Comments Add Comment

फागुन १८ देखि ठमेलमा होटल मलबरी सञ्चालनमा आउने

२ फागुन, काठमाडौं । ठमेलमा बन्दै गरेको होटल मलबरी फागुन १८ गतेदेखि सञ्चालनमा आउने भएको छ । होटलको निर्माण सम्बन्धी बाहिरी भागको सबै काम सकिएको भए पनि भित्री कामहरु भइरहेको देखिन्छ ।

कुल ६७ कोठा रहेको यो होटलमा ४२ वटा डिलक्स रुम रहेका छन् । होटल मलबरीका निर्देशक सांगे पाल्देन शेर्पाका अनुसार होटलका कोठा ५ तारे स्तरका छन् ।  शेर्पा भन्छन् ‘हामीसँग ६७ कोठामात्रै भएकाले पाँचतारे भन्न पाएनौं, किनकि नेपालको कानुन अनुसार पाँच तारे हुन १ सय कोठा चाहिन्छ । तर, हामीसँग पाँच तारे स्तरकै ६७ कोठा छन् ।’

होटलका कोठाहरु ३ सय स्क्वायर फुटको रहेको शेर्पा बताउँछन् । साथै होटलमा १४ वटा एक्जुएटिभ, नौ वटा जुुनियर सुइट र एक /एक वटा बिजनेश सुइट र प्रेसिडेन्सीयल कोठा पनि रहेका छन् ।

यसअघि कार्पेट उद्योगमा लगानी गरिरहेको एभरेष्ट कार्पेट प्रालीकै सञ्चालकहरु अहिले होटल मलबरी सञ्चालन गर्न लागेका हुन् । सन् १९७६ देखि यो समुहले नेपालमा कार्पेट उत्पादन गर्दै आएको छ ।

एभरेष्ट कार्पेट प्रालीकै सञ्चालकहरु पाल्जोर शेर्पा, कालसाङ शेर्पा र सोनम शेर्पाले यो होटल सञ्चालन गर्न लागेका हुन् । २० वर्ष अघि यो समुहले ठमेलमा ४ रोपनी जग्गा किनेको थियो । सोही जग्गामा नै यो समुहले अहिले ४५ करोड खर्चेर होटल मलबरी सञ्चालनमा ल्याउन लागेको हो ।

होटलमा किम्बु रेष्टुरेन्ट, कोया लाउन्ज , कोकुन स्पा रहन भएको छ । साथै यसले आफ्नो छतमा स्वीमिङ पुल निर्माण गरेको छ । ठमेलमा अहिलेसम्म रहेका होटलमा छतमा स्वीमिङ पुल छैनन् । अब यो होटलनै नै ठमेलमा छतमा स्वीमीङ मुल रहेको पहिलो होटल बन्ने भएको छ ।

यसको स्वीमिङ पुलबाटै नारायणहिटी राजदरबार संग्रहालयदेखि हिमालहरुको समेत अवलोकन गर्न सकिन्छ । यस होटलमा फिटनेश सेन्टर र गिफ्ट सप र बिजनेश सेन्टर पनि राखिएकोे छ । साथै होटलमा ब्यागेजको पनि सुविधा छ जहाँ सामान राखेर बिदेशी पर्यटकहरु उपत्यका बाहिर जान सक्छन् ।

कोठाहरुमा एलइडी टेलिभिजन राखिने भएको छ । साथै यसमा विशेषगरी एचडी क्वालिटीका च्यानलहरु नै विशेष राखिने भएको छ ।
मलबरी होटलका महाप्रबन्धक अमीर कुमार प्रधानाङ्ग भन्छन् ‘अहिले होटलमा टेलिभिजन सेट राम्रा राख्ने तर च्यानलाई ख्याल नगर्ने गरिन्छ, तर हामी यसमा सचेत छाैं, च्यानल पनि एचडी क्वालिटीकै राख्ने छौं ।’ ठमेलमै पाँच तारे होटलको सुविधा लिन चाहनेहरुका लागि आफ्नो होटल उपयुक्त हुने उनको भनाइ छ ।

सन् २०१३ जूनदेखि निर्माण सुरु गरेको यो होटलको निर्माण समूहले गत वर्षदेखि नै सञ्चालनमा ल्याउने सोच बनाएको थियो । तर, भूकम्प र नाकाबन्दीका कारण यसको निर्माण झन्डै ८ महिना निर्माण अवरुद्ध भएको थियो । निर्माण अवरुद्ध भएका कारण यो १ वर्ष ढीलो गरी यही फागुन १८ गतेदेखि सञ्चालन आउने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment