Comments Add Comment

लोकमानविरुद्धको महाअभियोग समितिमा पठाइयो

Lokman-Sing-Karki

२४ पुस, काठमाडौं । व्यवस्थापिका संसदले अख्तियारका ‘निलम्बित’ प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ ।

महाअभियोग प्रस्तावमा छलफल भइरहेका बेला सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि नेकपा एमालेसहितका विपक्षी दलले लगातार संसद बैठक अवरुद्ध पार्दै आएका थिए । सर्वोच्चको आदेशपछि आइतबार संसदको अवरोध हट्यो ।

र, महाअभियोग प्रस्तावमा बोल्न बाँकी सांसदहरुले आइतबारको छलफलमा भाग नलिने सूचना दिए । लगत्तै प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव पास भएको छ ।

अब सिफारिस समितिले कार्कीसँग बयान लिनुका साथै आवश्यक अध्ययन तथा अनुसन्धान गर्नेछ । यसक्रममा कार्कीकोे घर तथा कार्यालयमा खानतलासी समेत गर्न सक्ने व्यवस्था छ ।

यसका लागि समितिलाई बढीमा एक महिना समय हुनेछ र, कार्कीमाथि महाअभियोग लगाउनु पर्ने-नपर्नेबारे संसदलाई सिफारिस गर्नेछ । समितिले महाअभियोग सिफारिस गरे संसदले दुई तिहाईले अनुमोदन गरेमा कार्की स्वतः पदमुक्त हुनेछन् ।

कार्कीको योग्यतासम्वन्धी मुद्दा सर्वोच्चमा चलिरहेकै बेला एमाले र माओवादीका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

कार्कीको योग्यताविरुद्ध परेको रिटमा सर्वोच्चले आजै फैसला सुनाउन सक्ने सम्भावना पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment