Comments Add Comment

मोरङमा भारतको काम, कहिले जाला घाम ?

दूताबासको सहयोगमा निर्मित कोल्ड स्टोर अलपत्र

२० जेठ बिराटनगर । भारतीय दूतावासको सहयोगमा १० वर्षअघि निर्माण थालिएको मोरङ रंगेली आमतोलास्थित कोल्ड स्टोर निर्माण सम्पन्न नहुँदै अलपत्र बनेको छ । १० वर्ष पुग्दा पनि काम सम्पन्न नभएपछि स्थानीयबासीले भारतको काम कहिले जाला घाम भन्दै व्यंग्य गर्न थालेका छन् ।

नेपालमा चालु रहेका भारतीय आयोजनाहरु समयमा सम्पन्न नहुने गरेको गुनासो आइरहेकै बेला कोल्ड स्टोरको १० वर्षे योजनाबारे चर्चा सुरु भएको हो ।

भक्तपुरस्थित चर्खा प्रचार गान्धी तुलसी महागुठीले कोल्ड स्टोर निर्माणमा अन्तिम चरणमा आएर चासो नदिँदा अलपत्र बनेको हो । चर्खा प्रचार गान्धी तुलसी महागुठी कोल्ड स्टोर भवन निर्माणको साझेदार संस्था हो ।

भारत सरकारको २ करोड ५० लाख र भक्तपुरस्थित चर्खाप्रचार गान्धी तुलसी महागुठीको ४३ लाख लागतमा कोल्ड स्टोर निर्माणको काम अघि बढाइएको थियो ।

तत्कालीन भारतीय राजदूत शिवशंकर मुखर्जीले ०६४ सालमा कोल्डस्टोरको शिलान्यास गरेका थिए ।

निर्माण कम्पनी रौता कन्ट्रक्सन प्रालिले निर्माण थालेको कोल्डस्टोरको काम भारतीय सहयोगबाट ८० प्रतिशत सकिएको छ । तर अन्य प्रकृयाको काम अघि नबढेपछि सञ्चालनमा नआउदै कोल्ड स्टोर अलपत्र अवस्थामा पुगेको छ ।

महागुठीले थप ४३ लाख लगानी सम्झौता गरी आफैँले निर्माण सम्पन्न गर्न दूतावासबाट हस्तान्तरण गराई कोल्डस्टोर निर्माणको जिम्मा लिएका थियो । कुल १२ कठ्ठा जमीनमा निर्माण गरिएको कोल्डस्टोरको लगभग भौतिक निर्माण सकिएको छ ।

कृषिजन्य सामाग्री भण्डारण गर्न चाहिने सामग्री र चिस्याउने मेसिनसमेत खरिद भइसकेको छ । तर, कोल्ड स्टोर सञ्चालनमा नआउँदै चिस्याउने मेसिन पनि खिया पर्ने अवस्थामा पुगेको कोल्ड स्टोरको रेखदेख गर्दै आएका शिवनारायण मण्डलले जानकारी दिए ।

महागुठीले थप निर्माणमा चासो नदिएपछि पैसा नपाएको भन्दै ठेकेदार कम्पनी रौता कन्ट्रक्सनले पनि काम अधुरै छाडिदिएको छ ।

कोल्ड स्टोर निर्माण सम्पन्न भई सञ्चालनमा आएमा दुई हजार मेटि्रक टन आलु भण्डारण गर्न सक्ने क्षमता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment