१२ भदौ, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यवहादुर थापावीच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा बुधवार दिउँसो भएको भेटवार्तामा उहाँहरुवीच समसामयिक राजनीतिक घटनाक्रम, संविधानसभाको निर्वाचन लगायतका विषयमा छलफल भएको थियो ।
भेटमा राप्रपा अध्यक्ष थापाले निर्वाचनको प्रक्रियाप्रति असन्तुष्ट रहेका नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चा लगायतका दलहरुसंग सम्बादको प्रक्रिया टुटेकोप्रति चासो राख्नु भएको थियो । जवाफमा एमाले अध्यक्ष खनालले बुधवार विहानमात्रै राजनीतिक समितिको वैठकमा वैद्य नेतृत्वको मोर्चालाई सहमतिमा ल्याउने विषयमा छलफल भएको जानकारी गराउनु भएको थियो । खनालले समितिले आफू र समितिका संयोजक एवम् काँग्रेस सभापति सुशील कोइरालाई विशेषगरी बैद्य नेतृत्वको मोर्चालाई सहमतिमा ल्याउने जिम्मेवारी दिएको वताउनु भएको थियो ।
थापाले भने नेकपा-माओवादी लगायत सबै दललाई चुनावी प्रक्रियामा ल्याउनका लागि वार्ता र सम्बादको प्रक्रियालाई जारी राख्न र जसरी पनि सहमतिमा ल्याउन खनाललाई आग्रह गर्नु भएको थियो । भेटमा खनालले असन्तुष्ट दललाई आफूहरुले वार्ताको माध्यमवाट सहमतिमा ल्याउन सक्दो प्रयास गर्ने र सहमतिमा आउनेमा आफू आशावादी रहेको वताउनु भएको थियो । भेटमा राप्रपाका बरिष्ठ नेता पशुपति शम्शेर राणा पनि सहभागी हुनुहुथ्यो ।
प्रतिक्रिया 4