Comments Add Comment

प्रहरीले वालिका, पत्रकार र डाक्टर कसैलाई चिनेनन्

Muskan-Saha

एस.के.शान

७ मंसिर, सप्तरी । राजविराज-१ निवासी ४० वर्षीय दिलिप साह आइतबार साँझ आफ्नै घरको छतमा बसिरहेका थिए । ५ बर्षीया छोरी मुस्कान साहसँगै छतमा बसिरहेका उनको टाउकोमा एक्कासी गोली लाग्यो । गोली लागेको करिब एक घण्टाभित्रै उनले प्राण त्यागे । अवोध छोरीका दुबै हातमा गोली लागेपछि उनी घाइते छिन् ।

पाँच वर्षकी वालिका र उनीसँग घरैमा खेलिरहेका पिताले प्रहरीलाई ढुंगा हानेका थिएनन् । उनीहरु निर्दोष थिए । प्रहरीले भीड नियन्त्रण गर्नका लागि गोली चलाउनुपरे पनि घुँडामुनि मात्रै हान्नुपर्ने कानूनी व्यवस्था छ । तर, टाउको र छातीमै ताकेर गोली चलाउने गरिएको यो नौलो घटना होइन ।

प्रहरीको गोली लागेर भारदह र रुपनीमा एक/एक जनाको मृत्यु भएपछि तनावग्रस्त बनेको सप्तरीमा आफ्नै घरमा बसिरहेका सर्वसाधारणको ज्यान गयो । निर्दोषको मृत्यु भएपछि जिल्लामा थप तनाव सिर्जना भइरहेको छ ।

यसरी भयो प्रहरी दमन

राजविराज ३ स्थित आफ्नो घरमा जाने क्रममा १० बर्षीय मो. कलाम प्रहरीको निशानामा आइतबार परे । आन्दोलनकारीसँग झडप भइरहेको समयमा प्रहरीसँग जम्काभेट भएकै समयमा उनीमाथि प्रहरीले बन्दुकको कुन्दाले कुटपिट गरे । उनको टाउको फुटेको छ ।

Mohamad-Kalam

शनिबार साइकलमा चढेर आफ्नो घर बर्साइनतर्फ जाने क्रममा १५ बर्षीय बालक धर्मेन्द्र साहलाई प्रहरीले भारदहमा घेरा हाले । भारतको भीमनगरबाट घरतर्फ जाने क्रममा उनलाई प्रहरीले आन्दोलनकारी भन्दै निर्घात कुटे । उनको पनि टाउको फुट्यो ।

राजविराज-४ निवासी व्यापारी नरेन्द्र दुगड आफ्नो घरमा ढोका लगाएर बसेका थिए । ४/५ जनाको संख्यामा आएका प्रहरीले उनको ढोका ढक्ढकाए । ढोका खोलेलगत्तै प्रहरीले ४० बर्षीय दुगडमाथि लाठी प्रहार गरे । लाठी प्रहारले उनको टाउको फुटेको छ । उनको राजविराजको एक निजी क्लिनिकमा उपचार भइरहेको छ ।

कञ्चनरुप नगरपालिका १ बरमझियाका ७४ बर्षीय अमरनाथ पण्डित मंसिर ५ गते राति पिसाब फेर्न बाहिर निस्के । बरमझिया गणबाट रुपनीतर्फ गइरहेको प्रहरीको टोलीले उनलाई बाहिर किन निस्केको भन्दै घेरे र बुटले निर्घात कुटपिट गरे । उनको टाउको र पिठयूँमा नीलडाम त्यसै छर्लङ्ग देखिन्छ ।

पण्डितलाई कुटपिट गर्दै हिँडेका प्रहरीले बरमझियाका पाँचजनाको पसल तथा घरका समानहरु तोडफोड गरेका छन् । प्रहरीले बरमझियाका राजु सुरैतको सिञ्चाइ मोटर, पवन गुप्ताको पान पसलको र्‍याक, पिन्टु साहको चटपटे पसल, राजकुमार पण्डितको शौचालय रिङ्ग, बैजु गुप्ताको टेलिभिजन डिस छाता तोड्फोड गरेका छन् ।

कञ्चनपुर बेरियर निवासी ५४ बर्षीय रामचरण राउत (चौरसिया) लाई पनि प्रहरीले निर्घात कुटपिट गरेका छन् । मंसिर ६ गते ४ बजेको समयमा कामको सिलसिलामा बरमझिया गइरहेको अवस्थामा सुन्दरी पुलमा रोकेर सशस्त्र प्रहरीको टोलीले राउतलाई केही नसोधी लाठीले अन्धाधुन्ध कुटपिट गरेको राउतले बताएका छन् ।

राउत सवार स.२ प.३०८९ नम्बरको मोटरसाइकल समेत प्रहरीले फुटाइदिएको उनले बताए । राउतको टाउको र हातमा गम्भीर चोट लागेको छ ।

प्रहरीले रुपनीमा पनि व्यापक तोडफोड गरेका छन् । रुपनी बजारका व्यापारीहरु विश्वनाथ मण्डल, जयनाथ साह, राजकिशोर साह, रामसेवक साह, गंगाई महतोसहितका पसलमा प्रहरीले लाठी प्रहार गरी तोडफोड गरेको व्यापारीहरुले बताएका छन् ।

अस्पतालभित्रै ताण्डव

Police Sisa-batuldai

प्रहरीको गोलीबाट तीनजनाको ज्यान गएपछि उग्र बनेका आन्दोलनकारी र सर्वसाधारणमाथि मात्र नभई चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि प्रहरीले निर्घात कुटेका छन् ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालभित्र बर्दी लगाएकै अवस्थामा प्रहरी प्रवेश गरी सात जना कर्मचारीमाथि हातपात गरी ज्यान मार्ने धम्की दिएको भन्दै चिकित्सकहरुले अस्पतालको सम्पूर्ण कामकाज नै ठप्प पारेका छन् ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दीपा यादवले प्रहरीको दमनबिरुद्व अस्पतालको सम्पूर्ण कामकाज ठप्प पारिएको बताउँदै टेन्ट टाँगेर आकस्मिक सेवा दिनेबाहेक अन्य कुनै काम नगर्ने बताएकी छिन् ।

उनले नेपाल तथा सशस्त्र प्रहरीका एसपी र सिडिओलाई निलम्बन गरिनुपर्ने र अस्पतालमा सुरक्षा प्रदान नगरिए आफूहरु काममा नर्फकने बताइन् ।

अस्पताल र चिकित्सकहरुको निवासभित्रै प्रवेश गरेका प्रहरीले ल्याब टेक्निसियन विश्वनाथ मण्डल, हेल्थ असिस्टेन्ट रामकुमार दियाली, अहेब रामकुमार यादव, सुबोध मेहता, राजाराम यादव, रजनीकान्त चौधरी र देबानन्द मण्डलमाथि हातपात गरेका छन् ।

पत्रकार कुटिए, प्रेसमा तोड्फोड

सोमबार दिउँसो राजविराजको गजेन्द्र चोकमा प्रहरी-आन्दोलनकारीसँग झडप भइरहँदा झडपस्थलदेखि तीनसय मिटरको दूरीमा रहेको विलोचन साप्ताहिक पत्रिका र नेहा अफसेट प्रेसको कार्यालयभित्रै प्रवेश गरेर प्रहरीले तोडफोड गरेका छन् ।

Press-Todfod

राजविराजको मुख्य सडकमै रहेको प्रेस र पत्रिकाको कार्यालयभित्र छिरेका चारजना प्रहरीले पत्रकारलाई अन्धाधुन्ध लाठी प्रहार गरे । लाठी प्रहारबाट प्रेसको अगाडिको सिसा र प्रिन्टर फुटेको छ ।

यसअघि आइतबार राजविराजकै गजेन्द्र चोक अगाडि मोटरसाइकल रोकेर झडपको तस्वीर खिचिरहेका चारजना पत्रकारमाथि प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरेको थिए ।

प्रहरीको लाठी प्रहारबाट नेपाल पत्रकार महासंघ सप्तरीका सचिव ओमप्रकाश साह, पार्षद सतिश दत्त, ग्रीन मधेश दैनिकका संवाददाता परिष कर्ण र सीएफएमका समाचार वाचक आषुतोष आनन्द सिंह घाइते भएका छन् । प्रहरीले तस्वीर किन खिचेको भन्दै लाठी प्रहार गरेको सचिव साहले जानकारी दिए ।

विनाकारण बल प्रयोग

प्रहरीले आफैं कतिपय ठाउँमा विनाकारण सर्वसाधारणमाथि बल प्रयोग गरेका छन् । सोमबार बिहान प्रहरीले भारदहमा तोडफोड गराएका छन् । भारदहमा प्रहरी उपस्थित भएको समयमा एक दर्जन सर्वसाधारणको घरमा तोडफोड गरिएको छ ।

सवारी साधन स्कटिङ्ग गराई पूर्वतर्फ लग्ने क्रममा भारदहमा करिब आधाघण्टा दुई दर्जन सवारी साधनलाई सुरक्षा दिएर रोक्न लगाई प्रहरीले तोड्फोड गरेका हुन् । प्रहरीले चारवटा बसबाट करिब सयजनाको संख्यामा रहेका यात्रुलाई भारदह ओरालेर चोकका एक दर्जनभन्दा बढी व्यक्तिको घरमा तोडफोड गरेको स्थानीयले बताएका छन् ।

ना.४ ख ७०४५ नम्बरको मितेरी बस, ना.५प ६०६, ना.४ख ५४७९ र बा.३ ख ६५८६ नम्बरको बसबाट ओर्लेका व्यक्तिहरुले प्रहरीको संरक्षणमा घर तोडफोड र सर्वसाधारणमाथि कुटपिट गरेको स्थानीय बताउँछन् । उनीहरुले भारदह १ का सत्यनारायण मण्डलको घरको ढोका पूर्णरुपमा तोडफोड गर्दै उनलाई निर्घात कुटेका छन् । कुटपिटबाट उनको हातको एउटा औंला फ्याक्चर भएको छ ।

यस्तै सुखालाल राउत, सुरेश राउत, कारी विश्वास, पवन मण्डलसहितकाको घरभित्रै प्रवेश गरेर घरको ढोका, झ्याल र घरभित्र रहेका सामानहरु तोडफोड गर्दै पूर्णरुपमा नष्ट गरेका छन् । कमल मण्डलको होटेलको सोकेसका सिसाहरु फुटाइएको छ ।

ती व्यक्तिहरुले करिब आधा घण्टासम्म सर्वसाधारणको घरमा तोडफोड गर्दै ढुंगामुढासमेत गरे । ढुंगामुढा पनि बसभित्रैबाट ल्याइएको स्थानीयहरुको भनाइ छ ।

कमाण्डरको आदेश उल्लंघन !

दलका शीर्षस्थ नेताहरुले मधेसी मोर्चाको आन्दोलन नियन्त्रण बाहिर रहेको बताउँदै आएका बेला सप्तरीमा प्रहरीहरु पनि कमाण्डरको नियन्त्रणमा नभएको पाइएको छ ।

चेन अफ कमाण्डमा रहने गरेका सुरक्षा निकायका जवानहरुले आइतबार प्रहरी निरीक्षकलाई नै टेरेनन् । आइतबार पत्रकारलाई कुट्ने क्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज थापाले रोक्ने प्रयास गरे । उनले रोक्ने काम मात्र गरेनन्, ढाल नै बनेर छेके । तर, छेउबाट पसेर जवानहरुले चारजना पत्रकारमाथि लाठी बर्साए ।

‘प्रहरी निरीक्षकले रोक्दा रोक्दै यस्तो घट्ना भयो’ नेपाल पत्रकार महासंघ सप्तरीका सचिव ओमप्रकाश साहले भने, “प्रहरी निरीक्षक थापाले रोके पनि खटिएका सशस्त्र प्रहरी जवानले लाठी प्रहार गरिहाले ।”

‘पत्रकारहरुमाथि भएको लाठी प्रहारले दुःख लागेको छ’ सप्तरीका प्रहरी प्रमुख भीम ढकालले अनलाइनखबरसँग भने, “हामी यसप्रति सजग छौं र दोषीमाथि कार्वाही हुन्छ ।” उनले जवानहरुले प्रहरी निरीक्षकको कुरा नमानेको बारे केही बोल्न चाहेनन् ।

जिल्लामा यस्तो ज्यादति गरेर परिस्थितिलाई भड्काउने प्रहरीलाई गृहमन्त्रीले नै यस्तो आदेश दिएका हुन् या तलैबाट यस्तो भएको हो भन्ने बुझ्न सकिएको छैन ।

आन्दोलनकारी पनि उग्र

प्रहरीले जथाभावी बल प्रयोग गरेको छ भने जिल्लामा आन्दोलनकारीहरु उग्र बन्न थालेका छन् । उनीहरुले एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधनलाई समेत रोक लगाएका छन् । प्रहरीसँग विभिन्न ठाउँमा ढुंगा हानाहान र झडप भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment