Comments Add Comment

खप्तडः प्रकृतिको अनुपम उपहार

आँखाले नभ्याउने विशाल फाँटहरु । हिउँदमा सेताम्मे र बैशाख-जेठमा रंगीविरंगी फूलले छपक्कै । प्राकृतिक सुन्दरताको मापन गर्दा स्वर्गको टुक्रा जस्तो ।

यो हो सुदूरपश्चिमको मनोरम पर्यटकीय स्थल खप्तडको विशेषता । खप्तड क्षेत्र प्राकृतिक हिसाबका साथै धार्मिक दृष्टिले पनि निकै महत्वपूर्ण छ । दायाँ-बायाँ खोलाको बीचमा मन्दिर थपक्क बसेको छ ।

खप्तड क्षेत्रको विषयमा धेरै पटक सुनेकोले त्यहाँ जाने रुचि छँदै थियो । प्रत्येक वर्ष कुनै नयाँ गन्तव्यमा जान रुचाउने पोखराका हामी पर्यटन व्यवसायीले यसपालि खप्तड रोज्यौं । खप्तड पुगेपछि यस्तो लाग्यो, जति मन हर्ने यो ठाउँको सुन्तरता छ, त्यस अनुसार प्रचारप्रसार भने हुन सकेको रहेनछ ।

हिउँ त पहिले-पहिले पनि देखिएकै थियो, तर यति बाक्लो हिउँमा पहिलो पटक टेक्न पाउँदा धर्तीको स्वर्गमा पुगे झैं अनुभूति भयो ।

खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी छ । यसका साथै त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगा जस्ता धार्मिक स्थलहरुले खप्तड क्षेत्रलाई विशिष्ट बनाएका छन् । यस क्षेत्रमा ठूला-साना गरी २२ वटा फाँट छन् ।

नेपाल एसोसिएसन अफ टुर अपरेटरस (नाटो) का महासचिव अमर शाही भन्छन्, ‘खप्तड क्षेत्रको प्रचारप्रसार तथा पूर्वाधारको विकास गर्न सकिएमा सुदूरपश्चिमको मात्र नभई देशकै अर्थतन्त्रमा टेवा पुर्‍याउनेछ ।’

कसरी पुग्ने ?

काठमाडौंदेखि धनगढीसम्म ६ सय ५० किलोमिटर बसमा । धनगढीदेखि ८ घण्टाको बसयात्रामा डोटीको सिलगढी पुगेपछि सुरु हुन्छ पैदलयात्रा । बगलेगसम्म जिप पनि चल्ने भएकोले जिप रिजर्भ गरेर पनि जान सकिन्छ ।

सिलगढीदेखि सुरु हुने पैदलयात्राको पहिलो दिन झिगरानामा बास बस्न पुगिन्छ । दोस्रो दिन खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशसँगै त्रिवेणी मन्दिर पुगिन्छ ।

पूर्वाधार नहुँदा धेरै समस्या

कृष्णबहादुर महरा

अध्यक्ष, पर्यटन विकास समाज, धनगढी

खप्तड सुदूरपश्चिमको आर्थिक विकासको ढोका खोल्ने माध्यम हो । यसैले राज्यले यस क्षेत्रको भौतिक पूर्वाधारमा ध्यान दिन आवश्यक छ । खप्तडसम्म पुग्नका लागि पर्यटकलाई चाहिने पूर्वाधार नहुँदा धेरै समस्या रहेको छ ।

बाटो बन्न थालेको दस वर्ष भए पनि अहिलेसम्म पूरा भएको छैन । बीच बाटोमा रहेको बीचपानीमा गेष्ट हाउस बन्न लागेको धेरै समय बिते पनि अझै अपूरै अवस्थामा छ । निकुञ्ज क्षेत्रमा पनि बास बस्ने राम्रो ठाउँ छैन ।

पर्यटकका लागि बास बस्ने सुविधा, खानेपानी लगायतको बारेमा नेपाल पर्यटन बोर्डलाई हामीले धेरै पटक गर्‍यौं । तर, केही सहयोग भएन । खप्तडका नाममा राज्यबाट आएको लाखौं रुपैयाँको सदुपयोग हुन सकेको छैन ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment