Comments Add Comment

श्वास-प्रश्वासको समस्यामा खेलाँची नगर्नुस्, यी हुन् सावधानीका उपाय

respiratory diseases
८ असार, काठमाडौं । मौसमको परिवर्तनका कारण अहिले काठमाडौं लगायत आसपासका क्षेत्रमा श्वासप्रश्वासका बिरामीहरु बढ्न थालेका छन् । काठमाडौं उपत्यकाको सडक विस्तार, भूकम्पपछि सडकमा थुपारिएको धुलो, सवारी प्रदुषण लगायतले पनि सर्वसाधारणमा श्वासप्रश्वासका समस्या बढ्दै गएको चिकित्सक बताउँछन् ।

चिकित्सकका अनुसार पछिल्लो समय यस्ता विरामीमा रुघाखोकी, दम, घाँटी दुख्ने घाँटी खस्खसाउने, निमोनिया, लगायतका श्वासप्रश्वास सम्बन्धी विभिन्न समस्या देखिँदै आएको छ । समस्या देखिएको २/३ दिन भित्रमा पनि रोग निको नभए तुरुन्तै चिकित्सकसित सल्लाह लिनुपर्ने वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ डा. दीर्घसिंह बम बताउँछन् ।

उनी भन्छन्, ‘धुुलो, धुवाँ प्रदुषणका कारण मानिसमा देखिनेे यस्ता समस्याले हाम्रो श्वासनलीमा मात्र नभएर फोक्सोलाई समेत दीर्घकालीन असर पुर्‍याउँछ । त्यसैले यसको रोकथामका लागि समयमै चिकित्सकसित सल्लाह लिनु उपयुक्त हुन्छ ।’

लामो समयसम्म पनि रोग निको नभएमा त्यसले क्यान्सर, टिबी जस्ता दीर्घकालीन रोग निम्तिने खतरा रहन्छ । त्यसैगरी घाँटी चिलाउने, खस्खसाउने, खोकी लाग्ने, ज्वरो आउने, निमोनिया, ब्रोङकाइटिस यसका अल्पकालीन तथा तात्कालिन समस्या हुन् ।

यस्ता समस्या वायुमण्डलमा तैरिएर रहने किटाणुका कारण हुने गर्छ । मौसमको परिवर्तनसँगै यी रोगका सुक्ष्म किटाणु वायुमण्डलमा सक्रिय भएर बस्ने गर्छन् । हामीले सास फेर्नासाथ यी किटाणु हाम्रो शरीरमा पस्छन् । यसले श्वास नलीमा मात्र नभएर फोक्सोलाई पनि हानी गर्दछ । जुन एक्स-रेमा समेत मुस्किलले देखिन्छ ।

त्यसो त हाम्रो शरीरले यस्ता किटाणुको प्रतिकार आफैं गर्ने क्षमता राख्दछ । त्यही प्रतिकारका कारण हामीलाई बेलाबखत हाछ्यूँ आउने, नाक चिलाउने गर्दछ । तर कहिलेकाहीँ हाम्रो शरीरमा रोगसित लड्ने प्रतिरोधात्मक क्षमता कम हुँदा यसले शरीरलाई हानी गर्दछ । परिणामस्वरुप हामीमा रुघाखोकी, ज्वरो, ब्रोङकाइटिस् लगायतका समस्या देखिने गर्दछ ।

यसबाट बच्न सम्भव भएसम्म धुलो, धुवाँ तथा प्रदुषणबाट टाढै बस्न उचित हुने डा. बम सुझाउँछन् । धुलो, धुवाँमा सकभर नहिँड्न तथा हिँड्नै परेमा मास्कको प्रयोग गर्न उनको सुझाव छ ।

कस्तो मास्क प्रयोग गर्ने ?

Filter-Masj-finalमास्कको प्रयोगले धुलो, धुवाँ हाम्रो नाक तथा मुखबाट सिधै छिर्न पाउँदैन । त्यसैगरी हावामा भएका फोहोरलाई यसले फिल्टर गर्ने काम गर्छ । तर  सबै मास्कले धुलो छेक्न नसक्ने विभिन्न अध्ययनले पनि देखाएको छ

डा. बमका अनुसार घरबाट बाहिर निस्कनु परेमा फिल्टर बट्टा भएको मास्कको प्रयोग उचित हुन्छ । सामान्य अवस्थामा डिस्पोजेबल मास्ककै प्रयोग गर्दा उपयुक्त हुन्छ ।

मास्क प्रयोग गर्ने क्रममा पानीले भिजेमा, धुलोमा खसेमा अथवा धेरै फोहोर भएमा त्यसलाई तुरुन्तै बदलेर नयाँ मास्कको प्रयोग गरेमा मात्र पनि श्वासप्रश्वास सम्बन्धी धेरै रोगहरुबाट बच्न सकिन्छ ।

यस्ता मास्क साना पसलदेखि ठूला डिपार्टमेन्ट स्टोरमा समेत पाइन्छ । मास्क किनेपछि एकपटक धोएर मात्रै प्रयोग गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment