Comments Add Comment

युएइमा हजारौं नेपाली एमआरपी बिहीन

रामप्रसाद ढुंगेल
युएई । अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आइकाओ)ले हस्तलिखित राहदानी विस्थापन गर्न नेपाललाई दिएको समयसीमा समाप्त भए पनि यूएईमा कार्यरत हजारौं नेपालीहरुसँग एमआरपी नभएको पाइएको छ ।

नोभेम्बर २३ र २४ मा मात्र एमआरपीको फाराम भर्न नेपाली दूतावास पुग्ने नेपालीको संख्याका आधारमा धेरै नेपालीहरु एमआरपीविहीन रहेको नेपाली दूतावासका द्वितीय सचिव कृष्ण अर्यालले बताए ।

‘नोभेम्बर २३ मा ९० जना र २४ मा ५० जनाभन्दा बढीले एमआरपीका लागि फाराम भरेका छन्,’ अर्यालले भने, ‘संख्या अनुमान गर्न नसके पनि धेरै नेपालीहरु एमआरपीविहीन रहेछन् ।’

एमआरपी बनाउनका लागि नेपाली दूताबासले पटकपटक सूचना जारी गरेको थियो । त्यतिमात्र नभएर राजदूत धनन्जय झाले विगत १ वर्ष अघिदेखि हरेक सार्वजनिक कार्यक्रमहरुमा आफ्नो मन्तव्यको क्रममा एमआरपी बनाउनका लागि आह्वान गर्दै आएका थिए ।

‘हस्तलिखित राहदानीवाहक नेपालीलाई दुई हप्ताभित्र एमआरपी’

Krishna-Aryal,-UAEएमआरपीका लागि आवेदन दिएकाहरुलाई सचिव अर्यालले करिब दुई हप्ताभित्रै एमआरपी उपलब्ध गराउने प्रयास भइरहेको बताए । हस्तलिखित राहदानी वाहकको पासपोर्टको म्याद सकिएको पाइएमा दूतावासले ट्राभल डकुमेन्ट बनाइदिने र सोही ट्राभल डकुमेन्टको आधारमा नेपालसम्मको यात्रा गर्न सकिने जानकारी पनि सचिव अर्यालले दिएका छन् । तर पासपोर्टको ‘भ्यालिडीटी’ हुने सबै नेपालीहरुले अनिवार्य रुपमा एमआरपी बनाउनु पर्ने सचिव अर्यालले बताए ।

सचिव अर्यालले एमआरपी जारी भएपछि अहिलेसम्ममा करिब ८० हजारभन्दा बढी नेपालीहरुलाई दूताबासबाट एमआरपी वितरण गरेको जानकारी दिएका छन् । यूएईमा कार्यरत अधिकांशले नेपालबाटै एमआरपी बनाए पनि घरेलु कामदारका रुपमा आएका धेरै हाउसमेड र सर्वसाधारण काम गर्ने नेपालीहरुसँग एमआरपी नभएको प्रक्षेपण एक सामाजिक कार्यकर्ताले गरे । उनका अनुसार अघिकांश हाउसमेड अशिक्षित रहेको र सार्वजनिक बिदा पनि नपाउने भएका कारण अशिक्षा र जानकारीको अभावमा हजारौं नेपालीहरु एमआरपीविहीन छन् ।

एमआरपीको द्रूत वितरण तथा एमआरपीलाई व्यवस्थित गर्न नेपाल सरकारले लाइभ इन्रोलमेन्ट (प्रत्यक्ष दर्ता प्रणाली) लागू गरे पनि त्यो सिस्टममा जान यूएईस्थित नेपाली दूतावासलाई केही समय लाग्ने सचिव अर्यालले बताए । अहिले विभागले विभिन्न्न जिल्लाबाट आएका एमआरपीका आवेदनलाई १५ दिन भित्रमा एमआरपी तयार पार्ने बताएको छ भने विदेशी नियोगबाट आएका आवेदनलाई १० दिनभित्रै रेस्पोन्स गर्ने बताएको छ ।

दूतावासमा सम्पर्क गर्न आग्रह

विभागले द्रुतमार्गबाट ५ दिनमै एमआरपी उपलब्ध गराउने लक्ष्य छ । परराष्ट्रले हालसम्म ३९ लाख एमआरपी जारी गरेको तथ्य सार्वजनिक गरेको छ ।

वैदेशिक रोजगार विभागले पछिल्लो पटक यूएईमा कार्यरत नेपालीहरुको संख्या ४ लाख १ हजार ४ सय ४६ सार्वजनिक गरेको छ । भारतीय हवाईमार्ग हुँदै आउने र विभागको रेकर्डमा नरहेका व्यक्तिलाई जोड्ने हो भने करिब ४ लाख ५० हजारभन्दा बढी नेपाली यूएईमा श्रमरत छन् । नेपाली दूतावास यूएईले हस्तलिखित राहदानीवाहक नेपालीलाई दूतावासमा सम्पर्क गर्न सुचित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment