Comments Add Comment

देउवाको भारत भ्रमणः यी हुन् नेपालका मुख्य एजेन्डा

६ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि गर्न लागेको भारतको राजकीय भ्रमणको एजेन्डा तय भएको छ । देउवाले विविध विषयहरु भ्रमणका क्रममा उठाउने भएका छन् ।

महाकाली सन्धिअनुसार पञ्चेश्वर परियोजनाको डिपिआर यसपटक टुंग्याउने भनिए पनि सम्झौता नहुने भएको छ । प्रधानमन्त्रीले प्राविधिक तहमा डिपिआर टुंग्याउनुपर्ने र त्यसपछि तल्लोतटीय लाभ, सामाजिक–आर्थिक लाभ, लाभ बाँडफाँड, वाइडर कस्ट, बाढी व्यवस्थापनका विषयमा राजनीतिक तहबाट टुंगो लगाउनुपर्ने प्रस्ताव लगिने भएको छ ।

भारतीय बाँधका कारण सीमावर्ती नेपाली क्षेत्र डुबानमा परेका विषयमा नेपाल र भारतका विज्ञहरूको टोलीले संयुक्त अनुगमन गर्ने यसअघिको सहमति कार्यान्वयन गर्नुपर्ने प्रस्ताव पनि लगिनेछ ।

स्थानीय तहको दोस्रो निर्वाचनदेखि १० मंसिरका लागि तोकिएको प्रदेश र संसद्को निर्वाचनका लागि लजिस्टिक सहयोग, गाडी, हातहतियार, विस्फोटक पदार्थ, भिड नियन्त्रण उपकरण माग्ने तयारी छ ।

नेपाली सेनालाई विगतमा सैन्य सामग्री खरिद गरिदिएबापत दुई अर्ब ४६ करोड ८० लाख रुपैयाँ भारतलाई तिर्नुपर्नेछ । भारतले ६० प्रतिशत अनुदान कटाएर लिनुपर्ने ४० प्रतिशत मूल्यबराबरको उक्त रकम मिनाहाका लागि प्रस्ताव लैजाने गरी छलफल भइरहेको छ । पुरानो सहमतिअनुसार आपूर्ति हुनुपर्ने सैन्य सामग्रीलाई निरन्तरता दिन पनि पहल गरिनेछ ।

प्रतिबन्धित हजार र पाँच सय दरका भारतीय नोट सटहीका लागि फेरि प्रस्ताव लगिनेछ । यसबारे भारतको स्टेट बैंक र नेपाल राष्ट्र बैंकको उच्च तहमा छलफल हुँदै आएको छ ।

नेपाली एलपिजी बुलेटलाई भारतसम्म खुला प्रवेश दिन माग गरिनेछ ।

जनकपुर, नेपालगन्ज, महेन्द्रनगरबाट एयर इन्ट्री अनुमतिका लागि नेपालले प्रयास गरिरहेकोमा यीसहित विराटनगरबाट जहाज आउन पाउनुपर्ने प्रस्ताव लगिनेछ । यसबारे नेपाल र भारतबीच पटक–पटक भएका वार्ता निष्कर्षविहीन हुँदै आएका छन् । भारतले गोरखपुरको हवाई सैनिक हेडक्वार्टरको सुरक्षा संवेदनशीलता जनाउँदै त्यसआसपासबाट नेपालतर्फ जहाज आउने रुटको अनुमति दिएको छैन ।

नेपाली उत्पादकहरूका लागि भारतीय बजारमा सहज पहुँचका लागि प्रस्ताव गरिने, ननट्यारिफ ब्यारिअर हटाउन थप प्रस्ताव गर्ने तयारी छ ।

पशुपतिनगर सुकियापोखरी नाका सञ्चालनका लागि प्रस्ताव गरिने, वीरगन्जदेखि कोलकाता–हल्दियासम्म भारतीय रेलमा दोहोरो सामान ओहोरदोहोरका लागि थप सजीकरणका लागि पहल गर्ने तयारी छ ।

इनर्जी बैंकिङका लागि प्रस्ताव गर्ने सरकारी तयारी छ । यसका लागि उत्तरप्रदेश र बिहार सरकार सहयोगका लागि इच्छुक रहेको सरकारी बुझाइ छ ।

बुटवल–गोरखपुर ४०० केभी सीमापार विद्युतीय प्रसारण लाइन जिटुजी (सरकारीस्तरमा) निर्माणका लागि आग्रह गरिनेछ । जम्मा सात अर्ब २१ करोड २० लाख भारु खर्च हुने सो परियोजनामा नेपालले दुई अर्ब ६ करोड ३७ लाख र भारतले पाँच अर्ब १५ करोड ३३ लाख रूपैयाँ खर्च गर्ने सहमति भइसकेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment