Comments Add Comment

भक्तपुरमा यसरी धपाइयो ‘राक्षस’, हेर्नुस् १५ तस्वीर

६ साउन, भक्तपुर । नेवार समुदायले घर शान्तिको कामना गर्दै आज घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलनको गठामुंगः पर्व मनाएका छन् । भक्तपुरको दत्तात्रय मन्दिर वरपरका बासिन्दाको यो पर्वमा विशेष चहलपहल देखियो ।

यस दिनलाई नेवार गृहशान्तिको कामनासहित आफ्ना परिवारलाई रोग-ब्याध नलागोस् भनेर राक्षस धपाउने पूजा गर्ने दिनका रुपमा लिइन्छ । वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रुपमा लिने गरिएको हो ।

कानमा घण्टा झुण्ड्याएर हिँड्ने राक्षसको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो । घण्टाकर्णलाई शिवको प्रतीकका रुपमा पनि लिइन्छ ।

यस दिन घर-घरको मूल ढोका र मुख्य निदालमा मयूरको प्वाँख र तीनखुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास छ । घरका साना केटा-केटीलाई फलाम वा तामाको औंठी पनि आजै लगाइदिने चलन छ । वयस्क युवतीले आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन पनि रहेको छ । आजकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिन्छ । भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका लागि आजकै दिनदेखि मुखुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ ।

घण्टाकर्ण पर्वमा घरलाई लिपपोत गरी चोखो बनाइन्छ र, भूत मन्छाउने कार्य गरिन्छ । काँचो माटोको सानो दहीको कतारो वा एक प्रकारको माटोको भाँडोमा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रंगीविरंगी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने प्रचलनलाई भूत मन्छाउने कार्य भनिन्छ । भूत मन्छाउने क्रममा कसै-कसैले कुखुराको बलि पनि दिने गर्दछन् ।

साँझपख छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिँडीसम्म परिक्रमा गराई नेवार समुदायको मानिस मर्दा उसको लुगा फाल्ने ठाउँमा लगेर सेलाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment