शुक्रबार, ६ साउन, २०७४
OnlineKhabar.com

माओवादी: गणितमा तेस्रो, मूल्यमा कांग्रेसको कठपुतली

चुनावको परिणाम हेरेर माओवादीले हाँस्ने कि रुने ?

अदालतमा न्यायाधीशहरुले कुनै मुद्दाको फैसला सुनाइरहँदा वादी-प्रतिवादी दुबैले कसको पक्षमा फैसला भयो भनेर तत्कालै छुट्याउन सक्दैनन् । उनीहरुले आफ्ना वकिललाई सोध्छन्- यो फैसला कसको पक्षमा छ हजुर ?

अदालतमा यस्तो अलमल किन हुन्छ भने न्यायाधीशले आफ्नो फैसला लगभग ‘जेरी’ कै आकारमा घमाएर सुनाउँछ र भन्छ- प्रस्तुत मुद्दामा निज आरोपीले अपराध गरेकै हो वा होइन भनेर भन्न सकिने अवस्था रहेन भनेर अलमल गर्नुपर्ने अवस्था छैन भन्न सकिन्न !

माओवादी अध्यक्ष प्रचण्डले विगतमा भन्ने गरेका थिए- हामी हाँस्दा हाँस्दै रुन्छौं, र रुँदारुदै पनि हाँस्छौं ।

अहिले दुई चरणमा सम्पन्न भएको स्थानीय चुनावको परिणाम हेरेर अब माओवादी नेता कार्यकर्ताले हाँस्ने कि रुने त ? चुनावी परिणामलाई हेरेर माओवादीले हर्ष मान्ने कि विस्मात् ? सम्भवतः यसको उत्तर माओवादीकै नेताहरुले समेत दिन सकिरहेका छैनन् । र, यही कारणले गर्दा माओवादी नेताहरु न मन फुकाएर हाँस्न सकेका छन्, न त धक फुकाएर रुन नै सकिरहेका छन् । उनीहरु प्रचण्डले भनेजस्तो रुँदारुँदै हाँस्ने स्थितिमा पनि छैनन् ।

माओवादी कार्यकर्ताका लागि अहिलेको चुनावी परिणाम न्यायाधीशको घुमाउरो फैसलाजस्तै क्लिष्ट बन्न पुगेको छ । उनीहरु चाहन्छन् कि कुनै वकिलले माओवादी कार्यकर्तालाई अहिलेको चुनावी परिणामबारे व्याख्या गरिदेओस् ।

पहिलो चरणमा प्रचण्ड हावी, दोस्रोमा गणित

गत जेठ ३१ गते पहिलो चरणको स्थानीय चुनाव हुँदै गर्दा माओवादी पार्टीभित्र निकै खुशियाली देखिएको थियो । किनभने, त्यसबेला माओवादीले पाएको अंकगणित भन्दा प्रचण्ड नेतृत्वको सरकारले चुनाव गराउन सकेको विषयलाई महत्वपूर्ण ठानिएको थियो । तर, दोस्रो चरणको चुनावमा माओवादीको सफलता वा असफलतालाई गणितका आधारमा मापन गर्न खोजियो ।

स्थानीय चुनावमा माओवादी केन्द्रले जित्यो कि हार्‍यो ? यो चुनावको परिणाम इन्कलाब बनाउने खालको हो कि विस्मातमा डुबेर समीक्षामा जुट्ने खालको हो ? सम्वभतः माओवादी नेताहरुले यसबारे अवश्यै समीक्षा गर्दै होलान् ।

हाँस्नुपर्ने कारण धेरै छन्

स्थानीय चुनावबाट माओवादीले खुशी हुनुपर्ने धेरै कुराहरु छन् । यी विषयलाई यसरी संश्लेषण गर्न सकिन्छः

१. निर्वाचन नै हुन्छ कि हुँदैन भन्ने अनिश्चयलाई चिर्दै प्रचण्डले आफ्नो पालामा प्रथम चरणको स्थानीय चुनाव सफल गराए । यही प्रस्थानविन्दुबाट देशमा चुनावको माहौल आयो । प्रचण्ड सरकारको यो निर्णय माओवादी नेता कार्यकर्ताका लागि खुशी हुनुपर्ने विषय हो । किनभने प्रचण्डको सहासको आम जनताले पनि प्रशंसा गरेकै हुन् ।

२. गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशी समानुपातिक सिद्धान्त माओवादीका एजेण्डा हुन् । स्थानीय चुनावले यी एजेण्डालाई स्थानीय तहसम्म जरो फैलाउन मद्दत गरेको छ । यो पनि माओवादीले मनको लड्डु खाने र खुशीयाली मनाउँदा फरक नपर्ने विषय हो ।

३. जहाँसम्म चुनावी गणितको प्रश्न छ, दुई चरणमा ६१७ स्थानीय तहमा निर्वाचन भएकोमा माओवादीले आफूलाई तेस्रो शक्तिका रुपमा स्थापित गरेको छ ।

चुनाव नहुँदासम्म मुलुकको तेस्रो स्थान राप्रपाले पो ल्याउने हो कि भन्ने पनि कतिपयको विश्लेषण थियो । माओवादी पत्तासाफ हुने धेरैले विश्लेषण गरेका थिए । कतिपयले माओवादीभन्दा मधेसवादी दल अगाडि आउन सक्ने विश्लेषण गरिरहेका थिए । माओवादी पार्टी विभाजन भएको र बाबुराम नेतृत्वको नयाँ शक्ति बनेकाले प्रचण्डको पार्टीले नराम्रो धक्का खाने विश्लेषण धेरैले गरेका थिए ।

दुबै चरणको चुनावी परिणामलाई हेर्दा कांग्रेस र एमालेपछिको तेस्रो राष्ट्रिय शक्ति माओवादी नै हो भन्ने स्थापित भएको छ । आफ्नो पछाडि रहेका दलहरुलाई निकै तलै छाडेर तेस्रो शक्तिमा कायम रहनु माओवादीका लागि खुशी हुनुपर्ने विषय नै हो ।

एमाले र कांग्रेसको तुलनामा माओवादी निकै पछाडि नै छुटे पनि तेस्रो दलका रुपमा माओवादीको नजिकमा अन्य पार्टीहरु देखिएका छैनन् । यो उसका लागि सुरक्षित तेस्रो स्थान हो ।

४. स्थानीय चुनावबाट माओवादीले खुशी हुनुपर्ने अर्को विषय भनेको उसले चुनाव प्रचारका क्रममा देशैभरि सुस्ताएको पार्टीलाई एकपटक फेरि पुनर्जागृत गरेको छ । एक ढंगले भन्ने हो भने मुर्झाइसकेको माओवादी पार्टी फेरि जागेको छ । यो उसका लागि ठूलो राजनीतिक उपलब्धि हो ।

५. माओवादीको पाँचौं उपलब्धि भनेको सैंयौं कार्यकर्तालाई स्थानीय तहमा जिताएर उसले कार्यकर्ताहरुको व्यवस्थापन गरेको छ । जितेका कार्यकर्ताहरुले अब जनताका वीचमा काम गर्ने भएकाले पार्टीभित्र असन्तुष्टि घट्ने र जनतामा जाने बाटो बनेको छ । सहरमा बसेर गुनासो गर्ने कैंयौं कार्यकर्ता गाउँ फर्केका छन् ।

६. यो स्थानीय चुनावबाट माओवादीले खुशी हुनुपर्ने अर्को विषय भनेको शान्ति प्रक्रियादेखि अहिलेसम्म आइपुग्दा उसको शक्ति कति बचेको रहेछ र कति क्षयीकरण भएछ भन्ने मौका परीक्षा सम्पन्न भएको छ । यसक्रममा बाबुराम, वैद्य र विप्लव समूहहरु कमजोर छन् भन्ने सावित गर्ने मौका प्रचण्डले पाएका छन् । यो उनी र उनका पार्टीका लागि ऐतिहासिक अवसर हो ।

रुनुपर्ने कारण पनि धेरै छन्

यो स्थानीय चुनावले माओवादीलाई सर्मनाक हार हुनबाट जोगाएर तेस्रो शक्तिमै राखिदिए पनि पार्टी नेतृत्वका धेरै कमजोरीहरु सडकमा छताछुल्ल भएका छन् । यी कमजोरीलाई सम्झने हो भने माओवादीले धुरुधरु रोए हुन्छ ।

चुनावले सतहमा ल्याएको माओवादीको भवितव्य यस्तो छः

१. कुल ६१७ स्थानमा भएको चुनावमा माओवादीले १०० सीट पनि जित्न सकेन र लगभग संविधानसभामा जस्तै ८४ सीटकै वरपर समेटियो । पहिलो संविधानसभामा पहिलो दल बनेको र अहिले एमाले- कांग्रेससँग आफूलाई हाराहारी बनाउने महत्वाकांक्षा बोकेका प्रचण्डका लागि माओवादीले पाएको ८४ सीट पक्कै पनि सुखद अंक होइन । कांग्रेस र एमालेसँग फारकिलो अन्तर रहने गरी चुनावी नतिजा आउनु माओवादीको हार हो । दोस्रो संविधानसभापछि पनि उसको पार्टी संगठनमा सुधार आएको रहेनछ भन्ने माओवादीले पक्कै नकारात्मक निश्कर्ष निकालेकै हुनुपर्छ ।

२. माओवादीको समग्र गणित सर्मनाक छैन भनेर चित्त बुझाउने हो भने पनि देशैभरिको चुनावी नतिजालाई विश्लेषण गर्दा धेरै ठाउँमा ऊ पत्तासाफ भएको देखिन्छ ।

जस्तो कि गोरखामा बाबुराम भट्टराईसँगै मल्लयुद्धमा उत्रने संकीर्ण कार्यशैली अपनाउँदा माओवादी केन्द्रले जित्नुपर्ने ठाउँहरु गुमायो । रुकुममा ‘क्लिन स्वीप’ गरे पनि धेरै नेताहरु जन्माएको रोल्पामा उसले राम्रो परिणाम ल्याउन सकेन । कैलाली कञ्चनपुरमा उसले राम्रो परिणाम ल्याएन । दाङ, कपिलवस्तु, अर्घाखाँची, गुल्मी लगायतका जिल्लामा पनि उसको नजिता सन्तोषजनक देखिएन ।

पूर्वको कुरा गर्ने हो भने पाँचथरमा एउटा गाउँपालिका जित्नुबाहेक मेची अञ्चलमा माओवादी लगभग पत्तासाफ भयो । ताप्लेजुङ, इलाम र झापामा माओवादीले एउटा पनि स्थानीय तह जितेन । धनकुटा, तेह्रथुम, संखुवासभा लगायतका जिल्लामा पनि माओवादीले एउटै स्थानीय तह जितेन । सुनसरीको हालत पनि उस्तै रह्यो । मोरङको रंगेलीमा एकजना पैसावाललाई उम्मदेवार नउठाएको भए माओवादीको परिणाम शून्य नै हुने थियो ।

खोटाङ, उदयपुर र भोजपुरमा एक/एक गाउँपालिका जित्नुबाहेक माओवादीको उपलब्धि देखिएन । सोलुमा ३ वटा र ओखलढुंगामा एउटा स्थानीय तहमात्रै माओवादीले जित्यो ।

पहिलो चरणमा चुनाव भएका मनाङ, मुस्ताङ, कास्की, स्याङजा आदि जिल्लाहरु माओवादीका लागि लगभग खाली देखिए ।

समग्रमा देशैभरिको परिणामलाई हेर्दाखेरि माओवादीले रुनुपर्ने स्थिति देखिएको छ ।

३. माओवादीले रुनुपर्ने तेस्रो परिस्थिति के हो भने यो स्थानीय चुनाव कार्यकर्ताले लडे, तर ठूला नेताहरुको भूमिका चाहिँ मूकदर्शक जस्तै बन्यो । पार्टीका ठूला नेताहरु फेसबुकमा स्टाटस देखेर दिन कटाएर बसे । कार्यकर्तालाई चुनाव लड्न पैसा भएन, साधन र स्रोत भएन । सभाहरुमा नेतालाई बोलाउँदा पहुँच नभएका कार्यकर्ता भएका ठाउँमा ठूला नेताहरु गएनन् । कमाण्डहरु डिलमा बसेर हेर्ने र सिपाहीहरु मैदानमा एक्लै लड्ने स्थिति माओवादीमा देखियो । माओवादीले जति परिणाम ल्यायो, यसमा नेताको भन्दा कार्यकर्ताको योगदान रह्यो । नेताले त ‘कांग्रेससँग तालमेल गरौं’ भन्दै मैदानलाई रुनभुल्ल बनाउने काममात्रै गरे ।

४. आर्थिक हिसाबले हेर्दा यो चुनावमा माओवादी पार्टी तलदेखि माथिसम्मै ऋणमा चुर्लुम्म डुबेको छ । नेताहरु भन्दा पनि चुनावमा खटिएका कार्यकर्ता बढी ऋणमा डुबेका छन् । उनीहरुमा आर्थिक कारणले नै पलायन र निराशाको खतरा बढेको छ ।

अब यसरी थिल्थिलो अवस्थामा पुगेका कार्यकर्ताले प्रदेश र केन्द्रको चुनाव कसरी सामना गर्लान् ? माओवादी पार्टीभित्र यस विषयमा अब रुवाबासी पर्नेवाला छ ।

५. यसपालिको चुनावमा माओवादीभित्र देखिएको अर्को सबैभन्दा ठूलो बेथिति के हो भने उनीहरु आफूले हारिरहँदा दुःखी हुनुपर्नेमा त्योभन्दा बढी नेपाली कांग्रेसले जितिरहँदा खुशी देखिए ।

एक प्रकारले भन्ने हो भने एमालेको सामना गरिरहेको नेपाली कांग्रेसले माओवादीको ढाडमा टेकेर चुनाव जित्यो । (जित्यो के भन्नु, दोस्रो स्थानमा आयो )

यो चुनावमा माओवादी कार्यकर्ताले कांग्रेसलाई भोट नहालेर आफ्नै दलका उम्मदेवारलाई मतदान गरेको भए कांग्रेसले अहिलेजति सीट ल्याउने थिएन । र, कांग्रेस- माओवादी लगभग नजिकैको अंकगणीतीय दुरीमा रहने थिए । माओवादीले कांग्रेसलाई क्रस भोटिङ नगरेको भए एमालेको जित निकै माथि पुग्ने थियो ।

माओवादी नेताहरुले कांग्रेसलाई देशैभरि जिताएर एमालेलाई ‘साइज’ मा ल्याइयो भन्ने ठानेका होलान्, तर यसबाट माओवादीलाई हैन, कांग्रेसलाई नै फाइदा पुग्ने पक्कापक्की छ । माओवादीको यो कार्यशैली ‘अर्काको बाछो चाटी मुखभरि भुत्ला’ भन्ने आहानजस्तै हो ।

आफ्नो भोट आफैंलाई नहाल्नु र पार्टीलाई कांग्रेस-एमालेको प्रतिस्पर्धामा सघाउने ‘टुल्स’ मात्रै बनाउनु माओवादीका लागि दुर्भाग्य नै हो । यसरी कहिलेसम्म आफ्नो पार्टीलाई कांग्रेस र एमालेको दही जमाउने ‘जोडन’ बनाइरहने ? माओवादी नेताहरुमाथि उठेको यो निकै गम्भीर प्रश्न हो ।

माओवादीले यो चुनावमा आफैंलाई मतदान गरेको भए कांग्रेस वा एमाले जसले जिते पनि दोस्रो शक्तिचाहिँ माओवादीकै छेउछाउमा हुन सक्थ्यो कि ? यो प्रश्न अनुत्तरित बन्न पुगेको छ । सायद असोज २ गते हुने दुई नम्बर प्रदेशको चुनावमा यसको परीक्षण होला ।

दोस्रो चरणमा नेपाली कांग्रेसले प्रायः कहीँ पनि माओवादीसँग तालमेल गर्ने रुची देखाएन । किनभने कांग्रेस नेताहरुले थाहा पाइसकेका थिए कि माओवादीले एमालेको रीसले आफ्नै काख बिगार्नेछ र कांग्रेसलाई एकतर्फी प्रेम गर्नेछ ।

गणितमा तेस्रो, मूल्यको राजनीतिमा कांग्रेसको खेलौना

देशमा कांग्रेस र एमालेको विकल्पमा ‘थर्ड पोल’ बनाउनुपर्ने वैचारिक आधारलाई माओवादी केन्द्रले चटक्कै बिर्सियो र एमालेलाई हराउने अनि कांग्रेसलाई जिताउने हतियारका रुपमा माओवादी आन्दोलनलाई स्खलित गरायो ।

स्थानीय चुनावमा गणितले त माओवादी तेस्रो शक्ति बन्यो, तर इमान, जमान र निष्ठाको राजनीतिमा ऊ ‘तेस्रो विकल्प’ भन्दा पनि कांग्रेसको खेलौना जस्तो बन्न पुग्यो ।

चुनाव सकिँदासम्म माओवादी नेता-कार्यकर्तामा एउटा मनोरोगको विकास भएको छः उनीहरु कांग्रेसले जितेको सुन्दा खुशी हुन्छन् र एमालेले जित्यो भन्ने सुन्दा निराश बन्ने मनोदशामा आइपुगेका छन् ।

एउटा गम्भीर प्रश्न छः अब आउन लागेको प्रदेश सभाको चुनावमा पनि माओवादीले यसैगरी आफूलाई भन्दा अरुलाई नै जिताउने अभियान चलाउने त होइन ?

प्रदेशको चुनावमा २३० सीटमा प्रत्यक्ष र २२० सीटमा समानुपातिक निर्वाचन प्रणाली अपनाइने भएकाले माओवादीको भोट आफैंलाई खन्याउन ऊ बाध्य हुन सक्छ । भलै यसो गर्दा प्रदेशको चुनावमा कांग्रेस कमजोर र एमाले मजबुद बन्न पनि सक्छ ।

तर, प्रदेशको चुनाव भन्दा पहिले त असोज २ गते २ नम्बर प्रदेशमा अर्को चुनावी लीला हेर्न बाँकी नै छ ।

२०७४ असार २३ गते १३:२२ मा प्रकाशित (२०७४ असार २६ गते १२:३०मा अद्यावधिक गरिएको)

लेखक परिचय

अरूण बराल

अरूण बराल अनलाइनखबर डटकमका सम्पादक हुन् । कानुनमा स्नातक एवं राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका बराल सन् २०१३ देखि अनलाइनखवरको सम्पादक छन् ।
लेखकबाट थप
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२१ प्रतिकृयाहरू प्राप्त
  • साइला लेख्नुहुन्छ    |   २०७४ असार २२ गते १९:०३

    भरतपुर नगरपालिकाको सहित ८५ स्थानमा जीत हुन्छ होला नि

    66
    56
    Share

  • राममणि अधिकारी लेख्नुहुन्छ    |   २०७४ असार २२ गते १९:०६

    अरुण वरालको यो टिप्पणीलाई ***

    73
    7
    Share

  • umang लेख्नुहुन्छ    |   २०७४ असार २२ गते १९:११

    अरुण बराल को लेख !!! लु herum

    46
    7
    Share

  • Yadu Shrestha लेख्नुहुन्छ    |   २०७४ असार २२ गते १९:४४

    अहिलेसम्मको माओबादीहरूको मानशिकता बुझ्दा उनिहरू आफु हार्नु वा जित्नु भन्दा पनि एमाले हार्नुमा आनन्द मान्ने हुँदा आफु हारेर पनि कांग्रेसलाई जिताउन कोसिश गर्नेछन !

    62
    9
    Share

  • यदुकुमार श्रेष्ठ लेख्नुहुन्छ    |   २०७४ असार २२ गते १९:५०

    जनमतबाट त पत्तासाफ भइसकेका छन । तर पनि आफ्नो एजेण्डाले जितेको भनी मनको लड्डु घिउसित खाँदैछन ।

    47
    17
    Share

  • रामजी लेख्नुहुन्छ    |   २०७४ असार २२ गते २०:३२

    अरुणजीकाे सटिक तर सहि विश्लेषण छ । माअाेवादीले अाफ्नाे सहि मत कति छ भनेर अहिले स्वतन्त्र विश्लेषण गर्नसक्ने अवस्था रहेन । किनभने उस्ले काँग्रेशलाई एकाेहाेराे बाेकेकाे मात्र देखियाे, यति मात्र हाेईन उसले काँग्रेशलाई बिना मूल्य सतित्व(अस्मिता) नै सुम्पियाे । यसले माअाेवादीले अाफुलाई दाेश्राे शक्ति काँग्रेशकै हाराहारीमा अाफुलाई उभ्याउन सक्ने उसकाे ताकत बिर्सिएर काँग्रेशलाई एकाेहाेराे फाईदा पुर्यायाे । यसकाे परिणामबाट माअाेवादी केन्द्र स्वयंमा घाेर निरासा र छटपटी उत्पन्न हुने खतरा देखिन्छ । अागामि चुनावमा माअाेवादि केन्द्रले चुनावी रणनिति बदलेन भने अझै ठुलाे दुर्भाग्य व्यहाेर्नुपर्ने हुनसक्छ ।

    39
    4
    Share

  • Basudev लेख्नुहुन्छ    |   २०७४ असार २२ गते २०:४३

    Good & real analysis. I like it.

    25
    4
    Share

  • Rabindra Rijal लेख्नुहुन्छ    |   २०७४ असार २२ गते २१:०५

    WA baral sir kya lekh cha manai choyo.Salam cha yo lekh ko lagi 100% right analysis.

    16
    6
    Share

  • लम्पसार्वादी लेख्नुहुन्छ    |   २०७४ असार २२ गते २१:५७

    आज जसको एजेण्डामा यो देश हिंडेको छ , जसको एजेण्डा संविधानमा स्थापित भएको छ र जसको बलमा अग्रगामी परिवर्तन सम्भव भएको छ ,त्यो पार्टी चुनावमा मात खाएको अवस्था छ भने , देशमा प्रतिगमन हावी भएको छ भन्ने बुझिन्छ , प्रतिक्रियावादी तत्वहरु सल्बलाइरहेको छ भन्ने प्रमाणित हुन्छ / माओवादी रुने कि हास्ने भन्नु भन्दा पनि अब यो देशले रुने अवस्था आउदै छ किनकि परिवर्तन संथागत हुन गाह्रो छ / यद्यपि माओवादी युद्धको पृष्ठभूमि
    बाट स्थापित पार्टी हो जसले संसदीय चुनावको चलखेललाइ आत्मसात गर्न जान्दैन / संसारको इतिहासमा कम्युनिष्ट पार्टीले संसदीय चुनावमा हार व्यहोर्नु कुनै आश्चर्यजनक घटना होइन / नेकपा एमाले जस्तो नक्कली कम्युनिष्ट पार्टीले मात्र यस्तो संसदीय चुनावमा संसदवादी पार्टीलाई समेत मात गर्न सक्छ भन्ने नेपालमा प्रमाणित भैसक्यो /

    33
    84
    Share

  • Dhanram लेख्नुहुन्छ    |   २०७४ असार २३ गते २:२२

    Yo bishleshan ekdam tarkasangat lagyo.

    20
    4
    Share

  • jitthakuri लेख्नुहुन्छ    |   २०७४ असार २३ गते ८:५१

    Uniharu Ko Bybaharle Ta Yo pani Dherai Bho

    11
    3
    Share

  • Sundar लेख्नुहुन्छ    |   २०७४ असार २३ गते ९:०५

    mahobadi kangress ko pachi lageko cha tara pachi pradesh ko chunab ma taha paucha ke galti gareko raicha bhanne .

    8
    1
    Share

  • kshetra लेख्नुहुन्छ    |   २०७४ असार २३ गते १०:१७

    ” प्रस्तुत मुद्दामा निज आरोपीले अपराध गरेकै हो वा होइन भनेर भन्न सकिने अवस्था रहेन भनेर अलमल गर्नुपर्ने अवस्था छैन भन्न सकिन्न !” nayadhish bani!……

    4
    0
    Share

  • Avas Upadhyay लेख्नुहुन्छ    |   २०७४ असार २३ गते ११:५३

    लम्पसार्वादी Ji, jun thau ma Maoists le jityo tyaha ka janata RIGHT, jaha Maoists haryo tyaha ka janata WRONG vanna khojnu vayeko ho?

    7
    6
    Share

  • शम्भुजित राई उँबुले लेख्नुहुन्छ    |   २०७४ असार २३ गते १२:१७

    केही समय अगाडि सम्पन्न एक अन्तरराष्ट्रिय क्रिकेट खेलको प्रसङगमा भारत र पाकिस्तानको खेललाई जोड्न मन लाग्यो । कि त्यतिबेला हामी पाकिस्तानले जितेको भन्दा पनि भारतले हारेकोमा प्रशन्न थियौँ । त्यस्तै यती बेला पनि काङ्ग्रेसले जितेको भन्दा पनि एमालेले हारेकोमा माओवादी तथा तिनका तथाकथित मतियार हरु खुशी मनाइरहेका होलान । तर आफ्नो पत्ता काटिएको होस छैन।प्रचन्डको त के कुरा गर्नु ८ /८ घण्टामा बोली फेर्ने मान्छेको । जुङ्गा बटार्दै होलान । एउटा बामपन्थी अगुवा भएर अर्काको कठपुतली बनी हिंड्ने बानी परेका बिचरा !

    18
    3
    Share

  • Anonymous लेख्नुहुन्छ    |   २०७४ असार २३ गते १३:३२

    एक प्रकारले भन्ने हो भने एमालेको सामना गरिरहेको नेपाली कांग्रेसले माओवादीको ढाडमा टेकेर चुनाव जित्यो । (जित्यो के भन्नु, दोस्रो स्थानमा आयो )
    यो चुनावमा माओवादी कार्यकर्ताले कांग्रेसलाई भोट नहालेर आफ्नै दलका उम्मदेवारलाई मतदान गरेको भए कांग्रेसले अहिलेजति सीट ल्याउने थिएन । र, कांग्रेस- माओवादी लगभग नजिकैको अंकगणीतीय दुरीमा रहने थिए । माओवादीले कांग्रेसलाई क्रस भोटिङ नगरेको भए एमालेको जित निकै माथि पुग्ने थियो ।

    How dare you said this ?

    8
    6
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ असार २३ गते १६:४५

    This still counts success of Maoists !! They never ever justified about: 1. Why was Janayuddha imposed? 2. Whose Agenda of those? 3. Where are 40 points demands? 4. Are all 40 points are fulfilled? 5. Why are Maoists blamed as “Lampasarbadi” & new billionaires? 6. Why are they always mixed with Vergin Islands and so money laundering cases? 7. Why are they hesitating implement TRC? 8. They were in government in most of the time – what is their IMPACT? What are the major achievements? Kul Man Ghishing ended load shedding don’t count that you did it. I am so sorry to say, that after your 12 Bunde Nepali people have lots of hope on your party, unfortunately, your total deliverables are ZERO…even minus …

    7
    3
    Share

  • kedar लेख्नुहुन्छ    |   २०७४ असार २३ गते १७:०३

    kathputli kasari bhanna milcha jabaki rangela ma congress lai jitera u agadi badeko cha.. lekhne ni aeuta tarka huna paryo ni lekhak ji.. your article is biased to UML against maoist and congress..jasle ni dekhna sakcha

    3
    5
    Share

  • gp nepali लेख्नुहुन्छ    |   २०७४ असार २३ गते १८:०६

    अब एमाले र माओवादी एकता गर्नुपर्छ! पदका भोका नेताले नमाने एमाले र माओवादी जनताबीच एकता हुनुपर्छ र देशभक्त कांग्रेस जन पनि समेट्नुपर्छ! र मात्रै देस उंभो लाग्छ! जय देस जय नेपाल!

    5
    5
    Share

  • mahanth Yadav लेख्नुहुन्छ    |   २०७४ असार २४ गते १९:१९

    I like this article most.because of its contents &consistency with confidence in presentation of concrete word.make me more smile 😊.thank u for your intelligence.

    0
    0
    Share

  • bibek sharma लेख्नुहुन्छ    |   २०७४ असार २५ गते १७:१९

    पार्टी प्रबक्ताले त दोश्रो चरणमा माअोवादी पहिलो हुने घोषणा गर्नु भा थ्यो त

    3
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this