२० कात्तिक, काठमाडौं । एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा एमाओवादीबाट मन्त्री बनेकाहरुलाई एकै ठाउँ राखेर शुक्रबार बिहान पार्टीनिकट पत्रकारसँग अन्तरक्रिया कार्यक्रम राखिएको थियो ।
कार्यक्रमको उद्देश्य थियो पार्टी नेता-कार्यकर्ताहरुसँग टाढिएको सम्बन्धलाई पुनर्ताजगी गर्ने तथा पार्टीनिकट पत्रकारहरुबाट सल्लाह सुझाव लिने । तर, त्यहाँ एक मन्त्रीले आफ्ना कामको लामै फेहरिस्त सुनाए ।
पार्टीबाट नेतृत्व गर्दै सरकारमा सहभागी भएका उपप्रधानमन्त्री तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले काठमाडौं उपत्यकाको सडक विस्तारदेखि नदीनालाको सरसफाइलगायतका काम आफूले नै गरेको तर, बाबुराम भट्टराईको नाम आएको गुनासो पोखे ।
रायमाझीले मन्तव्यका क्रममा आफ्ना कमजोरीबाट कुरा राख्न सुरु गरे । पत्रकारहरुसँग घुलमिल नहुने र फोनमा रेस्पोन्स नगर्नु नै आफ्ना कमजोरी रहेको उनले स्वीकार गरे ।
त्यसैकारण आफूले गरेका राम्रा कामको स्वामित्व लिन नसकेको र ओझेलमा परेको मन्त्री रायमाझीले बताए ।उपप्रधानमन्त्री रायमाझीले भने- ‘म सुरुमा भौतिक योजना मन्त्री भएँ, तपाईहरुले देखिरहनुभा’छ काठमाडौंको सडक विस्तारको योजना मैले सुरु गरें । कम साथीहरुलाई थाहा छ । एभरेष्ट होटलको वाल भत्काउने काम म गएर प्रत्यक्ष नेतृत्व गरेको छु । लाजिम्पाटमा पद्मरत्न तुलाधरदेखि लिएर नरहरी आचार्य पनि सडकमा आएर सुते । एक हजार पुलिस लगेर मैले फकाई-फुलाई गरेर डाङडुङ पारें । त्यसपछि त सारा चिज अगाडि बढ्यो ।’
मन्त्री रायमाझीले दु:खमनाऊ गर्दै भने- ‘तर यो योजना टोपबहादुर रायमाझीले ल्याएको भनेर कसैले भन्दै भन्दैन, बाबुरामजीको नाम मात्रै आयो । बाबुराम प्रधानमन्त्री भएकाले मैले त्यसमा असन्तुष्टि जनाइँन । उहाँले हैन, मैले गरेको हुँ भनेर पनि भनिँन । मैले त्यसको स्वामित्व लिन सकिँन ।’
आफ्नो कामको प्रचार नहुनुमा पार्टीभित्र र पार्टी बाहिरका पत्रकारहरुसँग घुलमिल गर्न नसक्नु प्रमुख कारण रहेको बताए उपप्रधानमन्त्री रायमाझीले । उनले वागमती नदी सरसफाइ र नदी किनारमा हरियाली पार्क बनाउने योजना पनि आफैले ल्याएको दाबी गरे ।
रायमाझीले आफूले विगतमा गरेका कामको फेहरिस्त लगाउँदै भने- ‘वागमती, विष्णुमतीमा प्रधानमन्त्रीलाई लगेर मैले सरसफाइ गराएँ । ढल निकासदेखि लिएर ग्रिनरी एरिया सबै सञ्चालन मेरै पालामा मैले गरें । रेल विभाग मैले गर्दिएँ । कुशकुमारलाई बोलाएर काठमाडौं-हेटौडा सुरुङ मार्गको काम मैले अगाडि बढाएँ । तराईका ६ वटा व्यापारिक मार्गहरु मैले सञ्चालन गर्दिएँ ।’
क्रान्तिकारी पत्रकारका सामु उनले थपे- ‘यस्ता धेरै चिजहरु छन् । काठमाडौं, धादिङ, नुवाकोट, लमजुङ हुँदै पोखरा जोड्ने मध्यपहाडी मार्गको लाइन नै चेन्ज गराइदिएँ । खै त्यसको स्वामित्व नै छैन, प्रचार नै छैन ।’
रायमाझीले यसो भनिरहँदा पेरिसडाँडाको हलमा हाँसो गुञ्जियो । पत्रकारहरुको फोन नउठाएकैले आफ्नो कामको प्रचार नभएको भन्दै उनले यसको दोषी आफू नै रहेको बताए ।
‘काठमाडौंको फोहोरमा राजनीति’
आफू स्थानीय विकास मन्त्री हुँदा काठमाडौं उपत्यकाको फोहोरमा हुने राजनीति र हड्ताललाई अन्त्य गरिदिएको उपप्रधानमन्त्री रायमाझीले अर्को फेहरिस्त सुनाए ।
‘काठमाडौं महानगरपालिकामा सरसफाइका लागि मात्रै २२ सय कर्मचारी छन् । ६ सयले झाडू लाउँछन्, अरु बाँकीले ठगेर खान्छन् । दादागिरी गरेर, डनगिरी, गुण्डागिरी गरेर खान्छन् । उनीहरुले सफाइ गर्ने होइन कि टोलबाट फोहोर ल्याएर बाटोमा थुपारेर हड्ताल गर्छन्,’ उनले भने- ‘तर, मैले सदाका लागि यसलाई नष्ट गर्दिएँ । अहिलेसम्म फोहोर थुप्रिएर, नाक थुनेर हिँड्नुपर्ने भा’छ ? त्यो डनगिरीलाई मैले सिध्याइदिएको हो । त्यत्रो काम पनि प्रचार भएन । तपाईंहरुसँग मैले सम्पर्कै गरिनँ । फोनै नउठाएपछि तपाईंहरुलाई दोष लाएर मिल्छ ?’
रायमाझीले आफूले गरेका कामको उदाहरण मात्रै दिन खोजेको तर, फूर्ति नलगाएको बीच-बीचमा प्रष्टीकरण दिए । उनले आफू शान्तिमन्त्री हुँदा सहिद परिवार, बहिर्गमित जनसेनालगायतलाई सरकारको तर्फबाट सहुलियत र सहयोग गरेको पनि बताउन बिर्सिएनन् ।
‘म शान्ति मन्त्रालयमा आउँदा सहिद परिवारलाई सरकारले जम्मा एक लाख रुपैयाँ दिन्थ्यो, मैले छ महिना काम गरें । सुरुमा दुई लाख, फेरि दुई लाख गरी ५ लाख रुपैयाँ दिने निर्णय गराएँ । तामाकोशीमा थप पाँच लाखको सेयर गरी १० लाख रुपैयाँ दिलाएँ । ‘
मन्त्री रायमाझीको त्यो कुरा भुइँमा खस्न नपाउँदै कार्यक्रमका एक सहभागीलेे सहिदका विषयमा गरिएको निर्णय कार्यान्वयन नभएको जानकारी गराए । रायमाझीले तत्कालै जवाफ फर्काए, ‘त्यो क्याबिनेटबाट निर्णय भएको छ, लागु गर्नुपर्छ ।’
रायमाझीले बोल्नुअघि क्रान्तिकारी पत्रकार संघका नेता तथा नेपाल पत्रकार महासंघका उपाध्यक्ष खिलबहादुर भण्डारीले रायमाझीको नामै लिएर मन्त्रीहरुले फोन नउठाउने, जनयुद्धमा सँगै लडेका कार्यकर्ताहरुलाई बेवास्ता गर्ने गरेको भनाइ राखेका थिए ।
पत्रकार भण्डारीले उपराष्ट्रपति पासाङले आफैं फोन गरेर आफूसँग कुराकानी गरेको, तत्कालीन मन्त्री पम्फा भुसालले गाडी रोकेर लिफ्ट दिने गरेको, तर जति फोन गरे पनि, म्यासेज पठाए पनि मन्त्री रायमाझीले कुनै रेस्पोन्स नगरेको कडा शब्दमा कुरा राखे ।
जतिसुकै ठूला पदको व्यक्ति किन नहोस्, भित्तामा पुर्याइदिने शक्ति पत्रकारहरुमा भए पनि माओवादी मन्त्रीहरुले त्यसलाई नचिनेको भन्दै भण्डारीले ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा कृषिमन्त्री हरिबोल गजुरेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, सामान्य प्रशासन मन्त्री रेखा शर्मा, वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन, सिचाइँ मन्त्री उमेश यादवलगायतले सरकारमा रहेर जनमुखी काम गर्ने भन्दै त्यसका लागि पत्रकारहरुले साथ दिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया 4