सुमन पन्त
१३ भदौ, बिराटनगर । कुनैबेला कलेजमा प्राध्यापन मात्रै गर्ने मनोजकुमार साहको दिनचर्या बिहान झिसमिसेसँगै सुरु हुन्छ । कलेज अध्यापकसँगै उहाँले यतिबेला कृषि उद्यमीको परिचयसमेत थप्नुभएको छ । उहाँसँग डबल डिग्री छ । एउटा एमबीए, अर्को एमएड । सर्टिफिकेट नै भँजाएको भए, राम्रो जागिर खानसक्ने ल्याकत पनि छ । तर, उहाँले आफ्नो डिग्रीलाई जागिर खाने होइन, खुवाउने ‘डि्रम प्रोजेक्ट’ बनाउनुभयो ।
०५४ सालमा एमबीए सकेपछि उहाँले लामो समय कलेज पढाउनुभयो । बिराटनगरमा उहाँले साझेदारीमा खोलेको श्रीराम कलेज राम्रै शिक्षण प्रतिष्ठानमा गणना हुन्छ । तर, पढाउने कामसँगै उहाँले कृषि पेशामा नमूना काम गर्ने सोच बनाउनुभयो । ०६८ सालमा बिराटनगरको गणेश डेरी प्रालिमा लगानीको प्रस्ताव आयो । प्रस्ताव स्वीकार गर्नुभयो । तर, साझेदारहरुबीच लामो समयसम्म मन मिलेन । यो डेरी पनि मनोजले नै सकार्नुभयो । अहिले त्यहाँ दैनिक २ हजार लिटर दूध प्रशोधन हुन्छ ।
तर, चार करोड लगानीको यो डेरीले जम्माजम्मी २ हजार लिटर दूध प्रशोधन गर्दा खासै नाफा निकाल्न सकेन । फेरि शुद्ध र राम्रो दूधको अभाव पनि भइरह्यो । ‘कम्तिमा दैनिक ५ हजार लिटर दूध प्रशोधन गर्नुपर्छ’ गाई फार्म खोल्नुको कारण बताउनुभयो ‘दिगो स्रोतका लागि आफैंले गाई फार्म सञ्चालन गर्नुपरेको हो ।’
उहाँले अहिले बिराटनगर, रानीमा ५ विगाह जमीनमा गाई फार्म खोल्नुभएको छ । १ सय १० वटा गाई छन् त्यहाँ । थप ९० वटा ल्याउने योजना छ । पशु चिकित्सक र प्राविधिकहरुको नित्य निगरानी छ । १५ जनाले पूर्णकालीन रोजगारी पाएका छन् ।
साहले आफूले सुरु गरेको गाई फार्मबाट दूध उत्पादनसँगै समुदायलाई मोडल देखाउने लक्ष्य पनि रहेको सुनाउनुभयो । ‘हामीले लघु वित्तीय सहयोग जुटाइदिने र किसानलाई गाई पालनमा अग्रसर गराउने हाम्रो मुख्य ध्येय हो’ उहाँले भन्नुभयो ‘किसानले उत्पादन गरेको सामाग्री हामीले किनिदिन्छौं ।’ यसो गर्नाले लघु वित्त संस्थाहरुको लगानी पनि सुरक्षित हुने उहाँको विश्लेषण छ । केही बैंकहरुसित सामुहिक जमानीमा विना धितो ऋण लगानीका लागि कुराकानी अघि बढिसकेको साहले जानकारी दिनुभयो ।
हण्डर पनि धेरै खानुपर्यो
गत पुसदेखि करमचन्द बिराट एग्रो इण्डष्ट्रिज प्रालि नाम दिई फार्म सञ्चालनमा ल्याएयता उहाँले निकै हण्डर पनि खाइसक्नुभएको छ । खासगरी, सरकारले कृषि क्षेत्रको प्रवर्द्धनमा प्राथमिकता दिएको भने पनि व्यवहारमा लागू नगरेकोमा उहाँले समस्या भोगिरहेको बताउनुहुन्छ । उन्नत जातका गाई संकलन गर्न कठिनाइ छ । प्रजननका लागि गुणस्तरीय ‘सिमेन’ छैन । नेपालमा उन्नत जातका गाई एकै ठाउँमा नपाउने र प्राविधिक पुष्टि पनि त्यति नहुने भएकाले भारतबाट ल्याउन खोज्दा त्यहाँको सरकारले प्रतिवन्ध लगाएको दिएको छैन । ‘नेपाल सरकारले कुटनीतिक पहलमा यो प्रतिवन्ध खोल्नुपर्ने हो’ उहाँले सुनाउनुभयो ‘सरकारमा बस्नेहरुलाई हाम्रो यो समस्याबारे कुनै चासो छैन ।’
उन्नत वीर्यको अभाव
पशु प्रजननका लागि उन्नत जातको पशुको वीर्यको अभाव भइरहेको छ । कुनैबेला अमेरिका र न्युजिल्याण्डको वीर्य आयात हुने नेपालमा अहिले पोखरामा मात्र सरकारी स्तरबाट वीर्य उत्पादन भएको छ । तर, यसको गुणस्तरमा प्रश्नचिन्ह लाग्दै आएको छ । ‘अब हामीले सिमेनमात्र होइन, उन्नत जातको गाईको इम्बि्रयो नै आयात गर्नुपर्ने आवश्यकता छ । सिमेनमा बाबुको मात्र गुण रहेको हुन्छ, भने इम्बि्रयोमा बाबु र आमा दुबैको गुण रहेको हुन्छ । जुन यहाँको गाईमा प्रत्यारोपण गरेपछि शुद्ध नश्लकोसरह प्रजनन हुने गर्छ ‘ साहले भन्नुभयो । दूधको बढ्दो माग र घट्दो किसानको संख्यावीच तालमेल मिलाउन यस्ता नवीन प्रविधिमा जोड दिनुपर्ने आवश्यकता उहाँले देख्नुभएको छ ।
आफ्नो निजी लगानी र मेगा बैंकको ४ करोड रुपैंयाँ गरी करिब ८ करोड लगानी गरिसकेका उहाँ थप लगानी गर्ने सुरमा हुनुहुन्छ । सोही फार्ममा तीन सयवटा बाख्रापालन गर्ने गरी पूर्वाधार तयारी गर्दैहुनुहुन्छ, जसमा ४० वटा ल्याइसक्नुभएको छ । बंगुरपालनको सोचसँगै पोखरी खनिसक्नुभएको छ । ‘अब मासु र दूध उत्पादन दुबै गर्ने हो’ एकीकृत कृषि नेपालको आवश्यकता औंल्याउँदै उहाँले भन्नुभयो ‘एउटामा घाटा भए अर्कोले राहत दिन्छ ।’
उहाँसित करिब एकघन्टा बिताइसके पनि समय बितेको पत्तै हुँदैन । कहिले सरकारी नीति त कहिले बजारशास्त्रीय विश्लेषण । फार्म सञ्चालनमा भोगेका समस्याहरु एकपछि अर्को मननीय हुँदै थिए । त्यहीबेला एकजना कामदार दौडेर आए, ‘हिजो ब्याएको गाई बिरामी भयो’ यति सुन्नासाथै उनको औंला मोबाइलमा थिचिए । पशु प्रजनन्विज्ञ डा. योगेन्द्र यादवलाई आमन्त्रण गरेपछि उनले भने ‘सर, अब हामी गाईको उपचारमा लाग्छौं, आजलाई यत्ति नै ल ?’
प्रतिक्रिया 4