Comments Add Comment

लोकमानका ३ खेलः जसलाई सुशीला कार्कीले कुल्चिइन्

भनसुन गर्दा प्रधानमन्त्री र प्रधानन्यायाधीशको सम्बन्ध बिग्रियो

lokman-singh-karki_810

९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतमा लोकमानसिंह कार्कीको मुद्दाको फाइल अघि बढिसकेपछि प्रधानमन्त्री प्रचण्ड र लोकमानसिंह कार्कीवीच एउटा अराजनैतिक भेटवार्ता भयो । अहिलेसम्म गोप्य राखिएको सो भेटमा प्रचण्ड र लोकमानवीच एउटा गोप्य समझदारीसमेत भयो । जुन समझदारीका कारण अहिले प्रधानमन्त्री प्रचण्ड र प्रधानन्यायाधीश सुशीला कार्कीवीचको सम्बन्ध नराम्रोसित बिग्रिएको छ ।

यस्तो थियो प्रचण्ड-लोकमान समझदारी

प्रधानमन्त्री प्रचण्ड र अख्तियार प्रमुख लोकमानसिंह कार्की दुबैजना घाइते बाघ जस्तो बनेका थिए । लोकमानलाई सर्वोच्चले डाम्ने त्रास थियो, प्रचण्डलाई पूर्वलडाकूको मुद्दामा लोकमानले तान्ने त्रास थियो । र, यही त्रासका वीचमा दुईजनावीच भेटवार्ता र समझदारी भएको थियो ।

दुईवीचको भेटमा प्रचण्डले लडाकुको फाइल अगाडि बढाएर आफूलाई अप्ठ्यारोमा नपारिदिन लोकमानसँग आग्रह गरे । लोकमानले चाहिँ सर्वोच्च अदालतमा चलिरहेको मुद्दा अघि नबढाउनका लागि प्रधानन्यायाधीश सुशीला कार्कीसँग भनसुन गरिदिन प्रचण्डलाई अह्राए । प्रधानमन्त्रीले यसबारे सुशीलासँग कुरा गर्ने लोकमानलाई आश्वासन दिए ।

Prachanda and lokman

यो भेटघाट त्यतिबेला भएको थियो, जुनबेला प्रधानमन्त्री प्रचण्डको पहिलो दिल्ली यात्रा हुनै लागेको थियो ।

एमाले नेतृत्वसँग पनि हारगुहार

उसो त प्रचण्ड कहाँ जानुअघि लोकमान नेकपा एमाले उच्च नेतृत्व कहाँ पनि नपुगेका होइनन् । सर्वोच्च अदालतमा अहिले एमाले हावी भएको उनको बुझाइ छ र, उनी आफ्नो मुद्दा अघि नबढाउने वातावरण बनाइमाग्दै नेताहरु कहाँ धाएका थिए ।

स्रोतहरुले बताए अनुसार लोकमानसँगको भेटमा एमाले नेताहरुले सकारात्मक जवाफ मात्र दिएनन्, यसबारे माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसँग पनि कुरा गर्न सुझाए ।

एमाले र माओवादी उच्च नेतृत्वसँग कुरा गरेपछि लोकमानले केही राहतको सास फरेका थिए तर, एमाले निकट व्यवसायी आङछिरिङसँग विग्रिएको सम्वन्धका कारण उनी झनै संकटमा परे

एमाले र माओवादी उच्च नेतृत्वसँग कुरा गरेपछि लोकमानले केही राहतको सास फरेका थिए । तर, लोकमानसँगको सम्वादपछि प्रचण्डले जे गरे, त्यो कार्कीका लागि झन घातक बन्यो ।

एमालेसँग नजिकिन खोजेका लोकमान एमाले निकट व्यवसायी आङछिरिङसँग विग्रिएको आफ्नो सम्वन्धका कारण झनै संकटमा परे ।

त्यसकै परिणाम स्वरुप एमाले संसदमा लोकमानविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउन तयार भयो । यो अदालती कारबाही भन्दा पछि विकसित भएको अर्को घटना क्रम हो ।

सुशीला कार्की फायर !

लोकमानसिंह कार्कीसँगको समझदारी अनुसार भारत जानुअगावै प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीश सुशीला कार्कीसँग भेट गरे । र, प्रचण्डले कम्तिमा ७ महिना (आफू प्रधानमन्त्री पदमा रहुञ्जेल) लोकमानसिंह कार्कीको मुद्दा अघि नबढाइदिन सुशीलासँग भनसुन गरे ।

प्रधानमन्त्रीको यस्तो प्रस्ताव सुनेपछि प्रधानन्यायाधीश कार्की प्रचण्डसँग ‘फायर’ भइन् । प्रचण्डको प्रस्तावलाई उनले सोझै ‘रिजेक्ट’ गरिन् । यतिमात्रै होइन, यो घटनापछि प्रचण्डलाई हेर्ने सुशीलाको दृष्टिकोणमै परिवर्तन आयो । उनले प्रचण्डलाई ‘कामै नलाग्ने नेता रहेछन्’ भनेर आफ्ना निकटस्थहरुसँग अनुभव सेयर गर्न थालेकी छिन् ।

Sushila Karki

अदालतमा विचाराधीन मुद्दामा कार्यपालिका प्रमुखले न्यायाधीशलाई यसरी भनसुन गर्न मिल्दैन भन्ने प्रधानमन्त्रीजस्तो व्यक्तिसँग सामान्य ज्ञानको अभाव भइदिँदा समस्या सिर्जना भयो ।

सुशीला कार्की त्यस्ती न्यायाधीश हुन्, जो न कसैको भनसुनमा विश्वास गर्छिन्, न कसैको प्रलोभनमा पर्छिन् । उनको यस्तो हक्की एवं निश्कलंक स्वभावलाई पर्गेल्न नसकेका प्रधानमन्त्रीले लोकमानको दूत बनेर प्रस्तुत हुन खोज्दा न्यायाधीश कार्कीको नजरमा उनी एकाएक ‘स्खलित’ हुन पुगे ।

तथापि प्रचण्डले लोकमानसँग गरेको सहमति कार्यान्वयन गर्ने आफ्नो इमान्दारिता निर्वाह गर्न यतिमै विश्राम लिएनन् । प्रधानमन्त्रीले प्रधानन्यायाधीश कार्कीका पति एवं कांग्रेस नेता दूर्गा सुवेदीसँग भेट गरे ।

विभिन्न राजनीतिक कुराकानीसँगै प्रधानमन्त्रीले लोकमानको मुद्दाको प्रशंग के मात्रै कोट्याएका थिए, सुवेदीले भनिहाले- ‘आम्मै ! लोकमानको मुद्दाको कुरा ? यो विषयमा कुरा गर्‍यो भने सुशीलाजी फायर हुनुहुन्छ । यो विषयमा त मैले उहाँसँग कुरा गर्नै मिल्दैन । यो त अदालतको विषय हो ।’

सोमलालको मुखमा बुझो !

सर्वोच्च अदालतमा आफ्नो मुद्दा अघि बढिसकेपछि लोकमानसिंह कार्कीले त्यसलाई निस्तेज बनाउन एउटा मात्रै कदम चालेका थिएनन्, उनले विभिन्न च्यानलमा आफ्नो गतिविधि सक्रिय बनाएका थिए । प्रचण्डलाई भेटेर सुशीलालाई भन्न लगाउने र लडाकूको मुद्दामा सम्झौता गर्ने लोकमानको ट्रयाक- १ फर्मूला थियो ।

लोकमानले ट्रयाक-२ योजना अन्तरगत मुख्यसचिव सोमलाल सुवेदीमाथि एक्सन लिए । प्रचण्डलाई लडाकूको पासो थापेजस्तै सोमलाललाई ‘१३ पन्ने’ को स्मरण गराउँदै अदालतले मागेको नियुक्तिको फाइल भूकम्पमा हरायो भनिदिन लगाए । र, सोमलालले सुरुमा अदालतलाई त्यस्तै जवाफ पठाइदिए ।

Somlal Subedi (2)

तर, यस्तो कीर्ते जवाफमा चित्त नबुझेको भन्दै जब न्यायालयले दोस्रो आदेश गर्दै जसरी पनि नियुक्तिको फाइल ल्याउनु भन्यो, त्यसपछि सरकारले अदालतलाई फाइल बुझाउन बाध्य भयो र यसले लोकमानसिंहको छटपटीलाई अरु बढायो ।

सुशासन समितिलाई असफल धम्की

प्रचण्ड र सोमलाललाई लाइनमा ल्याइसकेपछि लोकमानले निकै ठूलो सन्तोषको सास फेरे । तर, त्यहीबेला संसदको सुशासन समितिमा काठमाडौं विश्वविद्यालयको फाइलबारे बैठक बस्यो । त्यो विषय लोकमानसिंहसँग सीधै जोडिएको विषय थियो ।

सुशासन समितिको उक्त बैठकमा उपसमितिले ल्याएको काठमाडौं विश्वविद्यालयसम्बन्धी प्रतिवेदन लोकमानलाई जोगाउने किसिमले तयार पारिएको थियो । तर, माओवादीका एक सांसदले त्यसलाई मान्न नसकिने भन्दै नोट अफ डिसेन्ट लेख्ने धम्की दिए, जसले गर्दा लोकमानलाई जोगाउने प्रतिवेदनमाथि छलफलै नभई बैठक स्थगित भयो । र, यसले पनि लोकमानको तनावलाई थोरै बढायो ।

सुशासन समितिमै रहेका दलालमार्फत लोकमानले आफ्नो विरोधमा बोल्ने सांसदलाई नोटिसमा लिए । र, ती सांसदलाई अख्तियारमा पुर्‍याइयो ।

लोकमानसिंह कार्कीले ती माननीयलाई धाप मार्दै भने,- ‘तिमी त मेरो भतिजोजस्तै हौ यार, मैले यो केस सबैतिर मिलाइसकेको छु, तिम्रो पार्टीका प्रधानमन्त्रीसँगै मेरो समझदारी भइसकेको छ, तिमीमात्रै मेरो विरोधमा कति दिन लाग्छौ ? छाडिदेऊ, अब हामी मिल्नुपर्छ । तिम्रै प्रधानमन्त्रीसँग कुरो मिलिसकेपछि तिमीमात्रै मेरो विरुद्धमा लागेर केही हुनेवाला छैन ।’

Lokman karki-in-susasan samiti

तर, लोकमानले जतिसुकै धाप मारे पनि र प्रचण्डकै दुहाइ दिए पनि ती माओवादी सभासद उनको पक्षमा लागेनन् ।

प्रचण्ड-लोकमान असमझदारी, फेरि समझदारी

प्रधानमन्त्री प्रचण्ड सुशीला कार्कीसँग आफ्नो भेट भएको र आफूले कुराकानी गरेको विषयमा लोकमानलाई जानकारी दिन नभ्याइकनै दिल्ली भ्रमणमा गए ।

र, त्यहीबेला अदालतले पनि ‘भूकम्पले पुरेको’ लोकमानको फाइल मगाउने अर्को आदेश जारी गर्‍यो । यसबाट लोकमानलाई के पर्न गयो भने प्रचण्डले आफ्नो ‘जेन्टलमेन एग्रिमेन्ट’ पूरा गरेनन् र सुशीला कार्कीलाई भनसुन नै गरेनन् ।

आफूले प्रचण्डबाट धोका पाएको यही अनुमानका आधारमा लोकमानले प्रचण्ड दिल्लीमै भएका बेला हठात पत्रकार सम्मेलन गरी पूर्वलडाकूको फाइल खोले ।

दिल्लीबाट फर्किएलगत्तै प्रचण्ड-लोकमानवीच पुनः वार्ता भयो, लडाकूको फाइल अघि बढेकोमा प्रचण्डले चित्त दुखाए, अदालतमा मुद्दा अघि बढेकोमा लोकमानले दुःख बिसाए

भारत जानुअघि त्यस्तो समझदारी गरेर गएको, तर आफू उतै हुँदा लोकमानले लडाकूको फाइल किन खोले ? यसले प्रश्चण्डलाई दिल्लीमै ‘सक्ड’ गरायो । यता लोकमानको पनि के चित्त दुखाइ थियो भने प्रधानमन्त्रीसँग त्यत्रो समझदारी गरिएको थियो, तर किन सुशीला कार्कीले उनको मुद्दा अगाडि बढाइन् ?

अन्ततः दिल्लीबाट फर्किएलगत्तै प्रचण्ड-लोकमानवीच पुनः वार्ता भयो । लडाकूको फाइल अघि बढेकोमा प्रचण्डले लोकमानसँग चित्त दुखाए । र, अदालतमा मुद्दा अघि बढेकोमा लोकमानले प्रचण्डसँग दुःख बिसाए ।

यो भेटपछि प्रधानमन्त्री प्रचण्डले लोकमानसँग कुरा भइसकेको छ, अब लडाकू प्रकरण अघि बढ्दैन भन्ने अभिव्यक्ति दिएको कुरा बाहिर मिडियामा आयो । यसबारे केही सांसदले सदनमासमेत प्रश्न उठाएका थिए, जुन आवाज त्यत्तिकै सेलायो ।

सुशीलालाई सीधै अफर, उनले भनिन्- गेटआउट !

लोकमानसिंहले सर्वोच्च अदालतलाई प्रभावमा पार्नका लागि ट्रयाक-१ अन्तरगत प्रधानमन्त्री प्रचण्डलाई हातमा लिए । ट्रयाक-२ अन्तरगत मुख्यसचिवलाई भूकम्पको बाहना बनाउन लगाए । यसको अर्थ उनले प्रधानन्यायाधीश सुशीला कार्कीलाई केही गरेनन् त ? होइन, उनले ट्रयाक- ३ योजना पनि अघि सारेका थिए, तर सफल भएनन् ।

दशैंका बेलामा कार्की बन्धुहरु चाडबाडमा एकत्रित भएको मौका पारेर एकजना बन्धुले सुशीला कार्कीलाई लोकमानसँग मिल्न र बन्धुको रगतको नाताले उनीमाथि कृपा गरिदिन आग्रह गरेका थिए

सुरुमा लोकमानले सुशील कार्कीसँग आफ्नो नाता पर्ने भएकाले उनले आफ्नो मुद्दा हुर्ने नमिल्ने तर्क अघि सारेका थिए । यसो गर्न पाए आफ्नो मुद्दा गोपाल पराजुलीकोमा पार्ने र उनलाई शेरबहादुर देउवामार्फत भनसुन गर्न सकिने लोकमानलाई विश्वास थियो ।

(गोपाल पराजुली एकजना त्यस्ता न्यायाधीश हुन् जसलाई शेरबहादुर देउवा बारम्बार फोन गर्छन् र तिमी शब्दले सम्बोधन गर्दै विभिन्न मुद्दाहरुमा भनसुन गर्छन् । न्यायालयमा सीधै भनसुन गर्ने र राजनीतिकरण गर्ने नेपाली कांग्रेसको संस्कार नै हो । जसलाई पछ्याउन खोज्दै लोकमानबारे भनसुन गर्दा प्रधानमन्त्री प्रचण्ड पहिलोपटकमै दुर्घटनामा परे ।)

दशैंका बेलामा कार्की बन्धुहरु चाडबाडमा एकत्रित भएको मौका पारेर एकजना कार्की बन्धुले सुशीला कार्कीलाई लोकमानसँग मिल्न र बन्धुको रगतको नाताले उनीमाथि कृपा गरिदिन आग्रह गरेका थिए । उनले यसबाट फाइदा हुनेसमेत बताएका थिए ।

तर, यस्तो सुन्नासाथ झ्वाँक्की स्वाभावकी प्रधानन्यायाधीश कार्कीले ती व्यक्तिलाई तुरुन्तै यहाँबाट गइहाल, ‘जस्ट गेट आउट’ भन्दै हप्काएर पठाइदिइन् ।

दुई धारका दुई कार्की !

लोकमानसिंह कार्की र सुशीला कार्की त्यस्ता दुई विपरीत ध्रुबका पात्रहरु हुन्ः एकजना जालझेल, षडयन्त्र र भ्रष्टाचारका प्रतिमूर्ति हुन् भने अर्कीचाँहि सादगीपन, इमान्दारिता र सहासकी

लोकमानसिंह कार्कीले कांग्रेस र माओवादीभित्र रहेका बिकाऊ नेताहरुलाई किन्न सक्लान् । भ्रष्टाचार गरेका डरपोक नेताहरुलाई त्रासमा फसाएर लोकमानले संसदबाट महाअभियोगको प्रस्ताव असफल पार्न पनि सक्लान् । तर, अदालतलाई नि ? कमसेकम सुशीला कार्कीजस्ता हक्की न्यायाधीश त्यहाँ रहनु लोकमानका लागि फलामको चिउरा चबाउनुजस्तै हुनेछ ।

लोकमानसिंह कार्की र सुशीला कार्की त्यस्ता दुई विपरीत ध्रुबका पात्रहरु हुन्ः एकजना जालझेल, षडयन्त्र र भ्रष्टाचारका प्रतिमूर्ति हुन् भने अर्कीचाँहि सादगीपन, इमान्दारिता र सहासकी प्रतिमूर्ति हुन् ।

सुशीला कार्कीले लोकमानसिंहका सबै योजनाहरु रणचण्डीले जसरी पैलातामुनि दबाइदिएकै कारण उनी अहिले थप रनाहामा परेका छन् । अब लोकमानले के गर्लान् ? राजीनामा ? वा संसद र अदालतको सामना ? हेर्न बाँकी छ ।

र, लोकमानले अदालतमा परेको मुद्दाको सामनाका लागि यति प्रयास गरे भने अब संसदको सामनाका लागि के-के गर्लान् र गर्दै होलान् ? यो स्टोरीको अर्को ‘प्लट’ हो ।

(यो सामाग्री हामीले विभिन्न नेता, सांसदहरु तथा सन्दर्भ-व्यक्तिहरुसँगको भेटघाट एवं कुराकानीका आधारमा तयार पारेका हौं । स्रोतहरुको गोपनीयताका कारण यहाँ उनीहरुको नाम प्रस्तुत गर्न नसकिएको हो- सं )

यो पनि पढ्नुस्

लोकमानसिंहको आतंकः प्रधानन्यायाधीशको कल डिटेल ! मुख्यसचिवलाई १३ पाना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment