Comments Add Comment

वरीयतामा थापा अघि भएपछि निधिको आपत्ति

७ चैत, काठमाडौं । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगत्तै  नवनियुक्त उपप्रधानमन्त्री कमल थापालाई राखिएकोमा अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधिले आपत्ति जनाएका छन् ।

थापाभन्दा पछि राखिए मान्य नहुने भन्दै उनले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन् । प्रधानमन्त्री प्रचण्डले गत २६ फागुनमा थापालाई उपप्रधानमन्त्रीसहित स्थानीय विकासमन्त्री नियुक्त गरेका थिए । थापाले दोस्रो वरीयताको दाबी गरे पनि स्पष्ट थिएन । बिहीबार (३ चैत) बसेको मन्त्रिपरिषद् बैठकबाट प्रचण्डले आफूपछिको वरीयतामा थापालाई राखे । त्यतिवेला निधि नयाँदिल्लीमा थिए ।

त्यसअघिसम्म निधि प्रधानमन्त्री प्रचण्डपछि दोस्रो वरीयतामा थिए । उनलाई प्रचण्डले आफ्नो अनुपस्थितिमा कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिँदै आएका थिए । शनिबार स्वदेश फर्केपछि कांग्रेस मन्त्रीहरूले मन्त्रिपरिषद् बैठकबारे ब्रिफिङ गरेपछि निधि आक्रोशित बनेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

उनले आइतबार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आपत्ति मात्रै जनाएका छैनन्, उक्त निर्णय आफूलाई स्वीकार्य नहुने चेतावनी पनि दिएका छन् । आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसबारे कांग्रेसका प्रभावशाली नेताहरूको बैठक बोलाएर छलफल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment