Comments Add Comment

बाजुराबासी भोकभोकै

१८ भदौ, बाजुरा । दुई महिनादेखि खाद्यान्न संकट सुरु भएको बाजुरामा झन्डै २६ हजार घरधुरीमध्ये ७० प्रतिशतका घरमा खानेकुरा सकिएको छ । केही नपाएपछि स्थानीय बासिन्दा नपाकेका कलिला र काँचा मकैका घोगा बोटबाटै भाँचेर खान थालेका छन् । जिल्ला खाद्य सुरक्षा सञ्जालका संयोजक तथा जिल्ला कृषि विकास कार्यालयका प्रमुख रामशरण यादवका अनुसार आवश्यक खाद्यान्न आपूर्ति गर्ने उपाय नभएकाले संकट चुलिएको हो ।

‘जिल्लाका २५ हजार ८ सय ९ घरधुरीमध्ये करिब ७० प्रतिशतको घरमा अन्न छैन,’ उनले भने । पूर्वी कोल्टी क्षेत्रका साप्पाटा, रुगिन, बिच्छ्याँ, गोत्री, जुकोट, बाँधु, कोटिला, जगन्नाथ, दहकोट, मानाकोट, डोगडी, जयबागेश्वरी, काँडा, गुदुखातीलगायत गाविसका बासिन्दालाई छाक टार्न समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् ।

साप्पाटा-१ जोरु गाउँका करबहादुर कँडाराले भने, ‘बचेखुचेका अन्न आपसमा सापटी गर्दै अहिलेसम्म टर्‍यो, अब कोल्टीमा खाद्यान्न नआएसम्म अर्को उपाय छैन ।’ स्थानीय बासिन्दा मकै पाक्ने समय पर्खिनसमेत सकिरहेका छैनन् । असोज पहिलो साताभित्र किसानले मकै बाली भित्र्याउँछन् । धेरैले नपाकेकै मकैको काँचा घोगाले छाक टारिरहेको उनले बताए । ‘काँचै भए पनि घोगा ल्याएर छाक टार्नुपरेको छ,’ कुल्देवमाडौंका लालबहादुर सार्कीले भने ।

 हरेक वर्ष समस्या हुने गरे पनि यो वर्ष खाद्य संस्थानले चामल आपूर्ति नगर्दा समस्या चुलिएको हो । खाद्य संस्थानको कोल्टी डिपो र सदरमुकामस्थित गोदाम रित्तै छन् । संस्थानको शाखा कार्यालय र प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको खाद्य सुरक्षा समितिले केन्द्रमा अनुरोध गरे पनि सुनुवाइ नभएको शाखा प्रमुख वासुदेव भट्टले बताए । ‘किरिया कर्म गर्न चामल माग्न आएकालाई समेत रित्तै फर्काउनुपर्दा चित्त दुख्छ,’ उनले भने । साउनमा कोल्टीका स्थानीयले खाद्यान्न माग गर्दै प्रदर्शनसमेत गरेको मंगलबारको कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment