
पोखरामा नेपाल साहित्य महोत्सवमा सोमबार चर्चित हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ‘सफल साझेदारीका पाठहरु’ विषयक सत्रमा आफ्नो विगतको चर्चा गर्दै सहयात्राका आधारहरु सुनाए । संघर्षपूर्ण विगतबारे सुनाउँदै उनीहरुले दर्शकदीर्घालाई भावुक बनाए भने रमाइला प्रसंगको चर्चा गर्दै हाँसोको फोहोरा समेत छुटाए ।
कार्यक्रमको अन्तिममा दर्शक-शुभेच्छुकलाई कोसेली पस्किने क्रममा मदनकृष्णले गीत गाए भने हरिवंशले कविता सुनाए ।
हरिवंशले हरिबहादुरको शैलीमा ‘त्यसो गरे कसो होला’ भन्ने थेगोबाट माहौल बनाउँदै त्यही लबजमा यस्तो कविता प्रस्तुत गरे:

मेरो नाम हो हरि
म त कहिले पनि गर्दिनँ मनपरी
कहिलेकाहीँ गरेँ भने पनि
आई एम भेरी भेरी भेरी सरी !
मेरो नाम हो हरि
म बजारमा बेच्छु चिकेन करी
बुइँगल छिँडीभरि पालेको छु मैले बोइलर चरी
बैंकमा पैसा राखेको छु राम्रै नाफा गरी
तर बिजुलीको पैसा तिर्न गाह्रो लाग्छ
त्यसैले विद्युत् प्राधिकरणको नाङ्गो तारमा
हुक हाल्छु म बिहान दिउँसो राति सधैंभरि ।
हरिले मात्र हुक हाल्ने होइन
रामे, श्यामे, हर्के, भुन्टे सबैले हुक हाल्छन्
कसैले बोइलर पाल्छन्
कसैले भैंसीलाई कुँडो पकाउन हिटर बाल्छन्
खान, नुहाउन तताउँछौं हिटरमा पानी
जति करेन्ट चलाए पनि बत्तीको पैसा छैन जाने
हुक हाल्न गाह्रो छैन चाहिन्छ एउटा बाँस
बाँसमा एउटा तार टाँसी नाङ्गो तारमा टाँस
हुक हाल्या तारबाट राम्रो बत्ती बल्छ
मिटरबाट भन्दा यसले फुल भोल्टेज फाल्छ
के गर्न सक्छन् हाम्लाई तागत कसको बाउको
निहुँ खोजे गाउँ नै उल्टी फुटाइदिन्छम् टाउको ।
मेरो नाम हो हरि
म त कहिले पनि गर्दिनँ मनपरी
कहिलेकाहीँ गरेँ भने पनि
आई एम भेरी भेरी भेरी सरी !
हाम्ले मात्र हुक हाल्ने होइन, हुक हाल्छन् उद्योगपति
पाँच लाखको बत्ती बाल्छन्, तिर्छन् २० हजार जति
सानो मन भएका ठूला-ठूला साहू
बिजुलीमा हुक हाली खानुसम्म खाऊ
हुक हाल्न गाह्रो छैन कर्मचारी चाहिन्छ
प्राधिकरणकै कर्मचारी भाडामा लिन पाइन्छ
कति महान् कर्मचारी आमाको थुन सक्ने
प्राधिकरणलाई कङ्गाल बनाई साहू-महाजन पोस्ने
कारबाही गर्छु भन्यो भने संगठन नै आउँछन्
हाम्रा महान् नेताजीको आशीर्वाद पाउँछन्
उज्यालोको हैन यहाँ अँध्यारोको राज
जय कांग्रेस जय माले जय माओवाद !
मेरो नाम हो हरि
म त कहिले पनि गर्दिनँ मनपरी
कहिलेकाहीँ गरेँ भने पनि
आई एम भेरी भेरी भेरी सरी !
प्रतिक्रिया 4