Comments Add Comment

मनमोहनको क्षेत्रमा एमालेलाई उमेदवार छान्नै धौधौ

गोपाल दाहाल

१९ भदौ, धरान । कम्युनिष्टहरुको लालकिल्ला भनिने गरिएको सुनसरी क्षेत्र नं. १ मा दोस्रो संविधानसभाका लागि उमेदवार छान्न नेकपा एमालेलाई गाह्रो परेको छ । सुनसरी १ नं एमालेका लागि त्यस्तो क्षेत्र हो, जहाँबाट जितेका स्व. मनमोहन अधिकारी एकताका प्रधानमन्त्री बन्नुभएको थियो भने स्व.लीला श्रेष्ठ सुब्बा पहिलो महिला उपसभामुख हुनुभएको थियो । धरान क्षेत्रबाट ०५६ सालमा एमालेले चर्चित कवयत्री कुन्ता शर्मालाईसमेत विजय दिलाएको थियो ।manmohan adhikari

पहिले आफुले जित्दै आएको यो क्षेत्रमा अघिल्लो संविधानसभामा एमाओवादीले आफ्ना शक्तिशाली उमेदवारलाई हराएको र यसपटक अशोक राईको संघीय समाजवादी पार्टीले कार्यकर्ताहरु धमाधम लगिरहेको अवस्थामा एमालेले उपयुक्त उमेद्वार छान्न निकै ठूलो चुनौतीको सामना गर्नुपरेको छ । गत संविधानसभामा माओवादीका किरणकुमार राईले जितेका थिए । पहिला सजिलै जित्दै आएको र धरानका चल्तापूर्जा पूर्वमेयर मनोजकुमार मेन्याङ्वो चुनावी मैदानमा आउँदा एमालेले सजिलै जितिन्छ भन्ने ठानेको थियो । तर, पहिला चर्चामै नआएका किरणले धरानका पूर्वमेयरलाई हराएपछि एमालेको क्षेत्रीय समिति यसपालि कसलाई सिफारिस गर्ने भन्ने अन्यौलमा परेको हो ।

जातीय नाराको प्रभाव

सुनसरी क्षेत्र नं. १ अन्य क्षेत्रभन्दा बढी जटिल छ । विभिन्न जातीय समुह र सक्रियता रहेको यो क्षेत्रमा उमेदवार छान्दा जातलाई पनि हेर्नुपर्ने बाध्यता दलहरुलाई छ । अघिल्लो निर्वाचनमा किरणले जित्नुमा राई उमेदवार हुनु पनि महत्वपूर्ण कारण थियो, किनकि त्यतिबेला राजनीतिक दलभन्दा जातीयतालाई धेरैले महत्व दिएका थिए । राई जातिको जातीय संस्था किरात राई यायोख्खामा छलफल गर्दै एमाले, काँग्रेस पार्टीमा नेतृत्व गर्ने राईहरुले पनि राईलाई नै भोट दिने भनेर वाचा गरेका थिए ।

त्यसैले यो क्षेत्रको राजनीतिमा चर्चामै नआएका किरणले एमालेका लिम्बु उमेद्वारलाई जिते । अहिले पहिलाभन्दा जातीय भावना चर्किएको अवस्था छ । राईहरुको जनसंख्या सबैभन्दा बढी भएको र समाजवादीले एमालेमा असन्तुष्ट राईहरुलाई नै बढी समेट्दै लगेकाले पनि एमालेलाई राई उमेदवार उठाउन दबाब परिरहेको छ । उता एमाओवादीले पनि गोपाल किरातीलाई यसक्षेत्रमा उठाउने चर्चाले एमालेलाई राई उमेद्वार खोज्न थप दबाव परेको हो ।

चर्चामा को-को ?

एमाले सुनसरी १ मा अहिले कृष्णकुमार राई, तारा सुब्बा, मोती सुनुवार, बंशी मोक्तान र भीम राई ज्वालाको नाम चर्चामा छ । पहिला राप्रपामा हुँदा सहायक मन्त्री भइसकेका कृष्णकुमार पुराना पुस्तामा बढी चर्चित छन् । तर, अहिले एमालेमा संविधानसभाको निर्वाचनमा जनआन्दोलनमा सहभागी नभएको व्यक्तिलाई उमेदवार बनाउन नहुने भन्दै एकथरिले उनको विरोध गरिरहेका छन् । जनआन्दोलनमा कुटाइ खाने र भातपानी नभनी खट्नेलाई पाखा लगाएर नवप्रवेशीलाई टिकट दिए अझै असन्तुष्टी बढ्ने एमाले कार्यकर्ताहरुले भन्ने गरेका छन् ।

पार्टीका नगरअध्यक्ष तारा सुब्बाको नाम पनि सम्भावित उमेदवारका रुपमा चर्चामा छ । ‘ड्यासिङ पावर’ कमजोर रहेको आरोप लाग्ने गरेका सुब्बाको स्वास्थ्यमा समस्या छ । त्यसो त धरानमा राईको बहुमत भएकाले पार्टीले लिम्बूलाई टिकट दिने सम्भावना कम रहेको बताईन्छ । अघिल्लो संविधानसभाको निर्वाचनमा राई भएकै नाताले किरणकुमार राईलाई एमाले, काँग्रेसका राईहरुले समेत भोट दिएका थिए । अर्का आकांक्षी जिल्ला सचिव मोती सुनुवारको पार्टीमा लगाव राम्रो छ । पार्टी बाहिरका मतदाताले भने उनलाई खासै चिन्दैनन् । पार्टीको नजरमा खटाई राम्रो भएका मोती अल्पसंख्यक सुनुवार जातिका भएकाले उनले पार्टी बाहिरको भोट तान्न नसक्ने चर्चा पार्टीभित्रै चलिरहेको छ । टिकट पाएको खण्डमा पनि जनतालाई कन्भिन्स गर्न नसक्ने भनेर उनलाई पार्टीमै आलोचना गरिन्छ ।

त्यस्तै सुनसरी जिविसका पूर्वउपसभापति वंशी मोक्तान पनि टिकट पाउने आशामा छन् । धेरै समयदेखि पार्टीको काममा सक्रिय नरहेका वंशी एनजीओमार्फत सर्दु जलाधारको संरक्षणमा सक्रिय भएकाले जनतामा भने राम्रै भिजेका छन् ।चर्चा भएकामध्ये भीम राई ज्वाला मजदुर पृष्ठभूमिका हुन् । अरुको तुलनामा भीमको जनसम्पर्क राम्रो मानिन्छ । पत्रकारिता र साहित्यमार्फत आम जनतामा राम्रो भिजेका भीम पढेलेखेका युवा नेता पनि हुन् । राईले कानुन विषयमा स्नातक गरेका छन् । गाडी मजदुरबाट काम गरेका राई यातायात मजदुर संगठनको केन्द्रीय सचिव छन् । एमालेले १० प्रतिशत मजदुरलाई उमेद्वारी दिने भनेको र कानूनी पृष्ठभूमिसमेत भएकाले भीमको सम्भावना बलियो रहेको बताइन्छ । गरिब पारिपारिक पृष्ठभूमिका राई तल्लो वर्गका युवाहरुमाझ बढी लोकपि्रय छन् । सुनसरी १ मा जातीय साथै सुकुम्वासीको भोटसमेत निणर्ायक मानिन्छ ।

विवादको डरले उमेदवार छनौट स्थगित

यसैवीच एमालेका लागि अन्य क्षेत्र भन्दा संवेदनशील क्षेत्रका रुपमा रहेको सुनसरी क्षेत्र नं.१ मा दोस्रो संविधानसभाका लागि मंगलबार उमेद्वार छनौट गर्ने कार्यक्रम तय भए पनि विवाद उत्पन्न हुने डरले छनौट स्थगित भएको छ । पार्टीका स्थानीय नेताले राप्रपाबाट आएका कृष्णकुमार राईलाई सिफारिस गर्ने तयारी गरेपछि कार्यकर्ताहरु आक्रोशित भएका थिए । जनआन्दोलन दबाउन प्रमुख भुमिका खेल्ने व्यक्तिलाई सिफारिस गरेर जनआन्दोलनमा सक्रिय कार्यकर्ताको अपमान हुने भन्दै कार्यकर्ताहरुले विद्रोह समेत गर्ने चेतावनी दिन थालेपछि छलफलै नगरी स्थगित गरिएको स्रोतले बतायो ।

त्रिपक्षीय प्रतिस्पर्धाको सम्भावना

सुनसरी १ मा नेपाली कांग्रेसले भने सुनसरी १ मा चन्द्रप्रसाद श्रेष्ठ, मीना सुब्बा, भीष्म काफ्ले, विनोद राई, मीन विश्वकर्मा, हरिनाथ बास्तोला र मदन ढकालको नाम सिफारिस गरेको छ । एमाओवादीले गोपाल किरातीलाई सुनसरी १ मा उमेद्वार बनाउने चर्चा छ । अघिल्लो संविधानसभा चुनावमा एमाओवादीले १८ हजार ६ सय २० मत ल्याएको थियो भने एमालेले ११ हजार ६ सय ९३ र कांग्रेसले ६ हजार ५ सय ३५ मत ल्याएको थियो । एमाओवादीका पूर्वसभासद किरण राई वैद्य माओवादीमा प्रवेश गरेका कारण यसपालिको चुनावमा त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान विश्लेषकहरुले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment