Comments Add Comment

हिरालाल, जसले गाउँलाई नै उद्यमशील बनाए

Hiralal Shresth, Ramechhap

१२ साउन, रामेछाप । एक समय हिरालाल श्रेष्ठ पनि रोजगारीका लागि विदेशीने युवाहरुको लाइनमा थिए । तर, अहिले गाउँलाई नै उद्यमशील बनाएका छन् ।

रामेछाप गुप्तेश्वरका उनी २००० को एसएलसीमा नियमिततर्फ पास हुने गाउँका एक्ला विद्यार्थी थिए । तर, एसएलसी पास भएपछि उनका दुःख बढे ।

निम्न आर्थिक अवस्थाका हिरालालले पढ्दै पैसा कमाउने सपना देखेर एसएलसी परिक्षा उत्तीर्ण गरेपछि राजधानी छिरेका थिए । देशको तत्कालीन अवस्था तथा जनयुद्धको चरम प्रभाव परेको कारण वैदेशीक रोजगारका लागि विदेश गए ।

विदेशमा पनि कहाँ सजिलो छ र, अनेक कष्ट भोगेपछि हिरालाल माओवादी जनयुद्ध रोकिए लगत्तै फेरि नेपाल फर्किए र जडिबुटी खेती शुरु गरे ।

विदेशमा सिकेको शिप र ज्ञानलाई सदुपयोग गर्दै हिरालालले गुप्तेश्वर गाविसमा जडीबुटी उत्पादन तथा संकलनको काम गर्दै आएका छन् । र, चिराईतो तथा विभिन्न जडिबुटी काठमाडौंदेखि भारत र चीनमा समेत निर्यात गने गरेका छन् ।

उनको सफलता देखेर अन्य युवाहरुमा आफ्नै क्षेत्रमा स्थानीय स्रोत र साधनको सदुपयोग गरेर राम्रो प्रगती गर्न सकिन्छ भन्ने प्रेरणा मिलेको छ ।

सामान्य तथा गुजारा गर्ने किसिमले मात्र गरिएको कृषि प्रणालीमा परिवर्तन ल्याउन सकेमा मात्र आर्थिकस्तर माथि उठाउन सकिन्छ भन्ने विस्वाश उनीमा थियो । आफ्नो गाउँमा केही उत्पादन नहुने भएकाले खाने चामलदेखि सबै सामाग्री मन्थली तथा काठमाडौंबाट ढुवानी गरिन्थ्यो । त्यसरी ढुवानीमा प्रयोग गरिएका ट्याक्टरहरु रित्तै फर्किएको देख्दा हिरालाल ती ट्याक्टरहरुमा आफ्नै गाउँमा उत्पादन भएको केही ढुवानी गर्न सकिन्छ कि भनेर सोच्दथे ।

Chiraitoत्यसैले उनी आफू मात्र उद्यमी बन्ने भन्दा पनि आफूसँगै पुरै समुदायलाई नै उद्यमशील बनाउन अग्रसर रहे । उनको यो प्रयासलाई स्थानीय अन्य युवा साथीहरुले पनि सहयोग गरे । त्यसरी आफूसँगै पूरै गाउँलाई नै उद्यमशील बनाउने अभियानमा केही गाउँलेहरुले राम्रो काम हो सहयोग गर्नु पर्दछ भन्दथे भने कसैले चाँहि बढी जान्ने भएको भन्दै कुरा काट्ने गर्दथे । तर तिनै कुरा काट्ने गाउँलेहरु अहिले हिरालालसँग जडिबुटी खेती तथा आलु खेती सम्बन्धी जानकारी लिन आएको देख्दा उनी खुशी हुँदै आफूले जानको कुरा सिकाउँछन् ।

हिरालालको सक्रियताले नै गाउँमा जडिबुटी खेती तथा आलु खेती लगाउने गर्दछन् । विभिन्न सामान ढुवानी गर्न गाउँमा आएका ट्याक्टरहरुमा स्थानीय स्तरमा उत्पादन भएका जडिबुटी तथा आलु भरेर पठाउन थालेका छन् ।

परम्परागत तरिकाले खेती गर्दा हिरालालको बुवाको ऋण धेरै थियो । मेहेनत तथा सिप भएता पनि बुवालाई क्षमता भन्दा बढी ऋण लागेको थियो । किन ऋण लाग्यो ? के कारणले बुवा असफल हुनुभयो भनेर अध्ययन गरे र बुवालाई समस्या भएकै ठाउँबाट उनले आफ्नो काम शुरु गरे ।

अहिले स्थानीय तथा आसपासका समुदायका लागि नमूना तथा प्ररणाको स्रोत बनेका उनी आफ्नो काम र पेशासँग सन्तुष्ट भएको बताउँछन् । ‘मलाई सानैदेखि आफ्नो गाउँमा केही गर्ने सपना थियो, जिल्लाकै विकट गाविस मध्येका एक गुप्तेश्वरका हिरालाल भन्छन्, ‘मेरो गाउँलाई नमूना गाउँ बनाउने चाहना अहिले सकारात्मक परिवर्तन देखिएको छ । हिजो यो केटाले के गर्छ र भन्नेहरु नै आज कृषि सम्बन्धी सल्लाह माग्न आउँदा खुशी लाग्छ ।’

हिरालाल रामेछापमा भएको दायित्व इन्टरप्राइज च्यालेञ्ज प्रतियोगितामा ३१९ जना उद्यमी मध्ये उत्कृष्ट १० मा परेका छन् । समाजमा उद्यमशीलताको क्षेत्रमा स्थानीय समुदायका लागि प्रेरणाको श्रोत बनेका हिरालालको संघर्षबाट हामीले पनि केही सिक्ने पो हो कि ? आखिरमा गरे के नहुने रहेछ र ?

(दायित्यको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment