+
+
Shares

संसदको रोष्टम घेराउ गर्ने कांग्रेसको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २० गते १८:०९

Nepali-Congress

२० कात्तिक, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधन विधेयकलाई लिएर व्यवस्थापिका संसदको बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

कांग्रेसका तराई मधेसका सांसदहरुले कात्तिक २२ गतेकै बैठक अवरुद्ध पार्न पार्टी नेतृत्वसमक्ष प्रस्ताव गरेका छन् । कांग्रेस केन्द्रीय कार्य समितिले नै संशोधन विधेयक पारित गराउन दबावमूलक भूमिका खेल्ने निर्णय गरिसकेको छ ।

कांग्रेस सचेतक ईश्वरी न्यौपानेले अनलाइनखबरसँग भनिन्-संविधान संशोधन विधेयक हाम्रो पार्टीको प्राथमिकताको विषय हो । तर, सरकारले तयारी गरेको देखिँदैन । हामी संसदीय पद्दतिभित्र रहेर अघि बढ्छौं ।’

कांग्रेसका सांसदहरुले मधेसको समस्या समाधान गर्न केपी ओली सरकारले चासो नदेखाएको आरोप लगाएका छन् । उनीहरुले सरकारको वार्ता प्रयासलाई नाटकको संज्ञा समेत दिएका छन् ।

कांग्रेस सांसद रामकृष्ण यादवका अनुसार तराई मधेसका २१ सांसदले २२ गतेकै बैठकमा रोष्टम घेराउको तयारी गरेका छन् । पार्टीले पनि संविधान संशोधन विधेयकलाई जोड दिएकाले यो पार्टीकै कार्यक्रम हुने उनले बताए ।

तराई मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेसका सांसदहरु डा. अमरेशकुमार सिंह, अमियकुमार यादव, डा. चन्द्रमोहन यादव, सीतादेवी यादव, सीताराम महतो, रामअयोध्याप्रसाद यादव, तेजुलाल चौधरी, प्रेमकिशोर प्रसाद साह, राजेन्द्र अमात्य, सुरेन्द्रप्रसाद यादव, मोख्तार अहमद, रामचन्द्र यादव, रामकृष्ण यादव, पुष्कर आचार्य, सीताराम भण्डारी, डा. गणेश मण्डल सहित २१ जना सांसदले पार्टी सभापति कोइरालालाई संसद अबरुद्ध पार्न अनुमति मागेका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै यादवले भने-‘संसदको पहिलो बैठकबाट संविधान संशोधन गर्ने भनिएको थियो । थुप्रै बैठकहरु बसिसक्यो तर, विधेयक आएन । अब रोष्टम घेर्ने हाम्रो तयारी छ ।’

कांग्रेसका सभापति सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारले अन्तिम समयमा संविधान संशोधन विधेयक दर्ता गराएको थियो । त्यसमा समानुपातिक समावेशी र हाल कायम जिल्लामा एक निर्वाचन क्षेत्र नघट्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने उल्लेख छ । तर, केपी ओली सरकारले भने विधेयक अघि बढाएको छैन ।

मधेसी मोर्चासँग वार्ता चलिरहेको र उनीहरुको समेत स्वामित्व हुने गरी विधेयकमा भाषिक परिर्माजन गर्ने सरकारको तयारी छ ।

यसैवीच विदेश भ्रमणबाट फर्केका वार्ता समितिमा संयोजक कमल थापाले शुक्रबार एयरपोर्टबाटै मधेसी मोर्चाका नेताहरुलाई चाँडै वार्तामा बस्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?