१७ भदौ, काठमाडौं । बिश्वकै सवैभन्दा ठूलो हवाई नेटवर्क भएको टर्कीको राष्ट्रिय ध्वाजाबाहक बायुसेवा टर्किस एयरले नेपाल उडान सुरु गरेको छ । सोमबार बिहान टर्कीस एयरको पहिलो उडान काठमाण्डौस्थित त्रिभुवन बिमानस्थल आइपुगेको छ । नेपाल उडान टर्किस एयरलाइन्सको ११४ औं देश हो भने २३८ औं गन्तब्य हो ।
हप्तामा चार दिन काठमाण्डौ टर्कीको स्तानबुलबाट काठमाण्डौ सिधा उडान गर्ने टर्किस एयरले नेपाल आउन चाहाने युरोपेली तथा अमेरिकी पर्यटक तथा नेपालबाट युरोप र अमेरिका आवत जावत गर्ने नेपालीहरुलाई सहज भएको छ ।
सोमबार काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा आगामी केही महिनाभित्रै दैनिक उडान भर्ने जानकारी दिइयो । ६ घण्टाको सिधा उडान गर्ने टर्किस एयर सोमबार, बुधबार, शुक्रबार र शनिबार बिहान सवा ७ बजे त्रिभुवन बिमानस्थलमा अबतरण गर्ने छ भने पौने ९ बजे स्तानबुलका लागि प्रस्थान गर्ने छ ।
टर्किस एयर युरोपबाट सिधा उडान गर्ने एकमात्र नियमित बायुसेवा कम्पनी हो । नेपालमा लुफ्थान्साले उडान बन्द गरेसँगै युरोपसँग सिधा हवाईसम्पर्क टुटेको थियो ।
स्काई ट्राक्स प्यासेन्जर च्वाइस र्याकिङ्गमा तीन वर्षसम्म लगातार तीन वर्ष ‘वेष्ट एयरलाइन्स इन यूरोप’ अवार्ड जितेको टर्किसले आफ्नो नेटवर्कमा नेपाललाई जोडेको हो । प्रारम्भिक चरणमा दुईतर्फी न्यूनतम भाडा दर करसहित ४ सय ६ यूरो -करिब ५८ हजार ५ सय) तय गरिएको छ । सेप्टेम्बर १ बाट उडान सुरु गरेको कम्पनीले ६ महिनासम्मको लागि स्पेशल अफर पनि सञ्चालन गरेको छ ।
अफरअन्तर्गत माइल्स एण्ड स्माइल्स सदस्यहरुका लागि माइल्समा २५ प्रतिशतसम्मको छुट दिइएको छ । यो छुट टिकट जित्न वा आफ्नो सिटको अपग्रेड गर्न उपयोग गर्न सकिनेछ ।
काठमाण्डौ पर्यटकीय आधारमा महत्वपूर्ण गन्तव्य भएकाले आफ्नो सञ्जालमा जोडेको कम्पनीले जनाएको छ । ‘काठमाण्डौ ऐतिहासिक सहर हो, यहाँ थुप्रै जनजाति, ऐतिहासिक स्थान, बौद्ध स्तुप र हिन्दू मन्दिर छन्, जसलाई युनेस्कोले सम्पदा सूचीमा पनि राखेको छ’, कम्पनीद्वारा विज्ञप्तिमा भनिएको छ, ‘यहाँ कतिपय त्यस्ता ठाउँ पनि छन्, जहाँबाट हिमालयन रेन्जहरुका थुप्रै गन्तव्यहरुमा पुग्नका लागि ट्रेकिङ्ग एक्सपेडिसनको सुरुवात गर्न सकिन्छ ।’
टर्किस एयरको नेपालका लागि जनरल सेल्स एजेण्ट (जीएसए) जेनिथ ट्राभलका प्रबन्ध निर्देशक जोय देवानका अनुसार टर्किसको उडानले युरोप र अमेरिकामा बस्ने नेपालीलाई यात्रा सहज बनाइदिने छ । ‘अहिले पनि तीन महिनाका लागि ९० प्रतिशत सिट बुक भइसकेको छ’ देवानले अनलाइनखबरसँग भन्नुभयो-‘अन्य एयरलाइन्सबाट जाँदा घण्टौं ट्रान्जिट बस्नुपर्ने बाध्यता हटेको छ भने तुलनात्मकरुपमा भाडा दर पनि सस्तो पर्ने छ ।’ देवानका अनुसार स्तानबुलबाट युरोप र अमेरिकाका कुनै पनि गन्तब्यमा पुग्ने उडान भेटन दुई देखि तीन घण्टामात्रै ट्रान्जिट बसे पुग्छ ।
‘पछिल्लो दिनमा युरोप र अमेरिकामा नेपालीहरुको आवतजावत बढेको छ, त्यसले स्वभाविकरुपमा सहज हवाई यात्राको माग बढेको छ’- दैनिक उडानको सम्भव छ त भन्ने अनलाइनखवरको प्रश्नमा देवानले भन्नुभयो-‘युरोपेली पर्यटकको आगमन पनि यसले बढाउने छ, अहिले हाम्रा लागि पर्याप्त बजार छ ।’
नेपाल पर्यटन बोर्डका निर्देशक आदित्य बरालले युरोपेली पर्यटकलाई नेपालमा आर्कषिर्त गर्न र नेपालका पर्यटकीय गन्तब्यलाई युरोपेलीमाझ चिनाउन टर्किस एयरसँग मिलेर काम गर्ने बताउनुभयो । ‘कसरी आर्कषक प्याकेज बनाउन सकिन्छ भनेर छलफल भइरहेको छ’-बरालले भन्नुभयो-‘हामी छिटै प्याकेज बनाएर प्रर्बद्धनमा जुट्ने छौं ।’
प्रतिक्रिया 4