Comments Add Comment

क्रान्तिकारीका नेता सामुहिक राजीनामा बोकेर प्रचण्डनिवासमा

१४ मंसिर, काठमाडौं । अखिल क्रान्तिकारीको प्रथम विस्तारित बैठकमा विवाद भएपछि असन्तुष्ट पक्षका नेताहरुले प्रचण्डनिवासमा सामुहिक राजीनामा बुझाउने तयारी गरेका छन् ।

Madan-Aryal-and-Sudip-Kunwa
मदन अर्याल र सुदीप कुँवर (दायाँ) । तस्वीर : अर्यालको फेसबुक

राजधानीमा आइतबार सम्पन्न विस्तारित बैठकमा पार्टीका तर्फबाट इञ्चार्ज बनेर खटिएका जनार्दन शर्मा प्रभाकरले आफ्नै भाइ अनिल शर्मालाई जबरजस्ती महासचिव बनाएको र नारायणकाजी श्रेष्ठ पक्षका उपाध्यक्ष सुदीप कुँवरलाई हटाइएको भन्दै असन्तुष्ट नेताहरुले प्रचण्डसमक्ष राजीनामा बुझाउने तयारी गरेका हुन् ।

सामुहिक राजीनामा बुझाउने टोलीमा उपाध्यक्ष मदन अर्यालसहित करिब २५ जना छन् ।

कुँवर बरिष्ठ उपाध्यक्ष भए पनि पूर्वएकताकेन्द्र समूहका भएकाले आगामी अध्यक्ष बन्न नदिन पँजनी गरिएको असन्तुष्टको आरोप छ । यसअघि पनि पूर्व एकताकेन्द्र पक्षधर जागृत रायमाझीलाई अध्यक्षबाट रोकिएको थियो, जसले गर्दा राष्ट्रिय सम्मेलनसमेत असफल भएको थियो ।

आइतबार सम्पन्न विस्तारित बैठकले १९९ सदस्यीय केन्द्रीय समिति र २१ सदस्यीय पदाधिकारी गठन गरेको छ । रमेश मल्ल अध्यक्ष रहेको नवगठित कार्यसमितिमा ६ पदाधिकारी र १२ जना सचिव छन् ।

विस्तारित बैठकले उपाध्यक्षहरुमा नरेन्द्र न्यौपाने, आरसी अधिकारी, रञ्जित तामाङ, मदन अर्याल, जितेस योञ्जन र रुद्र विष्ट छन् । बरिष्ठ उपाध्यक्ष सुदीप कुँवरलाई जनार्दन शर्माले जवरजस्ती हटाएको नारायणकाजी पक्षका नेताहरुको आरोप छ ।

नवनियुक्त सचिवहरुमा सुरेन्द्र बस्नेत, पञ्चा सिंह, राजु आले, तिलकराज भण्डारी, गंगाराम तिमल्सिना, रामबाबु बैठा, दीपक देवकोटा, रमेश धामी, पुरन के.सी, विजय हमाल, चिरञ्जीवी लामिछाने र मदन चुंडाल छन् । कोषाध्यक्षको जिम्मेवारी गोपाल न्यौपानेले पाएका छन् ।

महासचिवमा विवाद

Anil-Sharma
अनिल शर्मा

विस्तारित बैठकबाट महासचिवको जिम्मेवारी जनार्दन शर्माका भाइ अनिल शर्माले पाएका छन् । महासचिवको दाबेदार मदन अर्याललाई पाखा लगाएर जनार्दनले आफ्ना भाइलाई महासचिव बनाएको भन्दै बैठकमा विवाद भएको थियो ।

नेता शर्माले म विद्यार्थी इञ्चार्ज हुँ र यो पार्टीको निर्णय हो, तिमीहरुले मान्नैपर्छ भन्दै दबाव दिएर आफ्नो भाइलाई महासचिव बनाएको एक असन्तुष्ट नेताले अनलाइनखबरलाई बताए ।

असन्तुष्ट नेताले अनलाइनखबरसँग भने-‘देवेन्द्र पौडेलले पार्टी छाडेपछि विद्यार्थी इञ्चार्ज नै पार्टीले तोकेको छैन, सुदीपजीलाई हटाइएको विरोधमा हामी प्रचण्डसमक्ष सामुहिक राजीनामा बुझाउने तयारीमा छौं ।’

तर, राजीनामा पत्र बोकेर सोमबार विहान प्रचण्ड निवास लाजिम्पाट पुगेका असन्तुष्ट विद्यार्थी नेताहरुसँग प्रचण्डले भेट्न मानेनन् । प्रचण्डले ‘तपाईंहरुको कुरा मलाई थाहा छ, यसबारे पछि कुरा गरौंला है’ भन्दै निवासबाट बाहिरिएपछि विद्यार्थी नेताहरु पनि फर्किएका छन् ।

मधेस जागरण अभियान चलाउने

विद्यार्थीको विस्तारित बैठकले एक महिनासम्म राष्ट्रिय स्वाधीनता र मधेस जागरण अभियान अभियान चलाउने निर्णयसमेत गरेको छ । ‘राष्ट्रिय स्वाधीनता, आन्तरिक राष्ट्रिय एकता, शैक्षिक अधिकार, जनजिविका र सामाजिक सदभावको लागि विद्यार्थी अभियान’ सञ्चालन गर्ने अध्यक्ष मल्लले बताए ।

बैठकले स्ववियु निर्वाचनको तयारी गर्ने, शैक्षिक आन्दोलनलाई जारी राख्ने, संगठनलाई संघीय संरचनामा लैजाने र २० औं राष्ट्रिय सम्मेलन निर्धारित मितिमै गर्ने निर्णयसमेत गरेको छ ।

‘०७० चैतमा सम्पन्न १९ औं राष्ट्रिय सम्मेलनको बाँकी कार्यभार पूरा गर्ने र बदलिँदो राजनीतिक परिस्थितिमा सशक्त भूमिका खेल्नेछौं,’ अध्यक्षको जिम्मेवारी पाएका मल्लले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment