Comments Add Comment

रक्तसम्बन्धभित्रको विवाह तोड्दै यसरी मनाउन थालियो तिहार

Bishnu Prabhat (2)

तिहार शरद महोत्सव अन्तर्गत मनाइने चाड हो । प्राचीन समयमा यो चाड मनाउन थालिनुको सामाजिक पक्ष र यथार्थ छुट्टै छ । तर, हिन्दु सनातनहरु तथा अन्य जातिका कतिपय मानिसले यसको सामाजिक पक्षलाई भुलेर धार्मिक रुप दिएको पाइन्छ । उनीहरुले धार्मिक र संस्कारगत ढंगले मोडिदिएपछि त्यो कुरा दिगो रहन्छ भन्ने सोचे ।

सनातन संस्कार र धार्मिक भावनाको कारणले वैज्ञानिक कुरालाई मान्नुभन्दा अन्धविश्वासलाई मान्ने चलन बसेको पाइन्छ । त्यो चलनले हाम्रा चाडपर्वको बारेमा ठीक दृष्टिकोण आएको छैन । त्यसै अनुसार तिहारको बारेमा पनि यथार्थलाई धार्मिक आवरणमा हालिएको पाइन्छ । खासमा तीन-चार वटा पर्व जोडिएर तिहार भनिएको हो । त्यसमा काग पूजा, कुकुर पूजा, यम पूजा, भाइ पूजा, शरीर पूजा (म्ह पूजा) जस्ता कुरा पाइन्छ । तिनका विशिष्ट अर्थ छन् ।

धार्मिक पूरोहितहरुले यमराजको कथासँग जोड्दै पाँच दिनसम्म मनाइने भनेर यमपञ्चकको व्याख्या गरेको पाइन्छ । तर, यथार्थ त्यो होइन । खासमा मिथक हेर्दा यम र यमी नामका दुई पात्र दाजु-बहिनी वा दिदी-भाइ भनेर चर्चा गरिएको पाइन्छ । वेददेखि अरु विभिन्न ग्रन्थमा पनि यो कथा आउँछ ।

रक्तसम्बन्धभित्रको विवाह तोडेर पवित्र नाता

कथाको मर्म अनुसार, बहिनी यमीले त्यतिबेलाको सामाजिक मान्यता बमोजिम दाजुसँग एउटा प्रस्ताव राख्छिन् । उनी आग्रह गर्छिन्, ‘म यौवनमा प्रवेश गरेँ, म तिमीसँग बिहे गरेर सन्तान जन्माउन चाहान्छु । मसँग सम्भोग गर ।’

त्यो प्रस्ताव त्यतिबेलाको सामाजिक दृष्टिले अनुचित पनि थिएन । किनभने मानव सभ्यताभित्र पहिला रक्तसम्बन्ध वृत्तभित्रै बिहेबारी हुन्थ्यो । रक्तसम्बन्ध वृत्तभित्रै बिहे हुने संस्कारको रुपमा पछिसम्म पनि हाडनाता छुट्याउनका लागि पुस्तान्तर बिहे गरियो । तीन पुस्ता, पाँच पुस्ता, सात पुस्ता छोडेर बिहे गर्ने चलन चल्यो । सगोत्री बिहेलाई तोडेर विगोत्री बिहेतिर गइयो । कुटुम्ब बिहे अँगालियो । प्राचीन समयमा विवाहका यस्ता रुपहरु देखिन्छन् ।

त्यस बेलाका संस्कार भएकाले ती कुरा सबैलाई मान्य थिए । यम र यमीको सन्दर्भ पनि त्यो बेलाको सन्दर्भमा उचितै थियो । तर, त्यो समय यस्तो रुपान्तरण कालको समय थियो, जहाँ एउटै रक्तसम्बन्धी वृत्तभित्रको विवाहलाई तोडेर अन्य समूहसँग विवाह गर्ने चलनमा जानुपर्छ भन्ने भावना प्रबल हुँदै थियो ।

त्यही भावना अनुसार यमले अब पुरानो चलनलाई नपछ्याई अग्रगामी कदम लिनुपर्छ भन्दै बहिनीसामु प्रगतिशील विचार अघि सारे । उनले बहिनीलाई भने, ‘बहिनी, तिमी जवान युवती भयौ । तिम्रो विवाह गर्नु जरुरी छ । तर, मसँग होइन, म जस्तै लायक र हाम्रो रक्तसम्बन्धको वृत्तभन्दा बाहिरको युवकसँग तिमीले विवाह गर्नुपर्छ । दाजु-बहिनीको सम्बन्ध भनेको पवित्र हो । तिमी हामी भनेका एउटै बाबुआमाका सन्तान र एउटै वंश गोत्रभित्रका सन्तति भएकाले यो चलनलाई बदल्नुपर्छ ।’

यमले यसरी प्रष्ट कुरा राखेपछि बहिनी यमी एकछिन रिसाउँछिन् । धेरै तर्क गर्छिन् र अन्त्यमा दाजुकै कुरामा सहमत हुन्छिन् ।

त्यसपछि यम र यमीको सम्बन्ध कसरी पवित्र बनाउने भनेर चर्चा हुँदै जाँदा त्यसलाई एउटा समारोह, पर्व र रीतिका रुपमा स्थापित गरौं भन्ने कुरा भयो । त्यसै क्रममा दिदीबहिनीले दाजुभाइ र दाजुभाइले दिदीबहिनीलाई पूजा गर्ने चाडका रुपमा, भाइटीकाको रुपमा, यम पूजाको रुपमा यो चाड सुरु भयो । यम-यमी कथाको प्रचार भयो ।

रक्तसम्बन्ध वृत्तभित्रको विवाह प्रथाको अन्त्य भएको यो चाडले मानव सभ्यतालाई नयाँ मोड दिएको छ । दिदी-भाइको बीचमा हुने गरेको विवाहको संस्कार परिवर्तन गरी नयाँ चलन बसेको स्मृतिमा भाइ पूजा मनाइँदै आइयो ।

म्ह पूजाको प्रचलन

तिहारभित्र रहेको अर्को एउटा विशिष्टता शरीर वा देहपूजा छ । खासगरी काठमाडौंमा नेवार समुदायले यसलाई म्ह पूजा भनेको पाइन्छ । देह पूजाको चलन च्यवन नामक ऋषिले सुरु गरेका हुन् । त्यसपछि त्यसलाई बुद्धले जोड दिएका छन् । शरीरमा जुन ज्ञान, चेतना र शक्ति हुन्छ, त्यसका निम्ति मानिस स्वस्थ हुनुपर्ने भएकाले शरीरको पनि ख्याल राख्नुपर्छ भन्ने उद्देश्य शरीर पूजा (म्ह पूजा)मा निहित रहेको पाइन्छ ।

आत्माको कुरा गर्नेहरुले शरीर केही पनि होइन, नश्वर र मायाजाल मात्र हो भन्छन् । बुद्ध त आत्माको अस्तित्व नस्विकार्ने अनात्मवादी थिए । उनले शिष्यहरुलाई उपदेशका क्रममा नश्वर र क्षणभंगुर तत्वले पनि दीर्घकालसम्म पार्ने प्रभावको पक्षमा हाम्रो ध्यान जानुपर्ने भन्दै शरीरलाई पनि ख्याल राख है भने । शरीर स्वस्थ भए मात्र ज्ञान र विचारहरु अरुलाई बुझाउन सकिन्छ भन्ने उनको आग्रह थियो ।

आत्मवादीहरुले पनि शरीरलाई आत्माको मन्दिर मानेर व्याख्या गरेका छन् । परमात्मा कुनै छ र लीला गर्न यो लोकमा आउँछ भने पनि त्यसले कुनै न कुनै जीवको शरीरमा प्रवेश गर्नुपर्छ र त्यसकारण आत्माको बास शरीरमा हुने भएकोले शरीरको रक्षा गर्नु आवश्यक छ भन्ने चिन्तन आएको पाइन्छ ।

शरीर रक्षाका लागि ऋषिमुनिहरुले तेल लगाऊ, नुहाएर शरीर सफा बनाऊ, शरीरलाई पुष्ट पार्ने तागतिलो चिज खाऊ भन्जे संकेत दिन्छन् । त्यसैले चाडपर्वमा चिल्ला रोटी खानू, माछामासु खानू, गेडागुडीहरु बढी खानू भन्ने कुरा आउँछन् । त्यसबाट गर्मी सकिएर जाडो आउँदै गर्दा जाडोसँग प्रतिरोध गर्ने शक्ति शरीरमा प्राप्त हुन्छ भन्ने उद्देश्य लुकेको पाइन्छ ।

त्यसैले तिहारमा म्ह पूजा गर्दा र भाइ पूजा गर्दा पनि दिदीबहिनीले दाजुभाइलाई तेल लगाइदिने, दीर्घ जीवनको कामना गर्ने र मिष्ठान्न खान दिने गरेको पाइन्छ । तिहारमा ओखर खान दिइन्छ, ओखर निकै राम्रो चिज हो । अहिले कतिपयले ओखरमा क्यान्सर प्रतिरोधक तत्व छ भनेर चर्चा गरेको पाइन्छ । यसले शरीरका धेरै किसिमका विकारलाई समन गर्ने क्षमता राख्छ । त्यस्तै, तिल खान दिइन्छ, विज्ञानले पनि तिललाई एन्टी टक्सिन भएकोले फाइदाजनक मान्छ ।

दीपावली किन ?

तिहार उज्यालोको चाड भएकोले यसमा दीपावलीको निकै महत्व छ । दीपावली दुई कारणले गरिएको पाइन्छ । एउटा त उत्सवको रुपमा रह्यो, अर्को चाहिँ प्राचीन समयमा बत्तीको उज्यालोलाई दिशा निर्धारणको रुपमा उपयोग गरेको देखिन्छ ।

चाडबाडको क्रममा धेरै टाढाटाढा मानिसहरु आफन्त भेट्न जान्छन् । त्यसबेला दिशा निर्धारणको कुरा भइसकेको थिएन । चुम्बकको आविष्कार भएकै थिएन । यद्यपि पूर्व, पश्चिम, उत्तर, दक्षिण र नैरित्य, वायोव्य भनेर अष्टकोण दिशा, दश दिशा भनेर ऋग्वेद कालमै ऋषिमुनिहरुले पत्ता लगाइसकेका थिए । तर, चार दिशा र टाढाटाढाबाट मानिसहरु आफ्नो घर आउँदा आफ्नो बस्ती र टोलको संकेत के गराउने भन्ने भावनाबाट त्यसबेला दीपावलीका रुपहरु आएको पाइन्छ ।

दीपावलीको सन्दर्भ तिहारमा बत्ती बालेर मात्र पूरा हुँदैन । खासमा आकाशदीप बाल्ने चलन कात्तिक महिनाभरि चल्थ्यो । बाहिर गएका मानिसहरु फर्केर आउनको लागि आकाशदीपले संकेतको काम गर्थ्यो । समुद्र मार्गबाट आउँदा किनारतिर लाइटिङ हाउस प्रयोग गरिए जस्तै आकाशदीपको प्रचलन आयो । अन्तत: त्यही चलन अहिलेको दीपावलीको रुपमा विकास र विस्तार भयो ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment