनाउनुपर्ने कुनै कारण नै छैन, किनभने जहाँ मानवता बिनास गरेर पैसाका लागि मात्र पर्व मनाइन्छ, त्यहाँ हामी मानवताप्रेमीलाई पर्व मनाउने कुनै ठाउँ रहँदैन ।’

सरकारी होस् वा गैरसरकारी, हरेक जागिरमा पश्चिममा भन्दा पूर्वतिर तलब कम छ

उनले हाँस्दै सोधिन्-तिमी को हौ ? हेर्दा विदेशी जस्तो देखिन्छौ, तर जर्मनीको राजनीतिका कुरामा चासो लिन्छौ, किन ?

मैले भनें-म यसपालि दुई वर्षदेखि जर्मनीमा बस्दै आएको छु, हामबर्गमा बस्छु । तर, आज म तपाईहरुसंग यिनै विषयमा कुराकानी गर्न पहिलेको पूर्बी क्षेत्र यना आएको हुँ ।

उनले मलाई एक कप कफी पिउन क्याफ्टेरिया जाने निम्तो दिँदै सोधिन्, मलाई प्यास लागेको छ, के म तिमीलाई उ त्यहाँ एक कप कफी पिउने निम्तो दिन सक्छु ? मैले हाँस्दै भनें-यी हेर्नुस् न, यहाँ पैसाको कुरा आइहाल्यो नि, बिना पैसा त्यो कफी पसलेले हामीलाई कफी दिने छैन ।’

उनले जवाफमा भनिन्, ‘हो त्यही कुरा गर्न त मैले निम्तो दिएको नि । ल ल, मलाई भन, तिमी जम्माजम्मी कति बर्ष जर्मनीमा बस्यौ र तिमीलाई कतिजना पश्चिमेलीहरुले एक कप कफीका लागि निम्ता दिए ?

म अक्क न बक्क परें ।

उनले एउटा गरुङ्गो झोला हातमा झुण्ड्याएकी थिइन्, मैले सोधें, के म तपाईलाई सघाउन सक्छु ? मैले तपाईको झोला त्यहाँसम्म बोकिदिउँ ? उनको हाँसोको फोहरा छुट्यो ।

शशी पाैडेल
शशी पाैडेल

केहीबेरपछि सम्हालिँदै भनिन्, ‘अहिलेसम्म तिमी दोस्रो ब्यक्ति हौ, जसले मलाई सघाउन सोधेको छ । म कमजोर छु, एकासी बर्ष पुगें । तर, कुनै पनि यी पुँजीमा लट्पटिएका जर्मनहरुले म र मजस्ता बुढाबुढीका बारेमा सोच्दैनन् । स्वयं मेरो छोरा पनि जर्मनीको धनाढ्यहरुको शहर मानिने ठाउँ स्टुटगार्टमा बस्छ । न त कुनै राजनीतिज्ञ, न कुनै समाजसेवी भन्नेहरुले जर्मनी एकतापछि लगत्तै पेन्सनमा गएका पूर्वी जर्मनीका बृद्ध नागरिकका बारेमा चासो राखे । उनीहरुका दिन कसरी बितिरहेका छन् ? उनीहरुको सामाजिक अवस्था कस्तो छ ? उनीहरुमा कस्तो मनोवैज्ञानिक असर परिरहेको छ ? यो कुरा कुनै सुंगुरले चासो राखेन ।’

उनले थपिन्- ‘पूर्बी जर्मनीका पालामा बालबच्चाहरुको पूर्ण जीम्मेबारी सरकारले लिने गरेको थियो । गाउँ वा शहर छरछिमेकमा एक अर्कामा सर सहयोगको भावना थियो । एउटा घरमा कोही बिरामी पर्‍यो भने सारा छिमेकीले बिरामीका बारेमा चासो राख्थे । मानौं कि सारा छरछिमेकीको आफ्नै परिवारको सदस्य बिरामी परेको छ । तर, अहिले म बसेकै घरको कोही मर्‍यो भने पनि पत्रिका पढेर मात्र थाहा पाउनुपर्छ । एकहप्ता अघि मसँंग ऊ त्यहीको विश्वविद्यालयमा ५ वर्षसम्म संगै पढेको मार्कोस बितेछ, मैले थाहा समेत पाइँन ।’

मैले ती वृद्धा जर्मनलाई सोधेँ- ‘जर्मनीको सरकारी टीभी छेड डे एफले त आज साँझ हामी एउटै जनता भनेर लगभग दुई घण्टाको छलफल, बहस कार्यक्रम राखेको छ नि ? तर, तपाईको तर्कले त पूर्बी जर्मनीका नागरिकहरुसँग अहिलेसम्म पनि दोस्रो दर्जाका नागरिक सरह ब्यबहार भएको भन्ने बुझिन्छ नि किन ?’

‘बर्लिनको आँखाले देखिने पर्खाल भत्कियो वा भत्काइयो, तर आँखाले नदेखिने मनभित्रको पर्खाल भने अरु अाकाशिएको छ’

उनले निकै टाठो स्वरमा भनिन्,- ‘हो तिमीले ठीक बुझ्यौ । त्यही भैरहेको छ यहाँ । म एक सरकारी कर्मचारी थिंएँ । मैले जुन पदबाट पेन्सन पाएँ, त्यही पदबाट पेन्सन जाने पश्चिम जर्मनहरुले ३०० युरो बढी पाउँछन् । मैले ३०० युरो कम । यस्तै पेन्सनको मात्र कुरा होइन, सरकारी होस् वा गैरसरकारी काम होस्, हरेक जागिरमा यता पूर्वतिर पश्चिममा भन्दा तलब कम छ । तर, खाने खर्च अर्थात किन्नुपर्ने सामानमा भने मूल्य चाहे पश्चिममा होस्, चाहे पूर्बमा होस्, एउटै हुन्छ । अनि भ्याट पनि बराबर नै छ । किनभने, यो एउटै मुलुक हो रे । अब तिमी भन, सरकारले लिने अन्तशुल्क, कर अनि भन्सार एउटै हुने, तर सरकारले दिने सुविधा भने पूर्वकालाई थोरै दिने रे ! यस्तो पनि कुनै एकता हुन्छ ? अनि यसरी सरकारले होचो र अग्लो बनाएपछि एउटा टीभीले हामी एउटै जनता भन्दैमा हुने होइन, त्यसैले म त्यो कार्यक्रम हेर्दिँन ।’

‘तर, मेरो बुझाइमा त तपाई पूर्वतिरकालाई अन्य कुरामा सुविधा पनि दिनुपर्छ भनेर पश्चिमतिरका हरेक कर्मचारी वा कामदारबाट ‘सोलिडारिटी’ भनेर तलबको झण्डै एक प्रतिशत कट्टा गर्छन् त किन ? मेरै तलबबाट पनि दिनुपर्छ । पूर्वका लागि त्यो ‘सोलिडारिटी’ नदिए तलब थाप्न पाइन्न हैन र पश्चिममा ? मैले आमैलाई सोधें ।’Jarman

उनले भनिन्- ‘त्यो पैसा कहाँ जान्छ, हामीलाइ थाहा छैन । तर, सत्य के हो भने हामी जर्मनहरु अझै पनि एक हुन सकेका छैनौं । मुलुक एक भए पनि, बर्लिनको पर्खाल भत्किए पनि चाहे पश्चिमतिरको होस् चाहे पूर्वतिरका हुन्, आँखाले देखिने पर्खाल भत्कियो वा भत्काइयो, तर आँखाले नदेखिने मनभित्रको पर्खाल भने अरु अाकाशिएको छ । तर, दुर्भाग्य ! कसैले खोलौं भन्ने आँट गर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment