Comments Add Comment

निजामति सेवाको नालीबेली, महिला सचिव शून्य !

८२ हजार कर्मचारीमा २० हजार पनि छैनन् महिला

२१ भदौ, काठमाडौं । महिलाहरु राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखसम्म बनेको खुबै चर्चा छ । तर, निजामति कर्मचारी संगठनतिर फर्केर हेर्ने हो भने महिलाको प्रतिनिधित्व निकै नाजुक देखिएको छ । नेपाल सरकारको सचिव तहमा एकजना पनि महिला छैनन् । र, तत्कालै सचिव बन्ने लाइनमा पनि कोही महिला देखिँदैनन् ।

निजामति कर्मचारी दिवसको सन्दर्भ पारेर अनलाइनखबरले गरेको एक अनुसन्धानमा निजामति कर्मचारीभित्र महिलाको उपस्थिति यस्तो देखियोः

employee
निजामति किताब खानाले उपलब्ध गराएको विवरणअनुसार निजामति सेवामा करिब ८२ हजार ४ सय ९६ जना कर्मचारी कार्यरत छन् । त्यसमध्ये ६६ हजार ५ सय ७५ जना पुरुष कर्मचारी छन् भने महिला कर्मचारीको संख्या १५ हजार ९ सय २१ छ । निजामति सेवामा महिलाको उपस्थिति १९.३ प्रतिशत मात्र छ ।

लोकतन्त्र स्थापनापछि निजामति सेवामा सबैको समान सहभागिताका लागि राज्यले समावेशी सिद्धान्त आत्मसाथ गरेको छ । त्यसपछि लोकसेवाले लिने हरेक परीक्षामा महिलावीचमात्र प्रतिस्पर्धाका लागि आरक्षण कोटा नै छुट्याइएको छ । त्यसपछि महिलाको संख्या तुलनात्मक बृद्धि भए पनि सन्तोषजनक पाइँदैन ।

निजामति सेवा अन्तरगत तल्ला अर्थात खरदार देखी अधिकृत तहमा महिलाको संख्यामा बृद्धि भएको किताबखानाको तथ्यांकले देखाउँछ । तर, नीतिगत सुधारमा भूमिका खेल्न सक्ने उपसचिवदेखि माथिका तहमा भने महिला कर्मचारीको संख्या निकै कमजोर छ ।

६० सचिवमा महिला संख्या शून्य

मुख्यसचिवसहित नेपाल सरकारका सचिवको संख्या ६० छ । तर, त्यसमध्ये एकजना पनि महिला छैनन् । सचिवबाट यसअघि जीवनप्रभा लामाले अवकाश पाएपछि महिला सचिव बन्न सकेका छैनन् । त्यसअघि विन्दा हाडा भट्टराई सचिव थिइन् । उनी अहिले लोकसेवा आयोगको सदस्य बनेकी छिन् ।

राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखसम्म महिला पुग्न सफल भए पनि मुख्य सचिवमा आजसम्म महिलाहरु पुग्न सकेका छैनन् । लीलामणि पौडेललाई मुख्य सचिव बनाउने बेलामा सचिव विन्दा हाडा भट्टराईले मुख्य सचिवको दाबी गरेकी थिइन् ।

सहसचिवको संख्या ५५९

निजामति सेवामा सचिवपछिको पद हो, सहसचिव । सहसचिवले महाशाखा र विभागको नेतृत्व गरेर काम गर्नपर्ने हुन्छ । निजामतिमा सहसचिवको संख्या ५ सय ५९ जना रहेको छ । तर कुल संख्यामा महिला सहसचिवको संख्या भने निकै न्युन छ । महिला सहसचिवको संख्या जम्मा २९ जनामात्र रहेको छ ।

निजामति सेवामा सचिव बन्नका लागि बरिष्ठताक्रमलाई मुख्य आधार मानिन्छ । र, त्यसैअनुसार बरिष्ठहरुवीच कार्यमूल्यांकनका आधारमा सचिवका लागि सिफारिस गरिन्छ । तर, सहसचिवहरुको रोलक्रममा महिला सहसचिवहरुको नामावली निकै पछाडि छ । कम्तिमा अब दोस्रो चरणसम्मसम्म सचिव बढुवा हुँदा पनि महिला सहसचिवले सचिवको दावा गर्ने गरी नामावली रोलक्रममा भेटिँदैन ।

राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिव पद सरकारको गाडी सुविधा पाउने तह हो । सरकारी सेवा सुविधा नियमावलीअनुसार निजामतिका सचिव र सहसचिवले मात्रै राज्यबाट गाडी सुविधा पाउँछन् ।

एउटा सहसचिवको मासिक तलब ४० हजार १ सय ५० रुपैँया हुन्छ । र, सहसचिव भएको हरेक बर्ष ग्रेड जोडिँदै सात ग्रेडसम्म जोडिन्छ । सहसचिवले एक ग्रेड बराबर १ हजार ३ सय ३८ रुपैया पाउँछन् ।

उपसचिव ३४८०

सहसचिवपछिको पद हो उपसचिव । निजामतिमा उपसचिवको संख्या ३ हजार ४ सय ८० रहेको छ । त्यसमध्ये पुरुषको संख्या ३ हजार २ सय ९९ छ भने महिला उपसचिवको संख्या १ सय ८१ जना मात्र छ ।

अहिले उपसचिवको मासिक तलब ३४ हजार २ सय २० रुपैयाँ छ । यसमा उसको ८ ग्रेडसम्म जोडिन्छ । एक ग्रेड बराबर १ हजार १ सय ४१ छ । उपसचिवलाई राजपत्रांकित द्वितीय श्रेणी भनिन्छ ।

निजामति सेवाभित्र उपसचिवको भूमिका बिशेष गरी कार्यालय प्रमुखको रुपमा रहन्छ । यस्तै महाशाखामा सहसचिवपछिको भूमिकामा रहेरसमेत उपसचिवले काम गरिरहेका हुन्छन् । विशेष गरी गृहमन्त्रालयअन्र्तगत अधिकांश जिल्लाहरुमा उपसचिवहरुले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर काम गरिरहेका छन् ।

स्थानीय विकासअन्र्तगतको स्थानीय विकास अधिकारीकारुपमा पनि उपसचिव नै रहने गर्छन् । यस्तै जिल्ला शिक्षा अधिकारीका रुपमा पनि उपसचिव तहकै कर्मचारी खटिएका हुन्छन् । सहसचिवको पूरक भूमिकामा समेत उपसचिवहरु रहन्छन् ।

शाखा अधिकृतको संख्या १०२६३

निजामति सेवाभित्र शाखा अधिकृतको संख्या करिब १० हजार २ सय ६३ छ । नयाँ कर्मचारीको भर्ना भइरहने र पुराना कर्मचारीले राजीनामा वा अवकाश पाउने क्रम भइरहने भएकाले यो संख्या घटबढ भइरहन्छ । सरकारले विशेष गरी शाखा अधिकृतलाई साना कार्यालयहरुको कार्यालय प्रमुखको रुपमा खटाउँछ । यस्तै उनीहरु उपसचिवको पूरक भूमिकामा समेत काम गर्छन् । कुल अधिकृतको संख्यामध्ये महिला अधिकृतको संख्या एक हजार ८० जना मात्र रहेको छ । बाँकी ९ हजार १ सय ८३ जना पुरुष छन् ।

सरकारले अधिकृतको मासिक तलब ३० हजार ५ सय तोेकेको छ । ग्रेडसहित उनीहरुको तलब ३८ हजार ३ सयसम्म पुग्छ । शाखा अधिकृतले एक ग्रेड बराबर १ हजार १७ रुपैयाँ पाउँछन् ।

राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा)

निजामति प्रशासनमा राजपत्र अनंकित प्रथम श्रेणी भनेको नायव सुब्बाको पद हो । यो तहको कर्मचारीको संख्या देशभरि १६ हजार १ सय ९४ छ । त्यसमध्ये महिलाको संख्या जम्मा २ हजार १ सय ७३ जनामात्र रहेको छ । पुरुषको संख्या भने १४ हजार २१ जना रहेको छ ।

नायक सुब्बाको मासिक तलब राज्यले २३ हजार ५ सय तोकेको छ । तर, ग्रेड समेत जोड्दा मासिक ३१ हजार ३ सय ३० सम्म तलब पाउँछन् । उनीहरुले प्रतिग्रेड ७ सय ८३ रुपैँया पाउँछन् भने ग्रेड संख्या १० रहेको छ ।

राजपत्र अनंकित द्वीतीय श्रेणी (खरदार)

निजामति सेवाभित्र नायव सुब्बापछिको पद हो, खरदार । निजामति सेवामा कार्यकारी भूमिकामा रहेको सबैभन्दा सानो पदसमेत मानिन्छ यसलाई । निजामति सेवामा खरदार तहका कर्मचारीको संख्या ११ हजार ४ सय ३६ छ । त्यसमध्ये महिलाको संख्या २ हजार २ सय ९५ मात्र छ । पुरुषको संख्या ९ हजार १ सय ४१ छ ।

खरदारका लागि राज्यले २२ हजार १ सय ७० रुपैँया तलबमान तोकेको छ । प्रतिगेड ७ सय ३९ रुपैँयाका दरले १० ग्रेड जोड्दा उनीहरुको तलब २९ हजार ५ सय ६० सम्म पुग्छ ।

राजपत्र अनंकित तृतीय श्रेणी (मुखिया)

निजामति सेवाभित्र मुखिया पदका लागि भर्ना बन्द भइसकेको छ । तर, यसअघि नै भर्ना लिइएका उक्त तहको कर्मचारीको संख्या १ हजार ३८ जना छ । उनीहरुको जिम्मेवारी कार्यालय सहयोगी भएर काम गर्नु हो । उक्त तह अर्थात मुखियामा महिलाको संख्या १ सय ६ जनामात्रै छ । उनीहरुको मासित तलब १८ हजार ३ सय ४० रुपैयाँ छ ।

श्रेणी विहीन

निजामति सेवाभित्र श्रेणी विहीन कर्मचारी (कार्यालय सहयोगी, ड्राइभर, पीएन)को संख्या १८ हजार ४ सय ९४ जना रहेको छ । उनीहरुको जिम्मेवारी कार्यालय सरसफाइ, सचिव, सहसचिव लगायतलाई चिया कफी बनाउनेे, फाइल ओसार-पसार गर्ने लगायत हो । यी पदहरुमा महिलाको संख्या १ हजार ४ सय मात्र रहेको छ । बाँकी १७ हजार ५६ जना पुरुष छन् । उनीहरुको तलब १७ हजार देखि ३२ हजारसम्म छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment