Comments Add Comment

सांसद खतिवडा भन्छन्- श्रीमतीको सरुवा नमिलाइदिँदा घडी चोरको आरोप लाग्यो

२४ पुस, काठमाडौं । नेपाली कांग्रेसका चर्चित युवा नेता तथा सांसद रामहरि खतिवडा यतिबेला समाजिक सञ्जालमा चर्चामा छन् । उनीमाथि रोलेक्स घडी चोरेको आरोप लागेपछि उनी चर्चामा आएका हुन् । र्‍याडिसन होटलको जिम क्लबबाट खतिवडाले घडी चोरेको भन्दै उनीमाथि आरोप लागेको छ ।

ramhari-khatiwadaयसबारेमा हामीले खतिवडालाई सोध्यौं, तपाईले पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङका छोराको १४ लाख पर्ने रोलेक्स घडी चोरेको आरोप लागेको छ, खास कुरो के हो ? सांसद खतिवडाले यसबारेमा यसरी जवाफ दिएः

बुधबार बिहान र्‍याडिसनको क्लबमा नुहाइ-धुवाइ गरियो र लुगा लगाएर हिँडियो । दिउँसो १२-१ बजे उपत्यका बन्द थियो । म त्यसैदिन जिल्ला जानुपर्ने थियो । त्यसैले गाडीमा आवश्यक लुगाफाटो लिएर म ओखलढुंगातिर लागें ।

जिल्लामा पुगेपछि भोलिपल्ट बिहान लुगा फेर्ने क्रममा गोजीभित्र एउटा घडी फेला पर्‍यो । मेरो आफ्नो घडी साथैमा थियो ।

मैले क्लबबाट बाहिरिँदै गर्दा त्यहाँ घडी हरायो भन्ने चर्चा सुनेको थिएँ । एक व्यक्ति – जसलाई मैले चिनेको छु) ले चिन्ता गर्नुपर्दैन त्यो घडी भेटिन्छ भनेको पनि मैले सुनेको थिएँ । मैले त्यसबारे खासै वास्ता गरेको थिइनँ ।

बिहान घडी मेरो लुगाको गोजीमा फेला परेपछि मैले सीमान्त गुरुङलाई फोन गरें । उनले फोन रिसिभ गरेनन् । फोन स्वीच्ड अफ भन्यो । त्यसपछि एसएमएस पठाएँ । त्यसको पनि कुनै रिप्लाइ आएन ।

सीमान्तसँग फोन सम्पर्क नभएपछि मैले सुनील शर्मालाई फोन गरेर यस्तो यस्तो भएछ, मेरो साथमा घडी आएछ, सीमान्तको अर्को फोन नम्बर छ कि भनेपछि उनले एनसेलको नम्बर दिए । मैले सीमान्तलाई फोन गरेर घडीका बारेमा बताएँ । यो घडी तपाईको हो कि भन्दा उनले ओहो दाइ, मेरो हो, काठमाडौं कहिले फर्किनुहुन्छ, फर्केपछि दिए हुन्छ भने ।

तरा मलाई त्यो दिन रातभरि निद्रा लागेन । शुक्रबारै काठमाडौं फर्किएँ र काउण्टरमा लगेर घडी जिम्म दिएँ । सीमान्तलाई सीधै दिनुपर्ने रहेछ, तर मैले काउन्टरमा बुझाएँ । म प्रहरीकहाँ गएको वा प्रहरीले सोधपुछ गरेको भन्ने सत्य होइन ।

मलाई फसाउनका लागि कसैले षडयन्त्रपूर्वक मेरो कपडामा घडी राखिदिएको मलाई शंका छ । किनभने बिहानै तिनीहरुले घडीको चर्चा गर्दै भेटिइहालिन्छ भन्दै थिए । ती व्यक्तिलाई मैले चिनेको छु ।
सीमान्तसँगै क्लवमा आउने त्यो व्यक्तिकी श्रीमती प्रहरीमा काम गर्छिन् । उनले एकचोटि श्रीमतीको सरुवाका लागि उपेन्द्रकान्त अर्याललाई भनिदिनू भनेको थियो । मैले भनिदिएको पनि हुँ, तर उनले त्यो मान्छे भ्रष्ट हो भन्दै इन्कार गरेका थिए । त्यही मान्छेले ममाथि यस्तो षड्यन्त्र गरेको हुनुपर्छ । उसलाई मैले राम्रोसँग चिनेको छु, उसलाई प्रहरीले हदैसम्मको कारवाही गर्नुपर्छ र, मेरो बेइज्यत गरेवापत सजायँ हुनुपर्छ ।

आफूले लोकतन्त्रको पक्षमा र भ्रष्टाचारीहरुको विरुद्धमा आवाज उठाउँदै आएकाले ममाथि यस्तो षडयन्त्र भएको हुन सक्छ । मैले त्यसरी कसेको घडी लैजाने भन्ने सोच्नसम्म नसकिने विषय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment