Comments Add Comment

वीरेन्द्रनगर बजारको फोहोर राति उठाइने

७ असार, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मुख्य बजार क्षेत्रको फोहोर रातको समयमा उठाइने भएको छ ।

यही असार १५ गतेदेखि वीरेन्द्रनगर बजार क्षेत्रका घर तथा पसलबाट निस्कने फोहोर रातीमा संकलन गर्ने निर्णय गरिएको हो ।

सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा बुधबार भएको सरोकारवालावीचको बैठकले पहिलो चरणमा स्थानीय मंगलगढीदेखि गणेशचौकसम्मको मुख्य बजार क्षेत्रमा परीक्षणका रुपमा रातको समयमा फोहोर संकलन गर्ने निर्णय गरेको हो ।

बिहान फोहोर संकलन गर्ने गाडी र कर्मचारी बजार प्रवेश गर्दा खुल्ला भएका पसलको फोहोर मात्र संकलन हुने र बन्द भएका पसलका फोहोर पुनः नाला र सडकमा फालिने भएकाले त्यसको निराकरणका लागि नयाँ अभ्यास गर्न लागिएको हो ।

मुख्य बजारका व्यापारी तथा घरधनीले आअाफ्नो घर तथा पसलबाट निस्किएको फोहोरजन्य पदार्थलाई ढिलोमा राती ८ बजेसम्म आअाफ्नो पसल तथा घर अगाडि प्लाष्टिकको थैलोमा पोको पारेर राखिदिन सरोकारवालाहरुले आग्रह गरेका छन् ।

घर तथा पसल अगाडि पोको पारेर राखिएका फोहोरका थैलालाई ‘द ग्रीनसिटी’ का कर्मचारीले राति नै संकलन गर्ने र बजारको फोहोर व्यवस्थापनमा सहयोग पुग्ने विश्वास सरोकारवालाहरुको छ ।

बैठकमा वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले वीरेन्द्रनगर नगरपालिकालाई सफा सुन्दर बनाउनका लागि यो अभ्यास सफल हुने समेत बताएका छन् ।

मेयर सुवेदीले वीरेन्द्रनगरमा फोहोर व्यवस्थापनमा ६० प्रतिशतले सुधार आएको भन्दै त्यसलाई बढाएर शतप्रतिशत पुर्‍याउन यो अभ्यास सुरु गर्न लागिएको बताए ।

फोहोर व्यवस्थापनको क्रम निरन्तर चलिरहने भएकाले त्यसलाई वैज्ञानिक र प्रभावकारी बनाउँदै लगिने उनको भनाइ छ ।

यसका साथै, प्रत्येक टोलमा फोहोर संकलन गर्ने गाडी र कर्मचारी पुग्ने व्यवहारिक समय तालिका निर्धारण गरी सोही बमोजिम परिचालन गर्ने तयारी पनि भैरहेको मेयर सुवेदीले जानकारी दिए ।

यसका साथै फुटपाथ अतिक्रमण गरी पसलका सामान बाटोमा राख्ने प्रवृत्ति अन्त्यका लागि समन्वय गरिदिन पनि उनले सुर्खेत उद्योग वाणिज्य संघसंग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment