केही दिन अघि नयाँ बानेश्वरको अल्फा हाउसमा डा. बाबुराम भट्टराईले नागरिक समाजका अगुवाहरुसँग नयाँ शक्तिबारे अन्तरक्रिया गरिरहेका थिए । खचाखच भीडमा ढोकै छेऊमा बाबुरामकै फोटोकपीजस्तो लाग्ने एक व्यक्ति उभिएका थिए । उनी रहेछन्, डा. बाबुरामका कान्छा भाइ शिव भट्टराई ।
दाजुको अन्तरक्रिया चलिरहेकै थियो, त्यहीवीचमा डा. भट्टराईका भाइसँग एउटा कुनामा रोचक कुराकानी भयो । भाउजू हिसिलाको विषयदेखि दाजुको नयाँ शक्तिसम्म विद्युत प्राधीकरणका कर्मचारी शिव भट्टराईको धारणा यस्तो रहेछ :
दाजुले आयोजना गरेको अन्तरक्रियामा आउनुभएको रहेछ, नयाँ शक्ति कस्तो होला भनेर बुझ्न आउनुभएको हो कि क्या हो ?
एक किसिमले त्यो पनि हो । नयाँ शक्तिको धेरै कुरा पनि भइरहेको छ । प्रत्यक्षरुपमा सहभागी भइयो भने यो शक्ति कस्तो रहेछ, नयाँ शक्ति कसरी अगाडि बढ्छ, नयाँ शक्तिले कसरी देश विकासदेखि लिएर गणतन्त्र राज्य स्थापनापछि नयाँ किसिमले आर्थिक उन्नति ल्याउनुपर्छ भन्ने कुरामा नयाँ शक्तिमा रहेकाहरु र अरु बुद्धिजीवीहरुको धारणा सुन्नका लागि पनि आएको हुँ ।
तपाई अहिले के गर्दैहुनुहुन्छ ? जागिर खाँदै हुनुहुन्छ ?
हो । म विद्युत प्राधिकरण रत्नपार्कमा छैटौं तहमा काम गर्दैछु ।
कहिलेदेखि जागिर खान थाल्नुभयो ?
पहिले घरको आर्थिक अवस्था पनि राम्रो थिएन । मैले जिस्किएर नै जागिर खाउँ भनेर जीवनमा पहिलोचोटि दिएको, नाम पनि निस्किहाल्यो । त्योबेला विद्युत प्राधिकरण थिएन । साना जलविद्युत, विद्युत विभाग र विद्युत कर्पोरेसन थिए । मैले साना जलविद्युत विभागमा खरदारमा यहीँ काठमाडौंमा आवेदन दिएको थिएँ ।
म ल क्याम्पस पढ्दै थिएँ । पढ्दै काम गरौं भन्ने सोच भयो । बीचमा बिहे पनि भयो । अर्को बोझ पनि थपियो । त्यो गर्दागर्दै जागिर छोडिएन ।
दाजुले जस्तो सक्रिय राजनीति गर्नुभएन ?
राजनीतिमा इच्छा हुँदाहुँदै पनि सहयोग चाँहि गरियो । तर, प्रत्यक्ष सहभागी भएर राजनीति गरिएन ।
तपाईले कतिसम्म पढ्नुभयो ?
एसएलसीसम्म गोरखा मै पढेको हो । दाइ र मैले पढेको स्कुल एउटै हो । बीचमा मेरो पोखरा सरुवा भयो । ०४० सालमा मेरो बिहे भयो, ०४१ मा जागिर खाएँ । ०४२ मा बच्चा पनि भयो । एउटा पारिवारिक माहोल बन्यो । जागिरतिरै ध्यान गयो ।
छोराछोरी कतिजना छन् ?
एउटा छोरो, एउटा छोरी हो । छोराले एमबीए सिध्याएर बैंकमा जागिर खाँदैछ । छोरीको पनि भर्खर एमबीबीएस सिद्धियो ।
श्रीमती के गर्नुहुन्छ ?
मेरी श्रीमती दुर्गा न्यौपाने भट्टराई हुन् । बच्चाबच्ची हुर्काउने बेलामा आर्थिक अवस्था पनि समस्या भएकाले दुई तीनवटा क्याम्पसमा पढाउथिन् । ख्वप कलेज, सीसीआरसी, पीकेलगायतका कलेजहरुमा अध्यापन गर्थिन् ।
सानोछँदा परिवारभित्र दाजुसँग कत्तिको छलफल र कुराकानी हुन्थ्यो ?
पहिला हामीले पढ्ने स्कुल टाढा थियो । गाउँमा पनि एउटाले पढ्दै गर्दा अर्कोले विस्तारै पढ्दा हुन्छ भन्ने सोच पनि थियो । उहाँ चाँही ठूलोबुबाको छोरोसँगै पढ्ने भएकाले उहाँलाई स्कुल जान सजिलो भएको थियो । हामीले भने उहाँले एसएसली गरेपछि मात्रै पढ्ने अवसर पाएको हो ।
हाम्रो उमेरमा त ६/७ वर्ष मात्रै अन्तर छ । तर, उहाँले एसएलसी गरेपछि यसले बोर्डफस्ट ल्यायो, पढाउनुपर्ने रहेछ है, शिक्षा भनेको चाहिने चिज रहेछ भन्ने चेतना अभिभावकमा पनि आयो । त्यसपछि मात्रै हामीले पढ्न थालेको हो । उहाँ चाँहि विद्यालयबाट शुक्रबार शनिबार आउने, उहाँ पढ्ने हामीचाँहि गोठालोको काम गर्ने हुँदा कोहीकोही दिन सँगै हिँडे पनि खासै संगत भएन ।
उहाँले एसएलसी सिध्याएपछि हामी पढ्न गयौं । तर, उहाँ आइएस्सी पढ्न अस्कल जानुभयो । विदाको बेलामा मात्रै भेट हुन्थ्यो । उहाँ इन्डिया पढ्न गएपछि वर्षमा एकपटक आउनुहुन्थ्यो । त्यहीबेला मात्रै भेट हुन्थ्यो ।
राजनीति नगरे पनि प्रहरीले बाबुराम भट्टराई ठानेर तपाईलाई पटक- पटक पक्राउ गरेको सुनिन्थ्यो, खास कुरा के हो ?
०४६ सालमा पुलिसलाई मूर्ख बनाउनुपर्ने पनि थियो । त्यही भएर मान्छेहरुले भनेका हुन् । जेलमै लैजाने भने चाँहि भएन । एकछिन त झुक्किन पनि सक्छ । दाजु र मेरो उमेरको अन्तर नै ६/७ वर्ष छ । जुम्ल्याहाको त अनुहार मेल खाँदैन, त्यसैले प्रशासनलाई बेवकुफ बनाउन त्यस्तो प्रचार गरिएको हो ।
बहुदलको सुरुवाती दिनमा नै हामी आन्दोलनमा हिँडेका थियौं । १४ गतेको दिनमा उहाँलाई पक्रियो कालो पट्टीको जुलुसको दिनमा । त्यो बेलामा कालोपट्टि बाँधेर हिँडिएको पनि थियो । त्योबेलामा चाँही अनुहार नचिनेर पुलिसले लग्यो भनेर हल्ला गरिएको थियो ।
जनयुद्धकालमा पनि झुक्किएर पक्राउ पर्नुभयो रे नि ?
जनयुद्धका बेला हामी दाइकै घरमा बस्थ्यौ । घर कोटेश्वरमा थियो । त्योबेला पुलिस दुई बजेपछि दैनिकजसो आउँथे । नराम्रो व्यवहार चाँहि गरेनन् उनीहरुले । तर, पनि दाजु कहाँ हुनुहुन्छ ? घरको मान्छे, कहाँ गएको हो भनेर चाँहि सोधीखोजी गर्थे । विभिन्न जिल्लामा घटनाहरु हुँदा सोधीखोजी गर्थे ।
काठमाडौंमा नयाँ एसपी, एसएसपी आउँदा पनि अनुहार मिल्छ रे भन्दै चिया खाने निहुँमा कुरा गर्न बोलाउँथे । एक दुई घण्टाचाँहि त्यसरी नै भुल्याउँथे । अनि उनीहरुले माइन्ड नगर्नुस् सर, तपाईको अनुहार मिल्छ रे, अनि कुराकानी गर्न बोलाएको भन्थे ।
कहिलेकाँही चाहिँ झ्याप्पै समातेर एक दुई दिनमा छोडेका घटनाहरु पनि छन् । ०५५ सालमा माइतीघरमा एउटा कार्यक्रम थियो । अहिलेको राष्ट्रपति विद्या भण्डारीलगायतका व्यक्ति वक्ता हुनुहुन्थ्यो । महिलाहरुको कार्यक्रम थियो । नेपालमा महिला आन्दोलन त्यसको कार्यदिशा भन्ने थियो । शशी श्रेष्ठ, इन्दु शर्मा, विद्या भण्डारी लगायतका हुनुहुन्थ्यो । मेरी श्रीमती चाँही काठमाडौं जिल्लाको महिला संघको अध्यक्ष भएकाले कार्यक्रमको सभापति थिइन् । उनी पार्टीमा एक्टिभ थिइन् । म चाँहि पछाडि बसेर कार्यक्रम हेरिरहेको थिएँ ।
प्रहरीले हाम्रो कार्यक्रमका सबैलाई लग्यो । पछि उहाँहरुलाई छोड्यो हामीलाई जेल लग्यो । त्योबेला मुक्ति प्रधान पनि हुनुहुन्थ्यो । रेखा शर्माहरु पनि हुनुहन्थ्यो । हामीलाई सेन्ट्रल जेलमा राखेको थियो । मुद्दा हामीले जित्यौं ।
म त्यतिबेला विद्युत प्राधिकरणको कर्मचारी संगठनको आधिकारिक सचिव पनि थिएँ । धेरै साथीहरु छुटाउन पनि आउनुभएको थियो । तर, उहाँहरुलाई हामी माओवादी भनेर छुटाउन नआउनुहोस् भनियो ।
अनि बाबुराम भट्टराई देशको ठूलो मान्छे हुनसक्छ, विद्युत प्राधिकरणको जीएम पनि हुन सक्छ, त्यही भएर पछि हाम्रो नलाग्नुहोस् भन्दै मलाई हनुमानढोकामा लगेर सात दिन थुन्यो । अनि मलाई मिलाएर जानुस् भनेको थियो । मैले भने के मिलाउनु, मैले केही गरेकै छैन भनें ।
शनिबार हो, बहुदलीय प्रक्रियामा कुनै कार्यक्रम गएर हेर्न पाउने मेरो अधिकार पनि हो भनें । उहाँहरुले म माओवादी हुँ, माओवादी आन्दोलनमा छु भन्ने कुरा गर्नुभएको थियो । मैले त्यो भनेको पनि छैन । मैले एउटा कार्यक्रम हेरेको हो, त्यसमा माओवादीको अलि बढी संलग्नता होला, त्यो बेतुकको कुराले मलाई चित्त बुझ्दैन । छोड्न मिल्छ भने छोड्नुहोस्, राख्न पर्ने हो भने राख्नुहोस् भनें । त्यसपछि, एक हप्तापछि प्राधिकरणकै कर्मचारी संगठनमा लगेर मलाई छाडे ।
तपाईसँग बाबुराम भट्टराईको भाइ हुनुका दुःख बढी छन् कि खुशी ?
धेरैजसो चिज चाँहि मजाकै छन् । आन्दोलनका क्रममा धेरै मान्छे मारिएकाले कोहीकोही मान्छेले यसकै दाइले धेरै मान्छे मारेको हो भन्दा नमज्जा लाग्छ । तर, धेरै मान्छेले उहाँले राम्रो काम गर्नुभएको छ, अर्थमन्त्री हुँदा पनि, प्रधानमन्त्री हुँदा पनि राम्रो गर्नुभएको छ, भूकम्पका बेलामा पनि बाटो फराकिलो भएकाले धेरै सजिलो भएको मान्छेहरु बताउँछन् । बाबुराम भट्टराई नभएको भए बाटोमा दौडन सक्ने अवस्था पनि थिएन भन्छन् । मलाई नचिन्ने मान्छेले पनि यस्तो कुरा गरेको सुनेको छु । पछिका लागि सोच्ने एउटा विद्वान हो भनेको सुन्दा खुसी लाग्छ । समग्रमा गर्वको अनुभूति हुन्छ ।
दाजु प्रधानमन्त्री हुँदा तपाईले फाइदा उठाउनुभएन ?
मैले त दाजु प्राइमिनिस्टर हुँदा पनि सिंहदरबारभित्र पनि एक दुईपटक अफिसियल कामका शिलशिलामा बाहेक अथवा क्वाटरमा दाजुभाइको नाताले हुने भेटघाट बाहेक निजी प्रयोजनका लागि जानुहुँदैन भन्ने पक्षको मान्छे भएकाले म कहिल्यै पनि त्यसरी गइँन ।
तर, बाबुरामले प्रधानमन्त्री हुँदा आफ्नै भाइ-बुहारीलाई गरीवी निवारणमा नियुक्ति गरेको आरोप लागेको थियो नि ?
दूर्गाले गरिबी निवारण कोष र गरिब घर परिवार पहिचानको संयोजक भएर काम गरेको हो । अरु मान्छेसँग जाँच्दाखेरि उनले झन काम गर्न सक्ने खालको देखिन्थ्यो ।
मान्छेहरुले नातागोताका कोही पर्यो भने ऊ खुबी भएकै छैन, जस्तो गर्छन् । तर, हामीले पनि कुनै अवसर पायौं भने गर्न सक्छौं जस्तो लाग्छ । मलाई पनि त्यस्ता अवसरका कुराहरु आए । उहाँले अवसर दिनु पनि हुन्थ्यो होला । म नगएको किनभने हल्का सानो अफिसर भए पनि प्राधिकरणमा जागिर खाइरहेको छु, जीएम नै पाएँ भने पनि मैले पाउने तलब भनेको एक दुई हजार बढीको कुरा हो । यो त मैले उहाँ भएर पाएको होइन ।
दाइको अनुहार मिलेको भएर जेल पर्यो, विभिन्न कारणले ऊ गर्यो । ऊ सक्षम होइन, त्यसै पायो भन्ने गुनासो हुन सक्थे । त्यसैले ती गुनासाहरु किन ल्याउन दिने ? यही भएर मैले सुविधा खोजिँन ।
तर, आफ्नो काम गराइलाई अहिले पनि जुन क्षेत्रमा काम गर्ने मान्छेहरुले कामबारे असन्तुष्टि जनाएको हुनाले मान्छेले केही भन्छन् कि भनेर कामै नगर्ने कुरा पनि भएन ।
बाबुरामले आफ्नो परिवारका बारेमा कस्तो सोच्नुहुन्छ ?
परिवारका समस्याबारे यसो गरौंं भन्ने कुरा सामान्य नै हो । तर, व्यक्तिगत तवरमा उहाँको त्यस्तो छैन । अरु जस्तो हो, हाम्रो परिवार त्यस्तै त हो भन्नेखालको उहाँको सोचाइ देखिन्थ्यो । हामीले पहाडमा उत्पादन पनि हुने भएकाले सबै चिजहरु घरबाटै पनि ल्याउँथ्यौं । हाम्रो खेत जमीनहरु पनि राम्रै थियो ।
डा. भट्टराईलाई सादगी नेता भने पनि पब्लिकले भाउजू हिसिला यमीका बारेमा धेरै नकारात्मक टिप्पणीहरु गर्ने गरेको तपाईले सुन्नुभएकोछ ?
भाउजूका बारेमा धेरै कुराहरु मैले पनि सुनेको छु । त्यस्तो कुरा मीठो लाग्दैन । तर, के भयो भने उहाँको सरलपन छ र झट्ट आफूसँग हिँडेका मान्छेलाई विश्वास गर्नुहुन्छ ।
कतिपय बिग्रिएका मान्छेहरुले दाजु सत्ता वा पावरमा पुगेका बेला वा अरु बेलामा पनि भाउजूको पहुँचलाई प्रयोग गरेर दुरुपयोग गरिदिए ।
सोझो मान्छेलाई यस्तो गरिदिनुस् दिदी भनेर, पार्टीका लागि यस्तो गर्नुपर्छ, भन्नेजस्तो वातावरण देखाइदिएर दोष चाँहि उहाँलाई बोकाइदिए । त्यसको फाइदा चाँहि आफूले लिए ।
हिसिलाले भ्रष्टाचार गरेर सम्पत्ति थुपारेको आरोप लगाउनेहरु पनि छन्, तपाईलाई कस्तो लाग्छ ?
उहाँसँगको व्यक्तिगत जीवनमा हेर्दा मलाई अथाह सम्पत्ति भएको जस्तो, दुरुपयोग गरेजस्तो लाग्दैन । जस्तो, हामी एउटा परिवारका मान्छे हौं, हामीकहाँ आउँदा जाँदा, कुनै चिजहरुमा पैसाको फाइँफुट्टी देखिँदैन । बुबा हामीसँगै बस्नुहुन्छ, उहाँलाई भेट्न आउँदा छ नि त भनेर देखाउनेखालको क्रियाकलाप केही पनि नदेखिएको हुनाले मान्छेहरु जुन किसिमले हेर्छन्, त्यो सत्यजस्तो लाग्दैन ।
तर, भाउजूको बोलीबचन कस्तो छ भने लागेको कुरा झट्ट बोल्दिइहाल्ने र मान्छेसँग झट्ट विश्वास गर्ने भएकाले मान्छेहरुले ओरालो लागेको अवस्था देखेपछि मृगलाई पनि लखेटिन्छ भनेजस्तै किसिमले उहाँलाई खेदेका हुन् जस्तो लाग्छ ।
उहाँले भ्रष्टाचार गरेको होइन त उसोभए ?
रियालिटीमा त्यस्तो गरेको भए हामी परिवारको मान्छे, वर्षौंसम्म देखेका हुनाले हामीले थाहा पाउनुपर्ने हो । र, हामीलाई दुःख अप्ठ्यारो हुँदाखेरि त्यस्तो केही देखिया छैन । त्यसो हुनाले त्यो आरोपमा त्यति सत्यता छ जस्तो लाग्दैन मलाई ।
दाजुले एमाओवादी परित्याग गरेको विषयलाई कसरी हेर्नुभएको छ ?
पार्टी छोड्ने भन्दा पनि असन्तुष्टिका कुरा धेरै अघिदेखि नै आएका हुन् । त्यसको चरम रुप होला यो जस्तो लाग्छ ।
पार्टी नछाडेको भए हुन्थ्यो जस्तो लागेन ?
ठूलो पार्टीमा बसेको मान्छे । नयाँ सिर्जना गर्ने चिजले के कस्तो होला भन्ने त लागेको छ । तैपनि उहाँमा गर्छु भन्ने जाँगर छ, सोच पनि पोजेटिभ छ र छोटो समयमा गणतन्त्र नेपालका अन्य प्रधानमन्त्रीले भन्दा राम्रो गरेको, बाटोघाटो निर्माण लगायतका काम, राष्ट्रिय गौरबका आयोजनलगायतले जनतामा केही ल्याउने होकी भन्ने जनतामा आशा रहेको बुझेको छु ।
तपाई अहिले एमाओवादीमा आवद्ध हुनुहुन्छ कि हुनुहुन्न ?
म अहिले राष्ट्रिय कर्मचारी संघको प्राधिकरण राष्ट्रिय समिति भन्ने छ, त्यसमा छु । प्राधिकरण भन्नाले विद्युत प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण, दूरसञ्चार प्राधिकरण र सहरीविकास प्राधिकरण भन्ने छ, त्यसको अध्यक्ष छु ।
अब दाजुको नयाँ शक्तिमा लाग्ने कि प्रचण्डकै पार्टीमा बसिरहने ?
अहिले त्यस्तो सोच भएको छैन । उहाँले पनि यहाँ आउ, गर भन्नुभएको छैन । भोलिको अवस्थाअनुसार उहाँलाई गर्ने सहयोग कस्तो रहन्छ भन्ने हो । दाइ र भाइ रोज्ने भन्दा पनि नीति रोज्ने कुरा आउँछ । हिजो पनि नीतिलाई फलो गरेको हो । भोलि पनि त्यही हुन्छ ।
तर, नयाँ शक्तिको कुरा आउँदा बाबुराम वा प्रचण्डलाई छान्नुपर्यो भने नि ?
बाबुरामले अहिले सबै छाडेर आउ भन्ने वातावरण पनि आइरहेको छैन । उहाँले जसरी माओवादी आन्दोलनको चिन्ताको कुराहरु गर्नु भएको छ, त्यो अवस्थाअनुसार उहाँको गराइ र उहाँको पछि लागेर सहयोग गर्ने राजनीतिक दलहरुमा के हुन्छ, मोर्चा वा के होला, त्यसका लक्षणहरु देखिँदै गएपछि मात्रै भन्न सकिने हो ।
भाइले दाइ रोज्ने भन्दा पनि नीति रोज्ने कुरा आउँछ । नीतिले मात्रै देशको फाइदा गर्ने हो । उहाँले पनि नीतिकै कुरा गर्नुभएको छ । उहाँको राम्रै सोच देखिने वातावरण भएपछि अनेक मान्छेहरुले साथ देलान् । त्यहीरुपमा हामीले पनि सोच्ने कुरा हो । भाइ भनेर पछि लाग्ने भन्ने कुरा हुँदैन । व्यक्तिगतरुपले उहाँ जानुभयो, हामी पनि जानुपर्छ, उहाँ बस्नुभयो हामी पनि बस्नुपर्छ भन्ने छैन ।
तपाईको विचारमा एमाओवादी पार्टी बिग्रिएको छ कि राम्रै स्थितिमा छ ?
शुरुदेखि नै माओवादीमा संलग्न हुनुभन्दा अगाडि मसालदेखि नै भित्रीरुपमा माओवादीमा संलग्न भएकै हो । आन्दोलनको उत्कर्षमा आउँदाखेरि धेरै राम्रो सुनिन्थ्यो । हामी त्यसमा संलग्न हुन नपाए पनि जाँडरक्सी खाने, जुवातास खेल्नेहरुलाई कारवाही गर्ने, गाउँमा सामन्ती प्रवृत्तिका मान्छेहरुलाई कारवाही गर्ने कुरा हुन्थ्यो । तर, अहिले संगठन विस्तार गर्ने भन्दा पनि जो-जो संगठनमा छ, उसैले हालीमुहाली गर्ने, संगठन फस्टाउने कामहरु नगरेर म नै हुँ भन्ने किसिमले क्रियाकलापहरु भइरहेका छन् ।
शुद्धता पनि कति ठाउँमा के भने, नाम बेच्ने, चन्दा उठाउने ठाउँहरुमा पनि त्यस्तै छ । जस्तै, म नै भएको कार्यालयमा पनि त्यस्तै छ । म नै अध्यक्ष हुँदा एक्लै गएर चन्दा माग्ने चलन नै थिएन । सामुहिक रुपमा गएर चन्दा उठाउने गरिन्थ्यो । त्यो जायज पनि थियो । पछि छाडा छोडेर, जसले सक्यो, उसले हात पार्ने गर्न थालियो । व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने गर्न थालियो । आफूलाई चाँहि सम्पत्तिको मालिक बनाउने, घर बनाउने जस्ता कुराहरु सुनिन आएका छन् ।
पछिल्ला दिनहरुमा यस्ता कुराहरुले साथीहरु असन्तुष्ट भएका छन् । असन्तुष्ट हुने कुरा स्वभाविक पनि हो । म पनि त्यो कुराको विरोधी हो । त्यस्तो हुनुपर्छ भन्ने आफूले पनि सोच राखिँन ।


प्रतिक्रिया 4