Comments Add Comment

भारतीय राजदूतलाई भनेको छु- ओलीजीले भन्दा अझै बढी गर्छौं

कृष्णबहादुर महरा, उपप्रधान एवं अर्थमन्त्री

उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा बेइजिङबाट फर्केपछि भारतीय राजदूत रणजीत रायसँग उनको भेट भयो । सो भेटमा उपप्रधानमन्त्री महराले भारतीय कूटनीतिज्ञलाई स्पष्टसँग भनिदिएका छन्- ‘हामी ओलीजीले भन्दा अझै बढी गर्छौं । ओलीजीले गरेको ठीकै छ, त्यसलाई निरन्तरता दिन्छौं र उहाँभन्दा कम होइन, अझ बढी गर्ने कोसिस गर्छौं ।’

महराको चीन भ्रमणबारे अनलाइनखबरले गरेको संक्षिप्त कुराकानीः

Krishna_Bahadur_Mahara_810X500

चीनबाट फर्किएपछि तपाईले विमानस्थलबाटै मेरो भ्रमण सफल भयो भन्नुभयो । के आधारमा भ्रमण सफल भयो ? चिनियाँ राष्ट्रपति नेपाल आउने टुंगो लागिसकेको हो ?

यसपटकको मेरो भ्रमणको लक्ष्य चिनियाँ नेताहरु मुख्यतः राष्ट्रपति र प्रधानमन्त्रीको नेपाल भ्रमण गराउने हो । यसका साथै चीन र हाम्रो (नेपालको) मित्रतालाई सुमधुर र सुदृढ गर्ने, चिनियाँ सहयोग र लगानीलाई प्रोत्साहित गर्ने हो । यो भ्रमणको सफलता र असफलतालाई यसरी हेर्नुपर्छ ।

भारतको गोआमा हुने बि्रक्सको सम्मेलनमा भाग लिने क्रममा चिनियाँ राष्ट्रपति काठमाडौं आउने पक्का भएको हो ?

ट्रेड एण्ड ट्रान्जिट ट्रिटी ओलीजीले सुरुवात त गर्नुभो । तर, शीर्षतहमा हस्ताक्षर गर्न बाँकी छ । मलाई लाग्छ, चिनियाँ राष्ट्रपति आउँदा वा कुनै समारोहमा गर्छौं । त्यसलाई रोक्ने पक्षमा हामी छैनौं

जहाँसम्म भ्रमणको कुरा छ, (चिनियाँ राष्ट्रपति सी जिनपिङको ) भ्रमण हुन्छ । तर, उहाँहरुको योजनामा हुन्छ । हाम्रो योजनामा यति गते, यति बजे भन्नेहुँदैन । उहाँहरुले समय निर्धारण गरेर हामी आउँछौं भनेर भन्नुहुन्छ । र, यो प्राविधिक विषय पनि हो । तर, भ्रमणका लागि यहाँबाट राष्ट्रपति र प्रधानमन्त्रीले पठाएको निम्ता असाध्यै सकारात्मकरुपमा लिनु भएको छ । र, दुबै देशको परराष्ट्र मन्त्रालय स्ट्याण्डबाइ बस्ने भनेपछि भ्रमण हुनेमा दुविधा छैन ।

तपाईको कुुरा सुन्दा चिनियाँ राष्ट्रपतिको भ्रमण निश्चित भएछ । घोषणा हुन मात्रै बाँकी छ भन्ने बुझिन्छ । राष्ट्रपति आउँदा केही न केही सन्देश दिनुपर्ने होला, यसबारे के-कस्तो गृहकार्य भएको छ ?

गृहकार्य भइसकेको छैन । अहिले हामीले निम्तो मात्र दिएको हो । भ्रमण तय भएपछि दुबै देशका परराष्ट्र मन्त्रालयमार्फत हामी घनिभूत रुपले गृहकार्य गर्छौं ।

नयाँ सरकार बन्दै गर्दा केपी ओली नेतृत्वको सरकारले चीनसँग गरेका सहमति र सम्झौताहरुको अवस्था के होला भन्ने चिन्ता देखिन्थ्यो । यसबारे उनीहरुमा कस्तो चिन्ता के रहेछ ?

विगतको सरकार र अहिलेको सरकार बन्नु नेपालको आन्तरिक मामिला हो । विगतको सरकारले चीनसँग जे जे सहमति गरेको छ, त्यसलाई हामी निरन्तरता दिन्छौं । त्यसको दायरालाई अझै फराकिलो पार्ने कोशिश गर्छौं र नयाँ के हुन्छ, प्रयास गर्छौं । तर, विगतको सरकारलाई हामी पूर्वाग्रहपूर्ण रुपमा हेर्ने पक्षमा छैनौं ।

तर, चिनियाँ पक्षले नेपालमा छिटोछिटो सरकार परिर्वतन हुँदा अस्थिरता हुन्छ भन्ने चिन्ता राखेको पाइन्छ, तपाईले कस्तो पाउनुभयो ?

हो, तपाईले भनेको कुरा सही हो । तर, चीन र नेपाल फरक व्यवस्थामा छन् । चीनले जुन व्यवस्थाअनुसार अभ्यास गर्दैछ, त्यस्तो नेपालमा छैन । चीनमा राष्ट्रपतीय शासन व्यवस्था छ र १० वर्ष ढुक्कसँग सरकार परिर्वतन हुँदैन । हुने भयो भने एक वर्षअघि हुन्छ । हामीकहाँ संसदीय व्यवस्था छ, जहाँ धेरै पार्टीहरु हुन्छन् र उनीहरुले आ-आफ्नो शक्ति आर्जन गर्छन् र प्रतिस्पर्धा हुन्छ ।

त्यस आधारमा सरकार परिर्वतन उहाँहरुको सिस्टमबाट हेर्दा अचम्म लाग्ला । तर, हाम्रो सिस्टममा अस्वाभाविक होइन । हामी यसैबाट पनि स्थिरता खोज्दैछौं । संक्रमणकालको करिव-करिव अन्त्यतिर आइपुगेका छौं । शान्ति प्रक्रिया पनि निष्कर्षमा पुगेको छैन । संविधान कार्यान्वयन अझै भएको छैन । कम्तिमा पनि तीनवटा चुनाव स्थानीय, प्रदेश र संघीय चुनाव भएपछि सापेक्षित रुपमा स्थिरता कायम हुन्छ । र, अगाडि जान सक्छ । यो कुरा मैले चिनियाँ पक्षसँग राम्रोसँग राखेको छु ।

नेपालको यस्तो सिस्टमका बारेमा कुरा राख्दा चिनियाँहरुले बुझे त ?

खुसीसाथ । उनीहरुको सिस्टममा हामीले हस्तक्षेप गर्न मिल्दैन, हाम्रोमा उनीहरुले मिल्दैन । एकअर्काको सम्मान गर्ने हो ।

सरकार परिवर्तनले आफूसँग विगतमा भएका सन्धि-सम्झौता कार्यान्वयनमा कुनै फरक पर्दैन भनेर चीन आश्वस्त भयो त ?

अझै समाधान भएको छैन । ट्रेड एण्ड ट्रान्जिट ट्रिटी उहाँ (ओली) ले सुरुवात त गर्नुभो । शीर्षतहमा हस्ताक्षर गर्न बाँकी छ । मलाई लाग्छ, उहाँ (चिनियाँ राष्ट्रपति) आउँदा वा कुनै समारोहमा गर्छौं । त्यसलाई रोक्ने पक्षमा हामी छैनौं ।

मैले एमदमै स्पष्टसँग उहाँहरुलाई भनेको छु । र, यो कुनै लुकीछिपी पनि होइन । कसैसँग केही त्यस्तो छ कि भनेर मैले हिजोमात्रै भारतीय राजदूतसँग भेटेर पनि भनेँ । भारतीय नेताहरु जोसँग मेरो सम्पर्क छ, उहाँहरुलाई भनेको छु कि हामी ओलीजीले भन्दा अझै बढी गर्छौं । ओलीजीले गरेको ठीकै छ, त्यसलाई निरन्तरता दिन्छौं । उहाँभन्दा कम होइन, अझ बढी गर्ने कोसिस गर्छौं । कति हुन्छ, त्यो हेर्न बाँकी छ ।

चीनले नेपालमा राजनीतिक स्थिरतासँगै विकासमा बढी जोड दिएको छ भनिन्छ । रेलवेदेखि हाइड्रोसम्म चासो पनि देखिन्छ । प्रचण्ड सरकारले विकास निर्माणमा चीनसँग कुन स्तरको सहकार्य गर्छ ?

चीनको पनि, भारतको पनि नेपालप्रति चासो के हो भने नेपालमा आफ्ना विरुद्ध गतिविधि नहोस् । म एकदमै प्रष्टसँग भन्न चाहन्छु कि नेपालमा न भारतविरोधी न चीन विरोधी कुनै पनि हुन दिँदैनौं । अरु कुनै देशमा हुन्छ भने हामीलाई थाहा छैन ।

चीन र भारतको यो चासोमा हामी एकदमै सतर्क छौं । यो भयो भने बाँकी नेपालको विकास, शान्ति र स्थिरताका निम्ति सहयोग जे गर्न सकिन्छ चीनको सहयोग रहन्छ ।

चीनबाट तेल ल्याउन सम्भव रहेछ त ?

यो सबै कुरामा छलफल हुन्छ । तर, अहिले यो यो विषय भनेर मूर्त रुपमा गएका छैनौं । अहिले त सम्वन्ध सुदृढ गर्ने र भ्रमण सुनिश्चितता मात्रै गर्न गएका हौं ।

ओली नेतृत्वको सरकारमा तपाईहरु पनि सहभागी हुनुहुन्थ्यो । चीनसँग भएका सन्धि सम्झौता एमालेको एक्लो प्रयासबाट भएको हो कि यसमा माओवादीको पनि स्वामित्व छ ?

हामी त्यो सरकारमा थियौं र जेजति भयो, त्यसको स्वामित्व हामीले पनि लिन्छौं । केपी ओलीले मात्र गरे भन्ने होइन । एमाले र ओलीजीको आफ्नै कूटनीतिक च्यानल छ र उहाँहरुले पहिलेदेखि नै गरिरहेका होलान् । तर, हिजो जे उपलब्धिहरु भए, त्यसमा ओलीजी एक्लै मात्र होइन, हाम्रो पार्टी पनि छ ।

तपाईहरुलाई थाहा पनि छ कि धेरै कुरा ओलीजी र हाम्रो अध्यक्ष प्रचण्ड कुरा गरेर नै डिसिजन लिनुभएको हो । अझ म तपाईलाई सम्झाइदिउँ, ओलीजी चीन जानुअगाडि सबै पार्टीसँग सल्लाह लिनुभएको थियो । र, हाम्रो पार्टीबाट म गएको थिएँ । त्यहाँ मैले नामै किटेर यो सन्धि जसरी पनि गर्नुहोला भनेको थिएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment