Comments Add Comment

दुई वर्षमा पनि लाग्न सकेन पेट्रोलको ट्यांकरमा ताला

बाटोबाटै इन्धन गायव हुने समस्या रोक्ने सरकारी योजना कागजमै सीमित

४ असोज, काठमाडौं । पेट्रोलियम ढुवानीका क्रममा हुने चुहावट नियन्त्रण गर्न सरकारले ट्यांकरमा ताला लगाउने निर्णय लिएको थियो । दुई वर्ष बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयनमा आएको छैन ।

चुहावट नियन्त्रणका लागि सरकारले ‘सेक्युरिटी लकिङ सिस्टम’ जडान गर्ने अवधारणा ल्याएको थियो ।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतको भनाइमा भारतका सिलिगुडी र गोन्डा डिपोबाट इन्धन ढुवानी गर्ने ट्यांकरमा उक्त प्रणाली जडानको तयारी अन्तिम चरणमा पुगेको छ । त्यसपछि अन्य डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा पनि उक्त प्रविधि जडान गरिने गोइत बताउँछन् ।

हालसम्म निगमले करिब चार सय ट्यांकरमा ताल्चा लगाएको छ । करिब एक हजार आठ सय ट्यांकरले भारतका विभिन्न डिपोबाट पेट्रोलियम ढुवानी गर्छन् । निगमले ती सबैमा ताल्चा लगाएपछि सोहीअनुरुप भारतले चाबी र आवश्यक प्रणाली जडान गर्ने सम्झौता छ ।

दुवै पक्षबाट ढिलाइ हुँदा उक्त प्रविधि कार्यान्वयनमा आउन नसकेको हो । भारतले पनि आफ्ना ट्यांकरमा ताल्चा लगाइरहेका कारण ढिलाइ भएको निगमको दाबी छ ।

कात्तिक ०७३ मै निगमले दुई महिनाभित्र सबै ट्यांकरमा लकिङ प्रणाली जडान गर्न निर्देशन दिएको थियो ।

उक्त प्रविधिको चाबी भारतबाट तेल लोड गर्ने डिपो र ट्यांकरले तेल खन्याउने आयल निगमको डिपोसँग मात्र हुनेछ । बीच बाटोमा इन्धन खन्याउन मिल्ने छैन । त्यसका कारण चुहावट वा चोरी हुने सम्भावना रहँदैन ।

भारतबाट इन्धन लोड गरेर ढुवानी भएको तेल कर्मचारीहरूको मिलेमतोमा बीच बाटोमा ट्यांकरबाटै हराउने समस्या छ ।

तेल लोड गर्दा र खन्याउँदाबीचको अवधिमा ढुवानीका क्रममा तापक्रमका कारण पर्न सक्ने फरक परिमाणको हकमा निगमले दिने क्षतिपूर्तिमा टेकेर ट्यांकर कर्मचारीले अनियमितता गरेका घटना छन् । अहिलेको लकिङ प्रणालीमा ताल्चा तोडेर सजिलै तेल चोर्न सकिन्छ ।

पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहराले आगामी मंसिरभित्रमा सबै ट्यांकरमा लकिङ राख्नुपर्ने माग रहेको बताए । फिटिङ गर्ने दक्ष जनशक्तिका अभावका कारण पनि लकिङ जडानमा ढिलाइ भएको उनको भनाइ छ । बोहराका अनुसार एउटा ट्यांकरमा लकिङ प्रणाली जडान गर्न करिब एक लाख रुपैयाँ लाग्छ । अब आउने नयाँ ट्यांकरमा भने पहिले नै लकिङ प्रणाली जडान हुने निगमको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment