Comments Add Comment

यी हुन् थपिएका गाउँपालिका र नगरपालिका (सूचीसहित)

१० जेठ, काठमाडौं । सरकारले विराटनगर र वीरगञ्जलाई महानगर बनाउनुका साथै २२ स्थानीय तह थप्ने र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय त गर्‍यो । तर, स्थानीय तहको चुनाव हुन २० दिन बाँकी छँदा पनि नयाँ स्थानीय तहबारे सबै बेखबर छन् ।

थपिएका तथा स्तरोन्नती भएका स्थानीय तहको डकुमेन्ट अनलाइनखबरले फेला पारेको छ ।

झापा गाउँपालिका बन्यो नगर

सरकारले झापाका ३ गाउँपालिकालाई नगरपालिकामा स्तरउन्नती गरेको छ । सरकारले झापाको कमल गाउँपालिकालाई नगरपालिका बनाउने निर्णय गरेको हो । उक्त नगरपालिकाको केन्द्र साविक कमलामाई गाउँपालिका कार्यालय तोकिएको छ ।

बुद्धशान्ति गाउँपालिका पनि नगरपालिका भएको छ र साविकको झापा गाउँपालिका कार्यालयलाई केन्द्र तोकिएको छ । जिल्लाकै महत्वपूर्ण झापा गाउँपालिकालाई नगरपालिका बनाइएको छ । यस्तै भद्रपुर नगरपालिकाको वडा संख्या बृद्धि गरेको छ । वडा नम्बर ५ र ६ लाई टुक्र्याएर वडा नम्बर ५, ६ र ११ कायम गरेको छ ।

मोरङमा महानगर थपियो, वडाको हेरफेर

सरकारले मोरङको विराटनगर उपमहानगरपालिकालाई महानगरमा स्तरउन्नती गरेको छ । बुढीगंगा गाउँपालिकाको वडा नम्बर १, २ र ३ र जहदा गाउँपालिकाको वडा नम्बर १ लाई विराटनगर उपमहानगरमा गाभेर महानगर घोषणा गरिएको हो । यस्तै बुढीगंगा गाउँपालिकाको नाम परिवर्तन गरेर मोधा बुढिगंगा नामाकरण गरिएको छ । यसको केन्द्र साविक हातिमुढा गाविस कार्यालय छ ।

सुनसरीमा २ गाउँपालिका थपियो, वडाहरु व्यापक हेरफेर

सरकारले इनरुवा नगरपालिकाको वडा नम्बर ६ लाई झिकेर गढी गाउँपालिकामा समावेश गरेको हो । यस्तै गढी गाउँपालिकाको वडा नम्बर ५ र ६ तथा इनरुवा नगरपालिकाको वडा नम्बर १० लाई हरिनगरा गाउँपालिकामा गाभेको छ । हरिनगरा गाउँपालिकाको वडा नम्बर १, २, ५, ६ र ७ लाई मिलाएर नयाँ भुटाहा गाउँपालिका बनाएको छ । उत्त गाउँपालिकाको केन्द्र साविकको भुटाहा गाविसको कार्यालयलाई तोकिएको छ ।

यस्तै कोशी गाउँपालिकाको वडा नम्बर १, २ र ३ तथा बराह नगरपालिकाको वडा नम्बर ११ लाई समावेश गरी लौकही गाउँपालिका थप गर्ने निर्णय गरेको छ । उक्त गाउँपालिकाको केन्द्रको रुपमा साविकको लौकही गाविस कार्यालयलाई तोकिएको छ ।

सप्तरीमा एक गाउँपालिका थप

सप्तरीको वोदेवरसाइन नगरपालिकाको वडा नम्बर ७, ८, ९, १०, ११ र १६ लाई झिकेर नयाँ झिकी वलान-विहुल गाउँपालिका बनाइको छ । नयाँ बनेको गाउँपालिकाको केन्द्र साविकको मल्हनिया गाविसको कार्यालयलाई तोकिएको छ ।

यस्तै छिन्नमस्ता गाउँपालिकाको वडा नम्बर १ झिकी वेल्हिचपेना गाउँपालिकाको वडा नम्बर ६ कायम गर्ने र छिन्नमस्ता गाउँपालिकाको वडा नम्बर ८ लाई छिन्नमस्ता गाउँपालिकाको वडा नम्बर १ कायम गर्ने निर्णय गरेको छ ।

सरकारले कञ्चनरुप नगरपालिकाको वडा न. ११ लाई कृष्णसवरन गाउँपालिमा लगेर वडा नम्बर ६ बनाएको छ । र, कृष्णसवरन गाउँपालिकाको नाम परिवर्तन गरी अग्नीसाइर कृष्णसवरन गाउँपालिका बनाएको हो ।

यस्तै डाक्नेस्वरी नगरपालिकाको वडा नम्बर १० लाई शम्भुनाथ नगरपालिकामा गाभेको छ भने विष्ण्ुापुर गाउँपालिकाको वडा नम्बर ५ लाई राजविराज नगरपालिकामा समावेश गरेको छ ।

सिराहामा सामान्य हेरफेर

जिल्लाको कर्जन्हा गाउँपालिकालाई नगरपालिकामा स्तरउन्नती गरिएको छ । नगरपालिकाको केन्द्र कर्जन्हा बजारलाई तोकेको छ ।

धनुषामा नगरपालिका थपियो

सरकारले धनुषामा नगरान नगरपालिकाको वडा नं ९, औरही गाउँपालिाकाको वडा नं ५, ६, ७ र ८ लाई मिसाएर नयाँ धनौजी गाउँपालिका सृजना गरेको । साविक धनौजी गाविस कार्यालयलाई उक्त गाउँपालिकाको केन्द्र तोकिएको छ । र, नगराइन वडा नम्बर १० लाई जनकपुर उपमहानगरपालिकामा गाभेर नगराइन नगरपालिकामा जम्मा ९ वटा मात्र वडा कायम गरेको छ ।

यस्तै सरकारले कमला सिद्धिदात्री गाउँपालिकालाई कमला नगरपालिका कायम गर्ने निर्णय गरेको छ । हंसपुर गाउँपालिकालाई हंसपुर नगरपालिका, मिथिला विहारी गाउँपालिकालाई मिथिला विराही नगरपालिका बनाउने निर्णय गरेको छ ।

महोत्तरीमा ७ वटा नगरपालिका थपियो

सरकारले महोत्तरीमा ७ गाउँपालिकालाई नगरपालिका बनाएको छ । बलवा र लोहारपट्टी गाउँपालिका नगरपालिका भएका छन् । एकडारा गाउँपालिकाको वडा नम्बर ५ र ६ लाई मनरा गाउँपालिकामा गाभेर नयाँ मनराशिसवा नगरपालिका बनाएको छ ।

यस्तै रामगोपालपुर गाउँपालिका, औरही गाउँपालिका, मटिहानी गाउँपालिका र भंगाहा गाउँपालिकालाई त्यही नाममा नगरपालिकामा स्तरउन्नती गरेको छ । यस्तै वर्दिवास नगरपालिकाको १ नम्बर वडालाई फुटाएर वडा संख्या बढाएको छ ।

सर्लाहीमा ३ गाउँपालिका र एक नगर थपियो

सरकारले ब्रम्हपुरी गाउँपालिकको वडा नं ६ र ७ तथा हरिपुर्वा नगरपालिकाको वडा नम्बर १,२,३ र ४ लाई गाभेर नयाँ पर्सा गाउँपालिका थप गरेको छ । यस्तै चक्रघट्टा गाउँपालिकाको ६, ५ र ७ वडा र विष्णु गाउँपालिकाको ९, १०, ११ र १२ वडालाई गाभेर नयाँ कौडेना गाउँपालिका बनाएको छ । यस्तै धनकौलीको ५ वटा वडा र चक्रघट्टा गाउँपालिकाको एउटा वडालाई मिलाएर छुट्टै नयाँ बसबरीया गाउँपालिका गठन गरेको छ ।

यस्तै कविलासी गाउँपालिकालाई नगरपालिकामा स्तरउन्नती गरिएको छ । यता बलरा नगरपालिकाको वडा नम्बर ६ लाई गोडैटा नगरपालिकामा गाभेको छ । यस्तै रामनगर गाउँपालिकाको ३ वडालाई धनकौल गाउँपालिकामा लगेर राखेको छ ।

रौतहटमा नगरै नगर

सरकारले रौतहटको गौर नगरपालिकाको ७ वटा वडालाई समेटेर छुट्टै राजदेवी नगरपालिका गठन गरेको छ । यसको केन्द्र राजदेवी गाविसको कार्यालयलाई तोकिएको छ ।
यस्तै गौर नगरपालिकाको १३ नम्बर वडा र अन्य दुई गाउँपालिकाको केही वडालाई समेटेर नयाँ यमुनामाई गाउँपालिका गठन गरिएको छ । गाउँपालिकाको केन्द्र सरुअठा गाविसको कार्यालयलाई तोकेको छ ।

यस्तै बौधीमाई गाउँपालिका, वृन्दावन गाउँपालिका, देवाही गोनाही गाउँपालिका र गढीमाइ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय गरेको छ । गजुरा, कटहरीय, माधवनारायण, ईशनाथ, परोहा, राजपुर, फतुवा विजयपुर र मौलापुर गाउँपालिकालाई पनि नगरपालिकामा स्तर उन्नती गर्ने निर्णय गरेको हो ।

बारामा पनि थपियो संख्या

फेटा र प्रसौनी गाउँपालिकाको केही वडाहरुलाई मिलाएर विश्रामपुर गाउँपालिका गठन भएको छ । पचरौता गाउँपालिकालाई नगरपालिकामा स्तरउन्नती गरेको छ ।

वीरगञ्ज बन्यो महानगर

सरकारले पर्साको वीरगञ्ज उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरउन्नती गरेको छ ।

यस्तै सुवर्णपुर र सुगौली गाउँपालिकाको केही वडाहरु मिलाएर जिरा भवानी गाउँपालिका गठन गरेको छ । नयाँ गाउँपालिकाको केन्द्र सेढवा गाविसको कार्यालयलाई तोकेको छ ।

पोखरीया नगरपालिकालाई फुटाएर नयाँ कालिकामाई गाउँपालिका गठन गरेको छ । केन्द्र चाँही मुड्ली गाविसको कार्यालयलाई तोकेको छ । यस्तै सुवर्णपुर गाउँपालिकाको नाम परिवर्तन गरि ठोरी गाउँपालिका बनाएको छ । यस्तै बहुदरमाई गाउँपालिका र पर्सागढी गाउँपालिकालाई नगरपालिका बनाएको छ ।

रुपन्देहीमा नगर र गाउँ दुबै थपियो

रुपन्देहीको कञ्चनपुर गाउँपालिका, कोटइमाई गाउँपालिका, मायाँदेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकालाई नगरपालिकामा स्तरउन्नती गरिएको छ । सम्मरीमाई गाउापालिकाको ५ वटा वडालाई मिलाएर छुट्टै नयाँ समयमाई गाउँपालिका बनाइएको छ ।

यस्तै देवदह नगरपालिका, ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिकाको केही वडालाई मिलाएर नयाँ महाव गाउँपालिका बनाएको छ । यसैगरी गैडहवा गाउँपालिका, मायाँदेवी गाउँपालिकाको केही वडालाई मिसाएर नयाँ किसान गाउँपालिका गठन गरेको छ । त्यसको केन्द्र सूर्यपुरा गाविस कार्यालयलाई तोकेको छ ।

कपिलवस्तुमा बन्यो गौतमबुद्ध गाउँपालिका

कपिलवस्तुमा विभिन्न गाउँपालिकाको वडालाई फुटाएर नयाँ गौतमबुद्ध गाउँपालिका थप गर्ने निर्णय गरेको छ । यसको केन्द्र साविकको हरनामपुर गाविसको कार्यालय तोकिएको छ ।

कृष्णनगर, अजिगरा, भिल्मी, पुरुषोत्तमपुर, शिवराज नगरपालिका महाराजगञ्ज नगरपालिकाको केही वडाहरु मिलाएर नयाँ बहादुरगञ्ज गाउँपालिका बनेको छ । यस्तै अर्को एउटा कनकमुनी गाउँपालिका थप गर्ने निर्णय गरेको छ ।

कैलाली र बाँकेमा पनि गाउँपालिका थपियो

बाँकेको खजुरा गाउँपालिकालाई नगरपालिका बनाइएको छ । यस्तै राप्ती गाउँपालिकाको केही वडा र साविकका केही गाविसलाई मिलाएर नयाँ सोनारी गाउँपालिका बनाइएको छ ।

यसैगरी कैलालीको जानकी गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय भएको छ । यसैगरी कैलारी गाउँपालिकाको केही वडा र गौरीगंगा नगरपालिकाको केही वडालाई मिलाएर नयाँ मोहना गाउँपालिका बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment