+
+
Shares

शेरधन राई : एमाले फुट्दा जनजाति युवालाई फलिफाप !

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २० गते १८:२३

Sherdhan-Rai-UML

२० कात्तिक, काठमाडौं । एमाओवादी पार्टीमा वर्षमान पुनजस्तै एमालेमा छलाङ मारेर राजनीतिक उचाइ प्राप्त गर्ने आदिवासी जनजाति नेतामा पर्छन् सूचना तथा सञ्चारमन्त्री शेरधन राई । एमालेमा शेरधनका समकालीनहरु प्रायः जिल्ला नेतृत्वबाट माथि निस्कन सकेका छैनन् ।

केही नेताले केन्द्रीय सदस्यसम्मको यात्रा तय गर्दा शेधरन भने पोलिटब्यूरो सदस्य हुँदै सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारीमा पुगिसकेका छन् ।

सरकारको प्रवक्ता समेतको जिम्मेवारी बोक्ने सञ्चार मन्त्रीमा हरेक पार्टीले आफ्नो पार्टीका प्रभावशाली नेतालाई पठाउने गर्छन् । यसपटक शेरधन राईले सञ्चार मन्त्रीको जिम्मेवारी पाएपछि उनी एमालेका उदीयमान नेता हुन् भन्ने कुरा दुनियाँले बुझ्ने गरी पुष्टि भएको छ ।

संसदको सुशासन तथा अनुगमन समितिको सभापति हुँदाहुँदै उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार मन्त्री बनाउनुले अझ यसलाई प्रमाणित गरेको छ ।

अशोकले छाडेपछि आएका दिन

अशोक राईहरु एमाले छाडेर जातीय पार्टी गठन गर्न नहिँड्दासम्म शेरधन एमालेको जिल्लास्तरीय नेता मात्रै थिए । तर, एमालेबाट अशोक राई, हेमराज राई, अजम्बर राईहरुको बहिर्गमनसँगै शेरधन जिल्लाबाट केन्द्रीय सदस्यको जिम्मेवारीमा पुगे ।

अशोक राईहरुको बहिर्गमनको दुई वर्ष नपुग्दै उनी जिल्लाबाट केन्द्रीय सदस्य हुँदै पोलिटब्यूरो सदस्य र सरकारको प्रभावशाली मन्त्री हुने भाग्यमानी बने ।

माले चोइटिँदा पनि राईलाई फाइदा

एमालेको आन्तरिक जीवनमा जब संकट पर्छ, त्योबेला शेरधन राईको राजनीतिक जीवनमा ‘फलीफाप’ हुने गरेको रोचक संयोग एमाले कार्यकर्ताहरु हिसाब-किताब गरेका छन् ।

एमाले फुटेर ०५४ सालमा माले बन्दा भोजपुर, खोटाङ र धनकुटातिरका प्रायः सबै ठूला राई लिम्बु नेताहरु मालेतिर लागे ।

भोजपुरका तत्कालीन सांसद तथा केन्द्रीय नेताहरु हेमराज राई, धनहर्क राई, अजम्बर काङमाङ, जयन्ती राई लगायतका प्रायः सबै नेताहरु माले भए ।

एमालेमा जिल्ला नेतृत्व गर्ने मान्छेसमेत नभएका बेला शेरधनले एमालेको पार्टी कमाण्ड सम्हाले । त्यसबेला उनी अनेरास्ववियुको पूर्वाञ्चल प्रमुख र जिल्ला कमिटी सदस्यको तहमा थिए ।

शेरधन जिल्ला सचिव भएकै बेला ०५६ सालमा आम निर्वाचन भयो । त्यसबेला एमालेबाट उम्मेदवार उठ्ने हैसियतका नेतासमेत नभएका बेला शेरधनले खतरा मोले ।

मालेको बर्चश्व भएको जिल्लामा दुवै क्षेत्र एमालेले जित्यो, जुन चुनावमा शेरधन भोजपुर २ बाट निर्वाचित भएर तत्कालीन प्रतिनिधिसभाको कान्छो सांसद बने ।

पहिलोपटक सांसद जित्दा शेरधन २८ वर्षका युवक थिए । पहिलोपटक मन्त्री बन्दा उनी ४५ वर्षका प्रौढ तर अविवाहित अवस्थामै छन् ।

एमालेको जीवनमा संकट र शेरधनको राजनीतिक जीवनमा अर्को फड्को बन्यो अशोक राईहरुको एमालेबाट बहिर्गमन । ०६४ सालको संविधानसभा निर्वाचनमा एमाओवादीबाट सुदन किरातीसँग पराजित भएपछि उनी जिल्लामै एमालेको नेतत्व गरेर बसिरहेका थिए ।

पहिलो संविधानसभा विघटनको पूर्वसन्ध्यामा तत्कालीन एमाले उपाध्यक्ष अशोक राई, पृथ्वीसुब्बा गुरुङ, रकम चेम्जोङ लगायतले एकल जातीय पहिचानसहितको संघीयता माग्दै एमाले फुटाउने प्रयास गरे ।

त्यसबेला एमालेमा शेरधनसहित २६ वटा जिल्ला कमिटी अध्यक्ष आदिवासी जनजाति मूलका थिए । शेरधनले सबै जिल्ला अध्यक्षहरु काठमाडौं बोलाएर पार्टी जोगाउने अभियान चलाए ।

त्यो अभियानमा सामेल शेरधन राई, यज्ञराज सुनुवार, पार्वत गुरुङ, जमिन्द्रमान घले लगायतका अधिकांश जनजाति अध्यक्षहरु अहिले आ-आफ्नो जिल्लाबाट प्रत्यक्ष निर्वाचित सांसद छन् ।

अशोक राईहरु एमालेबाट बाहिरिए पनि २६ जिल्लाका जनजाति अध्यक्षहरु उनीहरुसँग गएनन् । जसले गर्दा एमालेलाई आदिवासी जनजाति समुदायमा अरुले सोचेजस्तो क्षति भएन । अशोकको प्रभावक्षेत्रमै एमालेका राई लिम्बुहरुले एकलौटी चुनाव जिते ।

यही संकटको बीचमा भोजपुर जिल्ला अध्यक्ष शेरधन राई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित भए । त्यस लगत्तै ०७० को संविधानसभा निर्वाचनमा भारी मतले विजयी भए ।

त्यसलगत्तै भएको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका राई पोलिटब्यूरो सदस्य तथा युवा संघको इन्चार्ज बने । युवा संघको करीव एक वर्षदेखिको विवाद र समानान्तर कमिटीको लफडा मिलाएपछि उनको उचाइ पार्टीमा अझ बढ्यो ।

विद्या भण्डारीको साथ

पार्टीमा शुरुदेखि नै केपी ओलीको निकट बनेका राईलाई पछिल्ला वर्षहरुमा ओलीको भन्दा पनि विद्या भण्डारीको दहि्रलो साथ समर्थन रहेको थियो ।

यसपटक मन्त्री बनाउन पनि भण्डारीले आफू राष्ट्रपति हुनुअघि नै शेरधनको नाममा अडान लिएकी थिइन् ।

पार्टी र राज्यसत्ता दुबैतर्फको जिम्मेवारीमा प्रभावशाली स्थान प्राप्त गरेका शेरधनका सामुन्ने अब यी जिम्मेवारीलाई पार लगाउनुपर्ने चुनौती छ ।

राजनीतिमा प्राप्त सफलतालाई कामबाट स्थापित गर्ने र जोगाउने कुरा ठूलो हो । शेरधनको मूल्यांकन त्यसमाथि मात्र हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?