Comments Add Comment

यसरी ठडिँदैछन् लाप्राकमा भूकम्पपीडितका लागि घरहरु


२२ साउन, गोरखा । बैशाख १२, २०७२ को विनासकारी भूकम्पलाई यतिबेला धेरैले बिर्सिसकेका छन् ।

दुई बर्षभित्र पुनःनिर्माण सक्छु भन्ने सरकार, अर्बौं डलरको प्रतिबद्धता जनाउने दातृ निकाय र राजनीतिक दलका प्रतिबद्धता तीन वटा बर्खा पालभित्र बिताएका जनताका लागि कठोर ब्यङग्य सावित भएका छन् ।

बैशाख १२ को भूकम्पको केन्द्रविन्दुनजिकै रहेको उत्तरी गोर्खाको विकट हिमाली गाउँ लाप्राक झण्डै सात सय घर परिवारले पनि यस्तै आसैआसमा तीनवटा बर्षा बिताइसकेका छन् ।

यसै त पहिरोको जोखिममा रहेको वस्ती, त्यसमाथि भूकम्पले सवै भत्काएपछि लाप्राकबासीले यो जुनीमा भूकम्पप्रतिरोधी घरमा बस्न पाइएला भन्ने आश मारिसकेका थिए । किनकी यो दुर्गम बस्तीमा न त घर बनाउनलाई चाहिने पानी थियो, न गारो लगाउने ढुंगा न त काठ नै । तर, अब उनीहरुले यो हिउँद अगाडि नै भूकम्प प्रतिरोधी न्यानो घरमा रात बिताउन पाउनेछन् ।

गैरआवासीय नेपाली संघले वस्ती निर्माण गरिरहेको छ । भूकम्प गएको झण्डै दुई बर्षसम्म घर बनाउने अनुमतिको पर्खाइमा सिंहदरबार धाउन बाध्य भएको गैरआवासीय नेपाली संघले ६ महिना अगाडि मात्रै लाप्राकमा एकीकृत नमुना वस्ती विकास गर्ने अनुमति पाएको थियो ।

यसै त दुर्गम ठाउँ, त्यसमाथि सिमेन्ट र रडजस्ता निर्माण सामाग्रीको ढुवानीमा लाग्ने अचाक्ली खर्च । यसको सिधा अर्थ थियो सरकारले दिएको तीन लाख रुपैयाँमा घर त के जग खन्न पनि नसक्ने अबस्था थियो । तर, लाप्राकलाई मुलुककै नमुना वस्ती बनाउन अग्रसर लिएको एनआरएनले प्रति घर १२ लाख रुपैयाँ खर्च गरी यहाँ झण्डै ५७३ घरको नमुना वस्ती निर्माण गर्दैछ ।

गएका ६ महिनामा गैरआवासीय नेपाली संघले जसरी युद्धस्तरमा घर निर्माणको काम गर्‍यो, त्यसले यतिबेला लाप्राकबासी चकित परेका छन् ।

५७३ घरको एकीकृत बस्तीमा झण्डै ३ सय घरको डीपीसी निर्माण भइसकेको छ भने दर्जनौं घरमा गारो लगाउने काम धमाधम भइरहेको छ । ढुंगाको अभाव टार्न निर्माणस्थलमै इन्टरलकिङ इटा बनाउने काम भइरहेको छ । पर्याप्त घामको अभावमा इटा निर्माण सफल नहुँदा एनआरएन नेतृत्वले धेरैवटा विकल्पमा काम गर्नुपर्‍यो। इटा बनाउने मेसिनले काम नगरेपछि यतिबेला हातैले इटा बनाएर लाप्राकमा घर बनाउने काम अगाडि बढिरहेको छ ।

निर्माण कार्यको प्रत्यक्ष नेतृत्व गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङले गरिरहेका छन् । हरेक दुई सातामा लाप्राक पुग्ने उनीहरु त्यहाँ केही दिन बसेर आफैं कामको नेतृत्व गर्छन् ।

अक्टुवर अगाडि नै घर निर्माण सक्ने लक्ष्य भए पनि भौगोलिक जटिलता र मौसमी प्रतिकूलता निकै अप्ठेरो परेको संघका अध्यक्ष शेष घले बताउँछन् ।

आधाभन्दा बढि घरको निर्माण अक्टुवर अगाडी नै सक्ने र हिउँदसम्ममा बाँकी घरको निर्माण सक्ने लक्ष्यका साथ यतिबेला लाप्राकमा काम भइरहेको छ । नमुना वस्ती निर्माणमा नेपाली सेनाले पनि सहयोग गरिरहेको छ । जहाँ नेपाली सेनाले केही दक्ष निर्माणकर्मी खटाइदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment