Comments Add Comment

नारायणगढ-मुग्लिन सडकमा पर्यटक बस नरोकिने

१० पुस, चितवन । राजधानी जोड्ने मुख्य राजमार्गअन्तर्गत नारायणगढ-मुग्लिन सडक खण्डमा पर्यटक बोकेका बसहरुले पट्यारलाग्दो जाम झेल्नु नपर्ने भएको छ ।

tourist-busसडक विस्तारका कारण सार्वजनिक तथा निजी सवारी साधन सञ्चालमा दैनिक चार घण्टा प्रतिवन्ध लगाइएको उक्त सडक खण्डमा पर्यटक बोकेका बसलाई भने छुट दिन लागिएको हो ।

मुलुकको तेस्रो पर्यटकीय गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त प्रयासमा पर्यटक बोकेका बसलाई नरोक्ने निर्णय भएको हो ।

‘सौराहासहित विश्व सम्पदामा सूचीमा सूचीकृत धेरै ठाउँहरु चितवनमा छन्,’ चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले भने, ‘सडकमा पर्यटकहरुलाई रोक्दा धेरै गुनासो आएकोले सहज बनाउन यस्तो तयारी गरेका हौं ।’

पर्यटक बोकेका बसलाई नरोक्न निर्देशन दिइसकेकाले अब यो कार्यान्वयनमा आउने भट्टले बताए । कुनै गाडीमा पर्यटक आएको भए सूचना दिनसमेत उनले आग्रह गरे ।

पुस ७ गतेदेखि बिहान ११ बजे देखि ३ बजेसम्म पूर्ण रुपमा सवारी साधन रोकिँदा पर्यटक लक्षित चितवन हात्ती महोत्सवसमेत प्रभावित भएपछि चितवनका पर्यटन व्यवसायीले बिहान ११ देखि ३ बजेसम्मको मुख्य समयमा उक्त सडक बन्द हुँदा चितवन आउने पर्यटक अन्यत्र गएकाले यो समयमा पर्यटक बसलाई नरोक्न स्थानीय प्रशासनलाई आग्रह गरेका थिए ।

पर्यटक बोकेको बस हो कि होइन भनेर निगरानी गरी पर्यटक बोकेका बसलाई छुट दिइने चितवनका प्रहरी प्रमुख दिपक थापाले बताए ।

भूकम्प र नाकावन्दीका कारण मारमा परेका व्यवसायीहरु प्रशासनको यो निर्णयबाट खुसी भएको क्षेत्रीय होटल व्यवसायी संघका अध्यक्ष सुमन घिमिरेले बताएका छन् ।

हाल नारायणगढ-मुग्लीन सडकखण्ड फराकिलो बनाउने काम भइरहेको छ । यही पुस ७ गतेदेखि बिहान ११ बजेदेखि अपराहृन ३ बजेसम्म सडक बन्द गरेरै काम भइरहेको छ । सडक विस्तारलाई सहज बनाउन भन्दै नारायणगढ हुँदै पोखरा तथा काठमाडौं जाने सवारीसाधनलाई दासढुंगामा र मुग्लिङ हुँदै नारायणगढ भएर पूर्व तथा पश्चिम जाने सवारीसाधनलाई भने मुग्लिङमा रोक्ने गरिएको छ ।

यस्तो अवरोध कम्तीमा पनि चार महिनासम्म जारी रहने बताइएको छ । त्यसैले यो समयमा वैकल्पिक मार्ग प्रयोग गर्न आयोजनाले सूचनामार्फत चालकहरुलाई आग्रह गरेको छ ।

सडक साँघुरो भएर निर्माणमा असर परेकाले बन्द गरेरै सडक निर्माण गर्नुपर्ने अवस्था आएको नारायणगढ-मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए ।

विक्रम संवत् २०७२ वैशाखदेखि थालिएको निर्माण कार्य २०७४ को भदौमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ । विश्व बैंकको दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो ।

यस सडक खण्डमा दैनिक आठ हजारभन्दा धेरै गाडीहरु आवत जावत गर्छन् । जिर्ण र साँघुरो भएकाले सो सडकखण्डमा अत्यधिक दुर्घटना हुने गर्दछ ।

आँपटारीदेखि मुग्लिनसम्मको ३४ किलोमिटर सडकलाई सन् २०१७ अपि्रलसम्ममा बिस्तार गरेर चार लेनको बनाउने काम भइरहेको छ । खुला क्षेत्रमा ११ मिटर र पहाडी चट्टानयुक्त क्षेत्रमा ७ मिटर चौडाइको सडक बनाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment