Comments Add Comment

प्रदीप गिरी: कांग्रेसमा गुट छैन, गिरोह छ

Pradeep Giri

नेपाली कांग्रेसको संस्कृतिमा किसुनजी हुँदा पनि गुट थियो, गणेशमानजी हुँदा पनि गुट थियो, वीपी हुँदा पनि गुट थियो । भारतमा गान्धीजीको पालामा पनि गुट थियो । अहिले अमेरिकामा रिपक्लिकन र डेमोक्रेटिक पार्टीमा गुट छ । यो आफूमा खराब होइन, डेमोक्रेटिक प्रोसेसकै विस्तार हो ।

गिरोह भएपछि न त विचार हुन्छ, न मूल्य हुन्छ, न मान्यता हुन्छ । कांग्रेसमा यो कसरी सुरु भो भन्नुभन्दा पहिले गिरोहको परिभाषा बुझ्नुस् ।

कांग्रेसमा गुट छैन, गिरोह छ

एउटा शब्द छ ‘गिरोह’ । कांग्रेसमा गुटको ठाउँ गिरोहले लिएको छ । गिरोह भनेको उही चक्रे मिलनको गिरोह, जसमा कसैले चक्रे मिलनलाई च्यालेन्ज गर्‍यो भने ‘उठाओ बन्दुक, ओर लगाओ निसाना’ भन्दैन ? अहिले कांग्रेसमा गिरोहवादी प्रवृत्ति एकदमै बलियो भएर गएको छ । गुटका नाममा गिरोह बन्दैछ ।

गिरोह भएपछि न त विचार हुन्छ, न मूल्य हुन्छ, न मान्यता हुन्छ । कांग्रेसमा यो कसरी सुरु भो भन्नुभन्दा पहिले गिरोहको परिभाषा बुझ्नुस् ।

गुण्डाहरुको ग्याङ हुन्छ नि । काठमाडौंमा चरी काण्ड, घैंटे काण्ड, चक्रे मिनल भन्ने छ नि, उनीहरु पनि त्यसै ग्याङ चलाउँदैनन् । ८/१० जना, ५०/६० जना मान्छे लिएर हिँड्छन् । मैले धेरै वर्ष पहिले ग्याङमा आधारित हिन्दी फिल्म कम्पनी भन्ने हेरेको थिएँ । हिन्दुस्तानका नामुद गुण्डाहरुको जीवनमा आधारित छ त्यो ।

जब एउटा समूह जीवनमूल्य र विचारधाराबाट निरपेक्ष रहेर आफ्नो स्वार्थको अभिवृद्धिका लागि काम गर्न थाल्छ, त्यसको चरित्र राजनीतिक हुँदैन, जसरी गिरोहको पनि चरित्र राजनीतिक हुँदैन ।

गिरोह कुनै अर्थमा पार्टी र गुटभन्दा फरक हो । किनभने गिरोहमा राजनीति हुँदैन, विशुद्ध तत्कालिक लाभका लागि बनेको समूह हुन्छ । जस्तो-एउटा विजनेश ग्रुप हुन्छ । कर्पोरेट कम्पनीलाई त तपाई पोलिटिकल मान्नुहुन्न, विशुद्ध नाफाका लागि बनेको हुन्छ र कानुनसम्मत हुन्छ । गिरोह-ग्याङ कसरी बन्छ ? त्यो  गैरकानुनी ढंगले कमाउनका लागि ।

गिरोह र राजनीतिमा फरक के हुन्छ भने निश्चित राजनीतिक समझदारीका साथ लाग्दा हामी त्यसलाई पार्टी भन्छौं । कांग्रेसले बुझेको भए पनि नबुझेको भए पनि, कांग्रेसका नेताहरुले पढेको भए पनि नपढेको भए पनि, डेमोक्रेटिक सोसलिज्म भनेको हुनाले कांग्रेसमा लागेको हो ।

बहुदलीय जनवाद भनेकाले एमाले र जनयुद्ध र जनवाद भनेकाले माओवादी भएको हो । त्यो जब सिद्धिँदै जान्छ, गिरोह बन्छ ।

कांग्रेसमा गिरोहको सुरुवात

यो गिरोह गिरिजाबाबुका पालामा सुरु भएको थियो । गिरिजाबाबु हाट्टहुट्ट गर्ने काम बडो गर्न थाल्नुभएको थियो । त्यसको अवशेष कांग्रेसमा छ, यो सबैभन्दा अपशोचको कुरो हो ।

गिरिजाबाबुले कहिल्यै पार्टीमा सैद्धान्तिक कुरा राख्नुभएन । आफ्नो पक्षमा समर्थन जुटाउँदा त्यसका मूल्य र मान्यता के छन् हेर्नुभएन । त्यसैले गिरिजाबाबुले जुनसुकै पार्टीका मान्छेलाई आमन्त्रण गर्नु भो । उहाँलाई मद्दत गर्ने मान्छे कट्टर कम्युनिष्टलाई पनि ल्याउनुभो । पञ्चायतका मान्छेलाई पनि ल्याउनुभो । नाम भन्दा ठीक हुँदैन । एक से एक गुण्डाहरु ल्याउनुभो । किनकि उहाँलाई पार्टीमा बलियो बन्नुथियो । किसुनजीले एउटा पनि संदिग्ध चरित्रको मान्छेलाई पार्टीमा ल्याउनुभएन । यसरी पार्टी विस्तारै गिरोहमा परिणत हुँदै गयो ।

गुट स्वाभाविक, गिरोह अफसोच !

दुनियाँमा कुनै यस्तो राजनीतिक पार्टी हुँदैन, जसमा गुट नहोस् । जुन सामाजिक प्रक्रियाले पार्टी बन्छ, त्यही सामाजिक प्रक्रियाले गुट बन्छ । पार्टी कसरी आउँछ समाजमा ? राजा महेन्द्रले पार्टीका विरुद्ध के आरोप लगाउँथे ? यिनीहरुले आफ्नो पार्टीको हित हेर्छन्, देशको हित हेर्दैनन् भन्दै उनले पार्टी र देशलाई बझाएका थिए । दलगत स्वार्थ मात्र हेर्छन् भन्ने भाषा प्रयोग गरेका थिए । हुन पनि हो जस्तो लाग्छ, किनकि मेरो पार्टी भन्छु म ।

तर, तपाई नबिर्सनुस्, पार्टीले मेरो पार्टी, मेरो सिद्धान्त, मेरो कार्यक्रम भन्दा उसले त्यसै मुलुकका लागि कार्यक्रम र सिद्धान्त बनाएको हुन्छ । पार्टीको रणनीति र कार्यनीति हुन्छ ।

हामी पार्टीमा लाग्ने भनेको पार्टीका लागि मात्रै होइन । ठीक त्यस्तै एउटा पार्टीमा पनि दुईवटा लाइन हुन्छन् । उदाहरणका लागि माओवादीमा यो शब्द बडा प्रचलनमा छ, दुई लाइनको सघर्ष । त्यसैले पहिले पार्टी बन्छ । के भनेर बन्छ ? कांग्रेस र कम्युनिष्ट । त्यसपछि त्यही कांग्रेस र कम्युनिष्टमा के भनेर झगडा हुन्छ ? (जो हाम्रो कांग्रेस पार्टीमा भर्खर भएको छ) कम्युनिष्टसँग कस्तो सम्वन्ध राख्ने ? कम्युनिष्टको झगडा कांग्रेससँग कस्तो सम्वन्ध राख्ने भनेर हुन्छ । मुलुककै भविश्यलाई लिएर पार्टीभित्र विभाजन हुन्छ र त्यसलाई गुट भनिन्छ ।

गुट पनि पार्टीकै रुप हो । पार्टी व्यवस्था बन्द गर्नुस्, गुट बन्द हुन्छ । पार्टी व्यवस्था राख्नुस्, गुट रहन्छ । पार्टी व्यवस्था समाजबाट आएको हुन्छ । समाजमा भोटको अधिकार भएपछि एउटा मान्छेले कति जनासँग भोट माग्न सक्छ र ? एक लाखको घरदैलोमा जान सक्दैन । त्यसैले पार्टी चाहियो ।

गिरोह र गुटमा के फरक हुन्छ भने पार्टी बन्छ विशुद्ध बैचारिक आधारमा । कार्यक्रम, कार्यनीति र रणनीतिको समझमा । गुट बन्छ त्यही रणनीति र कार्यनीतिमा भएको मतभेदलाई लिएर । अथवा बन्नुपर्छ । गुट र गिरोहमा क्षीण अन्तर हुन्छ ।
गिरोहमा राजनीतिको बहस हुँदैन । लुटी ल्याउने, भुटी खाने -डकैती गर्ने र बाँडीचुँडी खाने) हुन्छ । त्यहाँ  पनि हल्का हुँदोहोला, झ्यालबाट छिर्ने कि ढोकाबाट भनेर बहस त हुन्छ होला ।

गिरोहमा अर्को ‘क्वालिफाइङ फ्याक्टर’ हुन्छ, त्यो गुटको सदस्यता गिरोहको नेताको कृपामा हुन्छ । पार्टीेको सदस्यता त त्यसरी हुँदैन । विधिवत विधानका आधारमा हुन्छ । त्यसैले हाम्रो नेपाली कांग्रेस पार्टीको अहिलेको रोग गुट होइन, गिरोहको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment