Comments Add Comment

स्थानीय चुनावको मिति घोषणा सोमबार, देशभर एकै चरणमा मतदान

मधेसी मोर्चा पर्ख र हेरको नीतिमा

८ फागुन, काठमाडौं । मधेसी मोर्चाको विरोधका बीच सरकारले भोलि स्थानीय तहको चुनावको मिति घोषणा गर्ने भएको छ । र, वैशाख अन्त्यमा देशभर एकै चरणमा हुनेछ ।

आइतबार विहान बसेको सत्तारुढ कांग्रेस र माओवादीको बैठकमा भोलि सोमबार स्थानीय चुनावको मिति घोषणा गर्ने सहमति गरेको थियो । त्यस अनुसार आइतबार नै निर्वाचन आयोग र मधेसी मोर्चासँग छुट्टाछुट्टै छलफल भएको छ ।

अब कुनै ठूलो राजनीतिक घटनाक्रम नभए भोलि साँझ मन्त्रिपरिषद् बैटकले चुनावको मिति घोषणा गर्नेछ ।

मधेसी मोर्चा पर्ख र हेरको नीतिमा

साँझ अबेर बालुवाटारमा बसेको कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठकमा प्रधानमन्त्री प्रचण्डले चुनाव घोषणा लगतै संविधान संशोधनको प्रक्रिया अघि बढाउने बताए ।

उनले स्थानीय तहको संख्या बढाउने र प्रदेशको सीमांकन हेरफेरका लागि आयोग पनि गठन गर्ने बाचा गरे ।
बैठकमा मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन नभई चुनाव घोषणा नगर्न भनेका छन् । यसो गरे आफूहरु अफ्ठ्यारोमा पर्ने मधेसी मोर्चाका नेताहरुको भनाइ थियो ।

बालुवाटार जानु अघि बसेको मधेसी मोर्चाको बैठकले पनि संविधान संशोधनपछि मात्र चुनाव घोषणा गर्नु पर्ने अडान कायमै राख्ने निर्णय गरेको थियो ।

तर, मोर्चाका नेताहरुले सरकारको व्यवहारमा धेरै कुरा भर पर्ने भन्दै फर्ख र हेरको नीति लिने संकेत गरेका छन् ।

बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले सरकारको दृष्टिकोण र व्यवहार जस्तो आउँछ, त्यस्तो हाम्रो प्रतिक्रिया आउँछ भनेका छन् ।

मधेसी मोर्चाका नेताहरु गम्भीर र जिम्मेवार रुपमा प्रस्तुत भएको सत्तारुढ नेताहरुले बताएका छन् ।

एकै चरणमा चुनाव गर्ने प्रस्ताव

मधेसी मोर्चासँग छलफल गर्नु अघि प्रधानमन्त्री प्रचण्डसहितको टिमले बालुवाटारमा नै निर्वाचन अयोगका प्रमुख आयुक्त र आयुक्तहरुसँग परामर्श गरेको थियो ।

बैठकमा सत्तारुढ दलहरुले आगामी वैशाख अन्तिममा नै स्थानीय तहको चुनाव गर्ने प्रस्ताव राखेका छन् । साथै एकै चरणमा चुनाव गर्ने सत्तारुढ दलहरुको प्रस्ताव छ ।

निर्वाचन आयोगले जेठ १ र २१ गरी दुई चरणमा चुनाव गर्न सरकारलाई सुझाव दिएको थियो । तर, कांग्रेसले वैशाखभित्र चुनाव गर्नु पर्ने दबाव दिइको छ । साथै जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था भएकाले पनि त्यसअघि नै प्रि बजेट छलफलका लागि समय राखेर चुनाव गर्नु पर्ने बाध्यता पनि छ ।

प्रधानमन्त्री निकट स्रोतले भन्यो, वैशाख अन्तिममा एकै चरणमा चुनाव गरौं भनेर प्रस्ताव राखेका छौं । आयोगले प्राविधिक रुपमा अध्ययन गरेर भन्छौं भनेको छ ।’

भोलि लगातार बैठक, सााँझ चुनाव घोषणा

सत्तारुढ कांग्रेस र माओवादीका नेताहरुले स्थानीय चुनावको मिति घोषणाको तयारी लगभग पुरा गरेका छन् ।

अब भोलि चरणवद्ध बैठकहरु राखेर साँझ स्थानीय तहको चुनावको मिति घोषणा हुनेछ । स्रोतका अनुसार भोलि तीन पटकसम्म मन्त्रिपरिषद् बैठक बस्न सक्छ ।

विहानको पहिलो बैठकले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन स्वीकार गर्दै परिर्माजनका लागि टोली बनाउने छ । र, यो टोलीलाई ७ दिनको समय दिइनेछ ।

सीमांकन आयोग गठन लगायतका मधेसी मोर्चासँग भएका सहमति कार्यान्वयनबारे निर्णय गर्न अर्को बैठक बस्नसक्छ । र, साँझ क्याबिनेटबाट वैशाख अन्तिम वा ढिलोमा जेठ १ मा गर्ने स्थानीय चुनाव गर्ने घोषणा हुने स्रोतले बताएको छ ।

माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि भोलि चुनाव घोषणा हुन सक्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment