Comments Add Comment

ट्रेड युनियन काँग्रेसमा देउवा पक्षको वर्चश्व

माधव धिताल

१२ भदौ, चितवन । नेपाली काँग्रेसको मजदुर संगठन ‘नेपाल ट्रेड युनियन काँग्रेस’मा वरिष्ठ नेता शेरवहादुर देउवा पक्षले बर्चस्व जमाएको छ । बुधवार सकिएको मत गणनापछि ट्रेड युनियन काँग्रेसको अध्यक्षमा खिलानाथ दाहालहित अधिकांश देउवा प्यानलबाट निर्वाचित भएका छन् ।

चितवनमा तीन दिनसम्म चलेको पाँचौं अधिवेशनवाट संस्थापन पक्षका पुष्कर आचार्यलाई ६२ मतले पराजित गर्दै देउवा पक्षीय नेता खिलानाथ दाहाल युनियनको अध्यक्षमा निर्वाचित हुनुभएको छ । १५ सय ६१ मत खसेकोमा दाहालले ७ सय ८६ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्दी आचार्यले ७ सय २४ मत प्राप्त गर्नुभयो । अघिवेशनले युनियनको नाममा रहेको ‘स्वतन्त्र’ फुर्कोसमेत हटाएको छ ।

बरिष्ठ उपाध्यक्षमा भने संस्थापन पक्षका रामजी कुँवर निर्वाचित हुनु भएको छ । उहाँले ७५२ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी महिला उपाध्यक्षमा देउवा पक्षधर रमा पौडेल निर्वाचित हुनुभएको छ । उहाँले ८ सय ८७ मत प्राप्त गर्नुभयो । खुल्लातर्फको उपाध्यक्षमा देउवा समूहकै अयोध्याप्रसाद यादव निर्वाचित हुनुभएको छ । उहाँले ६ सय ६२ मत प्राप्त गर्नुभएको छ । अर्का उपाध्यक्षमा भने संस्थापन पक्षका गणेश निरौला निर्वाचित हुनुभएको छ । निरौलाले ६ सय ६१ मत प्राप्त गर्नु भएको छ ।

यस्तै सेवातर्फको उपाध्यक्षमा बमबहादुर डिसी ५३४, उत्पादनतर्फ ललित श्रेष्ठ ६०१ र अनौपचारिक तर्फबाट कल्पना अधिकारी ६९२ मत ल्याएर उपाध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य जयराम श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिनुभयो ।

त्यसैगरी महासचिवमा संस्थापन पक्षधर महेन्द्र यादव निर्वाचित हुनुभएको छ । उहाँले ६ सय ६४ मत प्राप्त गर्नुभयो भने उपमहासचिवमा देउवा समूहका पत्रकार केदार कोइराला ६१६ ल्याई विजयी हुनुभएको छ । त्यस्तै उपमहासचिवमा सञ्जिव मिश्रले ५१७ मत तथा संस्थापन पक्षका आशासिंह राठौर ५०७ मत ल्याई निर्वाचित हुनुभएको छ । महिलातर्फको उपमहासचिवमा ललितकला गुरुङ ७१० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

कोषाध्यक्षमा भने संस्थापन पक्षका योगेन्द्र कुँवर ७१७ मत ल्याई निर्वाचित हुनुभएको छ भने सहकोषध्यक्षमा देउवा पक्षधर जर्नादन निरौला ६३३ मतल्याएर विजयी बन्नुभएको छ । त्यसैगरी सात महिला केन्द्रीय सदस्यमा अम्बिका पौडेल ४९६, कमला लामिछाने ५८८, तारा राई ५७४, प्रतिमा शाह ६८२, मिना न्यौपाने ४७९, राधिका कुँइकेल ५१५ र सुशीला घिमिरे ५७६ निर्वाचित हुनुभएको छ ।

कुल १६ सय २ मतदाता रहेकोमा अधिवेशनमा १५ सय ६१ मतमात्रै खसेको थियो । कुल ३७ सदस्यीय कार्यसमितिका लागि १ सय ६१ जनाले उम्मेदवारी दिएका थिए ।

युनियनको नाम परिवर्तन

अधिवेशनले नेपाल ट्रेड युनियन काँग्रेस स्वतन्त्रको नाम परिवर्तन गरेको छ । माउ पार्टीका शीर्ष नेताहरुवीच युनियनको नामका विषयमा मत बाझिएपछि संगठनको नाम ‘नेपाल ट्रेड युनियन काँग्रेस स्वतन्त्र’ राख्ने कि स्वतन्त्र हठटाउने भन्ने विवादलाई टुंग्याउन मतदान गरिएको थियो ।

मतदानका क्रममा नेपाल ट्रेड युनियन काँग्रेसका पक्षमा ९७३ र नेपाल ट्रेड युनियन काँग्रेस स्वतन्त्रका पक्षमा ७७६ मत मात्र परेको थियो । नेपाल ट्रेड युनियन काँग्रेसका पक्षमा बहुमत आएपछि संगठनको नामबाट ‘स्वतन्त्र’ फर्को हटेको छ । यसअघि संस्थापन पक्षले संगठनको नाम नेपाल ट्रेड युनियन काँग्रेस राख्नुपर्ने बताउँदै आएको थियो भने देउवा पक्षले स्वतन्त्र राख्नुपर्नेमा जोड दिँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment