Comments Add Comment

एमालेले संकटमा प्रचण्डलाई काँध थाप्छ !

'नेपाल तालिवानीकरणमा जान सक्दैन'

२६ फागुन, काठमाडौं । एमालेले सप्तरी घटनापछि सत्ता गठबन्धन संकटमा पर्न थालेको ठहर गरेका केपीे ओलीका थिंक ट्यांक मानिने एमाले सचिव प्रदीप ज्ञवालीले विश्लेषण गरेका छन् । अनलाइनखबरसँगको कुराकानीमा ज्ञवालीले भने- ‘सत्ता गठबन्धन संकटमा पर्न थालेको छ, तर चुनाव गराउने र संविधान कार्यान्वयन गर्ने शर्तमा एमाले प्रचण्डलाई काँध थाप्न तयार छ ।’

सप्तरी घटनापछि पहिलोपटक बुधवार बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव गराउने निर्णयबाट टसमस नगर्न सुझावमात्रै दिएनन्, कांग्रेसले खुट्टा कमाए आफूले काँध थाप्ने आश्वासनसमेत दिए ।

चुनावको वातावरणका लागि मेची महाकाली अभियान स्थगित गर्न प्रचण्डले गरेको आग्रह ओलीले मानेनन्, बरु आवश्यक परे जुनसुकै बेला आफू अभियान छाडेर काठमाडौं आउने बचनसमेत दिए ।

अनलाइनखबरकर्मी मात्रिका पौडेलसँगको कुराकानीमा एमाले सचिव ज्ञवालीले प्रचण्ड नेतृत्वको सरकार परिवर्तनतिर लाग्नु भनेको चुनाव नहुने अवस्था हो भन्दै एमाले त्यसमा नलाग्ने प्रष्ट पारे ।

सप्तरी घटनापछि मधेसी मोर्चाले सरकारको समर्थन फिर्ता लिने धम्की दियो, त्यसलगत्तै एकाएक तपाईहरु प्रचण्डलाई खुट्टा नकमाऊ, हामी साथमा छौं भन्ने अवस्थामा पुग्नुको राजनीतिक आयाम के हुन सक्छ ?

निश्चय नै सत्तारुढ गठबन्धन संकटमा छ । किनकि अहिलेको संकट सत्तारुढ घटकहरुको संकट हो । मधेसी मोर्चा सत्तारुढ गठबन्धनको एउटा घटक हो । उहाँहरु एउटै कोर्षमा हुनुहुन्छ । तर, अहिले मोर्चाले समर्थन फिर्ता लिने धम्की दिइरहेको छ । अर्कोतिर कांग्रेस विशेष गरी शेरबहावदुर देउवा छिटोभन्दा छिटो प्रचण्डलाई विस्थापित गरेर आफैं प्रधानमन्त्री हुने सपनामा हुनुहुन्छ । यस्तो बेला प्रचण्ड हिजो आफैैंले खेलेको अदूरदर्शी र आत्मघाती खेलको चक्रव्यूहमा नराम्ररी फस्नु भएको छ ।

यो विश्लेषण आफ्नै ठाउँमा होला, तर सप्तरी घटनापछि सरकार परिवर्तनतिर गएकै हो त खेल ?

सप्तरी घटनापछि सत्ता गठबन्धन थप संकटमा परेको छ । तर, जहाँसम्म एमालेको कुरा छ, हामी अहिले सरकार परिवर्तनको साँघुरो दायरामा छैनौं । तपाईलाई प्रष्ट भन्छु, संविधान कार्यान्वयन र निर्वाचनको मूल्यमा सरकार परिवर्तनको छुद्र खेलमा यसमा एमाले छैन ।

तपाईहरु त प्रचण्डप्रति एकाएक नरम देखिन थाल्नुभयो नि ? किन ?

हामीले प्रचण्डप्रति नरम भएर होइन, निर्वाचनको सन्दर्भ र संविधान कार्यन्वयनको सन्दर्भमा अहिलेको सरकार परिवर्तन गर्नुहुँदैन भनेका छौं । सत्ता गठबन्धन संकटमा परेकै कारण अहिले मुलुक सरकार परिवर्तनतिर गयो भने निर्वाचन नहुने निश्चित छ ।

तर, मोर्चाले त निर्वाचन स्थगनका लागि सरकारलाई एक साताको अल्टिमेटम नै दिइसक्यो नि ?

त्यो अवस्थामा हामीले प्रधानमन्त्रीलाई कोट अनकोटमै के भनेका छौं, संविधान कार्यान्वयन र निर्वाचन अघि बढाउने तपाईका कुनै पनि निर्णयमा कुनै पनि कदममा हाम्रो सकारात्मक सहयोग हुन्छ । तपाईलाई संकट पर्दा एमालेलाई सम्भिmनु होला । यो चाहिँ हामीले भनेका छौं ।

म दोहोर्‍याएर भन्छु- संविधान कार्यान्वयन र निर्वाचनको निम्ति प्रधानमन्त्री दृढ संकल्पित हो र त्यसो गर्दा उहाँको खुट्टामा कसैले छिर्के हान्न थाल्यो भने एमाले उहाँलाई सघाउन तयार छ ।

प्रधानमन्त्री संकटमा त परिसक्नुभयो नि, तपाईहरु अभियान नरोक्ने, मोर्चाले चुनाव फिर्ता गर भनेर अल्टिमेटम दिने, गृहमन्त्री र प्रधानमन्त्री गोलीकाण्डबारे अलग अलग कुरा गर्ने । अब सरकार अप्ठ्यारोमा परेको होइन र ?

पहिलो कुरा त सप्तरी घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीबाट जुन बिरोधाभासपूर्ण कुराहरु आइरहेका छन्, यो असाध्यै गैरजिम्मेवार अभिव्यक्ति हो । त्यो घटना हाम्रो विरुद्ध लक्षित भए पनि मान्छेको मृत्यु भएको त्यो घटनाबाट सबैभन्दा दुःखित हामी छौं । त्यो भिड नियन्त्रण नभएको भए र उनीहरु आफ्नो लक्ष्यमा सफल भएको भए तपाई र म यसरी कुरा गर्न पाउदैनथियौं होला । तपाईको अनलाइन पोर्टलमा कतै कुनामा हाम्रो फोटो छापिन्थ्यो होला, यस्तो दुःखद घटना भयो भनेर ।

किनकि उनीहरुको उद्देश्य त हाम्रो सामुहिक हत्या गर्ने नै थियो भन्ने पुष्टि हुँदैछ । तर, अहिले मैले त गोली नचलाउन भनेको थिएँ, मैले घुँडामुनि चलाउनु भनेको थिएँ जस्ता जुन प्रचार गरिएका छन्, त्यो त सस्तो लोकप्रियता हासिल गर्ने गैरजिम्मेवार अभिव्यक्ति नै हो ।

सरकार भनेको चेन अफ कमाण्डबाट चल्छ । साँच्नै गोली नचलाउँदा हुने अवस्था थियो भने सत्यतथ्य बाहिर ल्याउनुपर्छ । होइन भने तल फिल्डमा काम गरेका सुरक्षाकर्मीको मनोबल गिराउने यस्ता गैरजिम्मेवार कुरा किन आइरहेका छन् ? यसले पनि सत्ता संकटमा छ भन्ने प्रकट हुन्छ । यो त हुनु नै थियो । किनकि, हामीले शुरुदेखि नै भनेको हो, यो गठबन्धन अप्राकृतिक र अन्तै कतैबाट बनाइदिएको गठबन्धन थियो ।

त्यही भएर अहिले मौका खोजेर प्रचण्डलाई काँध थाप्न खोज्नुभएको हो त ?

सरकार परिवर्तनले निर्वाचनलाई थप अन्योलमा पार्ने भएकाले हामीले प्रचण्डको साथमा छौं भनेका हौं । प्रचण्डका ठाउँमा शेरबहादुर र रामचन्द्र भएको भए र यस्तो संकट परेको भए पनि एमालेको भनाइ यही नै हुन्थ्यो ।

उनीहरुबीच खटपट छ । किनकि यो सरकार बनाउने बेलामा नै नौ नौ महिनाको सहमति भएको छ । अब नौ महिना सकिँदैछ । यसका लागि एउटा फुर्को छ स्थानीय चुनाव । उनीहरुबीच स्थानीय चुनाव प्रचण्डले गराउने र प्रदेश तथा प्रतिनिधिसभाको चुनाव देउवाले गर्ने भन्ने सहमति गरेर नौ नौ महिनाको यात्रा तय भएको हो । आउने चुनावसम्म यो सत्ता समीकरण जोडिएको छ । यस्तो अवस्थामा चुनाव गराउने वातावरण बिगि्रन नदिन प्रचण्डलाई संकट परे हामी काँध थाप्छौं भनेको हो एमालेले ।

तर, हाम्रो उद्देश्य अहिले सरकार परिवर्तनको औचित्यहीन खेलमा लाग्ने भन्दा पनि वृहत्तर सहमति गरेर संविधान कार्यान्वयन गर्न प्रमुख शक्तिहरु मिलौं भन्ने हो ।

यसको मतलब, वृहत्तर सहमति गरेर राष्ट्रिय सहमतिको सरकार गठन गरौं भन्ने हो ?

हामी अहिले पनि वृहत्तर राष्ट्रिय सहमतिको पक्षमा छौं । त्यही भएर हामीले दोस्रो संविधानसभापछि नै माओवादी बाहिर हुँदा माओवादीसहित सरकार बनाउन खोज्यौं । माओवादी आफ्नै कारणले बाहिरियो ।

संविधान जारी भएपछि कसले कैलाश चिया खुवाइदियो, कांग्रेस मुड चेञ्ज गरेर बाहिरियो । त्यसपछि ऊ लोकपि्रय सरकार ढाल्न खतरनाक डिजाइनमा लाग्यो ।

अब फेरि यो अस्थिरताको विकल्प फेरि कांग्रेस वा माओवादीलाई बाहिर राखेर बन्ने सरकार हुन सक्दैन । साँच्चै सहमति हो भने वृहत्तर सहमति गरौं, मुद्दामा सहमति गरौं, अनिमात्र राष्ट्रिय सरकार हुन सक्छ । वृहत्तर सहमतिका मुद्दा एक ठाउँमा आए भने राष्ट्रिय सरकार बन्न सक्ला । तर, अहिले मुद्दा जहाँको त्यहीँ राख्ने सरकार फेर्ने खेलले केही हुदैन ।

मुद्दा त मिलेकै छ नि, तपाईहरु तीनै पार्टीको मुद्दा संविधान कार्यान्वयन (चुनाव) होइन र ?

होइन, मुद्दा मिल्दैन । कांग्रेसले संविधान संशोधनलाई निर्वाचनको पूर्वशर्तजस्तो बनाइरहेको छ । कहिले काहीँ प्रचण्डमा पनि त्यो देखिन्छ । हामी त्यसमा सहमत छैनौं ।

राष्ट्रिय सहमतिको सरकार बनाएर पनि मुद्दालाई व्यवस्थापन गराउन सहज होला नि ?

त्यसमा सबैभन्दा पहिले कांग्रेसले आफ्ना नीतिमा पुनरावलोकन गर्नुपर्छ । कांग्रेसले ओली सरकार बन्दै गर्दा तथाकथित सिद्धान्त आविश्कार गरेको छ । संसदका दुई ठूला दल मिलेर सरकार बनाउनुहुँदैन भनेर । यो तथाकथित सिद्धान्तको मूल्य आज मुलुकले चुकाउनुपरेको हो । जब कि सुशील कोइरालाका पालामा एमालेसहित सरकार बनाउँदा उहाँहरुलाई त्यो सिद्धान्त चाहिएन ।

जबसम्म उहाँहरुले एमाले र कांग्रेस संविधान कार्यान्वयन गर्ने सहयात्री हुन् भन्ने सोच्नुहुन्न, शीतयुद्धकालीन चश्मा लगाएर एमालेलाई जहिल्यै प्रतिद्वन्द्वीमा मात्रै मान्नुहुन्छ, त्यो बेलासम्म त्यो बहसको सान्दर्भिकता हुँदैन ।

अलि फरक प्रसंगमा जाउँ, एकातिर प्रचण्डलाई काँध थाप्न तयार हुने, अर्कोतिर चुनावका लागि केही दिन अभियान रोक्नु भन्दा पनि नमान्ने तपाईहरुको दोहोरो चरित्र भएन र ?

हामीले अभियान फेरि शुरु गर्नुका पछाडि मुख्य तीन कारण छन् ।

एकः सप्तरी घटनाको संवेदनशीलता बुझेर सरकारको समेत आग्रहमा प्रदेश नम्बर २ का कार्यक्रम हामीले स्थगित गरेका हौं । किनकि त्यहाँ मधेसी मोर्चाका कार्यकर्ता अपराधिक समूहसँग मिलेर आक्रमणमा उत्रिएपछि हामीले त्यहाँको अवस्था साम्य नभएसम्म मुलुकका बाँकी भागमा अभियान लैजान खोजेको हो ।

दुईः कुनै अराजक र अपराधिक समूहले कुनै पार्टीलाई मुलुकको फलानो भूभागमा पस्नै दिन्न, कार्यक्रम गर्नै दिन्न भन्ने कुरा सामाजिक फासिवाद हो । कि त सिंगो मुलुकले सामाजिक फासिवादीसँग आत्मसमर्पण गर्नुपर्‍यो, होइन भने राजनीतिक दलको कार्यक्रम निरन्तर अघि बढ्छ, सुरक्षा सरकारले दिने हो ।

तीनः निर्वाचनको प्रतिबद्धता त सरकारबाट आएको छ तर सरकार धरमराउन थालेको अनुभूति हामीले गरेका छौं । निर्वाचन जसरी पनि हुनुपर्छ भन्ने दबाब दिनका लागि पनि हामीले मेची महाकाली अभियान जारी राखेका हौं ।

तर, चुनावको वातावरण बनाउने दायित्व त एमालेको पनि हो, तपाईहरु अभियान लिएर हिँडेपछि यता सरकारसँग संवाद त टुट्ने नै भयो होइन ?

हामी वार्ताको टेबुलमा छौं र निरन्तर संवादमै छौं । हिजैमात्र प्रधानमन्त्रीसँग कुरा भएको छ । अन्य दलसँग पनि दुई पक्षीय, त्रिपक्षीय वार्ता भएका छन् ।

हामी तराई मधेसमा जानुको अर्थ चुनावमा जनतालाई केन्दि्रत गर्नकै लागि हो । तर, राजधानीका महत्वपूर्ण क्याम्पसमा चुनाव नगराउने र सुरक्षा दिन नसक्ने गृहमन्त्रीले यो अभियानमा किन नकारात्मक ढंगले लिनुभयो ? यसमा हाम्रो प्रश्न चाहिँ रहेको छ । यसबाट पनि उहाँहरु चुनाव गराउनबाट पछि हट्ने आशंका हामीलाई भएको छ ।

कुनै अप्रिय घटना हुँदैछ भन्ने जान्दा जान्दै एमाले राजविराज किन गएको ? यो प्रश्न पनि उठेको छ । तपाईहरुले हठ नदेखाएको भए के हुन्थ्यो ?

यस्ता कुतर्कले समाजमा हुर्कदै गएको तालिवानी शैलीलाई मलजल गर्नेबाहेक अरु केही पनि हुन्न । नेपाल तालिवानीकरणमा जान सक्दैन । अहिले चलिरहेको डिस्कोर्स हामीले पनि हेर्दैछौं । एकथरी मान्छे एमाले यस्तो बेला तराई झर्नु हृुँदैथ्यो भन्दैछन् । यस्ता तर्क भोलाभाला हुन सक्छन् । तर, यी तर्कले त तालिवानीकरणसँग आत्मसमर्पण गर्नुपर्छ भन्ने कुरालाई प्रश्रय दिइरहेका छन् । यस्ता कुराले मुलुकलाई सामाजिक फासिवादीकरणतर्फ लैजान्छ ।

तपाईहरुले राजविराजमा एमाले नेतृत्वको सामुहिक हत्या गर्ने सुनियोजित षडयन्त्र थियो भन्नुभएको छ, यो कुनै प्रमाणका आधारमा भन्नुभएको हो कि भावनात्मक मात्रै ?

हामी विनाप्रमाण यस्तो भनिरहेका छैनौं । पुख्ता प्रमाणहरु पाइएको छ र कतिपय भेरिफाइ गर्दैछौं । यसको पुष्टि गर्ने केही पूर्वाधार पनि छन् ।

हामीले मधेस अभियान शुरु गर्नुअघि नै अर्को गौर काण्ड हुँदैछ भनेर कथित मधेसी अधिकारकर्मी र मधेसका मसिहाहरुले खुबै प्रचार गरे । उनीहरुले योजनावद्ध रुपमा यस्तो आतंकपूर्ण वातावरण हुँदैछ भनेर सम्प्रेषण गरे । खासमा यस्तो माहौल बनाएर सकेसम्म एमालेको मूल नेतृत्व पूरै सिध्याउने षडयन्त्र भएको रहेछ ।

कार्यक्रमस्थलमा व्यवसायिक अपराधीहरुले बम राखेका थिए । सेनाले निष्क्रिय पारेको हो । कार्यक्रम सकेर हामी फर्किन लाग्दा दक्षिणतिरको भीड सुरक्षा घेरा नाघेर अघि बढ्यो । उनीहरुको आक्रमण मुख्य नेताहरुमाथि लक्षित थियो । उनीहरु पर्खाल नाघेर पेट्रोल बम हान्दै हामी भएतिर आइरहेका थिए । सुरक्षाकर्मीले नरोकेको भए त्यहाँ एमाले नेतृत्वको सामुहिक हत्या हुने थियो ।

अरु केही थप सूचना आएका छन्, हामी भेरिफाइ गर्दैछौं । केही सूचना सरकारलाई दिएका छौं र केही सरकारी संयन्त्रबाट पाएका छौं । हामीलाई सिध्याउन केही पेशेवर अपराधी बाहिरबाट भित्रिएको आधिकारिक सूचना छ । यसले हामीलाई गम्भीर बनाएको छ र मधेसी मोर्चाका नेताहरुमाथि प्रश्न उठेको छ ।

मोर्चाका नेताहरुले त यो हाम्रो नीति होइन, मधेसमा कार्यक्रम गर्नोस्, अवरोध गर्दैनौं भन्न थालेका छन् नि ?

यो सबैभन्दा डरलाग्दो पक्ष हो । मोर्चाको आवरणमा जे जस्ता अपराधिक घटना भइरहेका छन्,त्यसबारे नेताहरु किन मौन भए ? हिंसाका बारेमा मोर्चाले आधिकारिकरुपमा नबोलेसम्म के भन्न सकिन्छ भने मोर्चा नेता र अपराधिक समूहको सीमारेखा मेटिँदैछ मधेसमा । को कुनबेला बम बोकेर जुलुसमा आउँछ, भन्न सकिन्न ।

मोर्चाले यसरी हिंसाको सहारा लिनु दुःखद कुरा हो । हामी हिंसाबाट होइन, स्वस्थ बैचारिक प्रतिस्पर्धाबाट मधेसी जनतालाई हाम्रा एजेण्डा सुनाउन चाहान्छौं ।

संविधान संशोधन भयो भने मधेसी मोर्चाजस्तो मध्यमार्गी शक्ति मूलधारमा आउँछ र देश सहज बाटोमा जान्छ भन्ने कुरा भूलेर तपाईहरुले संविधान संशोधनको बिरोध गर्दै मधेस पस्नु गलत समय भएन र ?

मधेसी मोर्चाका नेताले बारम्बार हामी मध्यमार्गी हौं, हामी कमजोर हुँदा अपराधीहरु, विखण्डनकारीहरु बलिया हुन्छन् भन्नुहुन्छ । तर, मोर्चा दिग्भ्रमित, अन्योलग्रस्त र दोहोरो भूमिकामा गयो । मधेसी मोर्चाको दुई राष्ट्रियताको खतरनाक अवधारणसँग एमाले कुनै हालतमा सहमत हुन सक्दैन ।

उहाँहरुमा अंगीकृत मोहमा फसेर मधेसीलाई यहाँका धर्तीपुत्र मधेसीलाई अल्पमतमा पार्ने, नेपाल पहाड र मधेस दुई राष्ट्रिय राज्य हो भन्ने कुरा स्थापित गरेर हिन्दी भाषालाई सम्पर्क भाषा बनाउँदै यहाँका स्थानीय भाषा सिध्याउने खेलमा हुनुहुन्छ । हामी यसका लागि संविधान संसोधनमा समर्थन गर्न सक्दैनौं ।

मोर्चासँगको यो वैचारिक विमति लामो समयसम्म जान सक्छ । तर, मोर्चाका कार्यकर्ता बम बोकेर हामीमाथि आक्रमण गर्न आउँछन् भने मोर्चाले हिंसाका बारेमा आफ्नो धारणा प्रष्ट पार्नुपर्छ ।

यसले त मोर्चालाई झन् पर धकेल्ने र चुनाव पनि नहुने अवस्था आउने भो नि हैन र ?

मोर्चाका गलत मान्यता स्वीकार गरेर चुनावमा जानका लागि हामी संविधान संशोधनका पक्षमा उभिन सक्दैनौं यसमा सबै प्रष्ट भए हुन्छ । उनीहरुमध्येकै केही शक्ति र केही नेता सम्पूर्णरुपमा सम्बन्ध विच्छेद गरेर जातीय युद्धमा जानुपर्छ भन्दैछन् ।

हुन त यसअघि जेपी गुप्ताजीले पनि मधेसलाई जाफ्ना बनाउने भनेकै हुन् । मधेसी मोर्चाको नियत नबुझेकाहरुले यति मान्दै हुन्थ्यो भन्छन्, तर उनीहरुको नियत अर्कै छ ।

संविधान संशोधन गर्न नमान्दा मुलुक यो भन्दा ठूलो गृहयुद्धतर्फ जान सक्ने खतरा तपाईहरु देख्नुहुन्न ?

यो त एकथरीले त्यहीँ भित्रै भनिरहेका छन् । तर, संविधान संशोधनको अहिले जुन विधेयक छ, त्यो पारित भए पनि मोर्चाले मान्दैन । यसअघि हाम्रै अग्रसरतामा संविधानमा पहिलो संशोधन भयो ।

कांग्रेसले यति गरेपछि मोर्चा मान्छ भनेर जिम्मा लिएकै हो नि । तर, उनीहरुले त्यसमा स्व्ाामित्व लिएनन् र अरु माग राखे । अहिले नै मोर्चाले यथास्थितिमा संशोधन मान्य हुँदैन, परिमार्जनसहित पारित हुनुपर्छ भनिसकेको छ । यो परिमार्जन भनेको झापादेखि कञ्चनपुरसम्मको समथर भूभागलाई पहाडबाट सम्पूर्ण रुपमा अलग गर्नुपर्छ र नेपालमा दुई राष्ट्रियता छन् भनेर संविधानमै स्वीकार गर्नुपर्छ भन्ने हो ।

उनीहरुले यो विधेयकलाई त्यसतर्फ जाने एउटा खुड्किलो मात्र बनाएका हुन् । हामी यो कुरा बुझेरै संविधान संशोधनको विपक्षमा उभिएका हौं ।

पहिलो चरणमा तराई र पहाडलाई बिल्कुल फरक प्रशासनिक इकाइ बनाउने, दोस्रो चरणमा सम्पर्क भाषा हिन्दी बनाउने र तेस्रो चरणमा अंगीकृत नागरिकलाई मुलुकका संवैधानिक पदमा पुर्‍याउने बाटो खोलेर नेपाललाई फिजीकरण गर्ने सुनियोजित दाउ हो । यसमा एमाले कुनै हालतमा सहमत हुन सक्दैन ।

तर, संविधान संशोधनमा तपाईहरु लचिलो बन्ने हो भने कमसेकम निर्वाचन शान्तिपूर्वक हुन्थ्यो नि ?

हामीले लचिलो बन्ने भनेको, संसदभित्र प्रक्रियाबाट विधेयकलाई टुंगो लगाउन सहयोग गर्छौं भनेका छौं । यो संविधान विपरीतको विधेयक संसदमा छलफल नै नहुनुपर्ने हो, तर हामी लचिलो भएरै प्रक्रियामा जाउँ भनेका छौं । कसैको नियत नै गलत छ भने जति गरे पनि हुन्न । उहाँहरुको मनसाय नै बेग्लै छ । मोर्चा कार्यकर्ता र सशस्त्र समूहका बीच भेद मेटिँदै जाने अवस्था देखिएको छ । मोर्चाले पहिले त्यसबारे प्रष्ट पार्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment