Comments Add Comment

एकजना मात्र मान्छे बस्ने यी हुन् दुनियाका विचित्र सहर

के तपाइँ कुनै सहरमा एक्लै बस्ने कल्पना गर्न सक्नुहुन्छ ? सायद यसबारेमा सोँच्न पनि सकिन्न । कोहीपनि मान्छे नबस्ने भुतबंगला सहरमा एक्लै कुनै व्यक्ति कसरी बस्न सक्छ र ?

तर यो दुनियामा यस्ता सहर पनि छन् जहाँ केबल एकजना मात्र मान्छे बस्छन् । यस्तै अनौठा सहर यी हुन् :

-जापानको तोमिओका सहरमा पनि केवल एक जना मात्र मान्छे बस्दछन् । सन् २०११ को सुनामी र आणविक विस्फोट पछि उक्त सहरमा बसिरहेका सबैजसो मानिस अन्यत्रै भागेपछि ५८ वर्षका नाओतो मत्सुमुरा मात्र त्यहाँ बसिरहेका छन् । उनी सहरमा छुटेका जनावरका लागि खानेकुराको व्यवस्था गर्न भन्दै त्यहाँ बसेका थिए ।

-अमेरिकाको नेब्रास्कास्थित मोनावीमा जम्मा एकजना महिला मात्र बस्छिन् । जागिर तथा राम्रो ठाउँको खोजीमा मानिसहरु उक्त सहरबाट पलायन हुँदै गएपछि त्यहाँ जम्मा एक दम्पत्ति मात्र बाँकी रहे । सन् २००४ मा पतिको मृत्यु भएपछि ती विधवा महिला मात्र उक्त सहरमा बस्छिन् अहिले । उनी नै उक्त सहरकी मेयर पनि हुन् ।

-अर्जेन्टिनाको विला इपेक्युएन सहर सन् १९२० मा स्थापना भएको थियो । त्यो कुनै समय पर्यटकको आकर्षणको केन्द्र थियो । सन् १९८५ मा आएको बाढीले सहर ध्वस्त भयो । बँचेका सबै मानिसले सहर छाडे । सन् २००९ मा उक्त सहरका पूर्व बासिन्दा पाब्लो नोभाक पुनः विला इपेक्युएन फर्के । उनको जन्म सोही सहरमा सन् १९३० मा भएको थियो ।

–  अमेरिकाको कोलोराडोस्थित बोनान्जा सहरमा चाँदीको खानी पाइएको थियो । सन् १८८० मा त्यहाँ बस्ती बसेको थियो । एक समय त्यहाँ १६ सय मानिस बस्दथे । तर चाँदी रित्तिएसँगै मानिसहरु सहर छाडेर जान थाले । सन् २०१० मा त्यहाँ जम्मा १६ जनामात्र मान्छे थिए । युवाहरुको पलायन तथा बुढाबुढीको मृत्यु सँगै उक्त सहरका जनसंख्या धेरैपटक एकजनामा झर्दै आएको छ । कहिलेकाहीँ बाहिर गएका युवायुवतीहरु फर्किँदा सहरको जनसंख्या केही बढि हुन्छ ।

-अमेरिकाको ब्योमिंगस्थित ब्युफोर्ड सहर सन् २०१३ मा एक भियतनामीले खरीद गरेका थिए । तत् पश्चात यसको नाम फिलडेली टाउन राखियो । सन् १८८६ मा उक्त सहर रेलवे मजदुरहरुको आरामस्थलको रुपमा स्थापना भएको थियो । उक्त समय त्यहाँ २ हजार मानिस बस्दथे । विस्तारै मानिसहरु सहर छाड्न थाले । अहिले त उक्त सहर खरीद गर्ने मानिस पनि त्यहाँ बस्दैनन् । सो सहरमा हाल एकजना मात्र मानिस बस्दछन्, ती हुन् डन सेमन्स । उनी सन् १९८० देखि त्यहाँ बस्दै आएका छन् । सन् १९९५ मा उनकी पत्नीको मृत्यु भयो । सन् २००७ मा छोराले समेत छाडेर अर्कै सहरमा पसेपछि डन एक्लै बस्दै आएका छन् सहरमा ।

-न्युजिल्याण्डको कास सहरको स्थापना सन् १९१० मा हुँदा त्यहाँ ८ सय मानिस बस्दथे । अहिले भने जम्मा ५ घरमात्र बाँकी छन् र एकजना मात्र मान्छे बस्दछन् । कास सहरमा बस्ने एकमात्र बासिन्दा हुन् बेरी ड्रमान्ड । उनी न्युजिल्याण्डको रेलवे कर्मचारी हुन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment