Comments Add Comment

पाकिस्तानका नयाँ ‘वासिम अक्रम’- मोहम्मद आमीर

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा भारतलाई लज्जास्पद हार चखाउनुमा पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद आमीरको भूमिका सबैभन्दा उच्च रहृयो ।

मोहम्मद आमीरले भारतका टप अर्डरका तीनै ब्याट्सम्यानलाई सस्तैमा आउट गरेका थिए । यसैको परिणामस्वरुप च्याम्पियन्स ट्रफीको फाइनलमा उसले १८० रनको हार ब्यहोर्‍यो ।

पाकिस्तानले भारतलाई ३३९ रनको लक्ष्य दिएको थियो । आइतबार इंग्ल्याण्डको कनिङटन ओभलमा यस लक्ष्य हासिल गर्नका लागि दोस्रो इनिङको सुरुवात त गर्‍यो तर ३३ रनको स्कोरमा तीन महत्वपूर्ण ब्याट्सम्यान गुमायो ।

केहि समयपछि नै भारतको स्थिति ५४/५ हुन पुग्यो । यसअघि समूहचरणमा भारतले पाकिस्तानलाई १२४ रनले हराएको थियो ।

यस महत्वपूर्ण प्रतियोगितामा मोहम्मद आमीर नायक बनेर अगाडि आए । फाइनलअघिसम्म उनी खेल्ने नखेल्ने निश्चित थिएन । पाकिस्तानका प्रशिक्षक मिकी आर्थरले शनिबारबात्रै यसको पुष्टि गरेका थिए कि फाइनलमा आमीरले खेल्नेछन् ।

फिटनेस टेष्टमा फेल भएका कारण आमीर इंग्ल्याण्डबिरुद्धको सेमीफाइनलमा खेल्न पाएका थिएनन् ।

खतरनाक बलिङ गर्ने मोहम्मद आमीरमाथि सन् २०१० मा आइसीसीले ५ वर्षको प्रतिबन्ध लगाएको थियो । २०१० मा उनी स्पट फिक्सिङ प्रकरणमा निक्कै चर्चामा रहे ।

पाँच वर्षको सजाय पार गरेपछि उनी गत वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किए । उनको पुनरामगनपछि क्रिकेटको दुनियामा निक्कै हलचल आयो । आमीरले २०१६ को जनवरीमा पाकिस्तानी टिममा पुनरागमन गरेका थिए ।

महान क्रिकेटर सचिन तेन्दुल्करले पनि आमीरको प्रतिभाको खुलेर तारिफ गरेका छन् ।

बेलायती मिडियाहरुले उनको पुनरागमनको बिरोध गरिरहँदा महान क्रिकेटर तेन्दुलकरले भने आमीरको समर्थन गरेका थिए । ‘आमीरसँग स्किल छ, यदि उसले फेरि पनि लय हासिल गर्न सफल भयो भने निश्चित रुपमा उसले केहि गर्छ । उसले पाएको सजाय सकिसकेको छ, यस्तोमा यसले अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किन चाहन्छ भने अरुलाई किन समस्या ।’

सचिनले भनेका थिए, ‘मेरो मान्यता के हो भने फैसला भयो र सजाय पनि सुनाइयो र उसले सजाय पनि काटिसकेको छ भने उसलाई खेल्न कुनै समस्या हुनुहुन्न ।’

मोहम्मद आमीरको प्रतिभाको कदर गर्नेमा पूर्व पाकिस्तानी महान क्रिकेटर वासिम अक्रमलाई पनि श्रेय दिइन्छ । सन् २००७-२००८ मा आामीर पाकिस्तानमा एक युवा प्रतिभाशाली युवा बलरको रुपमा चिनिन थालिसकेका थिए । उनको बलिङको तुलना वासिम अक्रमसँग गर्न थालिएको थियो भने २०१० सम्म आइपुग्दा उनी पाकिस्तानको मूख्य धरोहरको रुपमा स्थापित भइसकेका थिए ।

मोहम्मद आमीरको सबैभन्दा सवल पक्ष के हो भने उनी १४५ देखि १५० प्रतिघण्टाको स्पिडमा बल फाल्न सक्छन् भने त्यसलाई स्वीङ गराउनपनि सक्छन् । यदि कुनै बिपक्षी टिमको टप अर्डर ध्वस्त पार्नुछ भने उनी आफ्नो भूमिका उत्कृष्ट ढंगले निभाउँथे ।

 

आमीरले सन् २००९ मा पाकिस्तानको घरेलु क्रिकेटमा पनि आफ्नो छाप छोडिसकेका थिए ।

मोहम्मद आमीरले जम्मा ३६ एकदिवशीय खेलेकोमा ५५ विकेट लिएका छन् भने २८ टेष्टमा ९४ विकेट लिएका छन् । २५ सालका उनी बायाँ हातले बलिङ तथा ब्याटिङ गर्छन् ।

मोहम्मद आमीरको जन्म १३ अपि्रल १९९२ मा पाकिस्तानको पञ्जावस्थित गजुर खानमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment