Comments Add Comment

ट्रेकिङ गर्न आउने विदेशी पर्यटक बढे, तर सन्तुष्ट छैनन् व्यवसायी

१५ जेठ , काठमाडौं । भूकम्प तथा भारतको अघोषित नाकाबन्दीका कारण थलिएको ट्रेकिङ व्यवसायमा यस वर्ष आशाको सञ्चार भएको छ । चालु सिजनमा टे«किङमा जाने विदेशी पर्यटकको संख्या तीव्र बृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपक जोशीले नेपाल सुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायमा गएसँगै ट्रेकिङमा जाने पर्यटक बढेको बताए ।

उनले भने ‘अब पर्यटक बढे भनेर ढुक्कै भएर बस्ने स्थिति नभए पनि यो बर्ष ट्रेकिङमा जाने पर्यटक उल्लेखनीय रुपमा बढेका छन् । ’

पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार यो वर्ष अन्नपुर्ण, मनास्लु र गौरीशंकरमा पदयात्रीहरुको खुबै आकर्षण बढेको छ । नेपाल सरकारले झण्डै ७० वटा रुटलाई आधिकारीकता दिएको छ । टानका कोषाध्यक्ष कर्ण लामा भने देशमा झण्डै १ सय वटा ट्रेकिङ रुट भएको बताउँछन् । त्यसमध्ये १५ वटा जति रुटहरु भने धेरै पर्यटकहरुको रोजाइमा पर्ने गरेका छन् ।

पर्यटन बोर्डका अनुसार सन् २०१५ को अप्रिलसम्ममा अन्नपुर्ण ट्रेकिङ जान १२ हजार ३ सय २० जना बिदेशी पर्यटकले अनुमति लिएका थिए । तर सन् २०१६ को सोही अवधिमा भने यो घटेर ११ हजार ७ सय ५७ मा सिमित रह्यो । सन् २०१७ को अप्रिलसम्ममा भने अन्नपुर्ण ट्रेकिङ जानको लागि १८ हजार ५० जनाले अनुमति लिएका छन् । यि विदेशी पर्यटक सबै सार्क राष्ट्र बाहिरका हुन् ।

सार्क राष्ट्र भित्रका पर्यटकहरु पनि यो वर्ष अन्नपुर्ण ट्रेकिङमा जानको लागि ठुलो संख्यामा भित्रिएका छन् । सन् २०१५ को अप्रिलसम्ममा २ हजार ८ सय ८९ जना सार्क राष्ट्र भित्रका पर्यटकहरुले अनुमति लिएका थिए । सन् २०१६ मा यो घटेर १ हजार ७ सय ५२ मा सिमित हुन पुग्यो । तर सन् २०१७ को अप्रिलसम्ममा भने सार्क राष्ट्र भित्रका ४ हजार ५ सय ५२ जनाले अन्नपुर्ण ट्रेकिङमा जानको लािग अनुमति लिएका छन् ।

त्यसैगरि मनास्लु क्षेत्रमा पनि यो वर्ष ट्रेकिङमा जानेहरुको संख्या बढेको छ । सन् २०१५ को अप्रिलसम्ममा मनास्लु क्षेत्रमा ट्रेकिङमा जान ७ सय १७ जनाले अनुमति लिएका थिए । सन् २०१६ को अप्रिलसम्ममा ६ सय ४५ मा जनाले अनुमति लिएकोमा चालु आर्थिक वर्षको अप्रिल महिनासम्ममा भने १ हजार १ सय १ जनाले अनुमति लिएका छन् ।

सन् २०१५ को अप्रिल महिनासम्ममा १ सय २९ जनाले गौरीशंकर क्षेत्र ट्रेकिङ जानको लािग अनुमति लिएकोमा सन् २०१६ को सोही अवधिमा १ सय ८९ जनाले अनुमति लिएका थिए भने यो वर्षको अप्रिलसम्ममा १ सय ९८ जनाले अनुमति लिएका छन् ।

सन्तुष्ट छैनन् पर्यटन व्यवसायी

पर्यटकको संख्यामा बिगतका वर्षहरुको तुलनामा सुधार आएको पनि पर्यटन व्यवसायीहरु भने सन्तुष्ट हुन सकेका छैनन् । पर्यटकको संख्यामा बृद्धि भएपनि व्यवसायमा भने सुधार नआएको उनीहरु दावी गर्छन् ।

टानका कोषाध्यक्ष कर्ण लामाले ट्रेकिङमा जाँदा गाइड अनिवार्य नगरिएका कारण यस क्षेत्रको व्यवसायमा अहिले खासै सुधार हुन नसकेको बताए । अहिले बिदेशी पर्यटकहरुले डोल्पा र मुस्ताङ क्षेत्रमा मात्रै ट्रेकिङ गाइड लिएर जानुपर्ने बाध्यता छ । अन्य ट्रेकिङ रुटमा पर्यटक आफै एक्लै पनि यात्रा गर्न सक्छन् ।

लामा भने सबैजसो ट्रेकिङ रुटमा गाइड अनिबार्य गराउनु पक्षमा छन् । उनी भन्छन्, ‘केही बिदेशी पर्यटक बढे होला, केही होटललाई राम्रो भयो होला, तर कतिलाई रोजगारी मिल्यो भन्ने पनि हामीले सोच्न जरुरी छ । बिदेशका धेरै देशमा ट्रेकिङ गाइड बाध्यात्मक छ, तर हाम्रोमा छैन ।’

होटल क्षेत्रका व्यवसायी पनि पर्यटक बढेर सन्तुष्ट छैनन् । होटल व्यवसायी संघ (हान) का अध्यक्ष अमरमान शाक्य यो वर्ष होटल क्षेत्रमा उल्लेख्य सुधार आउन नसकेको बताउँछन् ।

संख्यात्मक रुपमा तुलना गर्दा पर्यटकहरु नेपालमा अहिले भूकम्प जानुपूर्वकै हाराहारीमा नेपालमा भित्रिएको देखिन्छ । तर ठूला होटलको अकुपेन्सी भने सन् २०१४ को तुलनामा न्यून छ ।

भूकम्पअघि सन् २०१४ मा पर्यटक आउने सिजनमा अकुपेन्सी ९५ प्रतिशतसम्म पुगेको थियो । सन् २०१७ मा भने होटलको अकुपेन्सी ६५ प्रतिशतभन्दा माथि जान नसकेको शाक्य बताउँछन् ।

उनले भने, ‘पर्यटक बढे भने पनि होटलको अकुपेन्सीमा उल्लेखनीय सुधार हुन सकेको छैन । उनीहरु काठमाडौंमै होमस्टेमा बस्छन्, जसका कारण होटल क्षेत्रमा सुधार देखिएको छैन ।’

सरकारी अधिकारीहरु भने पर्यटन क्षेत्र भूकम्पअघिकै अवस्थामा फर्किसकेको दावी गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment