Comments Add Comment

तीनवटा अन्तर्राष्ट्रिय विमानस्थललाई पौने १४ अर्ब

BhairwaAirport (4)

१५ जेठ, काठमाडौं । भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७४ माघदेखि सञ्चालनमा आउने गरी निर्माण कार्यलाई तिब्रता दिइने भएको छ । यसका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा ७ अर्ब २२ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अहिले यो विमानस्थको निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । अहिलेसम्म १५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको परियोजना प्रमुख ओम शर्माको भनाई छ । सरकारले यो विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा सुविधा सम्पन्न बनाउँदै छ ।

पोखरा विमानस्थल

सरकारले प्रस्तावित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अगाडि बढाउन ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । यो विमानस्थलको यही वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य समारोहबीच शिलान्यास गरिसकेका छन् । यो विमानस्थल ४ वर्षभित्र सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखिएको छ ।

Pokhara Airport

चिनियाँ सरकारी एक्स्पोर्ट इम्पोर्ट (एक्जीम) बैंकको २१ अर्ब रुपैयाँ सहुलियत ऋण सहयोगमा यो विमानस्थल निर्माण गर्न लागिएको हो । यो विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी सिएएमसी इञ्जिनियरिङ कम्पनीले पाएको छ ।

यो ऋणको २५ प्रतिशत रकम नेपालले अनुदान स्वरुप पाउने छ । अनुदान वाहेकको रकमको नेपालले वाषिर्क २ प्रतिशत ब्याज तिर्नुपर्छ । तर यो ब्याज आगामी सात वर्षपछि सुरु हुनेछ । आगामी चार वर्षमा निर्माण सक्ने र पाँच वर्षभित्र विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याइसक्ने योजना छ । विमानस्थल सञ्चालनमा आइसकेपछि मात्रै नेपालले ब्याज तिर्नुपर्छ ।

निजगढ विमानस्थल

सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

विमानस्थलका लागि जग्गा अधिग्रहण, रि-सेटलमेन्ट, वातावरण प्रभाव मुल्यांकन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का लागि यो रकम छट्टाएको हो । आगामी आर्थिक वर्षभित्र चारवटै कामहरु सम्पन्न गर्ने लक्ष्य राखिएको छ । काम गर्ने क्रममा अपुग रकमको व्यवस्था गर्ने बताइएको छ । विस्तृत परियोजना प्रतिवेदन र कार्यन्वयनको ढाँचा तयार गरी स्रोत व्यवस्थापनका लागि पहल गरिने बजेटमा उल्लेख छ ।

विमानस्थलका लागि १ हजार २ सय विगाहा जग्गा अधिग्रहण गर्नुपर्छ । जसमध्ये करिव ९० प्रतिशत जमिन बन क्षेत्रमा पर्छ । विमानस्थलले चर्चेको १५० विगाहा जमिन निजी व्यक्तिको नाममा छ । मुआब्जा दिएर जग्गा अधिग्रहण गर्नका लागि साढे तीनदेखि चार अर्ब रुपैयाँ लाग्ने बताइएको छ ।

विमानस्थल परिसरमा बसोबास गर्ने १६ सय घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने हुन्छ । पर्यटन मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षभित्र उनीहरुलाई स्थानान्तरण गर्ने काम हुनेछ । सरकारले चालु आर्थिक वर्षमा पनि जग्गा अधिग्रहण गर्न मुआब्जाका लागि एक अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

SIA-Nijgadh-4विमानस्थल निर्माणका लागि डीपीआरको काम पनि आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । विमानस्थल स्वदेशी लगानीमा बनाउने नेपाल सरकार मन्त्रिपरिषदको निर्णयपछि पुनः डीपीआर गर्न लागिएको हो । आर्थिक स्रोतको जोहो अर्थमन्त्रालयले गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

यसअघि कोरियन कम्पनी एलमडब्लु निजगढ विमानस्थलको डीपीआर तयार गरेको थियो । उसको डीपीआर अनुसार डबल धावनमार्ग भएको एयरपोर्ट सिटीसहितको विमानस्थल बनाउन ७ खर्ब रुपैयाँ लाग्छ । कम्पनीले एयरपोर्ट सिटी बनाउनमात्र पाँच खर्ब लाग्ने प्रस्ताव गरेको छ । त्यो प्रतिवेदन अहिले लगानी बोर्डमा छ ।

तर, पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल केही दिन अगाडि अनलाइनखबरसँग कुरा गर्दै स्वदेशी लगानीमै कम खर्चमा निजगढ विमानस्थल बनाउन सकिने बताएका थिए । ‘हामीलाई तत्कालै एयरपोर्ट सिटी चाहिएको छैन, पहिलो चरणमै दुईवटा धावनमार्ग पनि बनाउनु पर्दैन’ मन्त्री पोखरेलले भनेका थिए- ‘हामीलाई अहिले एयरपोर्ट सिटी होइन, एयरपोर्ट चाहिएको हो, एयरपोर्ट सिटी विस्तारै बनाउँदै जाउँला ।’

एलएमडब्लुको प्रतिवेदनअनुसार एयरपोर्ट सिटी हटाउनेवित्तिकै विमानस्थल बनाउन २ खर्ब रुपैयाँमात्र लाग्नेछ । सरकारले पहिलो चरणमा सिंगल रन वे भएको विमानस्थल सञ्चालनमा ल्याइहाल्ने सोँच बनाएको छ । विस्तारै अन्य पूर्वाधारहरु निर्माण गर्दै योजनालाई पूर्णता दिने योजना छ ।

नागरिक उड्डयन प्राधिकरणले पहिलो चरणमा १ खर्ब २२ अर्ब रुपैयाँ लागतमै विमानस्थल बनाउन सकिने प्रतिवेदन मन्त्रालयमा बुझाएको छ ।

बाराको डुमरानमा निर्माण हुने यो विमानस्थल ८० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिने छ । यो विमानस्थल निर्माणपश्चात दक्षिण एशियाकै सभन्दा ठूलो विमानस्थल बन्नेछ । यसलाई ट्राञ्जिट विमानस्थलको रुपमा विकास गर्ने सरकारको योजना छ ।

आन्तरिक विमानस्थल पनि प्राथमिकतमा

सरकारले आगामी आर्थिक वर्षको बजेटमा आन्तरिक विमानस्थल निर्माण तथा स्तरोन्नतीलाई प्राथमितामा राखेको छ । विगतमा सञ्चालन भई बन्द रहेका दोलाखाको जिरी, वैतडीको पाटन, आछामको साँफे बगर, दार्चुलाको गोकुलेश्वर, सप्तरीको राजविराज र कञ्चनपुरको कञ्चनपुर विमानस्थलको मर्मत गरी सञ्चालनमा ल्याइने भएको छ ।

यसैगरी धनगढी, दाङ, विराटनगर विमानस्थलको क्षमता विस्तार गरिने बजेटमा उल्लेख गरिएको छ ।

विश्वविख्यात प्रोफेसर केन्जो टाँगेद्धारा निर्माण गरिएको लुम्बिनी विकास गुरुयोजनालाई आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य बजेटमा राखिएको छ । सन् १९७८ सालमा सुरु भएको पञ्चवर्षीय लुम्बिनी विकास गुरुयोजना ३८ वर्ष वितिसक्दा समेत सम्पन्न हुन सकेको छैन् ।

Lumbini (17)

सरकारले लुम्बिनीमा पर्यटकीय विकास गर्नका लागि वृहत लुम्बिनी विकास गुरुयोजना अगाडि बढाउने भएको छ । २०७४ माघदेखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पर्यटकको आगामन बढ्ने छ । लुम्बिनी आउने पर्यटकको बसाई र खर्च गराई दर बढाउने गरी गुरुयोजना बनाउन लागेको पर्यटन मन्त्रालयले बताएको छ ।

प्राचिन तिलौराकोटको उत्खनन तथा संरक्षणका लागि आवश्यक पर्ने जग्गाको अधिग्रहण गरिने भएको छ । ऐतिहासिक रामग्रामको संरक्षण तथा विकासका लागि उच्च प्राथमिकता दिइएको छ । ऐतिहासिक सिजा सम्भयता संरक्षण तथा विकास प्रतिष्ठान स्थापना गरिने भएको छ ।

पर्यटकको सुरक्षाका लागि सगरमाथा, अन्नपूर्ण र रोल्वालिङमा एकीकृत उद्दार केन्द्र बनाइने छ ।

अछाम, कालीकोट, मुगु, जुम्ला, डोल्पा, रुकुम, रोल्पा, जाजरकोट, दैलेख क्षेत्रलाई समेटेर पर्यटनको एकीकृत विकासको लागि कुसेमुसे चाखुर पर्यटन एकीकृत विकास कार्यक्रम सञ्चालन गरिने भएको छ

किर्तीपुरमा रीतिरिवाज, सहित्य र परम्परा झल्कने गरी राष्ट्रिय सांस्कृतिक संग्राहलय निर्माण कार्य आगामी आर्थिक वर्षमा सुभारम्भ गरिने भएको छ । नारायणहिटीलाई ऐतिहासिक संग्राहलयका रुपमा विकास गरिने छ ।

नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाई सेवा विस्तार गर्न कम्पनीमा परिणत गर्नुका साथै रणनीतिक साझेदार वा व्यवस्थापन करारबाट सञ्चालन गर्ने बताइएको छ । आगामी आर्थिक वर्षभित्र २ वटा वाइड बडी विमान खरिद गर्ने बजेटमा उल्लेख छ ।

यस्तो छ चालु आर्थिक वर्षको बजेट

चालु आर्थिक वर्षमा सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नतीलाई उच्च प्राथमिकतामा राखेको थियो । त्यतिबेला त्रिभुवन विमानस्थललाई एक अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

मुलुकको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नती गर्ने काम अहिले जारी रहेको छ । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको मुआब्जा दिने काम तत्कालै सम्पन्न गरेर यो आर्थिक वर्षदेखि निर्माण कार्य सुरु गर्ने लक्ष्य बजेटमा राखेको थियो । तर, बल्ल यो विमानस्थलको शिलान्यास भएको छ ।

भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माणका लागि चालु आर्थिक वर्षको बजेमा सरकारले २ अर्ब ५० करोड विनियोजन गरेको थियो । यसको अलवा मुलुकका विभिन्न स्थानमा विमानस्थलहरुको निर्माण एवं सुधारका लागि सरकारले ५ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

सरकारले चालु आवमा पर्यटन पूर्वाधार एवं प्रवर्द्धनका लागि बजेटमा १ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको छ । यो रकम सन्तोषजनक रुपमा खर्च हुन सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment