Comments Add Comment

नेविसंघको महाधिवेशन : हात्ती आयो फुस्सा !

माधव धिताल

१६ भदौ, काठमाण्डौ । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन नुहने लगभग पक्का भएको छ । पटक-पटक महाधिवेशनको मिति तोकिए पनि तुहिँदै आएको नेविसंघको महाधिवेशनको मिति भदौ २९, ३० र ३१ गतेका लागि तोकिएको थियो ।

nepal student unionअधिवेशनका लागि भदौ १६ सम्म जिल्ला र १८ गतेभित्र क्याम्पस अधिवेशन गर्ने भनिए पनि अहिलेसम्म हुन सकेको छैन । जिल्ला अधिवेशन भदौ १६ भित्रै सक्ने कार्यतालिका सार्वजनिक भए पनि अहिलेसम्म जम्मा ३० जिल्लामा मात्रै जिल्ला अधिवेशन भएको छ । बाँकी ४५ जिल्लाको अधिवेशन विवादका कारण अहिलेसम्म हुन सकेको छैन ।

अध्यक्षवाट प्रदीप पौडेलले राजीनामा दिएपछि ६ महिनाभित्र अधिवेशन गराउने जिम्मेवारीका साथ नेतृत्वमा आएका रञ्जित कर्णले २० महिना पुग्दासमेत अधिवेशन गराउन सकेका छैनन् । विद्यार्थी नेताहरुको विवादका कारण करिव ६ वर्षयता नेविसंघको महाधिवेशन हुन नसकेको तीतो यथार्थ त छँदैछ, अधिवेशन गराउने जिम्मेवारी पाएको २० महिनासम्म पनि अधिवेशन गराउन नसक्नु अध्यक्ष रञ्जित कर्णको असक्षमता भएको नेविसंघकै नेताहरुले आरोप लगाउन थालेका छन् ।

नेविसंघको विधानअनुसार महाधिवेशन प्रत्येक दुई-दुई वर्षमा हुनुपर्ने अधिवेशन ६ वर्ष वित्दा पनि हुन सकेको छैन । विवादकै कारण ४५ जिल्लामा अधिवेशन हुन बाँकी भएकाले आगामी भदौ २९, ३० र ३१ गतेका लागि तोकिएको अधिवेशन नहुने पक्का भएको छ । यद्यपि अधिवेशन स्थगनको घोषणा चाहिँ अहिलेसम्म गरिएको छैन ।

कहाँ-कहाँ भयो जिल्ला अधिवेशन ?

निर्वाचनको कार्यतालिका अनुसार अहिलेसम्म ३० जिल्लामा मात्रै अधिवेशन भएको छ । अहिलेसम्म कैलाली, प्युठान, रुकुम, काभ्रे, सिन्धुली, महोत्तरी, उदपुर, इलाम, पाँचथर, अछाम, डोटी, रोल्पा, डडेल्धुरा, कालिकोट र जुम्लामा अधिवेशन सकिएको छ । त्यसैगरी डोल्पा, मुगु, हुम्ला, दार्चुला, जाजरकोट, पाल्पा, म्याग्दी, बारा, रामेछाप, ओखलढुंगा, खोटाङ, धनकुटा, तेह्रथुम, भोजपुर र ताप्लेजुङमा पनि अधिवेशन सकिएको छ ।

४५ जिल्लामा अधिवेशन भएन

निर्वाचनको कार्यतालिका अनुसार भदौ १६ आइतवारभित्र ७५ जिल्लामै अधिवेशन हुनु पर्ने हो । तर विवादकै कारण ४५ जिल्लामा अधिवेशन हुन सकेको छैन । अधिवेशन हुन नसकेका जिल्लाहरुमा पाँचथर, झापा, सुनसरी, मोरङ, संखुवासभा, सप्तरी, सिरहा, सोलुखुम्बु, दोलखा, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, पर्सा र मकवानपुर रहेका छन् । त्यसैगरी चितवन, धादिङ, नुवाकोट, रसुवामा पनि अधिवेशन हुन सकेको छैन । काठमाण्डौ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, तनहुँ, गोरखा, लम्जुङ, कास्की, स्याङ्जा, मनाङ, पर्वत, बागलुङ, मुस्ताङ, नवलपरासी, रुपन्देहीमा पनि विवादका कारण अहिलेसम्म अधिवेशन हुन सकेको छैन । त्यस्तै कपिलबस्तु, गुल्मी, अर्घाखाँची, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कञ्चनपुर, डोटी, बझाङ र बाजुरामा पनि अधिवेशन भएको छैन ।

क्याम्पस अधिवेशनको अत्तोपत्तो छैन

क्याम्पसहरुमा अधिवेशन भदौ १८ गतेभित्र सकिसक्ने कार्यतालिका सार्वजनिक गरिएको भए पनि क्याम्पस इकाइमा समेत अधिवेशन हुन सकेको छैन । उपत्यका बाहिरका क्याम्पसको अधिवेशन त टाढाको कुरा हो, केन्द्रीय राजनीतिक थलो मानिने राजधानीकै अधिकांश क्याम्पसमा अधिवेशन हुने छाटकाँट छैन । भदौ १८ गतेभित्रै सबै क्याम्पसहरुमा अधिवेशन हुनु पर्ने हो तर अहिले सम्म अधिवेशन हुन नसक्दा नेविसंघको भदौ २८ देखि सुरु हुने अधिवेशन नै रोकिने प्राय निश्चित भइरहेको छ । क्याम्पसमा दुईवटा समान्तर इकाइ हुँदा पनि क्याम्पस अधिवेशन हुन गाह्रो भएको नेविसंघ नेताहरु वताउँछन् ।

११ जिल्लामा अझै विवाद ?

३० वटा जिल्लामा मात्रै शनिवारसम्म अधिवेशन भएको छ । केही जिल्लामा अधिवेशन भएपनि विवाद उत्तिकै छ भने १८ जिल्लामा विवादकै कारण अधिवेशन हुन सकेको छैन । नेविसंघको विवाद नमिलेका जिल्लाहरुमा सुनसरी, सोलुखुम्बु, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, ललितपुर, सिन्धुपाल्चोक, कास्की, मनाङ, बर्दिया जिल्ला कमिटिमा विवाद छ ।

उता पार्टी एकतापछि पनि संखुवासभा, सप्तरी, धनुषा, पर्सा, तनहुँ, रुपन्देही र कञ्चनपुर जिल्लामा दुवै पक्षका समान्तातर जिल्ला कमिटी कायमै छन् ।

अधिवेशन सर्दैन, समयमै हुन्छ : कर्ण

Ranjit-karnaनेविसंघ अध्यक्ष रञ्जित कर्णले अधिवेशन तोकिएकै मितिमा हुने वताउनु हुन्छ । उहाँले अनलाइनखबरसंग भन्नुभयो,’पार्टीले संविधानसभाको चुनावका लागि प्रत्येक क्षेत्रवाट उम्मेदवार पठाउन सिफारिस गरेकाले जिल्ला अधिवेशन हुन ढिलाई भएको हो । भदौ १६ गतेभित्रै सक्ने हाम्रो लक्ष्य थियो अब भदौ २२ भित्रै सवै जिल्लामा अधिवेशन सकिन्छ ।’ कर्णले भदौ २८ देखि काठमाण्डौमा सुरु हुने अधिवेशन नसर्ने ठोकुवा गर्नु भयो ।

अधिवेशन रोकिए स्वीकार्य हुँदैन : आचार्य

नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्यले नेविसंघकै नेतृत्वका कारण अधिवेशन नहुने दिशातर्फ गएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘अधिवेशन गराउन वर्तमान नेतृत्व चाहँदैन । त्यसैले विवाद नभएका जिल्ला तथा क्याम्पसलाई पनि विवादमा तानेको छ । ‘

उहाँले विवाद सिर्जना गरेर भएपनि वर्तमान नेतृत्वले आफ्नो कार्यकाल लम्ब्याउन खाजेको आरोप लगाउनुभयो । उहाँले अब पनि अधिवेशनको मिति सरे आफूहरुलाई स्वीकार्य नहुने बताउनुभयो ।

यसकारण हुँदैन अधिवेशन

क्याम्पस इकाइ, जिल्ला कमिटी तथा केन्द्रमै अधिवेशनका विषयमा नेताहरुवीच मत भिन्नता देखिनु र तोकिएको समयमा जिल्ला तथा क्याम्पस अधिवेशन हुन नसक्नुले नै अधिवेशन नहुने प्रष्ट भइसकेको छ । अधिवेशन हुन पहिलो कुरा अधिवेशन हुन बाँकी ४५ जिल्लामा अधिवेशन हुनु पनि त्यसकै संकेत हो ।

क्याम्पसमा अहिले नै अधिवेशन गर्न सम्भव छैन । किनकि स्नातक तह प्रथम वर्षको परीक्षा १७ गतेदेखि नै सुरु भएको छ भने स्नातकोत्तर तह प्रथम वर्षको विज्ञान संकायको पनि परीषा चलिरहेकाले पनि क्याम्पस अधिवेशन एक महिनायता सम्भव नरहेको नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment