Comments Add Comment

पोखरा स्पोर्टस अवार्ड २१ गते, धावक रानाभाटलाई लाइफटाइम एचिभमेन्ट अवार्ड


१२ साउन, पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीको आयोजनामा साउन २१ गते पोखरा स्पोर्टस अवार्ड हुने भएको छ ।

खेलाडीलाई प्रोत्साहन गर्दै खेलकुदको विकासमा सघाउने उद्देश्यले मञ्च गत वर्षदेखि सुरु भएको पोखरा स्पोर्टस अवार्ड साउन २१ गते शनिबार पोखरा सभागृहमा गर्ने निर्णय भएको आयोजक खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले जानकारी दिए ।

मञ्चले अवार्डका लागि ५ विधामा ३/३ जनाको मनोनयन सार्वजनिक गरेको छ । वर्ष उत्कृष्ट पुरुष खेलाडीका लागि करण केसी (क्रिकेट), कुमार अधिकारी (लनटेनिस) र विशाल वस्नेत (हृयाण्डवल) परेको जनाएको छ । त्यस्तै, वर्ष उत्कृष्ट महिला खेलाडीमा सुस्मी श्रेष्ठ (फुल कन्ट्याक्ट कराँते), टीका माया गुरुङ्ग (भारोत्तोलन) र अरुणा शाही (भलिवल) मनोनयनमा परेको मञ्चले जनाएको छ ।

छनौट समितिले उदीयमान वर्ष खेलाडीमा ममता डगौरा (भलिवल), दर्शना वुढा मगर र सागर नेपाली (एथलेटिक्स) तथा वर्षको उत्कृष्ट प्रशिक्षकमा सुनवहादुर लामा (तेक्वान्दो), बखतमान श्रेष्ठ (भारोत्तोलन) र इन्द्रा मल्ल (एथलेटिक्स) लाई मनोनयन गरेको छ ।

मनोनयनमा परेकाहरुबाट प्रत्येक विधाबाट एक/एक जना उत्कृष्ट छनौट गरी नगदर पुरस्कारसहित अवार्ड प्रदान गरिनेछ ।

खेलकुद पत्रकार मञ्च, कास्कले यसवर्षबाट उत्कृष्ट संघको विधा थपेर अवार्ड प्रदान गर्ने जनाएको छ । पहिलोपटक थपिएको यो विधाबाट कास्की जिल्ला लन टेनिस संघलाई उत्कृष्ट संघको रुपमा अवार्ड प्रदान गर्ने मञ्चका अध्यक्ष पाठकले बताए ।

मञ्चले प्रदान गर्ने लाइफटाइम एचिभमेन्ट अवार्डबाट पूर्व  अन्तर्राराष्ट्रिय धावक खड्गबहादुर रानाभाटलाई सम्मान गर्ने भएको छ ।

अवार्ड छनौट समितिको बैठकले रानाभाटलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने निर्णय गरेको पाठकले बताए । लाइफटाइम एचिभमेन्ट अवार्ड वाट सम्मानित हुने ६९ वर्षीय रानाभाटले १४ वर्षको उमेर २०२० सालबाट आफ्नो खेल जिवन सुरु गरेका थिए ।

एथलेटिक्स, भलिवल र फुटवलका राष्ट्रिय खेलाडी समेत रहिसकेका उनी सन १९७० मा थाइल्याण्डको वैंककमा सम्पन्न छैटौं एशियाली खेलमा नेपालको तर्फबाट सहभागी हुँदै ३ हजार मिटरको स्टिपल चेजमा आठौं स्थान हाँसिल गरेका थिए । २०४१ सालमा राष्ट्रिय खेलकुद परिषदको मुख्य प्रशिक्षक रहेका रानाभाट २०६८ मा परिषदको सदस्य समेत बनेका थिए ।

भूतपूर्व खेलाडी मञ्च नेपालको संस्थापक तथा निवर्तमान अध्यक्ष रानाभाट विभिन्न खेलकुद लगायत सामाजिक संघ संस्थामा समेत कृयाशील छन् ।

गतवर्ष सम्पन्न पहिलो पोखरा स्पोर्टस् अवार्डमा लाईफ टाईम एचिभमेन्ट अवार्ड वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापालाई अर्पण गरिएको थियो । त्यस्तै उत्कृष्ट पुरुष खेलाडीमा हेमन गुरुङ, उत्कृष्ट महिला खेलाडीमा मञ्जु गुरुङ, उत्कृष्ट प्रशिक्षकमा कराँतेका सुरेन्द्र गुरुङ, उदीयमान खेलाडी अवार्ड एथ्लेटिक्सकी शशी चौधरीले प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment