Comments Add Comment

इलामका पर्यटकीयस्थल समेटेर बन्यो वृत्तचित्र

ilam tea baga
१७ मङ्सिर, इलाम । इलामका पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले श्रव्य–दृश्यसहितको डकुमेन्ट्री (वृत्तचित्र) निर्माण गरिएको छ ।

मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले जिल्लाका दुई दर्जनभन्दा बढी पर्यटकीयस्थलको श्रव्यदृश्यसहितको वृत्तचित्र निर्माण गरेको हो । जिल्लामा धेरै पर्यटकीय सम्भावना बोकेका स्थल भएपनि तिनको उचित प्रचारप्रसार नहुँदा ओझेलमा पर्नुका साथै पर्यटन विकास हुन नसकेको ठहर गर्दै समितिले वृत्तचित्रमार्फत प्रचारप्रसार थालेको समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले बताए।

इलाम र झापाको सीमावर्ती क्षेत्र जोरकलशदेखि समुद्र सतहदेखि तीनहजार छसय ३६ मिटरको उचाइमा रहेको सन्दकपुरसम्मका पर्यटकीयस्थलको वृत्तचित्र बनाइएको समितिले जनाएको छ ।

सूर्याेदय र सूर्यास्तका लागि प्रख्यात अन्तुडाँडा, पाथीभरा, कन्याम, गुफापाताल, नयाँबजार, इलामको चिया बगान, सेतीदेवी, गजुरमुखी, सिंहवाहिनी, माइस्थान, लारूम्वा, सिद्धिथुम्का, सलकपुर, छिन्टापु, माईपोखरी, टोड्के झरनालगायतका थुप्रै पर्यटकीयस्थलको वृत्तचित्र गङ्गादीप फिल्म प्रालिले बनाएको हो ।

मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले पर्यटकीयस्थलको वृत्तचित्र निर्माणका लागि प्रालिलाई  तीनलाख खर्च लागेको द्यौरालीले बताए । “पहिलोपटक इलामका पर्यटकीयस्थलको डकुमेन्ट्री बनाएका हौँ, आगामी दिनमा पाँचथर र ताप्लेजुङको समेत निर्माण गर्ने योजना छ”, निर्देशक द्यौरालीले भने । वृत्तचित्रले पर्यटकीयस्थलको प्रचारप्रसारमा टेवा पुग्नुका साथै पर्यटन व्यवसाय फस्टाउनेमा समिति विश्वस्त रहेको छ ।

वृत्तचित्रलाई नेपाल टेलिभिजनबाट समेत प्रसारण गर्ने र कोल्बुङमा रहेको पर्यटन सूचना केन्द्रमा राखेर इलाम भित्रने पर्यटकलाई पर्यटकीयस्थलका बारेमा जानकारी गराइने द्यौरालीको भनाइ छ । वृत्तचित्रमा विभिन्न जातजातिको वेशभूषा, संस्कृति र जातजातिको झाँकीसमेत समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment